शेखरको तर्क- कांग्रेस र एमालेले एक्ला एक्लै चुनाव लडे अरु बिलाएर जान्छन् « Khabarhub

शेखरको तर्क- कांग्रेस र एमालेले एक्ला एक्लै चुनाव लडे अरु बिलाएर जान्छन्


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.8k
Shares
  • change font
  • change font
  • change font

पर्सा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बल्ल आफ्नो एजेन्डाअनुसार देशको राजनीति आइपुगेको बताएका छन् ।

नेपाली कांग्रेस पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अस्ति एउटा समझदारी भयो । मैले एउटा एक्सपेरिमेन्ट पनि गरेको कोशी प्रदेशमा पहिले नै गरेको थिएँ । हाम्रै कांग्रेसका केन्द्रीय नेताहरूले त्यसको गलत व्याख्या गरे’, उनले भने, ‘मैले ९ महिना पहिले जुन अभ्यास थालेको थिएँ, त्यही बेला हामीले मिलेको भए देश अहिले धेरै अघि बढिसक्ने थियो ।’

उनले ढिलै भए पनि एमालेसँग मिलेर अब संविधानमा त्रुटीहरूलाई सच्याउन आवश्यक रहेको बताए । तर संविधानलाई धेरै चलाउन उचित नहुने उनको राय छ ।

‘तर हामीले संविधान र निर्वाचन प्रणाली परिमार्जित गर्नुपर्छ। संविधान सुधारेर अगाडि जान एमालेसँग मिल्नुपरेको हो’, उनले भने, ‘तीन-तीन महिनामा प्रदेश र केन्द्रको सरकार फैरिँदैछ, विसंगतिहरू पनि दुवैतिर उत्तिकै आइरहेका छन् । देश अराजकतातिर जाने जोखिम छ । त्यसैले अहिले कांग्रेस र एमालेको सहकार्य उचित र आवश्यक निर्णय हो ।’

नेता कोइरालाले संविधान संशोधन गर्दा समानुपातिक-समावेशीलाई भुल्न नहुने पनि बताए ।

अब समानुपातिक सिटलाई राष्ट्रिय सभामा लग्नुपर्ने उनले बताए । ‘प्रदेश र संघ दुवैतिरका समानुपातिक सिट अब हटाउनुपर्छ । ती कुरालाई हामीले हटाउनु जरुरी भइसेको छ । संघका समानुपातिक सिटलाई राष्ट्रियसभामा लगेर राखिदिनुपर्छ’, उनले भने ।

नेता कोइरालाले यो सहमतिसँगै कांग्रेस र एमालेले एक्ला एक्लै चुनाव लड्ने गरी अघि बढे सही लोकतान्त्रिक अभ्यास हुने च्याँखे थाप्नेहरू बिलाएर जाने बताए ।

‘अब कांग्रेसले एमालेलाई तिमीहरू पनि कोहीसँग नमिल, हामी पनि कोहीसँग मिल्दैनौँ भन्नुपर्छ। यसमा दुई दलले एउटा समझदारी गर्नैपर्छ’, उनले भने, ‘त्यसपछि अहिले भनएका साना पार्टीहरू आफैं बिलिन भएर जान्छन् । कसैले सत्ताका लागि च्याँखे थापेर यता-उता पनि गरिरहन पाउँदैन ।’

कोइरालाले कांग्रेस-एमालेबीच सहकार्य सुरु भएकाले अब आर्थिक विकास र सुशासनलाई बोकेमा समृद्धिको लक्ष्यमा पुग्न सकिने बताए ।


उनले सम्बोधनका क्रममा माओवादीप्रति कडा कटाक्ष गरे । ‘माओवादीले कस्तो गर्‍यो भने कांग्रेससँग गठबन्धन गरेर २०७९ को चुनावमा ३२ सिट ल्यायो । सरकार जान एमालेसँग मिल्यो’, उनले भने, ‘एमालेसँग सरकारमा गइसकेपछि त्यतै मिलिरहेको भए पनि हुन्थ्यो नि, फेरि कांग्रेससँगै मिल्न आइपुग्यो । केही महिनामै कांग्रेसलाई छाडेर सत्ता लम्ब्याउन एमालेसँग मिल्न पुग्यो । यो अभ्यास देखेर जनता दिक्क भइसकेका थिए ।’

उनले कांग्रेस र एमाले एक ठाँउमा उभिए देशको राजनीति सहि गन्तव्यमा पुग्नसक्ने भनेर आफूले भन्दै आएको स्मरण गराए । त्यही क्रममा मैले कोशी प्रदेशको सरकार बनाउने क्रममा एमालेसँग मिलेर एउटा म्यासेज दिएको पनि उनले बताए । तर त्यो कदमले कांग्रेसबाटै आफू आलोचित हुनुपरेको उनले गुनासो गरे । तर अहिले आएर उक्त कदम सही सावित भएको उनको तर्क छ।

अहिलेको निर्वाचन प्रणालीबाट मुलुकमा राजनीतिक स्थिरता नहुने भएकाले यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । ‘ती दुवै कामका लागि अहिले कांग्रेस र एमाले एक ठाउँमा आउनु परेको हो । दुवै दलबीच सोमबार राति भएको सहमतिमा ती बुदाँहरू छन्’, उनले भने ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १ : ४३ बजे

समानुपातिकतर्फ रास्वपाले छलाङ मार्दा श्रम संस्कृति बन्यो राष्ट्रिय दल, राप्रपा पनि अब निश्चित

काठमाडौं– निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा

लज्जास्पद पराजयपछि सभापतिबाट राजीनामा दिने तयारीमा गगन, विश्वप्रकाशको सुझाव : अहिले हतार नगरौँ

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर नतिजापछि नेपाली कांग्रेसका सभापति गगनकुमार

रास्वपालाई प्रत्यक्षबाटै बहुमत नजिकको सिट : यी हुन् संसद् यात्रा तय गरेका १२५ अनुहार

काठमाडौं– दुईवटा निर्वाचन फेस गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ नै झन्डै

अमेरिकाले आकस्मिक सेवा बाहेकका कर्मचारीलाई वाणिज्य दूतावासबाट बाहिर जान निर्देशन

एजेन्सी– वाशिङ्गटनले टर्कीएको अदाना शहर नजिकै रहेको वाणिज्य दूतावासबाट अतिआवश्यक