ग्रामीण महिलाको आम्दानी : आलु र कोदो « Khabarhub

ग्रामीण महिलाको आम्दानी : आलु र कोदो


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन् । भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन् । 

पश्चिम म्याग्दीको रणबाङ, बाबियाचौर, दरबाङदेखि निस्कोट, देविस्थान, रुमलगायतका गाउँका महिला कोही कोदो केलाउन, सुकाउन र बिक्री गर्न व्यस्त छन् भने कोही हिउँदे आलु लगाउन खेतबारीमा पौरख गरिरहेका भेटिन्छन् ।

मङ्सिर जाडोको महिना । उत्तरतर्फ आँखै अगाडि चाँदी झैँ सेता टलक्क टल्केका हिमशृङ्खला । नागबेली हुँदै बगेको म्याग्दी नदी । चारैतिर हरियाली । हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा । चिसो सिरेठोबाट बच्न टाउकामा बाक्लो ऊनको टोपी र शरीरमा पछ्यौरी बेरेर काम गरिरहेका भेटिन्छन् यहाँका महिला । यस भेगका ग्रामीण महिलाको आम्दानीको मुख्य स्रोत भनेको कोदो र आलु हो । 

वैदेशिक रोजगार, सहर केन्द्रित बसाइँसराइ र अध्ययन वा व्यापार र व्यवसायलगायत कारणले गाउँ बस्ती युवाविहीन बन्दै गएपछि यहाँको सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्र महिलाकै कारण धानिएको मालिका गाउँपालिका–६ दरबाङका बुद्धिजीवी एवं पूर्वजनप्रतिनिधि सन्तोष सुवेदीले बताएका छन् । ‘पछिल्लो समय ग्रामीण क्षेत्रका महिला स्वरोजगारतर्फउन्मुख हुँदै गएका छन् । कुनै सीप, इलम वा व्यवसाय नगरीकन गाउँमा महिला त्यसै बसेका भेटिँदैनन्’, उनले भने, ‘यस क्षेत्रका महिला विशेष गरी व्यावसायिक कृषिमा रमाउन थालेका छन् । आलुखेती र कोदोबाट मनग्य आम्दानी हुने भएपछि यही खेतीमा उनीहरुको रस बसेको छ ।’

पश्चिम म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु स्वादिष्ट र पोषिलो हुने भएकाले यहाँ उत्पादित आलुलाई बजारको अभाव छैन । मालिका–२ रुमकी टीकाकुमारी विकले यस वर्ष आलु .बिक्री गरेर रू ३२ हजार आम्दानी भएको बताएका छन् । विगतका वर्षमा बाँझै छोडिएको  बारीमा अहिले आलुसँगै कोदोखेती गरिरहेको उनले बताएका छन् । 

‘चार वर्ष बाँझिएको जग्गालाई खनजोत गरी मल हालेर रू चार हजार खर्च गरी कोदो रोपेको छु । यहाँबाट सात मुरी कोदो उत्पादन भएको छ’, विकले भने, ‘कोदोका लागि अहिलेदेखि नै सहर बजारबाट माग भइरहेको छ । भकारीमा नथन्क्याउँदै खरिदका लागि ग्राहक आएका छन् ।’

ओखरबोट र देविस्थानमा पनि पछिल्लो समय आलु र कोदो खेती विस्तार भएको छ । गत वर्ष चार मुरी कोदो र आलु बिक्री गरेर रू २२ हजार आम्दानी गरेकी मालिका–५ की सुकमती बुढाले यस वर्ष आलुबाट मात्रै १७ हजारभन्दा बढी आम्दानी भएको जानकारी दिएकी छन् । उनका अनुसार उत्पादित आलु प्रतिपाथी रू एक सय ५० देखि रू दुई सयसम्ममा बिक्री हुँदै आएको छ । 

मालिका गाउँपालिकाका सातवटै वडामा व्यावसायिकरुपमा आलुखेती गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । एकल र समूहगतरुपमा यहाँका महिलाले आलुखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका दरबाङका टीकाबहादुर सिउथानीले बताए। उनका अनुसार आलुसँगै पछिल्लो सयम यहाँका महिला कोदो उत्पादनतर्फ पनि आकर्षित भएका छन् ।

सहरबजारबाट कोदोको माग आउन थालेपछि वर्षौंदेखि बाँझो रहेको जग्गामा खेती विस्तार गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरले बताए । ‘कोदो घरेलु मदिरा उत्पादन र सहरबजारमा खानाका लागि प्रयोग हुँदै आएको छ । पछिल्लो समय कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानले भनेको मूल्य पाएका छन्’, उनले भने, ‘पालिकाले पनि कोदो खेतीलाई प्रोत्साहित गरेको छ । कोदोबाट बनेको मदिरालाई ब्राण्डिङ गरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ ।’

आफूले उत्पादन गरेको कृषिउपजले बजार पाएपछि यहाँका किसान खुसी भएका मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । महिला आम्दानीसँग जोडिएपछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । 

साथै स्थानीय महिलाले वन पैदावारबाट पनि मनग्य लाभ लिँदै आइरहेका वडाध्यक्ष पुनले बताए। उनका अनुसार वनमा पाइने रातो च्याउ, जङ्गली फलफूललगायतका वनस्पतिबाट पनि यहाँका महिला आम्दानी गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  २ : २२ बजे

तत्काल बजार भाउ घटाउन मन्त्री यादवको कडा निर्देशन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न

प्रतिनिधिसभामा बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद

५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष