काठमाडौं– औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित थप दुई प्रकारका औषधि न्यून गुणस्तरको फेला पारेको छ ।
विभागले एक महिनाको अन्तरालमा लोमसका चार प्रकारका औषधिमा समस्या फेला पारेको हो । विभागले अहिले लोमसबाट उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट न्यून गुणस्तरको फेला पारेको हो ।
प्रयोगशाला परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएपछि ती औषधि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ । ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल औषधिको ब्याच नम्बर एमटीएस ०१२३ मा र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेटको ब्याच नम्बर एचपी ०१२२ मा न्यून गुणस्तर पाइएको विभागले जनाएको छ ।
यसैगरी, विभागले परीक्षणका क्रममा फर्माको इन्टस्ट्रीज् लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल औषधि पनि न्यून गुणस्तरको देखिएको छ। सो औषधिको ब्याच नम्बर २२-०१ न्यून गुणस्तरीय पाइएपछि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ । खराबी देखिएका ब्याचका औषधिहरू बजारमा बिक्री वितरण, सिफारिस र प्रयोग समेत नगर्न सबैमा विभागले अनुरोध गरेको छ। उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी सोको विवरण विभागमा बुझाउन भनिएको छ ।
विभागले माघ तेस्रो र चौथो सातामा लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओएनओ सिरप र पारासिटामोल न्यून गुणस्तरको पाइएको भन्दै बिक्रीमा रोक लगाएको थियो ।
प्रतिक्रिया