सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी घट्दै « Khabarhub

सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी घट्दै


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी घट्दै गएका छन् । औलोका रोगीको उपचार तथा व्यवस्थापन स्थानीय तहसम्म पुर्‍याइएका कारण बिरामीको सङ्ख्या घटेको हो । 

दिपायलस्थित सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म औँलाका ५३ बिरामी फेला परेकामा आयातित बिरामीको सङ्ख्या ४८ रहेको छ । 

स्थानीय बिरामी पाँचजना मात्रै फेला परेका छन् । सबैभन्दा खतरनाक मानिने प्लाज्मोडिएम फाल्सिपारम परजीवीबाट सातजना सङ्क्रमित भएका छन् । तीमध्ये आयातित बिरामी छ र स्थानीय एकजना रहेका छन् ।

प्लाज्मोडियम भाइभ्याक्सले मन्द किसिमको सङ्क्रमण गराउने भए पनि प्लाज्मोडिएम फाल्सिपारमका कारणले बिरामीको सबैभन्दा बढी ज्यान गएको पाइन्छ । लामखुट्टेको टोकाइबाट औलो लाग्ने गर्दछ । यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ । ती परजीविलाई पोथी एनफिलिज लामखुट्टेले एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने गर्दछ । 

भारतमा रोजगारी गरेर फर्कनेहरूमा औलोको सङ्क्रमण बढी देखिएको छ । भारतमा असुरक्षित तरिकाले बस्ने र फर्कँदा औँलाका जीवाणु बोकेर फर्कने भएकाले औलो नियन्त्रण गर्न चुनौती भएको निरीक्षक जोशीले बताए। 

उनका अनुसार औलोका ८० देखि ९० प्रतिशत रोगी आयातित छन् । ‘आयातित बिरामी र जलवायु परिवर्तनका कारण पहाडी तथा हिमाली जिल्लामा समेत औलोको सङ्क्रमण देखिनु चुनौतीपूर्ण रहेको छ’ निरीक्षक जोशीले भने, ‘यसको निवारणका लागि औलो सर्भिलेन्स रणनीतिअनुसार कार्य अगाडि बढाएका छौँ ।’ रणनीति अनुसार औलो रोग पहिचान गर्ने, रोग प्रमाणित भएमा तत्काल उपचार गर्ने, रोग देखापरेको व्यक्तिको घर र समुदायसम्म स्वास्थ्यकर्मीको टोली पुगेर रोग परीक्षण गर्ने, उपचार गर्ने कार्य गर्दै आइएको र यस कार्यले समुदायमा थप औलो लाग्न नपाउने हुँदा रोगीको सङ्ख्या घट्दै जाने उनको भनाइ छ ।

औलो रोग देखा परेको स्थान वरिपरि रोग सार्ने लामखुट्टे छ छैन, लामखुट्टे उत्पादन हुनसक्ने स्थान छ छैन भन्नेबारे अनुसन्धान गर्दै आइएको उनी उल्लेख गर्छन् । यस कार्यले एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्ने प्रक्रियामा अवरोध आउने भएकाले रोगीको सङ्ख्या घट्दै गएको छ । आव २०७९-८० मा सुदूरपश्चिम प्रदेशमा एक सय १९ जनामा औलोको सङ्क्रमण देखिएकामा स्थानीय आठ जना र आयातित (भारत लगायतबाट) एक सय ११ जना पुगेका थिए ।

तीमध्ये प्लाज्मोडिएम फाल्सिपारमका १७ बिरामी थिए ।आयातित बिरामी १४ र स्थानीय तीन जनामा प्लाज्मोडिएम फाल्सिपारमको सङ्क्रमण देखिएको थियो । यसैगरी आव २०७८-७९ मा एक सय ७५ जना औँलाका बिरामी देखा परेकोमा आयातित एक सय ५५ र स्थानीयवासी १६ जना बिरामी थिए । तीमध्ये प्लाज्मोडिएम फाल्सिपारमका आयातित १३ बिरामी फेला परेका थिए । 

‘विगतका वर्षको तुलनामा औलोका बिरामीको सङ्ख्या घट्नुमा प्रदेशका अधिकांश स्वास्थ्य संस्थामा औलो जाँचका लागि प्रयोगशाला स्थापना, आरडिटि कीट उपलब्ध हुनु, स्वास्थ्यकर्मीको क्षमता विकास गरेर औलो रोग समयमै पहिचान र व्यवस्थापन गरिनु रहेको छ ‘ निरीक्षक जोशीले भने ,’इन्टोमोलोजी प्रयोगशाला स्थापना गरेर औलो सार्ने लामखुट्टेको प्रभावकारी रोकथामका लागि प्रयास  गरिएका कारण पनि औलो रोग घट्दै गएको छ ।’

औलो रोकथाममा विगत दुई दशकदेखि ग्लोबल फन्डको सहयोगमा कीटनाशक विषादीयुक्त झुल समुदायमा वितरण हुँदै जानु र औलो रोकथामका लागि कीटनाशक विषादी छिड्कावको कार्य हुँदै आएकाले पनि औलो सार्ने लामखुट्टे नियन्त्रण भई रोकथाम हुँदै आएको उनले बताए । 

सुदूरपश्चिममा अहिलेसम्म २४ लाखभन्दा बढी जनसङ्ख्या  औलोको जोखिममा  छन् । नेपाल औलो रणनीति योजनाअनुसार सन् २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएकामा सन् २०२३ देखि २०२५ सम्म तीन वर्षको अवधिमा स्थानीय बिरामीको सङ्ख्यालाई शून्यमा झर्नुपरेको छ । 

सङ्घीय संरचनाअनुसार सबै स्वास्थ्य संस्थामा गुणस्तरीय जाँच, उपचारको न्यायोचित पहुँचसँगै रोकथामका उपाय अवलम्बन गर्ने उद्देश्य पनि लिइएको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १ : ३५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि