नेपालको राष्ट्रियताको चुरो नै मधेसमा : राष्ट्रपति पौडेल « Khabarhub

नेपालको राष्ट्रियताको चुरो नै मधेसमा : राष्ट्रपति पौडेल


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको मधेसमा नेपालको राष्ट्रियताको चुरो रहेको बताएका छन् ।

आज जनकपुरमा आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र रूपान्तरणमा मधेसको सबल भूमिका रहँदै आएको भन्दै नेपालको राष्ट्रियताको चुरो पनि मधेसमै रहेको बताए । 

‘नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता बीपी कोइरालाले भनेझैँ म नेपालको राष्ट्रियताको चुरो नै मधेसमा रहेको छ भन्नेमा सधैँ दृढ छु’, उनले भने, ‘यही भूमिमा बस्ने नागरिकहरूले नेपालको एकएक इन्च जमिन जोगाएका छन् । त्यसकारण म यहाँका नागरिक र परिवर्तनका लागि प्राणको आहुति दिने सबै अग्रजको पावन स्मृतिमा उहाँहरूप्रति निष्ठाका शब्द पुष्प चढाउँछु ।’

अभाव र समस्यामा राष्ट्रियताको संरक्षण हुन नसक्ने भन्दै उनले मधेसका सम्भावनाहरूको पहिचान र समस्याहरूको सम्बोधन गर्न सकारात्मक योगदानका लागि सबैलाई आग्रह गरे । 

‘अभाव र समस्यामा राष्ट्रियताको जगेर्ना हुन सक्दैन । त्यही भएर हामीले समग्र देशको समृद्धिका लागि हिमाल, पहाड र तराई मधेसको सन्तुलित र समग्र विकासमा अबको ध्यान केन्द्रित गर्न ढिला गर्न हुन्न ।  नेपालको समथर फाँट रहेको अन्नभण्डार मधेस प्रदेशको समग्र विकास, उन्नति, सम्मान र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने मेरो सधैँको अटल विश्वास हो । त्यसकारण म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लाग्न सबैलाई अपिल गर्दछु’, राष्ट्रपति पौडेलले भने । 

सम्बोधनका क्रममा समग्र नेपाललाई खाद्यान्न आपूर्ति गर्ने अन्नभण्डार मधेसको उर्वर भूमि सिँचाइको अभावले बाँझो देखेर आफ्नो हृदय छियाछिया हुने गरेको भन्दै उनले सरकारमा रहँदा होस् या संसद्मा, समग्र मधेसको आधा हिस्सा सिञ्चित गर्न सकिने सुनकोशी–मरिन डाइभर्सनका लागि आवाज उठाउँदै आएको स्मरणसमेत गरे । 

एक अर्को प्रसङ्गमा राष्ट्रपति पौडेलले आफ्नो नेतृत्वमा तत्कालीन मधेसवादी दलहरूसँग भएको २२ बुँदे सहमतिले संविधान निर्माणको आधारशिला खडा गरेको भन्दै संविधानको सबल कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलका नेताहरूलाई अपिल गरे ।

‘हामी सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र स्थापना गरेका छौँ र आज हामी सबैले एकताबद्ध भई सामाजिक न्याय स्थापनासहितको समृद्धि हासिल गर्नु अपरिहार्य छ’, उनले भने, ‘सङ्घीयता कार्यान्वयन, जनतालाई अधिकार दिन र प्रदेश तथा स्थानीय तहका सरोकारहरू सम्बोधन गर्न मुख्य तीन नेताहरू देउवा (शेरबहादुर देउवा), ओली (केपी शर्मा ओली) र प्रचण्ड (पुष्पकमल दाहाल) ले गम्भीर बन्नुपर्छ । उहाँहरूले चाहेमा देश बदलिन्छ, संविधान र संघीयता कार्यान्वयन हुन्छ ।’

त्यसैगरी उनले देशको कुनै पनि जायज नागरिक नागरिकताविहीन नरहुन् र देशको प्रत्येक नागरिकमा भेदभावरहित रूपले कानूनी राज्य र सामाजिक न्यायको परिकल्पना आफूले गरेको र त्यसैकारण नागरिकता लिनबाट बञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गरेको स्पष्ट पारे । 

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका प्रमुख एवं नागरिक अभिनन्दन मूल समारोहका संयोजक मनोजकुमार साहले अभिनन्दनपत्र वाचन गरेर राष्ट्रपतिलाई नगरवासीको तर्फबाट सम्मान गरे । 

त्यस्तै धनुषा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदय जुलीकुमारी महतो (महासेठ), प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जनकपुरधामका पूर्वप्रमुख बजरङ्गप्रसाद साह तथा जनकपुरधामका उपप्रमुख किशोरी साहलगायतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर साझा अभिभावकको भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ३८ बजे

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट