रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला | Khabarhub Khabarhub

रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।

बेनी नगरपालिकाले पाँच, कृषि ज्ञान केन्द्रले दुई र बाली संरक्षण प्रयोगशाला पोखराले एउटा कृषक समूहमार्फत पाठशाला सञ्चालन गरेका हुन् । आइपिएम सहजकर्ता सोवित शर्माले १८ हप्ताका लागि गोलभेँडा, आलु र काँक्रो खेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको जानकारी दिए ।

‘कृषकलाई मित्र र शत्रुजीव पहिचान गर्न सिकाएर स्थानीयरुपमा उपलब्ध जैविक विषादी र मलको प्रयोगमार्फत स्वच्छ फसल उत्पादन गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरेका छौँ’, उनले भने, ‘हरेक समूहका कृषकलाई हप्ताको एक दिन चार घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गरिरहेका छौँ ।’

शर्माका अनुसार प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा चार वटा पल्ट (ड्याङ) बनाएर फरक तरिकाले फरक जातको काँक्रो, आलु र गोलभेँडाको सामूहिक खेती गरिएको छ । बेनी–१ अर्जममा बाली संरक्षण प्रयोगशालाको सहयोगमा गोलभेँडा खेतीका लागि आयोजना भएको आइपिएम पाठशालामा २९ जना कृषक सहभागी भएका उनले जानकारी दिए ।

कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी–२ को बगरफाँटमा काँक्रो र मङ्गला गाउँपालिका–२ तोराखेतमा आलु खेतीका लागि सञ्चालन भएको पाठशालामा २५/२५ कृषक सहभागी भएका छन् । बेनी–३ भकिम्लीको भकुभुकेमा स्वर्गाश्रम, वडा नं ५ को बगुवाखोला, वडा नं ९ तोरीपानी र वडा १० नं पात्लेखेतमा आलु खेतीका लागि उक्त पाठशाला सञ्चालन गरिएको छ ।

ती सबै पाठशालामा कम्तीमा २५ जनाका दरले कृषक सहभागी भएका आइपिएम सहजकर्ता शर्माको भनाइ छ । बेनी–६ जामुनाखर्कमा आलु बालीमा पाठशाला सञ्चालन भएको छ ।

बेनी–१ अर्जमको देउराली आइपिएम कृषक समूहका अध्यक्ष तुलसी थापाले स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोगकिरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताइन् ।

‘तितेपाती, असुरो, खरानी, गाइभैँसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छौँ’, उनले भनिन्, ‘रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङ्गारिक खेती गर्न थालेका छौँ ।’

‘खेतीबालीमा शत्रुजीव मात्र हुँदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञानको कमी छ । कुन जिव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शत्रु जीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान, सीप पाठशालाबाट पाएका छौँ’, कृषक सुन्दर थापामगरले भने ।

पाठशालामा कृषकलाई भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आइपिएम सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताए । ‘आइपिएम, परम्परागत र प्रदर्शनी विधिबाट फरक जातका बिरुवा रोपेका छौँ’, उनले भने, ‘परम्परागत तुलनामा आइपिएम विधिबाट खेती गर्दा धेरै उत्पादन लिन सकिने देखिएको छ ।’

गत आर्थिक वर्षमा बेनी–१ उपल्लाचौर, वडा नं २ को भकुण्डेचौर, वडा नं ६ को छाप र वडा नं ४ को सिङ्गामा सञ्चालन भएको आइपिएम कृषक पाठशाला प्रभावकारी बनेको थियो ।

बेनी–१ की कृषक सावित्री थापाले रासायनिक विषादी र मलको प्रयोग घटाइ प्राङ्गारिक मल र जैविक विषादीबाट स्वच्छ कृषिउपज उत्पादन गर्न थालिएको बताइन् । एउटा पाठशाला सञ्चालन गर्न रु एक लाख ५० हजारका दरले बजेट विनियोजन गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : १६ बजे

व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदको विकास गर्न पार्टी

पाँच वर्षपछि बन्यो हिट गीत ‘जेल पनि सहुँला’को सिक्वेल

काठमाडौं – पाँच वर्षअघि सार्वजनिक भएको हिट गीत ‘जेल पनि

‘कृषि क्षेत्र सुधार्न कृषि र किसानको सम्मान आवश्यक’

इलाम– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र किसानको

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ७१ पुग्यो

गाजा– इजरायलले हिजो रातभर र आजसम्म गाजा पट्टीमा धेरै घरमा

विपिन जोशीको रिहाइको प्रयास- प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप