चक्रपथ विस्तारको दोस्रो चरण अन्योलमा, डीपीआर नै टुङ्गिएन « Khabarhub

चक्रपथ विस्तारको दोस्रो चरण अन्योलमा, डीपीआर नै टुङ्गिएन



काठमाडौं – दोस्रो चरणको चक्रपथ विस्तार अन्योलमा परेको छ । चिनियाँ पक्षको ढिलासुस्तीका कारण दोस्रो चरणअन्तर्गत कंलकीदेखि चाबहिल (धोबीखोला पुल)सम्मको सडक विस्तार अघि बढ्न नसकेको हो ।

विगत डेढ वर्ष अघि नै आयोजनास्थलमा पूर्वतयारीका काम सकिए पनि चिनियाँ निर्माण कम्पनी परिचालन भएको छैन । चक्रपथ विस्तार गर्न सरकारले चिनियाँ पक्षलाई सम्पर्कमा ल्याउन खोजे पनि सफल हुन सकेको छैन ।

विभिन्न वहाना बनाएर चिनियाँ पक्षले चक्रपथ विस्तारमा आलटाल गरिरहेको नेपालका सरकारी अधिकारीहरूले बताइरहेका छन्‌ । यतिसम्म कि चिनियाँ कम्पनीले अहिलेसम्म आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत टुंग्याउन सकेको छैन ।

२०७९ फागुनमा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोलीले आयोजनास्थलमा आएर २ महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने प्रतिवद्धता जनाएको थियो । तर, अहिलेसम्म पनि चिनियाँ पक्षले नेपाल सरकारलाई डीपीआर प्रतिवेदन बुझाउन सकेको छैन ।

चिनियाँ पक्ष पूर्वतयारीका काम सकिएको कंलकीदेखि बसुन्धरा चौकीसम्म मात्र विस्तार गर्न इच्छुक देखिएको थियो । अहिले उक्त खण्डको झन्डै ९५ प्रतिशतभन्दा बढी पूर्वतयारीको काम सकिइसकेको सडक विभागले जनाएको छ ।

कंलकीदेखि चाबहिल (धोबीखोला पुल) सम्म विस्तार गर्ने लक्ष्य भए पनि नारायणगोपालचोकदेखि चाबहिलतर्फ ठूला पूर्वाधार संरचना हटाउनुपर्ने, जग्गा अधिग्रहणलगायत समस्याका कारण चीनले बसुन्धरासम्म मात्र चक्रपथ विस्तार गर्ने जनाएको थियो ।

साढे आठ किलोमिटर लम्बाइ रहेको उक्त सडक पहिलो चरणमा चिनियाँ पक्षले अघि बढाउने योजना बनाएको थियो । तर, चिनियाँ निर्माण कम्पनी आउने टुंगो अझै नलागेको हो ।

चिनियाँ पक्षका कारणले चक्रपथ विस्तारमा केही ढिलाइ भएको सडक विभागको महानिर्देशक शुशीलबाबु ढकाल बताउँछन् । आन्तरिक व्यवस्थापन र कानूनी प्रबन्ध मिलाएर चिनियाँ पक्षलाई आयोजना हस्तान्तरण गर्न चाहिरहेको उनले बताए ।

‘चिनियाँ पक्षबाट केही ढिलाइ भएको हो, हामीले पनि आन्तरिक रूपमा कानुनी व्यवस्था मिलाउँदैछौं, त्यसका प्रावधान र जटिलताहरू टुङ्ग्याएर चक्रपथ विस्तार चिनियाँ पक्षलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘किनकी, एउटा राज्यभित्र आएर काम गर्ने विषय हो । त्यसका लागि भौतिक पूर्वाधार र अर्थ मन्त्रालयले काम गरिरहेका छन् ।’

सडकखण्डमा बढ्दै सास्ती
दोस्रो चक्रपथ विस्तारको काम लामो समयदेखि रोकिँदा उक्त सडक खण्डहर जस्तै बन्न थालेको छ । चक्रपथ विस्तार अघि नबढ्दा सडकको दायाँदायाँ क्षेत्रमा अनावश्यक पार्किङ, निर्माण सामग्री थुपार्ने र वर्षामा हिलो तथा गर्मीमा धुलोको सास्ती हुने गरेको महानगरबासीको गुनासो छ ।

पूर्वतयारीका काम अघि बढाउँदा थुपारिएको माटो, ढुंगा र अन्य संरचनाहरू नहट्दा सवारी दुर्घटनाको जोखिमसँगै यात्रामा कठिनाइ हुने गरेको छ ।

मनसुन केही दिनभित्रै नेपाल भित्रिने क्रममा छ । वर्षा याममा चक्रपथ विस्तार गर्न बाँकी खण्डमा सडक हिलाम्मे हुने, पानी जम्ने, बाढी र डुबान हुने उत्तिकै सम्भावना देखिन्छ ।

तीन वटा आकासे पुल बन्ने
चक्रपथको कलंकी–महाराजगञ्ज खण्डमा हालको चार लेन सो सडक आठ लेनमा विस्तार गर्ने लक्ष्य छ ।

सो खण्डका विभिन्न तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । खासगरी, स्वयम्भू, बालाजुु र बसपार्क क्षेत्रमा आकासे पुल निर्माण गर्न सकिने सम्भावना रहेको देखिएको हो ।

डीपीआर, ठेकेदार, सुपरभिजन र निर्माण सामग्रीको व्यवस्थापन चिनियाँ कम्पनी आफैंले गर्नेगरी आयोजना अघि बढाउने योजना छ । कलंकी–महाराजगञ्ज खण्ड विस्तार गर्न ६ अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

२०७९ फागुन १९ गते तत्कालीन उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छङ सोन लगायतको संयुक्त टोलीले आयोजनाको स्थलगत अवलोकन गरेको थियो । स्थलगत अवलोकनपछि चिनियाँ पक्षले छिट्टै नै चक्रपथ विस्तार गर्ने प्रतिवद्धता जनाएको थियो ।

धार्मिक तथा ऐतिहासिक मानिएको स्वयम्भू क्षेत्रको भौतिक संरचनालाई जोगाएर चक्रपथ अघि बढाउन डिजाइन केही परिवर्तन गर्न चिनियाँ पक्ष तयार भएको थियो । चिनियाँ पक्षले दुई वर्षभित्र सडक विस्तार गरिसक्ने योजना बनाएको थियो ।

पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ विस्तार चिनियाँ निर्माण कम्पनी र अनुदानमै निर्माण गरिएको थियो ।

पहिलो चक्रपथको सिकाइ र प्राविधिक कुराहरू सुधार गरेर मात्र दोस्रो चक्रपथ विस्तार चिनियाँ पक्षलाई हस्तान्तरण गर्न चाहेको विभागका महानिर्देशक ढकालले बताए ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ५ : २५ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती