उपेन्द्र सुब्बा : दुई थान पासपोर्टको म्याद गुज्रेपछि मिलेको ख्याति | Khabarhub Khabarhub

उपेन्द्र सुब्बा : दुई थान पासपोर्टको म्याद गुज्रेपछि मिलेको ख्याति

गीतकार बन्न आउँदा कवि


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


12.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपेन्द्र सुब्बा उर्फ कबड्डी फिल्मका झाँक्री । उनी कवि, लेखक, कलाकार र निर्देशकका रुपमा परिचित छन् । लिम्बू मातृ लबजमा कविता वाचन गर्दा उनलाई खुबै सुहाउँछ । 

सामान्य शब्दमा पेचिलो कविता लेख्नु उपेन्द्रको विशेषता हो । कविता संग्रह, लघुकथा संग्रह र पटकथा प्रकाशन गरेका उपेन्द्र पद्ममश्री पुरस्कारबाट सम्मानित स्रष्टा पनि हुन् । 

३५ वर्षसम्म बेरोजगार बसेको बताउँने उपेन्द्र सोही समयमा पनि सहरी जीवनबाट भने टाढा थिएनन् । उनी भन्छन्, ‘के आँटले बाचे होला म ?’
यद्यपि बेरोजगारीले पुरस्कार राशीसमेत अग्रिम बुझेको घटना उनले खबरहबसँग खुलाए । 

विदेश जान बनाएका दुई पासपोर्टको म्याद गुज्रिएपछि साहित्यबाट फिल्म क्षेत्रमा प्रवेश गर्ने अवसर जुरेको सुब्बा बताउँछन् । काठमाडौंमा विस्थापित हुनबाट जोगाउनेको जस उनी नायक दयाहाङ राईलाई दिन्छन् । 

रियालिटी शो ‘द पोएट आइडल’को निर्णायकसम्मको यात्रा तय गरेका उनी निर्देशक बन्नुको कारण पनि दयाहाङ नै रहेको तर्क गर्छन् । उनको निर्देशनमा रहेको दोस्रो फिल्म ‘मनसार’ वैशाख २१ बाट प्रदर्शनमा आउँदै छ ।  

सहुलियतको बाल्यकाल
कवि उपेन्द्र सुब्बा नागरिकताभन्दा दुई वर्ष कान्छा छन् । उनको वास्तविक जन्म मिति वि.सं २०३० साल हो । पाँचथरको आङ्साराङमै बाल्यकाल बिताएका उनी एक्लो छोरो भएका कारण दिदी–बहिनीभन्दा सहुलियतमा हुर्केको बताउँछन् । यस अर्थमा आफ्नो हुर्काइ छोरा–छोरीबीच हुने विभेदमै भएको उनको बुझाइ छ । 

लिम्बु गाउँ भए पनि लाहुर नछिरेका बुबा, नाम भने मेजरसिंह । उनी भन्छन्, ‘बुबाको नामभन्दा धेरैले, अहो ! लाहुरेको छोरा हो ? भनेर सोध्छन् । तर नाम मात्रै हो, काम त किसानी ।’

किसान परिवारमा हुर्के पनि बाल्यकालमा साथीहरु सरह भएर हिड्न अभाव खेप्नुपरेको उनलाई सम्झना छैन । 

पढाइमा राम्रै भए पनि कहिल्यै पहिलो र फेल भएको अनुभव उनीसँग छैन । साहित्य तिर झुकाव चाहिँ आईए पढ्दा मात्रै बढेको उनी सम्झन्छन्  ।
उनी भन्छन्, ‘म पढेको जय नारायण आर्दश माविमा व्यवस्थित पुस्ताकालय थिएन । किम जोङ उनको बाउको किताब चाहिँ थियो । त्यो पढिएन् । कविता तिर ध्यान नै थिएन ।’

एसएलसीमा थ्रर्ड डिभिजन ल्याएर क्याम्पस भर्ना भएपछि भने साहित्यमा झुकाव बढेको उपेन्द्रलाई महसुस हुन्छ । 

महोलले लेखाएको कविता

विसं २०४६ मा एलएलसी उत्तिर्ण गरे पनि उपेन्द्र ०४८ सालमा मात्रै क्याम्पस भर्ना भए । कमर्स पढ्न झापा झर्दा अरुले पढ्न सक्दैनस् भनेर निराश बनाएका कारण एक वर्ष ढिलो भएको उनी सुनाउँछन् । 

उनी थप्छन्, ‘कमर्स नपढ्ने भएँ, अरु पढ्न फारम भर्ने म्याद सकिएछ । अनि गाउँमै गएर बसेँ । एक वर्षपछि इलामको महेन्द्ररत्न क्याम्पसमा सजिलो विषय मानविकी पढ्न गएँ ।’

मेजर विषय नेपाली भएकाले साथीहरुले लेखेको कविता सुन्दा–सुन्दै त्यसतर्फ आकर्षण बढेको उनको बुझाइ छ । 

‘कविताको माहोल थियो, कलेजमा कार्यक्रम हुँदा त्यहाँ प्रस्तुती दिन साथीहरुले लेखेको देखेँ । मैले पनि लेख्न थालेँ,’ उनी भन्छन्, ‘तर कसैलाई सुनाइनँ । देख्छ कि भनेर लुकाउँथेँ । साह्रै पो लजालु थिएँ ।’

यसरी लेखनका सुरुवात गर्दा पहिलो पटक लेखेको ‘म एक विद्यार्थी एक ज्वाडे’ शीर्षकको कविता उनलाई अझै याद छ । उनले त्यही पहिलो कविता नै संग्रहमासमेत समावेश गरेका छन् । 

एल्बम निकाल्न काठमाडौं 

उपेन्द्रको दमक बहुमुखी क्याम्पस पढ्ने इच्छा स्नातकमा पूरा भयो । झापा पढाइकै क्रममा लेखनमा थप निखारता आएको उनी बताउँछन् ।
झापा बसेर पढ्दा रेडियो धेरै सुन्ने भएकाले गीतमा मोह पसेको उनी सम्झन्छन् ।  यही मोहले उनलाई काठमाडौंसम्म डोर्यायो । यसको श्रेय भने उनी नाताले बाजे पर्ने साथी दीपराज गुरुङलाई दिन्छन् । 

‘दीपराज लाहुरेको छोरा पैसावाल थियो । पसलेले उसका लागि मात्रै गाउँमा वियर ल्याउँथ्यो । वियर खाँदै गर्दा गीतको प्रसंग निस्कियो, मैले मेरो गीत सुनाएँ । उसले राम्रो छ रेकर्ड गर् भन्यो ।’ उनी सम्झन्छन् ।

 ‘पैसा भए पो रेकर्ड गर्नु’ भनेर आफूले फर्काएको जवाफमा दीपराजले ‘म दिन्छु मूला’ भनेर फर्काएको प्रतिउत्तर उपेन्द्रललाई झलझली याद आउँछ ।  उही साथीले ठाउँको ठाउँ झिकेर दिएको २० हजारले ०५७ सालमा गीती एल्बम झिक्न काठमाडौं छिरेको उपेन्द्र सुनाउँछन् ।

‘मैले रेडियोमा गीतकार शुभ मुकारुङको अन्तर्वार्ता सुनेको थिएँ । एल्बम निकाल्दा ७० हजार खर्च भएको प्रसङ्ग सुनाउनुभएको थियो । अनि मैले दीपराजलाई १ लाख लाग्छ भनेँ,’ उनी थप्छन् ‘२० हजार लिएर जा बाँकी लिएर म आउँछु भनेर पठाएको थियो ।’

काठमाडौं आएर संगीतकार खोज्ने क्रममा गीतकार शान्तिराम राईलाई भटेपछि संगीतकार र साहित्य क्षेत्रका अन्य व्यक्तिसँग चिनजान बढेको उनी सम्झन्छन् । 

तर, काठमाडौंको बसाइँ र कामको ढिलाइले खर्च सकिएपछि दीपराज थाहै नदिई कोरिया उडेपछि उपेन्द्रले एल्बम निकाल्न पाएनन् ।

‘हाम्रो बसाइँ होटलमा । खर्च बढी भयो । काम ढिला हुँदै गयो । खर्चले धानेन । सँगै सुतेको साथी कोरिया हिडेपछि थाहा पाएँ । काम नगरेर पैसा मात्रै सकिदियो भनेर रिसाएर गयो भन्ने लागेको थियो,’ उपेन्द्र त्यसबेला मनमा उब्जेका कुरा सम्झन्छन् । 

‘एल्बम निक्लेन, संग्रह निस्कियो’

उपेन्द्र भन्छन्, ‘मैले पहिलो पटक २७ वर्षको उमेरमा कविता सुनाएको व्यक्ति साहित्यकार राजन मुकारुङ हो ।’ राजनसँग भने उनलाई काठमाडौं आएपछि गीतकार शान्तिरामले परिचय गराइदिएका हुन् । 

‘म गीतकारका रुपमा काठमाडौं आएको थिएँ, राजन सरले मेरो चिनारी गीतकारको पाउनुभयो ।’ उनी भन्छन्, ‘पछि राजनसरसँग घनिष्टता बढ्यो । सँगै रक्सी पनि खाने भइयो । रक्सी खादै गर्दा मैले राजन सरलाई कविता सुनाएँ ।’

कविता सुनाएपछि राजनकै सल्लाहमा संग्रह प्रकाशन गर्ने निर्णयमा पुगको उपेन्द्र बताउँछन् ।

 उनी भन्छन्, ‘राजन सर सैनिक आवाज म्यागेजिन सम्पादक हुनुहुन्थ्यो । कविताको डायरी माग्नुभयो । उहाँले फाटफुट काम गरेर किताब तयार पारिदिनुभयो । ०५८ सालमा संग्रह निस्कियो ।’ 

सो संग्रह बजारमा खासै नचले पनि त्यसैले कविको परिचय दिएको उनी सम्झन्छन् । 

‘कवि भनेर निमन्त्रणा त आउन लाग्यो तर मञ्चमा पुगेपछि थरर… काप्थेँ । अनि रुञ्चे आवाज निस्की हाल्ने,’ उनी भन्छन्, ‘जे होस् डर पचाउँदै गइयो । ०६० सालमा त हौसिएर दोस्रो संग्रह निकाले । हौसिएर लेखेको लेख्यै भएछु ।’ 

काम नआएका दुई थान पासपोर्ट

उपेन्द्र भन्छन्– जिन्दगी फर्केर हेर्दा कुन आँटले बाँचे होला जस्तो लाग्छ । 

उनलाई यो लाग्नुको कारण आर्थिक विपन्नता नै हो । ३५ वर्षपछि मात्रै आफूले पैसा कमाएको उनी बताउँछन् । 

बेरोजगार, परिवारसँग नख्खुमा बस्ने, सुकिलै भएर हिडेको देख्दा उनलाई साथीहरुले प्रश्न गर्थे रे, ‘हैन उपेन्द्र कविता त लेख्छौं । घर चाहिँ केले चल्छ ?’ साथीहरुलाई ‘भगवानले हेर्छ’ भनेर मुखे जवाफ फर्काए पनि ०५५ सालदेखि ०६५ सालका दौरान ५५ लाखको ऋण लागेको उनी बताउँछन् ।

‘उमेरमै गरिखाने बुद्धि आएको हो । विदेश जान खोजियो, लाइन बसियो, अँह भिसा लागेन । मेरो दुई वटा पासपोर्ट त भिसा नलागेरै म्याद गुज्रियो,’ उनी भन्छन्, ‘हाम्रो समुदाय नै सहज भएकाले ऋण दिन्थेँ । त्यसरी ऋण गर्दा मोटामोटी ५५ लाख ऋण पुगेछ । ०६५ सालपछि अलिअलि पैसा कमाएँ । अहिले पनि तिर्दैछु ।’

०६५ सालपछि किताब लेख्ने, विदेशमा भएका साथीहरुको किताब सम्बन्धी काम गर्ने, पुरस्कार राशी लगायतले आर्थिक पाटो सहज बन्दै गएको उनी बताउँछन् ।

‘निर्देशक रामबाबु गुरुङ, एमाले नेता अइन्द्र सुन्दर नेम्वाङ, प्रविण नेम्वाङ दाइ, दिपराज गुरुङहरु त्यो कठिन समयमा पैसा माग्ने घरेलु बैंक हुन् ।’ उपेन्द्र हाँस्दै भन्छन् । 

नबिर्सिने पुरस्कार

पद्ममश्री साहित्य पुरस्कारबाट सम्मानित भए पनि उपेन्द्रले नबिर्सने पुरस्कार नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले ०६६ सालमा दिएको नेपाली प्रतिभा पुरस्कार हो । 

एक लाख धनराशीको सो पुरस्कारलाई उनी अझै पनि सञ्जिवनीका रुपमा लिन्छन् । उनी भन्छन्, ‘साह्रै दुखको बेला सो पुरस्कार पाएको थिएँ । त्यो जति महत्त्वपूर्ण मलाई कुनै पुरस्कार लागेन ।’

त्यो बेला पैसाको जरुरत परेर पुरस्कार वापत्को ६० हजार रुपैयाँ पहिल्यै बुझेको कारण विशेष लागेको उनी सुनाउँछन् ।

‘कमलादीमा पुस्कार घोषणा गर्यो, पैसा चाहिँ पछि दिने भयो । आयोजक साथी चिनेको थियो, अहिले अति आवश्यक छ अहिले दिने भए ठीक छ नभए पछि थाप्दिन भनेँ,’ उनी भन्छन्, ‘सुरुमा मानेको थिएन तर दियो । पछि पनि देखाउनुपर्छ भनेर उसले ६० हजार मात्रै दियो । दुखको बेला पाएका यो सधैँ सम्झने पुरस्कार हो ।’

कमाउँदा हैरान !

अभिनेता दयाहाङ राई फिल्ममा स्थापित भएर काठमाडौंबाट विस्थापित हुनबाट जोगिएको उपेन्द्रको बुझाइ छ । जारी फिल्मको निर्देशकसम्मको यात्रा तय गराउने जस पनि उनी दयाहाङलाई नै दिन्छन् । 

‘०७० मा आएको कबड्डी चल्यो, राम्रै आम्दानी भयो । त्यसपछि घरपरिवार चलाउन सहज भयो । झाँक्रीको परिचय पाएँ,’ उनी थप्छन्, ‘बीचमा केही निकालेको किताब पनि राम्रै बिक्री भयो । पुरस्कारहरू पाउँथेँ । कबड्डीमा स्क्रिप्टको काम गरेको हुनाले त्यसपछि फिल्मको कामहरू आयो पैसा कमाउँदै गएँ ।’

पैसा कमाउन थालेको थाहा पाएर ऋण फिर्ता माग्न आउनेको भिडले हैरान पारेको उनी सुनाउँछन् । ‘धेरैले यसले कहाँबाट ल्याउँछ भनेर पैसा माया मारेका रहेछन् । कमाएको थाहा पाएपछि मेरो कहिले दिने ? भन्दै आउने । तपाईंको पनि लिएको छु र जस्तो लाग्थ्यो,’ उनी भोगाइ सुनाउँछन् ।

दयाहाङ नै नायक भएको फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेको उनले सोही प्रोजेक्टबाट आर्थिक पक्ष मजबुत भएको बताउँछन् ।

झाँक्री बन्दाको फाइदा 
हुनत झाँक्री बन्दा उपेन्द्रलाई कुनै बेफाइदा छैन । कबड्डी फिल्मको सो पात्रले उनलाई व्यवसायिक रुपमा फाइदा नै पुर्‍याएको छ ।

उनी भन्छन्, ‘झाँक्रीले त नयाँ परिचय नै दियो । फाइदा नै भयो । कार्यक्रममा झाँक्री हेर्न आउँछन् म कविता सुनाएर पठाउँछु ।’

यही कविताको माध्ययमबाटै दर्जनौं मुलुकमा पुगेका उपेन्द्र भन्छन्, ‘तेस्रो पासपोर्ट काम लाग्यो । आधा दर्जनभन्दा बढी मुलुकमा पुगियो । केही मान्छे त कार्यक्रममा झाँक्रीसँग फोटो मात्रै खिच्न पनि आउँदा रहेछन् ।’ 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ३ : ०० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न