आज वैशाख १६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २९, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले प्रशान्त क्षेत्रका अठार नेतासँग भेटवार्ता गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे महिनामा पपुवा न्युगिनीको भ्रमणका क्रममा दक्षिण प्रशान्त क्षेत्रका १८ नेतासँग भेटवार्ता गर्ने एक उच्च क्षेत्रीय कूटनीतिज्ञले बताएका छन् । दक्षिण प्रशान्त क्षेत्रलाई दोस्रो विश्वयुद्धपछि सापेक्षिक कूटनीतिक रूपमा पछिपरेको क्षेत्रका रूपमा हेरिएको थियो तर पछिल्लो समय यो व्यापारिक, राजनीतिक र सैन्य प्रभावका लागि प्रतिस्पर्धा गर्ने शक्तिहरूको अखडा बन्दै गएको छ ।
पपुवा न्यू गिनीका विदेशमन्त्री जस्टिन टकाचेन्कोले पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले आफ्ना आयोजकसँग द्विपक्षीय वार्तामा भाग लिने र प्रशान्त टापुका १८ नेतासँग पनि भेटघाट गर्ने जानकारी दिए । प्यासिफिक आइल्याण्ड फोरम समुद्रको विशाल भूभागमा छरिएका प्रायः साना राज्यहरूको १८ सदस्यीय क्षेत्रीय समूह हो ।
उक्त भेटवार्तामा अष्ट्रेलिया र न्युजिल्याण्डका प्रधानमन्त्री पनि सहभागी हुनेछन् । बाइडेन आगामी मे २२ मा पपुवा न्युगिनीको भ्रमण गर्ने कम्तीमा एक शताब्दीपछि पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बन्नेछन् ।
सन् १९०१ मा थियोडोर रुजवेल्टको प्रशासनसँग सम्बन्धित विदेश मन्त्रालयको रेकर्डअनुसार कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले पपुवा न्युगिनीको भ्रमण गरेका छैनन् । बाइडेनले जापानको हिरोसिमामा हुने जी–७ शिखर सम्मेलन र मे महिनामा सिड्नीमा हुने क्वाडको शिखर सम्मेलनमा अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको पनि सहभागिता जनाउने कार्यक्रम छ ।
अमेरिकी विशेष दूत जोसेफ युनले दक्षिण प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढेपछि अमेरिकाले आफ्नो कुटनीतिक पहल बढाउन लागेको हो ।
चीनले हालै पपुवा न्यू गिनीको पूर्वमा रहेको सोलोमन टापुसँग चिनियाँ सेनालाई त्यहाँ तैनाथ गर्न गोप्य सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ ।
राज्य समर्थित एक चिनियाँ कम्पनीले गत मार्चमा राजधानी होनियारामा अन्तर्राष्ट्रिय बन्दरगाह विकास गर्ने ठेक्का पाएको थियो, जुन दक्षिण प्रशान्त क्षेत्रमा रणनीतिक पकड हासिल गर्ने बेइजिङको प्रयासमा ठूलो विजय हो ।
ताइवानमाथि कुनै पनि सम्भावित सैन्य द्वन्द्वमा यो क्षेत्र महत्वपूर्ण साबित हुन सक्छ । बाइडनको प्यासिफिक बैठक को पुष्टि हुनुअघि उनले भने , ‘कुनै पनि उच्चस्तरीय संलग्नता स्वागतयोग्य छ ।’
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनामा पपुवा न्यु गिनीको भ्रमण गर्दा दक्षिण प्रशान्त महासागरका १८ नेतालाई भेट्ने कार्यक्रम तय भएको छ ।
पपुवा न्यू गिनीका विदेश मन्त्री जस्टिन टकचेन्का अनुसार राष्ट्रपति बाइडेनले देशको राजधानीमा प्यासिफिक आइल्याण्ड फोरम ब्लकका सदस्यलाई भेट्ने योजना बनाएको बताउनुभएको छ ।
अमेरिकाले यस क्षेत्रमा कूटनीतिक गतिविधिको आक्रामकता बढाउने प्रयास गरिरहेको टिप्पणी भइरहेको छ ।
फिलिपिन्समा जहाज ठोक्किँदा एक जनाको मृत्यु, तीन बेपत्ता
फिलिपिन्सको कोरेगिडोर टापुमा विदेशी झण्डा दुईवटा बोकेका जहाज एकापसमा ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका छन् ।
फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी)ले शनिबार जनाएअनुसार ती दुई जहाजमध्ये एउटा सिएरा लियोन ध्वजा वाहक जहाज दुर्घटनामा पल्टिंदा चालक दलसहित २० जना घाइते भएको र तीमध्ये १६ जनालाई शुक्रबार उद्धार गरिएको छ भने एक जना चालक दलका सदस्यको शव शनिबार भेटिएको बताइएको छ ।
त्यसैगरी पीसिजीले मार्शल टापुको ध्वजावाहक जहाजका सबै २१ जना चालक दल सुरक्षित रहेको बताएको छ । बेपत्ता चालक दलको खोजी र उद्धार कार्य जारी छ ।
रुसी आक्रमणमा परी युक्रेनमा पाँच बालबालिकासहित २६ जनाको मृत्यु
रुसी आक्रमणमा परी युक्रेनमा पाँच जना बालबालिकासहित २६ जना मारिएका छन् । करिब दुई दर्जन क्षेप्यास्त्र प्रहारबाट उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् ।
मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएको हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए । भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए ।
यो वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो । केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा पुनः हमला थालेको छ ।
करिब असी हजार बासिन्दा रहेको लुगान्स्कमा पनि आक्रमण भएको छ । पूर्वी लुगान्स्क सहर रुसको नियन्त्रणमा छ । रुसी क्षेप्यास्त्रहरू मध्य सहर डिनिप्रोमा पनि बर्सिएका छन् । एकतीस वर्षीया एक महिला र उनकी दुई वर्षकी छोरी सुतिरहेको अवस्थामा मारिएका अधिकारीहरूले बताएका छन् । गत जनवरीमा उक्त सहरको आवासीय भवनमा भएको क्षेप्यास्त्र आक्रमणमा ४० जनाले ज्यान गुमाएका थिए ।
ईयूको शरणसम्बन्धी निर्णयमा ४० प्रतिशतले वृद्धि
सन् २०२२ मा युरोपेली सङ्घ (ईयू)का देशहरूले तीन लाख ८४ हजार २४५ शरणार्थीलाई सुरक्षाको व्यवस्था गरेका छन् । यो सन् २०२१ को दुई लाख ७५ हजार ४० बाट ४० प्रतिशतले वृद्धि हो ।
ईयूमा सन् २०२२ मा सुरक्षा प्रदान गरिएका तीन लाख ८४ हजार २४५ शरणार्थीमध्ये ४४ प्रतिशतले शरणार्थीको दर्जा, ३१ प्रतिशतले सहायक सुरक्षा र २५ प्रतिशतले मानवीय सुरक्षा पाएका छन् । सन् २०२१ को तुलनामा शरणार्थीको सङ्ख्यामा २२ प्रतिशत, सहायक सुरक्षामा ४८ प्रतिशत र मानवीय सुरक्षामा ७२ प्रतिशतले वृद्धि भएको छ ।
यसमा सबैभन्दा बढी योगदान जर्मनीको रहेको छ । जर्मनीले ईयूको कूल योगदानको ४१ प्रतिशत अर्थात् एक लाख ५९ हजार ३६५ जनालाई सेवा पुर्याएको छ ।
त्यसैगरी, फ्रान्सले ४९ हजार ९९० अर्थात् १३ प्रतिशत, इटालीले ३९ हजार ६६० अर्थात् १० प्रतिशत र स्पेनले ३५ हजार ७६५ अर्थात् नौ प्रतिशत व्यक्तिलाई सुरक्षाको दर्जा दिइएको थियो । यी चार देशले संयुक्त रूपमा ईयू स्तरमा ७३ प्रतिशत सुरक्षा अनुरोधहरूलाई सेवा प्रदान गरे ।
सन् २०२२ मा युरोपेली सङ्घमा सुरक्षा प्राप्त गर्ने सबैभन्दा ठूलो समूह सिरियालीहरू थिए भने दोस्रो धेरै अफगानी थिए । ईयूमा सुरक्षा दर्जा प्राप्त गर्ने कूल सङ्ख्याको २९ प्रतिशत सिरियालीहरू रहेका थिए भने २३ प्रतिशत अफगानी र छ प्रतिशत भेनेजुयलाका नागरिक थिए ।
अमेरिका-पाकिस्तान कूटनीतिक छलफल सकारात्मक दिशामा
आर्थिक संकट सामना गरिरहेको पाकिस्तानले संयुक्त राज्य अमेरिकालाई सैन्य वित्तपोषण र बिक्री पुनर्स्थापना गर्न आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको थियो । अमेरिकाका लागि पाकिस्तानका राजदूत मसुद खानले बिहीबार वाशिङ्टनमा आयोजित सेमिनारलाई सम्बोधन गर्दै अमेरिकाले पाकिस्तानको लागि यस अघि अघिल्लो प्रशासनले निलम्बन गरेको विदेशी सैन्य वित्तिय पोषण र विदेशी सैन्य सामग्री बिक्री पुनर्स्थापित गर्नु महत्त्वपूर्ण रहेको बताए ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएयता अमेरिका-पाकिस्तान सम्बन्ध लामो समयदेखि अनिश्चिततामा फसेको छ । अहिले अमेरिका र चीनबीचको द्वन्द्वका कारण पाकिस्तानको अमेरिकासँगको सम्बन्ध चिसिएको छ । दक्षिण र मध्य एसियाका लागि अमेरिकी प्रमुख उप-सहायक विदेशमन्त्री एलिजाबेथ होर्स्टले संकटग्रस्त पाकिस्तानी अर्थतन्त्रको पुनर्निर्माणमा मद्दत गर्ने आवश्यकतामा ध्यान केन्द्रित गर्दै इस्लामाबादलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग काम गर्न आग्रह गरेको डनले उल्लेख गरेको छ ।
पाकिस्तान र आईएमएफले सहमति जनाएका सुधारहरू सजिलो नभएको तर पाकिस्तानले देशलाई आर्थिक सबलताको स्थितिमा फर्काउनका लागि यी कदमहरू चाल्नु आवश्यक रहेको एलिजाबेथ होर्स्टको बुझाइ रहेको छ । यसैबीच वाशिङ्टनले इस्लामाबादलाई आईएमएफसँग सहमति अनुरूपको ‘कडा सुधार’ कार्यक्रम लागू गर्न आग्रह गरेको छ ।
भर्खरै उच्चस्तरीय कूटनीतिक संलग्नता र बाक्लिदै गएको वार्ता अमेरिकासँगको तनावपूर्ण सम्बन्ध सुधार्ने सन्दर्भमा पाकिस्तानका निम्ति सकारात्मक हुनसक्ने टिप्पणी गरिएको छ । विल्सन सेन्टर वाशिङ्टनमा आयोजित सम्मेलन थुप्रै चुनौतीपूर्ण घटनाक्रमहरूको पृष्ठभूमिमा अमेरिका-पाकिस्तान सम्बन्धलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित थियो।
एक प्रश्नको जवाफ दिँदै राजदूत खानले पाकिस्तानले रुसी तेलको लागि पहिलो आग्रह गरेको र अमेरिकी सरकारसँग परामर्श गरेर त्यसो गरेको पनि बताए । सो अवसरमा अफगानिस्तानमा स्थायित्व ल्याउन पाकिस्तानले खेल्ने भूमिकाबारे पनि छलफल भएको थियो।
अफगानिस्तानमा भएको आतंकवादको बुद्धिप्रति अमेरिका र चीन दुवै चिन्तित रहेको उल्लेख गर्दै उनले यस खतरालाई उन्मूलन गर्न मिलेर काम गर्नुपर्ने धारण राखेका छन् । आतंकवाद आज पाकिस्तान र अफगानिस्तानका लागि खतरा बनेको छ । यसलाई नियन्त्रण गरिएन भने यसको असर अन्यत्र पनि देखिने उनको टिप्पणी छ ।
सुडानबाट ४८ जना जापानी नागरिक स्वदेश फर्काइए
द्वन्द्वग्रस्त सुडानबाट शनिबार बिहान ४८ जना यात्रुहरू टोकियो पुगेका छन्। जापानी नागरिकहरू चार्टर्ड उडानबाट शुक्रबार स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबारसम्म ६५ जना जापानी नागरिक र अन्य देशका नागरिकले पनि सुडान छाडेका छन् ।
ती मध्ये केही आफ्नै पहलमा जापान फर्किएको पनि मन्त्रालयले जनाएको छ । अप्रिलको मध्यमा सुडानी सेना र अर्धसैनिक र्याआपिड सपोर्ट फोर्सबीच भीषण झडप भएपछि असुरक्षाको अनुभूति गर्दै थुप्रै देशहरूले सुडानबाट आफ्ना नागरिकहरू फिर्ता बोलाएका छन् ।













प्रतिक्रिया