मुकुलको दाबी : गगनले सघाउँदा काठमाडौंबाट रास्वपाले २ सिट नाफामा पायो « Khabarhub

मुकुलको दाबी : गगनले सघाउँदा काठमाडौंबाट रास्वपाले २ सिट नाफामा पायो


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


86.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई गम्भीर आरोप लगाएका छन् ।

उनले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा यात्राको प्रतिवेदनमा कांग्रेस महामन्त्री थापामाथि गम्भीर आरोप लगाएका हुन् ।

डा. ढकालको प्रतिवेदनमा कांग्रेस महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा जित्न कांग्रेसकै दुईजना उम्मेदवामाथि अन्तरघात गरेको आरोप छ ।

थापाले आफ्ना पक्षधरहरूलाई ‘घण्टी’ मा मत हाल्न लगाउँदा रास्वपालाई उपत्यकामा प्रत्यक्षतर्फ २ सिट नाफा हुन पुगेको दाबी गरेका छन् ।

‘२०७९ मंसिरको चुनावमा गगनविरूद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर उनैलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौँ, त्यसले आज हामीलाई चोट पुर्‍याएको छ,’ ढकालले प्रतिवेदनमा लेखेका छन्, ‘हुन त गगनले जित्न सहज वातावरण बनाइदिएकै कारण आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा हामीलाई २ सिट नाफा हुन पुग्यो ।’

यद्यपि, रास्वपाका निलम्बित महामन्त्री ढकालले कांग्रेस महामन्त्री थापाले आफ्ना पक्षधरलाई ‘घण्टीमा’ भोट हाल्न लगाउँदा प्रत्यक्षतर्फ २ सिट नाफा भएको निर्वाचन क्षेत्रबारे खुलाएका छैनन् ।

उनले भनेका छन्, ‘नतिजाले काठमाडौं ४ पनि हामीले जित्ने देखाएकाले गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो । गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्न पर्ने हुन्छ ।’

यी हुन् रास्वपाले जितेका क्षेत्र

२०७९ को निर्वाचनमा रास्वपले उपत्यकाबाट ५ सिट जितेको थियो । जसमा काठमाडौं २ बाट सोबिता गौतम, काठमाडौं ६ बाट शिशिर खनाल, काठमाडौं ७ बाट गणेश पराजुली र काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका थिए ।

काठमाडौं २ मा सोबिताले एमालेका मणिराम फुयाँललाई हराएकी थिइन् । यो क्षेत्रमा कांग्रेसका उम्मेदवार थिएनन् । तत्कालीन गठबन्धनबाट कांग्रेसले माओवादीकी ओनसरी घर्तीलाई सघाएको थियो । जो काठमाडौं २ मा चौथो भइन् ।

काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनाल विजयी भएका थिए । जहाँ उनले नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाललाई फराकिलो मतान्तरले हराएका थिए । यहाँ नेपाली कांग्रेसका उम्मेदवार भीमसेन दास प्रधान आठ हजार ८०५ मतसहित तेस्रो भए ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाका गणेश पराजुली विजयी हुँदा दोस्रो स्थानमा एमालेका श्यामकुमार घिमिरे थिए । यहाँ पनि कांग्रेसले नेकपा माओवादी केन्द्रको टिकट लिएकी नेपाल समाजवादीकी मानुषी यमीलाई छाडेको थियो ।

काठमाडौं ८ बाट रास्वपाकै विराजभक्त श्रेष्ठ विजयी हुँदा हाम्रो नेपाली पार्टीका सुमन साय्मी दोस्रो भएका थिए । यहाँ पनि कांग्रेसले एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई छाडेको थियो । तर उनी तेस्रो स्थानमा रहँदै पराजित भए।

उता ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपा उम्मेदवार डा. तोसिमा कार्की विजयी भएकी थिइन् ।

त्यहाँ पनि उनले नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई हराएकी थिइन् । यो क्षेत्रमा पनि कांग्रेसले माओवादीलाई छाडिदिएको थियो ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ७ : ११ बजे

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन