आज असार १४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
चीनसँगको सम्बन्ध महत्वपूर्ण छ : न्युजिल्याण्डका प्रधानमन्त्री
चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय रूपमा महत्वपूर्ण रहेको न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले बताएका छन् ।
चीन भ्रमणमा रहेका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधबार दुई देशबीच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको बताएका छन् ।
सिन्ह्वाले सोधेको प्रश्नको उत्तर दिदै ‘न्युजिल्यान्ड र चीन सम्बन्ध न्युजिल्यान्डका लागि अविश्वसनीय रूपमा महत्वपूर्ण’ रहेको धारणा राखेका हुन् ।
‘हाम्रो सम्बन्धलाई हामीसँग सम्झौता भएका क्षेत्रहरू र हाम्रा साझा चासोहरूद्वारा व्यापक रूपमा परिभाषित गर्न सकिन्छ,’ उनले भने । कोभिड-१९ को महामारीबाट बाहिर निस्किँदै न्युजिल्यान्डले चीनसँग आर्थिक गतिविधि पुन: स्थापना गर्नु प्राथमिकतामा रहेको हिपकिन्सले बताएका छन् ।
प्रधानमन्त्री हिपकिन्सले भने- ‘चीन पहिले देखिनै न्युजिल्याण्डको सबैभन्दा ठुलो व्यापारिक साझेदार भएकाले द्विपक्षीय व्यापारलाई अझ विस्तार गर्ने आशा राखेको छ ।’
चीनसँगको व्यापारको दायरा विस्तार गर्ने सम्भावनाको बारेमा उत्साहित हुँदै उनले भने- द्विपक्षीय शिक्षा सम्बन्ध “धेरै राम्रो” रहेको र दुई देशबीचको शिक्षा सहयोगलाई थप बढवा दिन तत्पर रहनुपर्छ जसबाट दुवै देश लाभान्वित हुन सकुन् ।
‘हामी विश्वमा उत्कृष्ट पर्यटकीय अनुभवहरू प्रदान गर्दछौँ। हामीसँग सुन्दर देश छ र हामी विश्वभरका मानिसहरूसँग साझेदारी गर्न चाहान्छौं,’ हिपकिन्सले भने, ‘चिनियाँ पर्यटकहरूको सङ्ख्या देखेर हामी धेरै उत्साहित छौँ। यो सङ्ख्या निरन्तर बढ्दै गएको छ।’
प्रधानमन्त्री हिपकिन्स जुन २५ देखि ३० सम्म चीनको भ्रमणमा छन् । यस अवधिमा उनले उत्तरी चीनको बन्दरगाह शहर टियाङ्जिनमा समर डाभोस फोरम भनेर चिनिने सम्मेलनको १४ औं वार्षिक बैठकमा भाग लिँदै छन् ।
टाइटानिक हेर्न गएको पनडुब्बीको भग्नाबशेष निकालियो
टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बीको भग्नावशेष बुधबार क्यानडाको सेन्ट जोन्स बन्दरगाहमा ल्याइएको छ । विस्फोट भएको ६ दिनपछि एट्लान्टिक महासागरबाट सो पनडुब्बी निकालिएको हो ।
समाचार एजेन्सी एपीका अनुसार अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले पनडुब्बीको भग्नावशेषमा मानव अवशेष भेटिएकोसमेत बताएका छन्। यी अवशेषहरूलाई परीक्षणको लागि मेडिकल टोलीमा पठाइने छ।
बीबीसीका अनुसार पनडुब्बीको भग्नावशेषमा ल्यान्डिङ फ्रेम, रियर कभरलगायत ५ वटा भाग भेटिएको छ । कोस्ट गार्डले भने, ‘पनडुब्बीको धेरै भग्नावशेष अझै टाइटानिक जहाज नजिकै छ। पनडुब्बीको भग्नावशेषको फोरेन्सिक जाँच गरी किन विस्फोट भयो भन्ने पत्ता लाग्नेछ ।’
टाइटन पनडुब्बी जुन १८ मा साँझ ५ः३० बजे एट्लान्टिक महासागरमा छोडिएको थियो। यो पौने २ घण्टा पछि बेपत्ता भएको थियो । पनडुब्बीमा पाइलटसहित ५ जना पर्यटक सवार थिए ।
पनडुब्बीलाई ४ दिनसम्म खोज्ने प्रयास गरिएको थियो, त्यसपछि २३ जुनमा टाइटानिक जहाजको भग्नावशेषबाट १६ सय फिट टाढा यसको भग्नावशेष भेटिएको थियो ।
अमेरिकी नौसेना अधिकारीका अनुसार टाइटन पनडुब्बीको अन्तिम स्थान टाइटानिक जहाजको नजिकै रेकर्ड गरिएको थियो। बेपत्ता भएको केही समयपछि रडारमा विष्फोटसँग सम्बन्धित केही संकेतहरू पनि भेटिएका थिए ।
यो जानकारी तुरुन्तै कमाण्डरसँग साझा गरिएको थियो, जसले खोजी अभियानमा मद्दत गरेको थियो ।
साउदी अरबमा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु
साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ ।
वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली सुरक्षागार्डलाई गोली लागेपछि उपचारको क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । मृत्यु हुनेको पहिचान खुलाइएको छैन ।
बन्दुक बोकेका एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ।
अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ।
गोली प्रहारबारे अनुसन्धान भइरहेको छ । साउदी अरेबियाका रहेको अमेरिकी वाणिज्य दूतावासलाई पछिल्ला वर्षहरूमा धेरै पटक निशाना बनाइएको छ ।
सन् २०१६ मा कम्पाउण्ड नजिकै भएको विस्फोटमा एक आत्मघाती हमलाकारीको मृत्यु र दुई जना घाइते भएका थिए । २००४ मा पाँच व्यक्तिले अमेरिकी वाणिज्य दूतावासमा बम आक्रमण गरेका थिए ।
भारतले चन्द्रयान–३ जुलाई १३ मा प्रक्षेपण गर्ने
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बहुप्रतिक्षित चन्द्रमा मिशन चन्द्रयान– ३ को प्रक्षेपणका लागि मिति तय गरेको छ । इसरोका अधिकारीहरूले चन्द्रयान जुलाई १३ मा दिउँसो २ः३० मा प्रक्षेपण गरिन लागेको जनाएका छन्।
इसरो प्रमुख एस सोमनाथले भने, ‘अहिले चन्द्रयान–३ अन्तरिक्ष यान पूर्ण रूपमा तयार छ । हामीले परीक्षण पूरा गरिसकेका छौं । हामी अब रकेटको तयारी गर्दैछौँ ।’ उनले चन्द्रयान–३ मा रकेट जडान गरी प्रक्षेपण गरिने बताए ।
अधिकारीहरुका अनुसार चन्द्रयान–३ लाई आन्ध्र प्रदेशको श्रीहरि कोटास्थित सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण वाहन मार्क–३ मार्फत प्रक्षेपण गरिने छ ।
प्रोपेलेन्ट मोड्युलले ल्यान्डर र रोभरलाई चन्द्रमाको वरिपरि १०० किलोमिटरको परिक्रमामा लैजाने छ। यसमा चन्द्रमाको कक्षाबाट पृथ्वीको ध्रुवीय मापन अध्ययन गर्न स्पेक्ट्रो पोलारिमेट्री पेलोड पनि थपिएको छ।
यसअघि ७ सेप्टेम्बर २०१९ मा भारतको दोस्रो चन्द्र अभियान चन्द्रयान–२ ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ असफल भएको थियो । यो चन्द्रमाको सतहको दक्षिणी ध्रुव नजिकै अवतरण गर्नु पर्ने थियो तर चन्द्रमाको सतहमा अवतरण गर्न लाग्दा ल्यान्डर विक्रमसँगको सम्पर्क टुटेको थियो ।
त्यसबेला प्रधानमन्त्री नरेन्द्र मोदी पनि ऐतिहासिक क्षणको साक्षी हुन बेंगलुरुस्थित इसरोको मुख्यालयसमेत पुगेका थिए। अब तेस्रो पटक चन्द्रमा मिशनमा उपस्थित हुने नहुने बारे केही तय भएको छैन ।
पाकिस्तानमा एकै परिवारका ९ जनाको गोली हानी हत्या
पाकिस्तानको एक घरमा सशस्त्र समूहले आक्रमण गरी ९ जनाको हत्या गरेको छ ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा ९ जनाको मृत्यु हो । घटनामा दुई जना घाइते भएका छन् ।
मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका ९ व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीले बताए ।
खैबर पख्तुनख्वाबाट जारी स्थानीय सञ्चारमाध्यममा आएको रिपोर्टका अनुसार यो मामिला दुई परिवारबीचको वैवाहिक विवादसँग सम्बन्धित छ। मंगलबार राति विवाद बढ्दै गएपछि केही व्यक्तिको हस्तक्षेपपछि दुवै पक्ष घर फर्किएका थिए ।
राति अबेर एक परिवारका सदस्य राइफल लिएर अर्को परिवारको घरमा पसे । त्यतिबेला त्यहाँ उपस्थित सबै मानिसहरू गहिरो निद्रामा थिए। यसैबीच आक्रमणकारीले गोली चलाउन थाले । उनले दुई कोठामा सुतिरहेका ९ जनाको हत्या गरेका थिए ।
बेतखेलाका एक प्रहरी अधिकृतले घटनाको पुष्टि गरेका छन् । भने, ‘यो मामिला दुई परिवारबीचको विवाद हो ।’ केही रिपोर्टका अनुसार आरोपीलाई उनकी श्रीमतीले उक्साएको थियो । यसपछि उनले हत्या गरे । प्रहरीले अभियुक्तको नाम भने खुलाएको छैन । उनी फरार छन् ।
घटनालगत्तै सुरक्षाअधिकारी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए र पीडितहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।
मृत्यु हुनेमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुटिनले युक्रेन युद्ध हारेको बाइडेनको दाबी
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताएका छन् । उनले रूसी राष्ट्रपति वाग्नर समूहको विद्रोहका कारण कमजोर भएको वा नभएको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए।
ह्वाइट हाउसमा पत्रकारहरूले पुटिन अहिले कमजोर भए नभएको भनी सोधिएको प्रश्नमा बाइडेनले भने, “यो भन्न गाह्रो छ, तर उनले युक्रेनमा युद्ध हारेका छन् र स्वदेशमा पनि हारिरहेका छन् ।”
पुटिन अहिले ‘संसारभरिका एक्लिएको’ बाइडेनले बताए । ह्वाइट हाउसले गत हप्ता रूसमा भएको असाधारण घटनाको परिणामको सावधानीपूर्वक विश्लेषण गरिरहेको छ ।
उनले भने, “युक्रेनमा रूसी सेनाको सबैभन्दा सक्षम भागमध्ये एक वाग्नर समूहका सेनाहरूले विद्रोह गरेको र मस्कोमा आक्रमण गर्ने धम्की दिएको छ ।”
बाइडेनले गत वर्षको फेब्रअरीमा सुरु भएको रूसी आक्रमणविरुद्ध युक्रेनको प्रतिरोधलाई समर्थन गर्ने पश्चिमा अभियानको नेतृत्व गरिरहेका छन् ।
प्रतिक्रिया