निर्देशक अमनप्रताप : फुटबलदेखि 'द पोएट आइडल'सम्म | Khabarhub Khabarhub

निर्देशक अमनप्रताप : फुटबलदेखि ‘द पोएट आइडल’सम्म

‘फुटबलले नै टेलिभिजनमा डोर्‍याएर रियालिटी शोसम्म पुर्‍यायो’


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक अमनप्रताप अधिकारीको नाम नेपाली टेलिभिजनको ब्रान्ड बनेको छ । हिमालयन रोडिज, को बन्छ करोडपति ? र ऐना उनले निर्देशन गरेका चर्चित टेलिभिजन कार्यक्रम हुन् ।

सन् १९९८ मा नेपाल टेलिभिजनबाट टेलिभिजनका यात्रा सुरु गरेका अमन अहिले ‘द पोएट आइडल’ दोस्रो सिजनको निर्माण र प्रशारणबाट व्यस्त छन् । यो कार्यक्रम उनले आफ्ना बुबा चर्चित साहित्यकार क्षेत्रप्रताप अधिकारीको सम्झनामा ल्याएका हुन् ।

काठमाडौंमै जन्मे–हुर्केका अमन फुटबल खेलाडी हुँदै टेलिभिजनमा प्रवेश गरे । टेलिभिजनमा प्रवेश गर्नुको जस उनी विश्वकप फुटबललाई दिन्छन् ।

टेलिभिजनका दुई घटना उनका लागि विशेष छन् । पहिलो हो– २४ वर्षको उमेरमा साफ गेमको कमेन्ट्री गर्दा विदेशी च्यानलले लाइभ प्रसारण गरेको । त्यसबेला बुबा क्षेत्रप्रतापले गरेको प्रश्न उनले अझै बिर्सिएका छैनन् ।

दोस्रो– हिमालयन रोडिजको पहिलो सिजनको निर्देशन पनि उनका लागि विशेष स्मरणीय बनेको छ ।

बाल्यकालको खेल प्रेम

विसं २०३० मा काठमाडौंको पुरानो बानेश्वरमा जन्मे–हुर्केका अमनले बाल्यकालमा अभाव खेप्नुपरेन । कान्छो छोरा भएकाले उनमा अभिभावकको संघर्षको समेत चेत छैन ।

बाग्मती नदीमा पौडी खेल्ने, हिउँदे बिदामा गुच्चा, लुकामारी, चोरी–पुलिस, फाइभ फिङ्गर खेलेको, परालको कुन्यूमा उफ्रिएर गरेको बदमासी उनको बाल्यकालको यादगार क्षण हो ।

उनी बाल्यकालको स्वभावबारे सुनाउँछन्, ‘खुबै चकचके थिएँ । पशुपतिको जंगलमा बाँदरलाई ढुंगा हान्नसमेत गइन्थ्यो ।’

फुटेको बलमा ब्लाडर हाल्न साथीहरुसँग पैसा उठाएर बानेश्वरको बाँझो खेतमा फुटबल खेलेको अमनको जीवनको बिर्सन नसक्ने क्षण हो । उनी बाल्यकालको अर्को यादगार कुरा सुनाउँछन्, ‘साथीहरु मिलेर बराबर पैसा उठाएर भाडामा बूढो साइकल लिइन्थ्यो । एउटाले चलाउँदा अरु पछि–पछि मेरो पालो भन्दै कुदिन्थ्यो ।’

विद्यालय तह सेन्ट जेभियर्स पढे पनि पढाइमा खासै रुचि नभएको सुनी सुनाउँछन् । उनी भन्छन्, ‘फेल कहिल्यै भइनँ तर बिदाको घण्टी बजेपछि ग्राउन्ड पुग्ने पहिलो विद्यार्थी म हुन्थेँ । सरहरुले पनि यसको खेलमा लगाभ आश्चर्यलाग्दो छ भन्नुहुन्थ्यो ।’

स्कुलमा ज्याभलिन थ्रो, लङ जम्प, हाइजम्प, भलिबल, बेसबल सबै खेले पनि फुटबलमा भने छुट्टै लगाव भएको उनी बताउँछन् । त्यही लगावले उनले एक दशक ए डिभिजन लिग खेलेर व्यतित गरे ।

१६ वर्षमा क्लब फुटबल

दाइ राष्ट्रिय टिमको गोलकिप्पर भएका कारण अमनलाई दाइ जस्तै बन्न मन नलागेको होइन तर हात भाँचिएपछि उनी फर्वाडमा खेल्न बाध्य भए ।

टोलमा नियमित हुने खेल र काठमाडौंका टोल–टोलबीच प्रतिस्पर्धामा अंग्रपक्तीमा गनिने खेलाडीको सूचीमा नाम परेपछि फुटबल मोह झन् जागेको अमन सुनाउँछन् ।

अमन सम्झन्, ‘काठमाडौंमा ५ फिट मुनिको टोल–टोलको प्रतियोगिता हुन्थ्यो । बानेश्वरले भाग लिएको छैन भने हाम्रो टिमबाट खेल्दे भनेर अरु टोलका केटाहरु लिन घरमै आइपुग्थे । सबैले मलाई राष्ट्रिय खेलाडी बन्छस् भन्थेँ ।’

एसएलसी सक्नेबित्तिकै अन्डर १६ टिममा छनोट भएपछि उनले फ्रेन्डस क्लबबाट खेल्ने अवसर पाए । उनी भन्छन्, ‘फ्रेन्डस क्लबको कोच इन्द्रमान दाइको निशानामा परेपछि मैले १६ वर्षमै फ्रेन्डस क्लबमा साइन गरेको हो । मासिक तलब ५०० थियो ।’

साइकल चढेर फुटबल अभ्यास

भाडामा बूढो साइकल सकेँ पनि एसएलसी सकेपछि आफैँले ‘माउन्टेन बाइक’ किनेको अमन सुनाउँछन् ।

उनी भन्छन्, ‘एसएलसीमा फ्रस्ट डिभिजन ल्याएपछि आर्मीको सन्तानलाई स्कुल फी आउँथ्यो । मेरो आमा आर्मी हो । त्यहीबाट आएको पैसाले साइकल किनेको हुँ ।’

यो त्यसबेलाको कुरा हो– जुन बेला साइकल चढेर हिड्दा छुट्टै शान हुन्थ्यो । अमन थप्छन्, ‘त्यसबेला साइकल भनेको बाइक हो । फ्रेन्ड क्लबमा फुटबल अभ्यास गर्न साइकल चढेर जाँदा आफूलाई हिरो महसुस हुन्थ्यो ।’

फुटबल खेलेरै पढ्न दिल्ली

१६ वर्षमा देब्रे खुट्टामा चोट लागेपछि खेलको स्तर केही खस्किएको अमन सुनाउँछन् । बढ्दो उमेर र शारीरिक कमजोरीले फुटबलमा भविष्य नदेखपछि अमनले स्तानक पढ्न भारत जाने निर्णय गरे । तर दिल्ली युनिभर्सिटीमा उनी ‘फुटबल स्कलरसिप’बाटै पढेका हुन् ।

उनी थप्छन्, ‘यहाँ ए डिभजन खेलिरहेको थिएँ । त्यहाँ गएर ट्रायल दिएको सेलेक्ट भएँ । तीन वर्ष अरुले पैसा तिरेर पढेँ, मलाई चाहिँ पैसा आउँथ्यो । पकेट खर्च हुन्थ्यो । खेलाडीको लागि छुट्टै डाइट हुन्थ्यो ।’

दिल्लीबाट फर्केरपछि दुई वर्ष काठमाडौं क्लबबाट सहीद स्मारक खेलेको अनुभव पनि उनीसँग छ । उनी थप्छन्, ‘१६–२१ वर्षमा एउटै ठाउँमा चार पटक लिगामेन्ट च्यातियो । देब्रे खुट्टा कमजोर भएर हान्नै नमिल्ने भइसकेको थियो ।’

अनि टेलिभिजन यात्रा

अमन टेलिभिजनमा जोडिनुको कारण पनि फुटबल नै हो । सन् १९९८ को वर्ल्डकपले उनलाई टेलिभिजनको यात्रामा प्रवेश गराएको हो ।

उनी भन्छन्, ‘नेपाल टेलिभिजनले लाइभ देखाउँदै थियो, माहोल तताउन प्री वर्ल्डकप हाइलाइट कार्यक्रमका लागि रिसर्च गर्ने मान्छे चाहेको रहेछ । ए डिभिजन लिग खेलेको र मास्टर्स गर्दै गरेको मान्छे चाहेकाले मैले अवसर पाएँ ।’

प्री वल्र्डकप हाइलाइट कार्यक्रम, सन् १९९४ को वर्ल्डकपको हाइलाइट र नयाँ खेलाडीहरु चिनाउने कार्यक्रम भएकाले फुटबल बुझेकै कारण अमनले काम पाएका हुन् ।

‘त्यसबेला इन्टरनेटको पहुँच थिएन । खेलाडीबारे थाहा पाउने भनेको पत्रिका पढेरै हो,’ उनी थप्छन्, ‘म चाहिँ सबै गेम हेर्न बस्दा कापी कलम लिएर बस्थेँ । गेम सकिँदा एलो–रेड कार्ड कति, फौल यति, यसको पासमा यति मिनेटमा गोल भनेर टिप्थेँ । कमेन्टेटर र एक्सपर्टले के बोल्यो समेत टिप्थेँ । सबै खेलको कुन्डली राखेकाले टेलिभिजन मेरो काम राम्रो भयो । ’

सो कार्यक्रमबाट ३८ सय पारिश्रमिक पाएको अमनले भुलेका छैनन् ।

टेलिभिजनमा जुरेको अवसर

प्री वर्ल्डकप हाइलाइटमा काम गरेपछि अमनले नेपाल टेलिभिजनबाटै प्रशारण हुने खेल–खेल कार्यक्रममा सहायक निर्माताको जिम्मेवारी पाए ।

प्रस्तोता विनोद खरेल रहेको सो कार्यक्रम नेपालकै एक मात्र खेलसम्बन्धी कार्यक्रम थियो । त्यसपछि भने अवसरको ढोका खुल्दै गएको बताउँछन् ।

सोही क्रममा सन् १९९९ मा नेपालले आयोजना गरेको आठौं साफ गेममा अमनले प्रतिभालाई रिर्सचबाट कमेन्ट्रीमा विस्तार गर्ने मौका पाए । विनोद खरेल राष्ट्रिय टिमको सदस्य भएकाले यो संयोग जुरेको उनी सुनाउँछन् ।

तर देशको एकमात्र टेलिभिजनमा कमेन्ट्रीका गर्न सक्षम छु भनेर प्रामिणत गर्ने गरेको संघर्ष अनमका लागि अविस्मरणीय छ ।

‘त्यसअघिको साफको कमेन्ट्री र होस्ट विनोद दाइले नै गर्नुभएको रहेछ । आठौं साफमा उहाँ राष्ट्रिय टिमको गोलकिपर भएकाले मिलेन । भारतबाट मान्छे ल्याउने कुरा थियो,’ उनी थप्छन्, ‘अनि म गर्छु भनेर टेलिभिजनमा प्रस्ताव राखे । टिभीका तत्कालीन प्रबन्ध निर्देशक दुर्गानाथ शर्मा सरको अगाडि कमेन्ट्रीको टेस्ट दिएँ । नेपाली र अंग्रेजी भाषा टेस्ट दिएको थिएँ ।’

कमेन्टी जाँचका क्रममा दुर्गानाथले दिएको प्रतिक्रिया उनले अझै भुलेका छैनन् । उनलाई दुर्गानाथले केमेन्ट्री गर्दा गर्दै बीचमा रोकेर भनेका थिए रे, ‘चिन्ता नलेउ, भारतबाट मान्छे आउँदैन । अब कमेन्ट्री तिमीले गर्छौ ।’

कमेन्ट्रीले दिएको खुसी

इन्टरनेट पहुँच नभएकाले साफमा सहभागी टिमको सूचना लिन हरेका टिमलाई भेट्न गरेको संघर्ष अमनले भुलेका छैनन् ।

त्यसबेलाको अवस्थाबारे उनी भन्छन्, ‘टिम कहाँ बसेको छ त्यही पुग्थेँ । कोही टिम सातदोबाटो हुन्थ्यो । कुनै टिम भेट्न होटल पुग्थेँ । कोचलाई तेरोबारे राम्रो बोल्दिन्छु भनेर टिमका सूचना माग्थेँ ।’

सेमिफाइनल अगाडिसम्म नेपालीमा, सेमिफाइनल र फाइनलमा अंग्रेजी भाषामा गरेको कमेन्ट्री अमनका लागि अविष्मरणीय क्षण हो ।

‘नेपालमा मात्र प्रसारण हुने खेलमा नेपाली भाषामा कमेन्ट्री गरेको थिएँ । अन्तर्राष्ट्रिय लाइभमा अंग्रेजीमा कमेन्ट्री गरेँ । भारतलगायत अन्य देशमा पनि मेरै आवाजमा पुग्यो,’ उनी थप्छन्, ‘त्यसबेला २४ वर्षको थिएँ । घरमा टीभी हेर्दा मेरो आवाजको कमेन्ट्री भएको खेल भारतीय च्यानलले रिप्ले देखाएको थियो ।’

भारतीय च्यानलमा पनि आफ्नो आवाजको रिप्ले आउँदा साफमा खटेको दुख बिर्सिने बाहान मिलेको उनी सुनाउँछन् । तर सबै आफ्नो कामबाट खुसी हुँदा बुबाले भनेको एउटा कुरा उनले बिर्सिएका छैनन् ।

आफ्ना साथीहरुले अमनले राम्रो गर्‍यो भन्दा मुसुमुसु हाँस्दै उनलाई बुबाले प्रश्न गर्थे रे, ‘कमेन्ट्री चाहिँ राम्रो गरिस् अब के जागिर गर्छस् ?’
यद्यपि उनी साफमा कमेन्ट्री गरेको कामलाई करिअरकै महत्वपूर्ण अवसर मान्छन् ।

प्रस्तोता बन्ने अवसर

रिसर्चरका रुपमा टेलिभिजनमा प्रवेश गरेका अमनले प्रस्तोता समेत बन्न भ्याए । उनी प्रस्तोताका रुपमा देखिएको पहिलो कार्यक्रम हो– खेल खेल ।

उनले त्यसैबेला नरेश भट्टराई, शुसिल नेपाल, जीपी तिमल्सेना, सुरेश पौडेललाई भेटका हुन् । उनी थप्छन्, ‘हामी एकै ब्याच हौं । अहिलेसम्म यही फिल्डमा छौं ।

तर स्पोर्ट्सकास्टरलाई नै खेल समाचार पढाउनुपर्छ भन्ने प्रस्ताव अस्वीकार भएपछि नेपाल टेलिभिजन छोडेको उनी सुनाउँछन् ।

उनी थप्छन्, ‘त्यही बेला कान्तिपुर खुल्यो । स्पोट्र्सकास्टरलाई नै खेल न्युज पढ्न दिनुपर्छ भन्नेँ प्रास्ताव स्वीकार भएपछि कान्तिपुर गएँ । अंग्रेजी राम्रो भएकाले बेलुकाको समाचार पनि पढेँ ।’

ठूलो प्रडक्सन र मल्टिक्यामेरा डाइरेक्सनमा भारत प्रवेश गरेको जानकारी पाएपछि चल्तीको प्रोगाम ‘स्कोरबोर्ड’ छोडेर बेलायत पढ्न गएको अमन सुनाउँछन् । उनी भन्छन्, ‘स्कोरबोर्ड ७५ भाग पुगेको थियो । भारत मल्टिक्यामेरा डाइरेक्सन छिरिसक्यो अब नेपाल पनि जान्छ भन्ने लाग्यो । त्यसका लागि पढ्नुपर्छ भन्ने सोच आयो ।’

फेरि काठमाडौंको संघर्ष

सन् २०१० मा बेलायतबाट नेपाल फर्किएर अमन तराई टेलिभिजन कार्यकारी निर्माताका रुपमा आबद्ध भए । हास्यकलाकार सन्दीप क्षेत्रले चलाउने कार्यक्रम ‘द फ्ल्प शो’को परिकल्पना आफ्नै रहेको उनी बताउँछन् ।

उनी थप्छन्, ‘म र सन्दीपलगायत बसिरहेको नाम फ्लप शो नाम राख, भनेर मैले सुझाव दिए । सन्दीप आफैँमा प्रतिभा भएको केटा हो । सबै काम उसले गथ्र्यो, हल्का सुझाव दिँदा हुन्थ्यो ।’

यस अर्थमा सन्दीपले चलाउने कार्यक्रम ‘ह्वाट द फल्प’को सुरुवाती कल्पनाकार आफू भएको उनको दाबी छ ।

त्यसपछि ‘भेन्चरिङ नेपाल’ डेयरिङ कार्यक्रमको प्रस्तोता र निर्देशक बनेका अमनले ‘कृपा अनपल्ग्ड’ नामक सांगीतिक कार्यक्रमको निर्देशन गरे ।

‘भेन्चरिङ नेपालले चलाउँदा मलाई नेपाली वियर गिल्स भन्थेँ । मल्टिक्यामेरा डाइरेक्सन भएको शो भएकाले सुटिङमा जाँदा मान्छे छक्क पर्थे,’ उनी सुनाउँछन् , ‘कृपा अनप्लग्डले चाहिँ अमनले विदेश पढेर आएपछि खेलबाहेक अन्य कार्यक्रम पनि गर्न सक्छ भनेर प्रमाणित गर्‍यो ।’

डन डिरेक्टर

हिमालय रोडिज निर्देशनपछि अमनले ‘डन डिरेक्टर’ को उपमा पाए । सो कार्यक्रमको फ्रेन्चाइज नेपालमा ल्याउन गरेको संघर्ष उनको बेग्लै छ ।

हिमालयन टिभीको व्यवस्थापनले दुई दिनको समय दिएर दिएको जिम्मेवारी उनका लागि अविस्मरणीय छ । उनी यसबारे स्पष्ट पार्छन्, ‘व्यवस्थापनले मुम्बई जानु । उताकै क्रुसँग एक हप्ता बस्नु । तर नेपालका कसरी बनाउने भनेर त्यो पनि भिजन लिएर जानु भनेको थियो ।’

दुई दिनमै तयार गरेको खाकाले भारतीय पक्षलाई विश्वासमा लिएको उनी सुनाउँछन् । यसमा विदेशको पढाइले निकै सहयोग गरेको उनको अनुभव छ ।

‘मुम्बईमा प्रिजेन्टेसन दिएँ । जोमसोमदेखि तराईसम्म सुट हुन्छ भनेर देखाएँ,’ उनी थप्छन्, ‘मैले प्रेजेन्टेसन दिएको ठाउँमा डेढ सय भारतीय निर्देशक थिए होलान् । ती सबै रोडिज निर्देशन गर्न पालो कुरेर बसेका रहेछन् ।’

भारतीय पक्षले दिएको गाइडलाइन अनुसार १२७ जनाको टिमको नेतृत्व गरेर पहिलो सिजनको रोडिज सफल निर्माण गर्नसक्नुलाई उनी करिअरकै विशेष प्रोजेक्टका रुपमा लिन्छन् ।

‘मैले रोडिज निर्माण गर्न सकिने भने मात्रै भारतबाट मान्छे पठाउँछौं भनेको थियो । तर परेरन,’ उनी सुनाउँछन्, ‘उल्टो फिनालेमा रणभिजे आएर भारतको सेटअपभन्दा कम छैन भनेर प्रतिक्रिया दिए ।’

रोडिजको पहिलो सिजनलाई उनी आफ्नो करिअरको सफल विन्दु मान्छन् ।

को बन्छ करोडपतिको निर्देशन

‘को बन्छ करोडपति ?’ डेढ वर्षको तयारीमा पनि प्रशारण नभएपछि व्यवस्थापनले आफूलाई बोलाएको अमन सुनाउँछन् । तर डेढ महिनाको मिहिनेतले शो कार्यक्रम प्रशारण भएको क्षणले उनलाई बेग्लै सन्तुष्टि दिन्छ ।

उनी सुनाउँछन्, ‘फ्रेन्चाइज शो । विदेशीले दिएको मापदण्ड अलिकति यताउता हुनु नहुने । लाइट–साउन्ड ठीक मिल्नुपर्ने । मलाई पढाइले भने धेरै सहयोग भयो । नेपालको सेट उत्कृष्ट १५ मा पनि आयो । डेढ वर्ष रोकिएको कार्यक्रम म गएपछि डेढ महिनमै प्रशारण भयो ।’

शो कार्यक्रमको पहिलो एपिसोड तयार गर्दाको क्षण अमनले अझै बिर्सिएका छैनन् । बेलायतबाट आएको टिमलाई चित्त बुझाउन गरेको मिहिनेत उनलाई एक–एक स्मरण छ ।

‘युकेबाट भाइस प्रेसिडेन्ट आउनुएको थियो । एकदमै कडा स्वभाव, त्यहीमाथि पहिला दुई–तीन पटक आएर कार्यक्रम प्रसारण नभएकाले रिस उठेको रहेछ । बेलायतको मेरो शिक्षकको साथी भएकाले मसँग अलि सकारात्मक हुनुभयो,’ उनी थप्छन्, ‘दर्शक–प्रतिस्पर्धी कार्यक्रमको नियम अनुसार राखेर ट्रायल सुट गरियो । एक एपिसोड गर्न ५–६ घण्टा लाग्यो ।’

ट्रायल एपिसोड खिचेपछि विदेशी टिमले दिएको प्रतिक्रिया अमनले भुलेका छैनन् । सुटिङ सकिएपछि कुनामा बेलाएर उनलाई विदेशीले टिमले भनेको थियो रे, ‘यो ट्रायल एपिसोड नै पहिलो एपिसोडको रुपमा प्रशारण गर्नू । लामो समय लाग्यो तर अब यति समय लाग्दैन हामीले तिमीलाई विश्वास गर्‍यौं ।’

द पोएट आइडल

करोडपतिपछि विदेशी फ्रेन्चाइजको कार्यक्रममा रहर पुगे पनि विशेष कारणले ‘ऐना’मा जोडिएको अमन बताउँछन् ।

कांग्रेस नेता विश्वप्रकाश शर्माको ज्ञान, क्षमता र व्यक्तित्वबाट प्रभावित भएर ऐनामा आवद्ध भए पनि मैलिक रियालिटी शो ल्याउने हुटहुटीले आफूलाई छोइसकेको अमन स्मरण गर्छन् ।

उनी थप्छन्, ‘पहिलादेखि नै सैलेश कँडेल क्षेत्रीले कवितासम्बन्धी रियालिटी शो ल्याउनु पर्‍यो भनेर आइडिया निकालेको थियो । कविताको लागि केही गरौं बुबाको सम्झना पनि हुन्छ भन्यो । उसैले कार्यक्रमको खाका बनायो ।’

तर टेलिभिजन, विज्ञापनदाता सबैको मुखबाट ‘कविता कसले सुन्छ ?’ भनेर तेर्सिने प्रश्नले आफूलाई हैरान बनाएको उनी सम्झन्छन् ।

तर, फ्रेन्चाइज किनेर ल्याएको कार्यक्रमभन्दा आफूले कल्पना गरेको ‘द पोएट आइडल’ कमजोर छैन भन्ने आत्माविश्वाबाट आफू बिचलित नबनेको उनी अनुभव सुनाउँछन् ।

उनी थप्छन्, ‘लकडाउनमा घरमा बस्दा सैलेशको खाकालाई रियालिटी शोमा परिणत गरे । विदेशीले पनि थाहा पाउनुपर्छ भनेर नाम पनि काव्य शैलीबाट द पोएट आइडलमा परिणत गरे । पाँच वर्षको गृहकार्यपछि आफ्नै घर बैंकमा राखेर कार्यक्रम ल्याएँ ।’

द पोएट आइडलको अहिले दोस्रो सिजन आइसकेको छ । उनी थप्छन्, ‘यसपालि बजारबाट पनि राम्रो प्रतिक्रिया छ ।’

२३ वर्षपछि कमेन्ट्री

अमन भन्छन्, ‘मेरो पहिलो प्रेम नै फुटबल हो ।’ हुन पनि उनले आज पाएको सफलता फुटबलसँगै जोडिएको छ ।

उनलाई फुटबलले नै टेलिभिजनमा डोर्‍याएर नेपाली दर्शकले मौलिक रियालिटी शो द पोएट आइडल पाए ।

२० वर्षपछि नेपाल सुपर लिगमा केमेन्ट्री गर्दाको उनका लागि अर्को अविस्मरणीय क्षण हो ।

उनी सुनाउँछन्, ‘मैले लास्ट सन् २००३ पछि अस्ति एनएलएलमा कमेन्ट्री गरेँ । त्यो क्षण चाहिँ मलाई विशेष थियो । त्योबेला छुट्टै मजा आयो । तर मैले पहिला कमेन्ट्री गरेको धेरै दर्शकलाई थाहा रहेनछ ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ५ : २३ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही