दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दिनभर आज रास्वपाको उपसभापतिमा वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ, यस्तो छ एमालेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित सङ्कल्प यात्राको रुट , निर्वाचन आयोगका प्रमुख आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्पपीडितलाई दिने, भुटानी शरणार्थी प्रकरण : उच्च अदालतमा भोलिबाट जवाफी बहस हुने,सुनको भाउमा लगातार नयाँ रेकर्ड,टिकटक बन्द गरे–नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन प्राधिकरणको निर्देशनलगायतका समाचारले प्रमुख स्थान पाए ।

रास्वपाको उपसभापतिमा वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीले डा. स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिमा मनोनीत गरेको छ । जलेश्वरमा तीन दिनसम्म बसेको पार्टी केन्द्रीय समिति र संसदीय समितिको संयुक्त कैठकले सो निर्णय गरेको हो ।

संयुक्त बैठकले सांसद समेत रहेकी नेतृ सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री चयन गरेको छ । यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा दिपक बोहरा चुनिएका छन् । सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।

धर्म निरपक्षेताका विषयमा सभापतिको धारणा व्यक्तिगत : कांग्रेस

नेपाली कांग्रेसले आफू संविधान कार्यान्वयन गर्ने विषयमा प्रतिबद्ध रहेको बताएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रचार विभाग प्रमुख मिन विश्वकर्माले कांग्रेस संविधानभन्दा बाहिर नजाने बताए ।

यस्तो छ एमालेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित सङ्कल्प यात्राको रुट 

नेकपा एमालेले बिहीबारदेखि पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित सङ्कल्प यात्रा सुरु गर्दैछ ।

बैतडीको झुलाघाटबाट यात्रा सुरु हुन लागेको हो । यात्राको उद्घाटन गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली बैतडी पुगेका छन् । उनले भोलि बिहान झण्डोत्तलन गरेर यात्राको प्रारम्भ गर्नेछन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्पपीडितलाई दिने

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले जाजरकोट भूकम्पपीडितलाई ७ दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक दिन लागिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका हुन् ।

भुटानी शरणार्थी प्रकरण : उच्च अदालतमा भोलिबाट जवाफी बहस हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइमा आज सरकारी वकिलले बहस गरेका छन् ।

उच्च अदालत पाटनमा गतहप्तादेखि सुरु भएको सुनुवाइमा आज तीनजना सरकारी वकिलको बहस सकेर हेर्दाहेर्दैमा राखिएको हो ।
भोलि सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीहरुका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन ।

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डले गरे शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिष्टाचार भेट गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो ।

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले राष्ट्रिय सभामा रिक्त हुने पदमा आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रियसभा पदका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

जमानतदातालाई कालोसूचीमा राख्नुअघि ९० दिनको म्याद दिनुपर्ने

नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्नका लागि दिइने समय ३५ दिनबाट बढाएर ९० दिन पुर्‍याएको छ ।

राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो ।

सीसीटीभी प्रकरणसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अर्थमन्त्रालयको सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता नगर्ने सर्वोच्च अदालत प्रशासनको आदेश बदर गरेको छ ।

न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको इजलासले रिट निवेदन दरपीठ हुने सर्वोच्च प्रशासनको आदेश बदर गरेको हो ।

कोशी प्रदेशको बजेट सर्वसम्मतिले पारित

कोशी प्रदेशसभाले विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो ।

मुख्यमन्त्री केदार कार्कीले मङ्सिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । प्रस्तुत बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्ताव थियो ।

सुनको भाउमा लगातार नयाँ रेकर्ड

नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भई भएको थियो । मंगलबारको तुलनामा आजको मूल्य १ हजार ६०० रुपैयाँले बढी हो ।

टिकटक बन्द गरे–नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेको विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए नभएकोबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ९ : ०१ बजे

चितवनमा हात्तीको वनभोज (फोटोफिचर)

चितवन – हात्ती महोत्सवमा यसपाली खाना महोत्सव अर्थात् हात्तीको वनभोज

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मन्त्री गुरुङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटोफिचर )

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना

पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

वाशुक – बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा

महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा

मोरङ – नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय