अनुप बराल : मृत रंगमञ्च बचाउने सञ्जीवनी | Khabarhub Khabarhub

अनुप बराल : मृत रंगमञ्च बचाउने सञ्जीवनी

'नाटकले ननिदाएरै सपना देख्न सिकायो'


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सिनेमा र रंगमञ्चमा अनुप बराललाई चिन्न कुनै विशेषणको आवश्यकता पर्दैन । १३ वर्षको कलिलो उमेरदेखि रंगकर्ममा होमिएका उनले यसैमा जीवनको उर्वर समय बिताए ।

सोही कारण वरिष्ठ रंगकर्मी अनुप अहिले ‘अनुप सर’ उपमाको धनी बनेका छन् । यो उपमा उनलाई कसैले दिएको होइन, अहिलेका चल्तीका नायकहरूलाई समेत अभिनयमा दीक्षित गरेर उनले यो उपमा कमाएका हुन् ।

किन रंगमञ्चले आकर्षण गर्‍यो ? यसको उत्तर उनी स्वयंले थाहा नपाए पनि नाटकप्रति समाजको नकारात्मक धारणा तोड्ने लक्ष्यमा भने उनी हमेसा केन्द्रित भएको देखिन्छ ।

२०४७ मा घोषणापत्र लेखेर पोखरामा थिएटर सञ्चालन गर्ने साहसलाई अनुपको क्रान्तिकारी कदम भन्दा फरक पर्दैन । अहिले पनि अभिनय सिक्न काठमाडौं धाउनुपर्ने बाध्यता कम गर्न उनी पोखरामै थिएटर सञ्चालन ल्याउने तयारीमा छन् । यसबाटै प्रष्ट हुन्छ, अनुपको नाटकमा लगाव कति छ ?

रंगकर्मी, कलाकार, फिल्म निर्देशक अनुपको अभिनय सङ्घर्ष धेरैका लागि प्रेरणादायी बन्न सक्छ ।

छुकछुके स्वभाव

५५ वर्षअघि पोखरामा जन्मे–हुर्केका अनुपले स्नातकसम्मको पढाइ उतै गरेका हुन् । छुकछुके स्वभावले गर्दा धेरै स्कुल परिवर्तन गरेको उनको स्कुले जीवनको एक अविस्मरणीय घटना हो ।

उनी स्मरण गर्छन्, ‘मैले बोरामा किताब बोकेर जानेदेखि सुविधा सम्पन्न स्कुलसम्म पढेको छु । चारसम्म पढ्दा पाँच स्कुल परिवर्तन गरेको थिएँ ।’

सिनेमा घर र जात्रा भ्याउन कति पटक स्कुल छाडियो, अनुपलाई नै याद छैन । तर बाटोको ठूलो रुखमुनि ढुंगाले छोपेर किताब लुकाएको भने उनलाई टड्कारो स्मरण छ ।

उनी सुनाउँछन्, ‘घरबाट स्कुल जान भनेर हिँडिन्थ्यो । बाटोमा झोला लुकाएर कि जात्रा नभए सिनेमा हल गइन्थ्यो । स्कुल बिदा हुने समय मिलाएर घर फर्कने गरिन्थ्यो ।’

पोखरामा नयाँ फिल्म लाग्दा हलवालाले स्पिकरमा ठूलो आवाजमा गीत बजाउँदा आफ्ना लागि स्कुल छोड्ने अर्को बाहाना थपिने अनुप सम्झन्छन् । त्यस बेला नायकको पर्दाको चरित्रले आफूलाई निकै आकर्षित गरेको उनले बिर्सिएका छैनन् ।

उनी सुनाउँछन्, ‘राजेश खन्ना, अमिताभ बच्चनको फिल्म धेरै आउँथ्यो । त्यो बेला हिरोले कानुनमा हातमा लिएर गरिबलाई सहयोग गर्ने खालको फिल्म धेरै बन्थ्यो । अनि आफूलाई पनि त्यो हिरो जस्तै बन्न मन लाग्ने ।’

बाल्यकालमा जिज्ञासु स्वभावले पनि बेला मौका फसादमा परेको अनुपले बिर्सिएका छैनन् । सोही बानीले बुबाले जापानबाट ल्याइदिएको घडी करेसाबारीमा गाड्नु परेको उनी सुनाउँछन् ।

‘म सात वर्षको हुँदा बुबाले जापानबाट शानदार घडी ल्याइदिनु भएको थियो । म छुकछुके र जिज्ञासु थिएँ । घडी खोलेँ तर पछि जोड्न जानिनँ । बुबाले पिट्नुहुन्छ जस्तो लागेर करेसाबारीमा लगेर गाडेँ’ उनी थप्छन्, ‘तर मलाई बुबालाई झुट बोले भनेर पश्चाताप भयो । अनि बुबालाई घडी गाडेको कुरा थाहा दिएँ । निकाल्दा पूरै पार्टपुर्जा खिया लागेको थियो ।’

अस्वाभाविक नाटक मोह

अनुप भन्छन्– मलाई कसैले किन नाटकमा किन लागेको भनेर सोध्यो भने बुँदामा उत्तर छैन ।

अर्थात्, अनुपलाई रंममञ्चमा आकर्षण गर्न धेरै कुराको भूमिका छ । जुन उनैले पूरा पहिचान गर्न सकेका छैनन् । यद्यपि १३ वर्षदेखि नाटकमा अभिनय गर्न लागेको उनी बताउँछन् ।

अभिनयमा भिज्दै जाँदा नाटकलाई व्यवस्थित गर्ने सोच आएकाले ‘प्रतिबिम्ब थिएटर ल्याब्रोटरी’ सञ्चालनमा आएको उनी सम्झन्छन् ।

‘०४७ सालमा घोषणा पत्र बनाएर थिएटर स्थापना गरेका हौं । म अध्यक्ष थिएँ । त्यस बेला फेल भएका, नपढेका, काम नपाएका, बिग्रेका मान्छेले नाटकमा काम भन्ने सामाजिक धारणा तोड्नु थियो । त्यही भएर घोषणापत्र तयार गरेका थियौँ,’ उनी भन्छन् ।

यही बेला काठमाडौंमा आयोजना हुने ‘फेस्टिभल’मा पोखराबाट आएर नाटक खेल्दाका दौरान राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित भएको उनी सम्झन्छन् ।

एनएसडीको यात्रा

थिएटरबाट हासिल गरेको प्रयोगात्मक ज्ञानले मात्र अनुपलाई सन्तुष्ट दिन सकेन । त्यसपछि उनी अभिनय पढ्न भारत जाने निर्णयमा पुगे ।

‘त्यस बेला दुई अर्थी संवाद भएको, सस्तो शारीरिक हाउभाउ भएका नाटक हुन्थे । यस्ता कुरा त फिल्म मै छ नि । अब त टेलिभिजन पनि मान्छेको घरमा पुगिसक्यो । नाटक स्तरीय बन्नुपर्छ भन्ने थियो । कसरी फरक र दर्शकलाई रुचाउने किसिमको बनाउने भन्ने मेरो सोच थियो,’ उनी भन्छन् ।

यही सोच खेलिरहेको बेला दिल्लीको नेस्नल स्कुल आफ ड्रामा (एनएसडी)मा पढ्ने बाटो देखाइदिएको जस उनी रंगकर्मी सुनील पोखरेलको लेखलाई दिन्छन् ।

‘उहाँले लेखमा आफ्नो एनएसडीको ब्याजमेट इरफान खानसँगको अनुभव लेख्नुभएको थियो । त्यसमा एउटा नाटकका लागि भारतकै प्रख्यात चित्रकार एमएफ हुसेनले सेट बनाउनुभएको कुरा पनि थियो,’ उनी थप्छन्, ‘अहो ! त्यस्तो चित्रकारले सेट बनाउने कस्तो अनुशासन भएको ठाउँ, त्यहाँ चाहिँ पढ्न जानुपर्छ भन्ने भयो । उहाँसँगै सम्पर्क गरेर एनएसडी पढ्न गएको हुँ ।’

एनएसडीले देखाएको विराट संसार

अहिलेको अवस्थामा अनुप एनएसडीमा बिताएको समयलाई स्वर्ण मान्छन् । एनएसडीले अभिनयको विराट संसार चिनाउँदा आफूलाई कुवाको भ्यागुता जस्तै महसुस भएको त्यहाँको उनको पहिलो अनुभव हो ।

उनी भन्छन्, ‘नेपालमै नाटक गरेको थिएँ, राष्ट्रिय स्तरको पुरस्कार पनि पाएको थिएँ । घमन्ड पनि थियो । त्यहाँ पाइला टेकेपछि त मलाई म अभिनय संसारको कुवाको भ्यागुता रहेछु भन्ने भयो ।’

आफ्नो आलोचना गर्ने, अरूलाई सुन्न सक्ने अनुशासन, हरेक वस्तुलाई मानवीकरण गर्ने लगायतका ज्ञान निर्देशक र अभिनेतामा हुनुपर्छ भन्ने प्रमुख शिक्षा एनएसडीबाट पाएको उनी अनुभव सुनाउँछन् ।

‘त्यहाँ एक जना गुरुले बिरुवा, ढुंगा, कमिलासँग कुरा गर्न लगाउनुहुन्थ्यो । कुरा गर्दै जाँदा उनीहरूले सुनेर प्रतिक्रिया दिन्छन् कि जस्तो लाग्ने रहेछ, यस किसिमको पढाइ थियो,’ उनी थप्छन्, ‘बाटोमा हिँड्दा हिँड्दै कक्षा हुन्थ्यो । आउट डोर क्लास हुने । अचम्म लाग्ने गरी हामीलाई दीक्षित गरियो ।’

विश्वका राम्रा निर्देशकको काम, कलाकारको अभिनय र त्यस्ता नाटकमा कसरी काम भएको छ हेर्ने अवसर भने प्रतिष्ठित कलेजमा पढेकाले नै पाएको उनको बुझाइ छ । उनी थप्छन्, ‘राम्रो कलेज भएकाले उत्कृष्ट प्रोजेक्टका कामहरू हामीले हेर्न पाउँथ्यौँ । थिएटरको समूह कसरी चलाउने सबै त्यहीबाट ज्ञान भयो ।’

नेपालको सङ्घर्ष

०५३ सालमा एनएसडीबाट नेपाल फर्किएको समयलाई अनुप आफ्नो जीवनको एक कठिन समय मान्छन् । उनी भारतमा अभिनय पढेर नेपाल आए तर नेपालमा नाटकसम्बन्धी गतिविधि शून्य प्रायः थियो ।

त्यस बेला साथीभाइले ‘नेपालमा नाटक मरिसक्यो’ भनेको उनलाई अझै झलझली याद छ । ‘एनएसडी पढेको मान्छे बलिउडमा काम गरेको भए हुने’ भनेर दिएको अर्ती त उनले झन् बिर्सिने कुरै भएन ।

‘त्यस बेला भएको के थियो भने, टेलिभिजन आएकाले रंगकर्मीहरु आर्थिक पाटो सुरक्षित गर्न त्यता छिरिसकेका थिएँ । धेरै दर्शकले चिन्ने भएर उता प्रवेश गरिसकेका थिए । म आउँदा नेपालको रंगमञ्च त रेल छुटेर उजाड बनेको स्टेसन जस्तै भएको थियो,’ उनी अनुभव सुनाउँछन् ।

आफूले संसार ठानेर पढेको र जीवनको उर्वर समय खर्चेको क्षेत्रको दयनीय अवस्थाले पुनः भारत फर्कन बाध्य बनाएको अनुप सायदै बिर्सिन्छन् ।

उनी त्यस बेलाको जटिल समय स्मरण याद गर्छन्, ‘उमेर यही हो । अहिले पैसा कमाउन सकेन भने के गर्ने भन्ने दबाब । हात मुख जोड्न सधैँ यस्तो भयो भने के गर्ने भन्ने चिन्ता बढ्यो । यतिसम्म कि यिनीहरू धेरै पढेको छन् बढी बोल्छ भनेर साथीहरूसँग पनि बोल्दैन थिएँ ।’

भाग्यको संसार बलिउड

अनुपलाई आजको दिनमा पनि टड्कारो याद छ– एनएसडीपछि लक्ष्य के ? भनेर गुरुले सोध्दा, नेपाल फर्कने भनेर जवाफ फर्काएको ।
तर नेपाल आएको केही समयमै उनी भारत फर्कन बाध्य भए । त्यहाँ कोठा भाडा तिर्न र हात–मुख जोड्न उनले गरेको सङ्घर्ष बेग्लै छ ।
अडिसन दिन जाने क्रममा भेटको एउटा पात्र भने अनुप अहिले पनि सम्झन्छन् ।

लामो कपाल पालेर अडिसनको लागि पालो कुर्दै गर्दा ‘हेन्डसम’ एक व्यक्तिसँग भएको संवाद उनी सुनाउँछन्– उसले मलाई, ‘तिमी एनएसडीमा रहेछौँ सेलेक्ट हुन्छौँ । म चाहिँ हुन्नँ । म कति वर्षदेखि अडिसन दिइरहेको छु । म मुम्बई सपना देखेर आउँदा तिम्रो जस्तै कपाल थियो । अहिले हेर त’ भनेर टोपी खोल्यो । पूरा तालु भइसकेको रहेछ ।

‘सपना देख्नसमेत आँखा खुल्ला राख्नुपर्ने सहर मुम्बई’ भन्ने भनाइलाई यो घटनाले नजिकबाट नियाल्ने मौका दिएको उनी बताउँछन् ।

फिल्ममा अस्वीकार र भाषाको कारण नेपालीमाथि ‘मेकर’को अविश्वासले काम नपाएको तितो अनुभवसमेत उनले भोग्नुपर्‍यो ।

कोठा भाडा तिर्नै मुस्किल भएर दाह्री–जुँगा पालेर ‘जय हनुमान’ सिरियलमा सानो भूमिकामा समेत काम गरेको उनी सुनाउँछन् ।

‘नेपालबाट लगेको पैसा कोठाको अग्रिम भाडा बुझाउँदै सकियो । साथीहरूले सानो रोल छ गर्, तँलाई मेकअप गर्दिन्छ अरूले चिन्दैन, प्रत्येक भागको तीन हजार दिन्छ । पैसा भए भइहाल्यो नि तँलाई भन्यो,’ उनी थप्छन्, ‘कोठा भाडा तीन हजार थियो । पैसा चाहिएको थियो काम गर्नै पर्ने थियो । एनएसडी पढेर सानो काम गर्न आएछ भन्छ भनेर पढाइको कुरा नखोल्नु भनेका थिए साथीहरूले ।’

‘मुम्बईमा प्रतिभा भएर मात्रै हुँदैन ७० प्रतिशत भाग्यले साथ दिनुपर्छ भन्ने’ कथन अनुपले यस ठक्करबाट महसुस गरे । मुम्बई जसको फर्कने स्थान छैन ऊ मात्रै टिक्न सक्ने रहेछ भन्ने निष्कर्षमा पुगेर नेपाल फर्किएको उनी बताउँछन् ।

मुम्बईबाट नेपाल फर्कनु परेको कारण बारे उनी स्पष्ट पार्छन्, ‘भाषाका कारण नेपालीलाई अविश्वास र त्यस बेला ग्याल्मर सिनेमा बन्ने ट्रेन्ड भएकाले हेन्डसम, हाइट, फाइट भएकै कलाकार खोज्थ्यो ।’

काठमाडौंमा जुरेका काम

भारतबाट फर्केपछि सांस्कृतिक संस्थानमा ६ महिना जागिर खाएको उनी बताउँछन् । रंगकर्मी सुनील पोखरेलले यस कामको अफर गरेपछि काठमाडौंमा बस्न आर्थिक सहयोग पुगेको उनी स्मरण गर्छन् ।

‘संस्थानले ६ महिनाको तालिम दिएको थियो । सुनील पोखरेलले तिमी आएर पढाइ देऊ भन्नुभयो । मेरो तलब तीन हजार छ, तिमीलाई पनि त्यति दिन्छ भन्नुभयो,’ उनी थप्छन्, ‘उहाँको अन्त पनि काम भएकाले आफ्नो तलबबाट दुई हजार थपिदिनुभयो । अनि म पढाउन तयार भएँ ।’

यसपछि पनि भाग्यले साथ दिँदै गएको उनी सम्झन्छन् । उनी भन्छन्, ‘पाँच हजार तलबले बस्न पनि सहज भयो । यही बेला फिल्म पनि पाएँ । मेरो काम पनि देखिन थाल्यो ।’

यसरी नै काम गर्दै जाँदा सन् २००४ मा जापानको प्रोजेक्टमा काम पाएपछि भने अनुपले पछाडि फर्कनु परेन । दक्षिण एसियामा ‘ग्राउन्ड ब्रेकिङ’ काम गर्ने युवा निर्देशकको सूचीमा परेर सो प्रोजेक्टमा आबद्ध भएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘सन् २००४ मा उहाँहरूले मलाई जापान लिएर जानुभयो । परम्परागत मान्यता भत्काउने निर्देशकका रूपमा काम गर्न पाएँ । त्यसबाट पनि काम देखाउन पाएँ ।’

आर्थिक पाटो भने फिल्म, वर्कसप, कास्टिङ डिरेक्टरलगायतको भूमिकामा काम गरेर सबल बनेको उनी बताउँछन् ।

एक्टर्स स्टुडियो स्थापना

काठमाडौं केन्द्रित भएर काम गरे अभिनय सिक्न काठमाडौंमा धाउनुपर्ने बाध्यता हटाउन भने सधैँ लागि परेको अनुप बताउँछन् । त्यही सोचले आफू काठमाडौंमा हुँदा पनि पोखरामा ‘ट्रेनिङ सेन्टर’ सञ्चालन गरेको उनको भनाइ छ ।

उनी थप्छन्, ‘त्यही ट्रेनिङ सेन्टरमा खगेन्द्र लामिछाने, माओत्से गुरुङलगायतले पढेका हुन् ।’

यही सेन्टरको भ्रमण गरेपछि सुनील पोखरेलले गुरुकुल स्थापना गर्ने सोच बनाएको उनी स्मरण गर्छन् । सो बेला सुनीलले उनलाई भनेका थिए रे, ‘अनुप तिमीले यति राम्रो काम गरेका रहेछौँ । मलाई डाहा लाग्यो । म पनि काठमाडौंमा खोल्छु ।’

सुनीलले काठमाडौंमा गुरुकुल स्थापना गरेपछि त्यहाँका विद्यार्थीलाई दीक्षित गर्न अनुपको पनि भूमिका छन् । गुरुकुलमा उनले दीक्षित गरेका सौगात मल्ल, कमलमणि नेपाल अहिलेका चल्तीका कलाकार हुन् ।

तर गुरुकुल आफूले सोचे जस्तो ‘एक्टिङ स्कुल’का रूपमा विकास नभएपछि एक्टर्स स्टुडियो स्थापना गरेको उनी बताउँछन् ।

‘पोखराबाट पनि सबै काठमाडौं नै आउने क्रम चल्यो । अनि बज्र होटलमा स्थान पनि मिल्यो, एक्टर्स स्टुडियो खोलेँ,’ उनी भन्छन्, ‘हामी रंगकर्मी एकाग्र भयौँ खाली नाटक मात्रै गर्‍यौं, अरु चित्रकला, मेकअपलगायतका विधासँग अनुशासन बनाउनका लागि यसको स्थापना गरेका हुँ ।’

पोखरामै थिएटर

अहिले अनुप ‘द पोएट आइडल’को निर्णायकका रूपमा आबद्ध भएर काम गरिरहेका छन् । साथै, उनी पोखरामै थिएटर स्थापनाको तयारीमा पनि छन् ।

उनी भन्छन्, ‘मेरो सोच चाहिँ अभिनय सिक्न काठमाडौंमा केन्द्रित हुनु नपरोस् भन्ने हो । म अहिले त्यता व्यस्त भएकाले पनि काठमाडौंमा कम हुन्छु ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ५ : ३३ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने