पर्यटन बोर्डको कार्यशैलीप्रति सांसदको चासो | Khabarhub Khabarhub

पर्यटन बोर्डको कार्यशैलीप्रति सांसदको चासो


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सांसदहरुले नेपाल पर्यटन बोर्डको कार्यशैलीमाथि चासो जनाउँदै बोर्डले उद्देश्य विपरितका कार्यक्रममा महत्त्व दिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनीहरूले बोर्डको काम कारबाहीबारे जानकारी लिँदै अन्तर्राष्ट्रिय बजारीकरणमा रणनीतिक कार्यक्रमका साथ जानुपर्नेमा ठीक विपरित दिशामा अघि बढेको उल्लेख गरे ।

सार्वजनिक निजी साझेदारीको नमूनाका रुपमा रहेको बोर्डको संरचना र कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसदहरुले गठन हुनुको उद्देश्य विपरितका कार्यक्रम गरिरहेको भन्दै बोर्डले मुख्य कामभन्दा अन्यत्र विषयलाई प्राथमिकता दिएको बताए ।

बजेटको ६० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्नुपर्नेमा विगत ४० वर्षदेखि हुँदै आएको ‘वल्र्ड टुरिज्म मार्ट’(डब्लुटिएम) मा सहभागी हुन नसक्नुका कारणबारे सांसदहरुले जवाफ माग गरे।

विश्वकै ठूलो टुरिज्म मार्टको रुपमा रहेको संयुक्त अधिराज्य बेलायतमा हुने ठूलो पर्यटन मेला डब्लुटिएमलगायत चालु आवमा कुनै पनि अन्तर्राष्ट्रिय मार्टमा बोर्डले सहभागिता नजनाउनुका कारणबारे सांसदहरुले जिज्ञासा राखेका थिए ।

नीतिगत रुपमा व्यवस्था नभए पनि बोर्डको जम्मा बजेटको ६० देखि ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरण गर्न खर्च गर्नुपर्ने प्रावधान रहेको बोर्डले उल्लेख गरेको छ । झण्डै रु दुई अर्ब बजेटमध्ये बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धन, आन्तरिक गन्तव्य प्रवर्द्धन, पूर्वाधार विकास, धार्मिक पर्यटनलगायतमा खर्च गर्ने गरेको छ ।

पूर्वप्रधानमन्त्री एवं समितिका सदस्य माधवकुमार नेपालले पर्यटक आकर्षण गर्न अन्तर्राष्ट्रिय बजारीकरणलाई नीतिगत सुधार गरिनुपर्ने बताए । उनले नारायण सङ्ग्रहालयलाई ‘ग्राण्ड म्युजियम’ बनाउनुपर्ने धारणा व्यक्त गरे।

सांसद वर्षामान पुनले बोर्ड उद्देश्य विपरित गएको सञ्चार माध्यममा आएको बताए। उनले भूगोल सम्मेलनलगायत अन्य विषयमा खर्च गर्ने गरेको भन्दै बोर्डले आफ्नो मुख्य दायित्वतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे

सांसद पुनले नेपाल अथाह पर्यटकीय सम्भावना रहेको मुलुक भएको उल्लेख गर्दै छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने कार्ययोजनासहित अघि बढ्न बोर्डलाई सुझाव दिए ।

सांसद भीमप्रसाद आचार्यले बोर्डलाई समयसापेक्ष नीतिगत सुधार गरी ‘डिजिटल मार्केटिङ’ मा केन्द्रित हुन आग्रह गरे। उनले स्पष्ट पर्यटन रणनीति नभएको जनाउँदै मन्त्री र सचिव फेरिने बित्तिकै योजना तथा कार्यक्रम परिमार्जन हुने प्रवृत्तिले दिगो पर्यटन विकासमा ह्रास आएको उल्लेख गरे ।

सांसद उदयशमशेर जबराले बोर्डको उद्देश्य अनुरूप ६० प्रतिशत बजेट अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा खर्च गर्नुपर्ने भए पनि पर्यटन क्षेत्रभन्दा बाहिरका विभिन्न कार्यक्रममा किन करोडौँ रकम खर्च गरिरहेको भनी प्रश्न गरे । उनले एक भूगोल सम्मेलनमा पाँच करोड खर्च भएको भनिएको विषयमा समितिलाई स्पष्ट जवाफ दिन माग गरे । डब्लुटिएम जस्ता कार्यक्रममा सहभागिता नजनाउनु बोर्डको असक्षमता भएको उनको भनाइ थियो ।

सांसद एकनाथ ढकालले बोर्डको प्रवर्द्धन गर्दा प्रविधिमैत्री हुनुपर्ने धारणा राखे । भूगोल सम्मेलनलगायत अनावश्यक विषयमा बोर्ड जिम्मेवारी बाहिरका गतिविधिमा संलग्न भएको भन्दै उनले गुणस्तरीय पर्यटक भित्र्याउन रणनीतिक कार्यक्रमका साथ अघि बढ्नुपर्ने सुझाव दिए ।

सांसद प्रभु साहले बोर्डको बजारीकरण प्रभावकारी नभएको तथा संरचना र कार्यशैलीमाथि नै प्रश्न उठेको भन्दै बोर्डको कार्यशैली परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे । सांसद सुनिता बरालले सङ्घीय संरचना अनुरुप बोर्डले प्रविधिमैत्री प्रभावकारी बजारीकरण गर्न जरुरी रहेकामा जोड दिइन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ७ : ०८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस