असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट « Khabarhub

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भित्र्याउने बेलाको हिउँदे बाली र तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको छ ।

अन्नपूर्ण गाउँपालिका–७ हिस्तानलगायत उत्तरी म्याग्दीका विभिन्न गाउँमा दिउँसो परेको बाक्लो असिनाले पाक्नै लागेको हिउँदेबाली नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् । म्याग्दीको उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पुर्‍याएको किसानले बताएका छन् ।

हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको हिस्तानका कृषक रमेश पुर्जाले बताए । शुक्रबार ३ बजेतिर हिउँजस्तै जम्ने गरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उनको भनाइ छ ।

खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवालगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिरौलालगायतका तरकारी र बालीका बिरुवामा समेत क्षति पुगेको कृषक देवी पुनले सुनाए ।

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्‍याएको छ । असिनाले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापरलगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जनाए । अलिअलि भएको बाली समेत असिनाले नष्ट गरिदिँदा किसानहरु मारमा परेको उनले बताए । जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषक भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५ देखि ४५ प्रतिशतसम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।

विगत वर्षमा तीन-चार पटक हिमपात भइसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रमा यो वर्ष भने चैत लागिसक्दा पनि हिमपात हुन सकेको छैन । जिल्लाका गुर्जा, मुदी, टोड्के, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा हिमपात नहुँदा पशुपालक कृषकलाई समस्या भएको छ । बुकी र खर्कमा हिमपात नभएपछि घाँस पलाउन नसक्दा पशुपालक कृषकलाई समस्या भएको हो । समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलुलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आएको छ भने पशुलाई चरनको समेत समस्या हुने देखिएको किसानले बताएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ०५ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै