दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज दिनभरमा बारा-२ मा उपेन्द्र यादव विजयी, उपनिर्वाचन एमाले तीनै क्षेत्रमा तेस्रो , प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल, संसदीय सुनवाई समितिमा ३ सदस्य चयन, वामदेव गौतमविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो बहस नोट, राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख, नेपाल प्रहरीका १३ डीआईजी पदस्थापनलगायतले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

बारा-२ मा उपेन्द्र यादव विजयी

उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्दै विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन् ।

नेकपा ९एमाले०का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याएर तेस्रो भएका छन् । चितवन र तनहुँमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने दुई हजार ८ सय २९ मत मात्र पाएका छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ चितवन, तनहुँ र बारा तीनवटै क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । दुई क्षेत्र रास्वपा विजयी हुँदा बारामा जसपा विजयी भएको हो । जसपाका अध्यक्ष यादव सत्ता गठबन्धनका उम्मेदवार हुन्।

बारा–२ मा ६९ हजार १ सय ७ मत खसेको थियो । यो उपनिर्वाचनबाट मंसिर ४ गतेको चुनावमा सप्तरी– २ मा सिके राउतसँग पराजित यादव विजयी भएका हुन् ।

यसैबीच जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा–२ बाट विजयी उपेन्द्र यादवलाई बधाई दिएका छन् । भर्खरै सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा बारा–२ वाट विजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन् ।

‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं।( २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालबाट बधाई दिँदै भनेका छन्, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।’

बारा–२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका थिए । जसपाका यादव २८ हजार ४१५ मतले विजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहे ।

उपनिर्वाचन एमाले तीनै क्षेत्रमा तेस्रो

हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीन वटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । त्यतिमात्र होइन एमालेले मंसिर ४ को निर्वाचन भन्दा यसपटक कम मत प्राप्त गरेको छ। चितवन–२ मा मंसिरमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ७ सय ५२ मत पाएका थिए । अहिले रामप्रसाद न्यौपानेले पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत पाए। सो निर्वाचन क्षेत्रबाट न्यौपानेले १० हजार ९ सय ३६ मत मात्रै प्राप्त गरे ।

सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५४ हजार १७६ ल्याएर विजयी भए भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए । न्यौपाने लामिछाने भन्दा ४३ हजार ७ सय ८० मतले पछि परेका छन् ।

यसैगरी, तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार मत पनि कटाउन सकेनन् । उनी ८ हजार ४ सय ८८ मतमा सीमित भए । खनालले गत ४ मंसिरको चुनावमा एमाले उम्मेदवार एकबहादुर रानाले पाएको भन्दा साढे ११ हजार कम मत पाए । त्यसबेला नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर जित्दा एमालेका रानाले १९ हजार ९८१ मत ल्याएका थिए ।

अहिले सो निर्वाचन क्षेत्रमा रास्वपाका स्विर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित विजयी भएका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे । विजयी वाग्ले भन्दा एमालेका खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि परेका छन् ।

बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार २१६ मत मात्रै प्राप्त गर्न सफल भए । सो क्षेत्रबाट विजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपविजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएका थिए । विजयी यादव भन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि परे । यो क्षेत्रमा ४ मंसिरको चुनावमा एमालेले समानुपातिकतर्फ ९ हजार १९३ मत पाएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्षबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने विषयमा छलफल थालेका छन् । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सदनको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको हो ।

साथै सो भेटमा प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष तिमिल्सिनाले आफ्नो रूसको संघीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणबारे जानकारी गराए ।

संसदीय सुनवाई समितिमा ३ सदस्य चयन

संसदीय सुनुवाइ समितिमा रहने १५ मध्ये ३ जनाको नाम टुंगो लागेको छ । राष्ट्रिय सभाकातर्फवाट संसदीय सुनवाई समितिमा जाने ३ जना सदस्यको नाम टुंगो लागेको हो । राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको नामलाई सभाले अनुमोदनसमेत गरिसकेको छ ।

जसअनुसार नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा सुनुवाइ समितिमा सिफारिस भएका छन् ।

प्रतिनिधिसभातर्फवाट जाने सदस्य भने बाँकी रहेका छन । प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा सदस्य मनोनयनको अजेन्डा राखे पनि प्रमुख तीन दलले नाम नदिदा आज सो समितिमा मनोनयन हुन नसकेको जनाईएको छ ।

सुनवाई समिति संघीय संसदको संयुक्त समिति हो ।

वामदेव गौतमविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो बहस नोट

पूर्वमन्त्री वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको योग्यतामाथि प्रश्न उठाएर दायर रिटमा सर्वोच्च अदालतले बहस नोट मागेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारको सुनुवाइपछि बहस नोट मागेको हो । भदौ २०७७ मा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएको थियो ।

प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकिर गर्दै अधिवक्ताद्वय त्रिपाठी र भट्टले छुट्टाछुट्टै रिट दर्ता गरेका हुन् । उक्त रिटमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको संवैधानिक इजलासले बहस नोट मगाउने आदेश दिएको हो ।

गौतम २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया–१ बाट पराजित भएका थिए । तर, प्रतिनिधिसभाको सोही कार्यकालमा गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌मा लैजानु संविधानको मर्म र भावनाविपरीत भन्दै रिट परेको हो ।

सभामुख घिमिरेसँग नेपालका लागि क्युवाका राजदूतको भेट

सभामुख देवराज घिमिरेसँग नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले सिंहदरवारमा बुधबार शिष्टाचार भेट गरेका छन् ।

भेटमा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले नेपाल र क्युवाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको विश्वास व्यक्त गरे । उनले महाभूकम्पमा क्युवाको चिकित्सक टोलीले पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

सभामुख घिमिरेले क्युवाको संसदको हालै भएको निर्वाचनमा निर्वाचित अध्यक्ष र सांसदहरुलाई शुभकामना दिएका थिए । उनले दुई देशका संसदबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र संसदीय आदान प्रदान गर्न नेपाल तयार रहेको समेत बताए ।

राजदूत एलेजान्ड्रोले क्युवाको संसदमा पहिलोपटक क्युवा–नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरे । उनले अमेरिकाले दुई वर्षअघि क्युवामाथि लगाएको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल उभिएको स्मरण गर्दै नेपालको समर्थनप्रति धन्यवाद व्यक्त गरे ।

बिग्रँदो अर्थतन्त्र सुधार्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस

बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रियसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको छ ।

‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको हो ।

सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक रहेको यो प्रस्तावमा सांसद अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जीतेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा (पार्वती), प्रमिला कुमारी, डा बिमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर समर्थक रहेका छन् ।

राष्ट्रियसभामा उक्त प्रस्ताव पेस गर्दै सांसद शाहले राजनीतिक शासन व्यवस्था फेरिए पनि मुलुकको अर्थतन्त्र र विकासको अवस्था नफेरिएको बताइन् । अब सबैको लक्ष्य र उद्देश्य समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनुपर्ने उनको भनाइ छ । ‘मुलुकको अर्थतन्त्र ओरालोमा छ, यसै कारण मुलुक कतै असफल हुने त होइन भन्ने चिन्ता छ, पर्याप्त लगानी आएको छैन, नीतिगत भ्रष्ट्राचार रोकिएको छैन, पारदर्शिता छैन, उनले भनिन्, ‘राजनीतिक परिवर्तन भए पनि हामीले आर्थिक परिवर्तन गर्न सकेनौँ, मुलुकको खराब अर्थतन्त्रका कारण आम मानिसको जनजीवन नराम्रोसँग प्रभावित भइरहेको छ ।’

आर्थिक गतिविधिमा सुस्तता देखिँदा र सूचकहरु बिग्रँदा त्यसले नागरिकमा सरकारप्रति वितृष्णा जगाएको पनि उनले बताइन्। ‘बढ्दो महँगी, बैंक तथा वित्तीय संस्थाको कर्जा तिर्न नसक्ने अवस्था, चर्को ब्याजदरलगायतका कारण नागरिकमा निराशा र राजनीतिप्रति वितृष्णा देखिन थालेको छ, यसलाई समाधान गर्नु सरकारको पहिलो कर्तव्य हो’, सांसद शाहले भनिन्।

उक्त प्रस्तावको समर्थनमा सांसद अनिता देवकोटाले राजनीतिक व्यवस्था परिवर्तन भए पनि लामो समयदेखि नागरिकको अवस्था परिवर्तन हुन नसकेकाले सरकारले अब तत्काल सुधारको प्रयास थाल्नुपर्ने बताइन्। ‘नागरिकको जनजीवन झन् खराब हुँदै गएको छ, अहिले आगामी आर्थिक वर्षको बजेटबारे पनि तयारी भइरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि तत्कालै प्रयास थाल्नुपर्छ’, उनले भनिन् ।

अर्थतन्त्र सुधार्न सबै पक्षको सामूहिक प्रयास आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

आज राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताएका हुन् ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार जारी छ ।

चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको उनको स्वकीय सचिवालयले जनाएको छ । उनको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकले बताएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

‘छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकको सुझावअनुसार उनको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको सर्वविदितै छ’, विज्ञप्तिमा जनाइएको छ ।

घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरे ।

एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनले बताए। उनले चारजना व्यक्तिले विगत ७४ वर्षअघि स्थापना गरेको पार्टी आज जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको बताए ।

उनले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्‍याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुटमार्फत तीब्र बनाउन सबै कार्यकर्तालाई आग्रह गरे ।

ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने पक्राउ परिसके : गृहमन्त्री
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्नेमध्ये एकजनालाई पक्राउ गरेको जानकारी दिएका छन् ।

झापामा बुधबार एक कार्यक्रममा ओलीविरुद्ध कालोझण्डासहित नाराबाजी र ढुंगामुढा गर्दै प्रदर्शन भएको थियो । उक्त प्रदर्शन सत्तापक्षकै कार्यकर्ताबाट भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताएपछि गृहमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध उत्रिएकाहरुबाट सो कार्य भएको जवाफ दिएका हुन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले ओलीमाथि भएको आक्रमण हुनु दुखद भएको भन्दै सो कार्यमा संलग्नमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका हुन् ।

सो घटनाप्रति सरकारको तर्फबाट दुःख व्यक्त गर्दै निन्दा गर्दै उनले अराजक गतिविधि गर्न कसैलाई छुट दिन नसकिने चेतावनी दिए । उनले सो घटनामा दुईजना सुरक्षाकर्मी घाइते भएको बताए । यसैबीच उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितमाथि भएको प्रहरी बलप्रति माफी मागेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्दै माफी मागेका हुन् ।

केही महिनायता मिटरब्याज पीडित काठमाडौं आएर न्यायका लागि संघर्षरत छन् । आफ्नो माग पूरा गर्न सरकार तयार नभएको भन्दै वार्ता भंग गरेर प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरीक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

यसैगरी बैठकले युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताए ।

नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन

नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो ।

तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन् । डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सुदूरपश्चिम प्रदेशमा पदस्थापन भएका हुन् ।

यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, विमानस्थलमा अर्जुन चन्द ठकुरी र महानिरीक्षकको सचिवालयमा कुवेर कडायतले जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ५९ बजे

राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

काठमाडौं – राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८०

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग मन्त्री खड्काले गरे छलफल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत्

विपिनले बलमा कर्णालीको कमब्याक, ७ विकेट क्षतिमा जनकपुरले १०० रन कटायो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्स

काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु

एजेन्सी – भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा

पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

गण्डकी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका