दिनभर आजमा लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त, प्रधानमन्त्रीद्वारा गोर्खा दरबारमा बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन, टीयूमा राजनीतिकरण बढी हुन्छ, त्यसविरुद्ध निर्मम भएर लागौँ : शिक्षामन्त्री श्रेष्ठ, प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान, नेसपाले इलाम-२ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने, नेपाल आयरल्यान्डसँग ११४ रनले पराजितलगायतका समाचारले प्रमुख स्थान पाए।
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।
शुकरबार प्रदेश प्रमुख अमिक शेरचननले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीद्वारा गोर्खा दरबारमा बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातात्त्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।
गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् ।
शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म भ्रष्ट्राचार गर्ने कोही छुट्दैनन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याउने तयारी गरेको बताए।
प्रधानमन्त्री दाहालले भने, ‘मैले गत साल नै भनेको थिएँ सरकारको नीति तथा कार्यक्रम र बजेट बनाउने तरिका अब परम्परागत हुनेछैन, त्यसलाई नयाँ तरिकाबाट सामूहिक विवेकको प्रयोग गर्दै सबै सांसदको राय लिएर बजेट बनाउने प्रक्रिया सुरु भइसकेको छ ।’ अध्यादेशमार्फत पुरानै शैलीबाट बजेट ल्याउने परम्परा तोडिएको उनको भनाइ थियो । अब आउने बजेट उत्पादकत्व र रोजगारी केन्द्रित रहने प्रधानमन्त्री दाहालले उल्लेख गरे ।
जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : उपप्रधानमन्त्री श्रेष्ठ
लुम्बिनी- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानव जातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताएका छन् । ध्यान साधनाले मानिसलाई सत्य, न्याय, समानता र प्रगतिशीलताको पक्षमा उभिन प्रेरित गर्ने उनले बताए ।
विश्व ध्यान दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले ध्यान भनेको आफ्नो शक्ति बढाउने, आफैँभित्रको भावना जागृत गराउने, भ्रमबाट सत्य तथा अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढाउने साधना भएको बताए । उनले बुद्ध र बुद्धिज्म शान्तिका लागि विशेष महत्त्वपूर्ण विषय भएको उल्लेख गरे ।
टीयूमा राजनीतिकरण बढी हुन्छ, त्यसविरुद्ध निर्मम भएर लागौँ : शिक्षामन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एसईई खारेज गर्ने कि राख्ने भन्नेबारे मन्त्रालयले निर्णय नगर्ने बताएकी छन् ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस्तो बताएकी हुन् । उनले राख्ने कि खारेज गर्ने भन्ने निर्णय विज्ञहरूले गर्नुपर्ने बताइन् ।
हतारमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनको निर्णय गरिँदैन : गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आवश्यक तयारी पुरा नभएसम्म हतारमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनको निर्णय नगरिने स्पष्ट पारेका छन् ।
पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनबारे शुक्रबार मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल गर्दै लामिछानेले काठमाडौंमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गर्नुपर्छ भन्नेमा आफ्नो मत रहे पनि त्यसको विपक्षमा रहेकाहरूको समस्या समाधान र आवश्यक तयारी नगरेसम्म यसबारे कुनै निर्णय नगरिने स्पष्ट पारे ।
प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभामा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आह्वान गरेका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को (क) बमोजिम पदबाट राजीनामा दिएकाले प्रदेश प्रमुखले धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई विसं २०८१ वैशाख २ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेसपाले इलाम-२ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले इलाम-२ को उपनिर्वाचनमा पहिचानवादी उम्मेदवार डेकेन्द्र सिंह थेगिमलाई समर्थन गर्न भएको छ ।
नेपाल समाजवादी पार्टीका प्रवक्ता कृष्ण शर्माले एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा थेगिमलाई समर्थन गर्ने जानकारी दिएका हुन् ।
निर्वाचन आयोगको छलफल आइतबारलाई सर्यो
गृहमन्त्री रवि लामिछानेले आज दिउँसो गर्ने भनिएको निर्वाचन आयोगसँगको छलफल दुई दिनपछि सरेको छ ।
प्रस्तावित निर्वाचन कानूनका विषयमा परामर्शका लागि आज दिउँसो मन्त्री लामिछाने आयोग जाने कार्यक्रम थियो ।
नेबिसंघको १२ औं महाधिवेसन आगामी पुसमा
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो १२ औँ महाधिवेशन गर्ने भएको छ ।
आगामी २०८१ पुस मसान्तभित्र १२ औं महाधिवेसन सम्पन्न गर्ने निर्णय गरेको हो ।
किसानलाई धान उत्पादनमा प्रोत्साहित गर्दै ‘आरजु राइस मिल’
नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री वितरण सुरु गरेको छ ।
स्थानीय किसानसँगको सहकार्यमा नेपाली किसानको पहिलो व्यावसायिक उत्पादन ‘प्रिमियम बास्नादार चामल’ बजारमा ल्याएको कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सुवासी जातको धानको प्रिमियम बास्नादार चामल ‘एभरेष्ट’ को बजार मूल्य रु एक सय ७५ कायम गरिने कम्पनीले उल्लेख गरेको छ । यसअघि कम्पनीले मन्सुली तथा लोकल प्रिमियम चामल बिक्री वितरण गर्दै आएको छ ।
आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपाली किसानले उत्पादन गरेको धानमात्रै खरिद गरेर आफ्नै मिलमार्फत् चामल उत्पादन र बजारीकरण गर्ने गरी कम्पनीले बजारमा नयाँ चामल ल्याएको बताए । ‘नेपाली धानको उत्पादन प्रवर्द्धन र बजारीकरणका साथै किसानलाई यस क्षेत्रमा प्रोत्साहित गर्न कम्पनीले गुणस्तरीय चामल उत्पादन गरेको हो । किसानलाई कृषि उत्पादनमार्फत् राष्ट्रिय आर्थिक समृद्धिमा समान सहभागिता जनाउने पनि अर्को उद्देश्य रहेको छ’, बुद्ध एयरका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले भने।
सुनसरीका पाँच पालिकामा निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी भएको जनाइएको छ ।
कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।
सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी
सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानीले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो ।
कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रु सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ९८ करोड ४३ लाख ७६ हजार तीन सय २२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ११ करोड ४७ लाख १९ हजार पाँच सय ४५ र आश्रित परिवार सुरक्षा योजनामा रु १३ करोड २८ लाख एक सय ६५ भुक्तानी गरेको छ ।
सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश, अर्को पेसी वैशाख ३ मा
उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ ।
मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले आजको सुनुवाइपछि जिल्ला अदालत काठमाडौँको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उक्त आदेश दिएको हो ।
रामहरि हत्या प्रकरण : खाम पुर्पक्षका लागि कारागार चलान
रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
नेपाल र दक्षिण कोरियाका दश पर्वतारोही जुगल हिमाल चढ्ने
नेपाल र दक्षिण कोरियाका दश पर्वतारोही जुगल हिमाल आरोहण गर्न शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले शुक्रबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै चैत्र २४ गते शनिबारबाट जुगल हिमाल १ र २ को पहिलो आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने जनाएको हो ।
अन्तर्राष्ट्रिय…
ताइवानको भुकम्पमा परेका १९ जना अझै बेपत्ता
ताइवानका उद्धारकर्ताहरूले टापुको दुर्गम पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी जारी राखेका छन् ।
पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा बुधबारको भूकम्पले १० जनाको ज्यान गएको थियो भने १ हजार भन्दा बढी घाइते भएका थिए । सो भूकम्प पछि सयौँलाई राष्ट्रिय निकुञ्जमा अलपत्र परेको कारण पहिरोले सडक अवरुद्ध गरेको थियो ।
भारतमा मुद्रास्फीतिको जोखिम कायमै : ब्याजदर यथास्थितिमा रहने
भारतमा मुद्रास्फीतिको जोखिम र बलियो आर्थिक वृद्धि दुवैको सम्भावना रहेको बताउँदै केन्द्रीय बैङ्कले शुक्रबार लगातार सातौँ पटक ब्याज दरमा कुनै परिवर्तन गरेको छैन ।
भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण ‘पुनः खरिद् सम्झौता (रिपो रेट)’ ६.५० प्रतिशत कायम रहने बताएको छ ।
इमरान खानका लागि जेलमा सरकारको हरेक महिना ५ लाख ८० हजार खर्च
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् ।
यति मात्र होइन, जेलमा इमरान खानका लागि छुट्टै खाना बनाइन्छ । यो अन्य कैदीहरूलाई दिइँदैन । पाकिस्तानको पञ्जाब सरकारले बुधबार लाहोर उच्च अदालतमा सुनुवाईको क्रममा यो जानकारी दिएको हो । खानको सुरक्षाका लागि हरेक महिना करिब १२ लाख पाकिस्तानी रुपैयाँ अर्थात् करिब ५ लाख ८० हजार नेपाली रुपैयाँ खर्च हुने गरेको सरकारले अदालतमा जानकारी दिएको छ ।
खेलकुद…
नेपाल आयरल्यान्डसँग ११४ रनले पराजित
नेपाल आयरल्यान्डसँग ११४ रनले पराजित भएको छ ।
आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ एक सय १४ रनको फराकिलो अन्तरले पराजित गएको हो ।
विश्व मुवाँथाई च्याम्पियनसिपमा पदक विजेता खेलाडी सम्मानित
नेपाल राष्ट्रिय मुवाँथाईं संघले मुवाँथाईं विश्व च्याम्पियनसिपका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ ।
संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाईं विश्व च्याम्पियनसिपका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेका हुन् ।
प्रतिक्रिया