नक्कली जग्गा धनीपुर्जा बाँडेर सुकुम्वासीसँग लाखौँ असुली, दुई जना पक्राउ « Khabarhub

नक्कली जग्गा धनीपुर्जा बाँडेर सुकुम्वासीसँग लाखौँ असुली, दुई जना पक्राउ


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

झापा – जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर नगरपालिका–५ मेचीडाँडाका ६० परिवारसँग रकम असुली गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । आरोपीले पीडितसँग लाखौँ रकम असुलेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार जग्गाको नक्क्ली धनीपुर्जा बनाएर दिएको आरोप लागेका मेचीनगर–६ का ७५ वर्षीय भूपध्वज दाहाललाई प्रहरीले आज पक्राउ गरेको छ ।

अर्का आरोपी सोही वडाका ७३ वर्षीय ज्ञानबहादुर गिरी केही दिनअघि नै पक्राउ परेका थिए । वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका मेची डाँडाका सुकुम्वासी परिवारसँग जग्गाको धनीपुर्जा थिएन । धनीपुर्जा बनाएर घरमै ल्याइदिने भन्दै स्थानीय तीन जनाले रु १० हजारदेखि ७० हजारसम्म रकम असुली गरेको पीडितको भनाइ छ । आरोपीमध्ये फरार एक जनाको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

छ महिनाअघि जग्गाधनीको फोटो टाँसिएको र रातो मसीले सही गरिएको सरकारी छापसहितको जग्गा धनीपुर्जा पाउँदा स्थानीय सुकुम्वासी दङ्ग थिए । तर, उनीहरूको यो खुसी लामो समय टिकेन । डेढ महिनाअघि केही जग्गाधनीले मेचीनगर–६ को वडा कार्यालयमा एकीकृत सम्पत्ति कर तिर्न जाँदा सो धनीपुर्जा नक्कली भएको खुलासा भएको थियो । वडामा जाँदा मात्रै सुकुम्वासीले धनीपुर्जाको नाममा ठगिएको पत्तो पाएका थिए ।

रकम असुलेर नक्कली धनीपुर्जा दिने व्यक्ति विरुद्ध पीडितले जिल्ला प्रशासन कार्यालय झापामा किटानी उजुरी दिएका छन् भने जिल्ला प्रशासनले घटनाको अनुसन्धान गर्न प्रहरी निकायलाई निर्देशन दिएको छ । ऐलानी तीन धुर जग्गामा बसोबास गर्दै आएकी मेचीनगर–६ की सरस्वती बरालले वडा कार्यालयमा तिरो बुझाउन जाँदा त्यहाँका कर्मचारीहरूले धनीपुर्जा नक्कली भएको जानकारी गराएको बताए ।

“गाउँकै भूपध्वज दाहाल र ज्ञानबहादुर गिरीले ‘रु ५० हजार दिनू, धनीपुर्जा बनाएर ल्याइदिन्छु’ भनेपछि रु ३५ हजार बुझाएको थिएँ”, ठगीको शिकार भएकी सरस्वती बरालले भने, “वडामा तिरो बुझाउन जाँदा पो धनीपुर्जा नक्कली हो भनिदिए । मेरो पैसा पनि गयो, धनीपुर्जा पनि कीर्ते प¥यो ।”

वडा कार्यालयका कर्मचारीले कम्युटरमा धनीपुर्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि पीडित बराल वडा कार्यालयमै केही बेर बेहोस भएका थिए । सो बस्तीका ५९ जनाले वडा कार्यालयमा गएर धनीपुर्र्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि गाउँमा बाँडिएका सबै धनीपुर्र्जा कीर्ते भएको प्रमाणित भएको थियो । हाल सो गाउँका पीडितको रुवाबासी छ । कतिले चर्को ब्याजमा ऋण काढेर धनीपुर्जाका लागि रकम बुझाएका थिए ।

धनीपुर्जा बनाइदिन्छु भनेर रकम असुली गर्ने विरुद्ध पीडितले गत चैत १७ गते वडा कार्यालयमा उजुरी दिएका थिए । वडाले पीडितको रकम फिर्ता गराउनका लागि गरेको प्रयास असफल भएपछि जिल्ला प्रशासन कार्यालयलाई पीडितले गुहारेका हुन् । अब यो मुद्दा प्रशासनको न्यायिक कठघरामा पुगेको छ ।

गिरी र दाहालका परिवारले पीडितलाई आधा रकम फिर्ता गरिदिने भन्दै वैशाख १० गते गाउँमै छलफल चलाएर घटनालाई सामसुम पार्न खोजेका थिए । छलफलमा सहमति भएअनुसारको म्यादभित्र रकम फिर्ता भएन । पीडित अहिले न्याय खोज्दै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धाइरहेका छन् ।

सोही ठाउँकी अर्की पीडित मीना खनालले रु ६५ हजार दिएपछि आरोपीहरूले छ धुरको धनीपुर्जा बनाएर ल्याइदिएको बताए । रकम असुली र धनीपुर्जा लेनदेनमा वृद्ध व्यक्ति प्रत्यक्षरूपमा जोडिएता पनि कुनै ठूलो गिरोह यस धन्धामा संलग्न हुनसक्ने पीडितले आशङ्का गरेका छन् । नेकपा ९एमाले० मेचीनगरले एक प्रेस विज्ञप्ति प्रकाशित गरी कीर्ते धनीपुर्र्जा बनाएर सुकुम्वासीसँग रकम असुलिएको घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालले ठगिएको भन्दै उजुरी दिन आउने पीडित बढिरहेको बताए । पक्राउ परेका आरोपीविरुद्ध कीर्ते जालसाझी मुद्दाअन्तर्गत कानूनी कारबाही हुने उनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ५० बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००