नक्कली जग्गा धनीपुर्जा बाँडेर सुकुम्वासीसँग लाखौँ असुली, दुई जना पक्राउ « Khabarhub

नक्कली जग्गा धनीपुर्जा बाँडेर सुकुम्वासीसँग लाखौँ असुली, दुई जना पक्राउ


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

झापा – जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर नगरपालिका–५ मेचीडाँडाका ६० परिवारसँग रकम असुली गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । आरोपीले पीडितसँग लाखौँ रकम असुलेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार जग्गाको नक्क्ली धनीपुर्जा बनाएर दिएको आरोप लागेका मेचीनगर–६ का ७५ वर्षीय भूपध्वज दाहाललाई प्रहरीले आज पक्राउ गरेको छ ।

अर्का आरोपी सोही वडाका ७३ वर्षीय ज्ञानबहादुर गिरी केही दिनअघि नै पक्राउ परेका थिए । वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका मेची डाँडाका सुकुम्वासी परिवारसँग जग्गाको धनीपुर्जा थिएन । धनीपुर्जा बनाएर घरमै ल्याइदिने भन्दै स्थानीय तीन जनाले रु १० हजारदेखि ७० हजारसम्म रकम असुली गरेको पीडितको भनाइ छ । आरोपीमध्ये फरार एक जनाको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

छ महिनाअघि जग्गाधनीको फोटो टाँसिएको र रातो मसीले सही गरिएको सरकारी छापसहितको जग्गा धनीपुर्जा पाउँदा स्थानीय सुकुम्वासी दङ्ग थिए । तर, उनीहरूको यो खुसी लामो समय टिकेन । डेढ महिनाअघि केही जग्गाधनीले मेचीनगर–६ को वडा कार्यालयमा एकीकृत सम्पत्ति कर तिर्न जाँदा सो धनीपुर्जा नक्कली भएको खुलासा भएको थियो । वडामा जाँदा मात्रै सुकुम्वासीले धनीपुर्जाको नाममा ठगिएको पत्तो पाएका थिए ।

रकम असुलेर नक्कली धनीपुर्जा दिने व्यक्ति विरुद्ध पीडितले जिल्ला प्रशासन कार्यालय झापामा किटानी उजुरी दिएका छन् भने जिल्ला प्रशासनले घटनाको अनुसन्धान गर्न प्रहरी निकायलाई निर्देशन दिएको छ । ऐलानी तीन धुर जग्गामा बसोबास गर्दै आएकी मेचीनगर–६ की सरस्वती बरालले वडा कार्यालयमा तिरो बुझाउन जाँदा त्यहाँका कर्मचारीहरूले धनीपुर्जा नक्कली भएको जानकारी गराएको बताए ।

“गाउँकै भूपध्वज दाहाल र ज्ञानबहादुर गिरीले ‘रु ५० हजार दिनू, धनीपुर्जा बनाएर ल्याइदिन्छु’ भनेपछि रु ३५ हजार बुझाएको थिएँ”, ठगीको शिकार भएकी सरस्वती बरालले भने, “वडामा तिरो बुझाउन जाँदा पो धनीपुर्जा नक्कली हो भनिदिए । मेरो पैसा पनि गयो, धनीपुर्जा पनि कीर्ते प¥यो ।”

वडा कार्यालयका कर्मचारीले कम्युटरमा धनीपुर्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि पीडित बराल वडा कार्यालयमै केही बेर बेहोस भएका थिए । सो बस्तीका ५९ जनाले वडा कार्यालयमा गएर धनीपुर्र्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि गाउँमा बाँडिएका सबै धनीपुर्र्जा कीर्ते भएको प्रमाणित भएको थियो । हाल सो गाउँका पीडितको रुवाबासी छ । कतिले चर्को ब्याजमा ऋण काढेर धनीपुर्जाका लागि रकम बुझाएका थिए ।

धनीपुर्जा बनाइदिन्छु भनेर रकम असुली गर्ने विरुद्ध पीडितले गत चैत १७ गते वडा कार्यालयमा उजुरी दिएका थिए । वडाले पीडितको रकम फिर्ता गराउनका लागि गरेको प्रयास असफल भएपछि जिल्ला प्रशासन कार्यालयलाई पीडितले गुहारेका हुन् । अब यो मुद्दा प्रशासनको न्यायिक कठघरामा पुगेको छ ।

गिरी र दाहालका परिवारले पीडितलाई आधा रकम फिर्ता गरिदिने भन्दै वैशाख १० गते गाउँमै छलफल चलाएर घटनालाई सामसुम पार्न खोजेका थिए । छलफलमा सहमति भएअनुसारको म्यादभित्र रकम फिर्ता भएन । पीडित अहिले न्याय खोज्दै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धाइरहेका छन् ।

सोही ठाउँकी अर्की पीडित मीना खनालले रु ६५ हजार दिएपछि आरोपीहरूले छ धुरको धनीपुर्जा बनाएर ल्याइदिएको बताए । रकम असुली र धनीपुर्जा लेनदेनमा वृद्ध व्यक्ति प्रत्यक्षरूपमा जोडिएता पनि कुनै ठूलो गिरोह यस धन्धामा संलग्न हुनसक्ने पीडितले आशङ्का गरेका छन् । नेकपा ९एमाले० मेचीनगरले एक प्रेस विज्ञप्ति प्रकाशित गरी कीर्ते धनीपुर्र्जा बनाएर सुकुम्वासीसँग रकम असुलिएको घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालले ठगिएको भन्दै उजुरी दिन आउने पीडित बढिरहेको बताए । पक्राउ परेका आरोपीविरुद्ध कीर्ते जालसाझी मुद्दाअन्तर्गत कानूनी कारबाही हुने उनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ५० बजे

प्रतिनिधिसभा निर्वाचनका लागि ६१ दल दर्ता

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका

प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारमै जेन-जीको नाराबाजी (तस्बिरहरू)

काठमाडौं- जेन-जीहरूको एउटा समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका

बोरामा फ्याँकिएकी मायाको शव ११ दिनसम्म सडकमै रहिरह्यो, कात्तिक २६ मै भएको थियो हत्या

काठमाडौं- काठमाडौंको गोंगबुस्थित बसपार्कमा तन्ना र प्लास्टिकमा पोको पारेर फ्याँकिएको

पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र

पर्वत–  ‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा