चौधरीको भित्रीकथा : कैंची बोकेर भारतबाट आएका भुरामलका नाति यसरी बने अर्बपति | Khabarhub Khabarhub

चौधरीको भित्रीकथा : कैंची बोकेर भारतबाट आएका भुरामलका नाति यसरी बने अर्बपति


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 15 मिनेट


101.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरी को हुन् भनेर चिनाइराख्नुपर्दैन । सन् २०१३ को फोर्ब्स  पत्रिकाले अर्बपतिको सूचीमा राखेपछि नेपालका एकमात्र अर्बपतिको पहिचान बनाएका उनी वाईवाई चाउचाउका उत्पादक समेत हुन् । कान्छाभाइ अरुण चौधरी सरकारी जग्गा हिनामिना प्रकरणमा समातिएपछि चौधरी ग्रुपको चर्चा बजारमा फेरि बिक्री हुन थालेको छ ।

पञ्चायतकालमा दरबार, बहुदल कालमा कांग्रेस, एमाले र माओवादीमा समेत प्रभाव जमाएर राज्य संयन्त्रलाई नै आफ्नो मुठ्ठीमा लिनसक्ने पहुँच बनाएका विनोद चौधरी यतिबेला ‘मल्टिनेशनल कम्पनी’ को बिजनेसम्यान बन्ने महत्वाकांक्षी दौडमा छन् ।

नेपालका यति शक्तिशाली उद्योगपति विनोद चौधरीको नेपालसँगको नातो भने उनीअघिको दुई पुस्ता मात्र जोडिन्छ । उनका हजुरबा भारतीय नागरिक थिए । विनोदले अहिले आफ्ना दुई जना छोरालाई समेत ‘अर्ध नेपाली’ बनाएका छन् ।

विनोद चौधरीका हजुरबा भुरामल चौधरी किशोरावस्थामै मंगल साहुको कपडा पसलमा काम गर्न भारतबाट काठमाडौं छिरेका थिए । अहिले तिनै भुरामलका नातिहरु नेपालको शक्तिशाली व्यापारिक घराना बन्न सफल भएका छन् ।

विनोद चौधरी आफूलाई मारवाडी समुदायको सदस्य भनेर चिनाउँछन् । तर, उनी गोल्छा, टिबडेवाला, केडियाजस्ता मारवाडी समुदायका चर्चित घरानियासँग सधैं ‘नकारात्मक’ रहने गरेका छन् ।

विनोद चौधरी, छोरा राहुल, निर्वाण र वरुणसँगै (बायाँबाट क्रमशः)

मारवाडी भर्सेस रैथाने

राणाकालमा मुख्यतः चार मारवाडी परिवार व्यापार गर्ने उद्देश्यले नेपाल आएका थिए । तिनीहरुमध्ये एक थिए– मंगल साहु । चर्चित उद्योगी सुरज मल उनै मंगल साहुका सन्तान हुन् ।

त्यसबेला नेपाल भित्रिएका अर्का मारवाडी समुदायका व्यापारी थिए– मायाराम भोलाराम, जसका सन्तान अहिले टिबडेवाला परिवारका रुपमा चर्चित छन् ।

त्यसैगरी राणाकालमा नेपाल भित्रिएका अर्का मारवाडी थिए– हनुमान साहु, जसका सन्तान अहिले बनबारीलाल मित्तल परिवारका रुपमा चर्चित छन् ।

त्यस्तै, राणाकालमा नेपाल छिरेका चौथो व्यापारी थिए, महावीरप्रसाद बृजलाल, जसका सन्तान अहिले केडिया परिवारका रुपमा परिचित छन् ।

काठमाडौंमा व्यापारका लागि प्रवेश गरेका यी व्यापारीहरूको प्रतिस्पर्धा सुरुदेखि नै यहाँका रैथाने नेवारी समुदायका व्यापारीहरुसँग हुन थाल्यो । तर, त्यसबेला मारवाडी समुदायका व्यापारीको दाबी के थियो भने हामी राणा प्रधानमन्त्रीहरुले बकाइदा निम्तो दिएकाले व्यापार गर्न भारतबाट काठमाडौं छिरेका हौं ।

पोको बोकेर भुरामलको प्रवेश

विनोद चौधरीका हजुरबा भुरामल भारतको राजस्थानस्थित शेखावटीमा जन्मेका थिए ।

अहिलेका चर्चित उद्योगपति विनोद चौधरीका हजुरबुबा भुरामल चौधरी मखनटोलमा कपडा व्यापार गर्ने मखन साहुको कामदारका रुपमा राजस्थानबाट नेपाल आएका हुन् । उनले काठमाडौं आएर मखन साहुको कपडा गद्दीमा काम गर्न थाले । कपडा काट्ने कैंची उनको जागिरको मुख्य सहारा बन्न पुग्यो ।

भुरामल चौधरी मखन साहुका लागि कपडा खरिद गर्न काठमाडौंबाट चिसापानीगढीको बाटो हुँदै वीरगञ्जसम्म हिँडेरै जान्थे । रक्सौलबाट रेल चढेर विभिन्न शहरका कपडा मण्डीहरुमा पुग्थे र कपडा किनेर मखन साहुकहाँ फर्कन्थे ।

भारतका कपडा मण्डीहरुमा सम्पर्क रहेको र काठमाडौंमा व्यापार गर्ने तरिकासमेत थाहा पाएपछि भुरामलले मखन साहुलाई छाडे । उनी आफैं कपडाको पोको बोकेर काठमाडौंका गल्लीमा डुल्न थाले ।

भरामल चौधरी साडी, चोलो, कछाड, दौरा सुरुवाल लगायतका कपडाको कुम्लो काँधमा बोकेर राणाका पटांगिनीसम्म पुग्थे । विनोद चौधरीका बुबा लुनकरणदास चौधरी पनि १०/१२ वर्षको उमेरदेखि नै लुखुर–लुखुर बाबुका पछिपछि दौडन्थे । कपडा बेच्न आफ्ना बुबालाई सघाउँथे । कपडा बेच्नेक्रममा लुनकरणदास चौधरी रानीका खोपीसम्म पुग्थे ।

भारतबाट नयाँ माल आउनासाथ भुरामल कपडाको कुम्लो लिएर बिक्रीका दरबारतिर लागिहाल्थे । विसं १९९० को भूइँचालो आउनुअघिसम्म विनोद चौधरीका हजुरबा डुलुवा कपडा व्यापारीकै रुपमा रहे ।

त्यसबेला काठमाडौंमा बाहिरिया व्यापारीको विरोध हुन थाल्यो । राणा सरकारले केही भारतीय व्यापारीलाई देशनिकाला पनि गर्‍यो । तर, ९० सालको भूकम्पपछि भुरामल चौधरीले भने अहिलेको विशालनगर छेउ (जुद्ध सडक) मा कपडा दोकान थापे । पसलको नाम थियो– ‘भुरामल लुनकरणदास चौधरीको कपडा पसल ।’

चौधरीका बाबुछोरा भुरामल र लुनकरणदास कैंचीले कपडा काट्दै खुद्रा व्यापार गर्न थाले ।

इन्द्रचोक नजिकै भुरामलको बसाइ थियो । बिहानै उठेर उनी मरु गणेशथानको दर्शन गर्थे । इन्द्रचोकको आकाश भैरवलाई ढोग्थे । पसलमा पुगेर धूपबत्ती गर्थे । अनि सेतो गद्दीमा बसेर ग्राहकको प्रतिक्षा गर्थे । मखन साहुकोमा काम गर्दादेखि नै भुरामलले हल्का नेवारी शब्दहरु पनि सिकेका थिए ।

त्यसबेला आफ्ना हजुरबाले नित्य पूजा गर्ने गरेको कपडा पसलको सन्दुक अहिलेसम्म अर्बपति विनोद चौधरीले सुरक्षित राखेका छन् । विनोदले अहिले पनि वर्षमा एकचोटि लक्ष्मीपूजाको दिन खिचापोखरी पुगेर हजुरबाले नेपाल छिरेर प्रयोग गरेको सन्दुक, कैंची र कपडा नाप्ने गजको पूजा गर्दै आएका छन् ।

विनोद चौधरीका बुबा लुनकरणदास चौधरी भने हजुरबा सक्रिय रहँदासम्म अलि अल्छी थिए । उनी बिहान १० बजेतिर जाँघेभित्र हात घुसारेर ङिच्च दाँत देखाउँदै बाबुको कपडा पसलमा पुग्थे र गाली खान्थे । तर, भुरामलको शेषपछि कपडा पसलको व्यवहार लुनकरणदास चौधरीले सम्हाले ।

विसं. २०१२ सालमा जेठा छोरा विनोद चौधरीको जन्म भयो । क्रमशः वसन्त चौधरी र अरुणकुमार चौधरीको जन्म भयो । आमा गंगाकुमारी चौधरी बिहारको दरभंगामा जन्मेकी सामान्य परिवारकी महिला थिइन् ।

अहिले उनै लुनकरणदास र गंगादेवी चौधरीका कान्छा छोरा अरुणकुमार चौधरी बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् । अरुणका बा–आमाको नाम पनि बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हडप्नेको सूचीमा परेको छ । विनोद चौधरीका भिनाजु (कुसुम चौधरीका पति) अर्थात् चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष महेशकुमार अग्रवालको नाम पनि बाँसबारी प्रकरणमा मुछिएको छ ।

यही प्रकरणले गर्दा चौधरी परिवारको चर्चा परिचर्चा पुनः सुरु भएको हो ।

लुनकरणदास चौधरीको भाग्य

राणा शासन ढलेपछि नेपालको व्यापार विस्तारै दक्षिणी सीमाक्षेत्रमा फस्टाउन थाल्यो । राणाकालमा फस्टाएको नेपाल–तिब्बतको व्यापार क्रमशः दक्षिणतिर सिफ्ट हुन थाल्यो । त्यसबेला तराईबाट भारतमा जुट र धान चामलको निर्यात हुन्थ्यो ।

यही मौकाको विश्लेषण गरेर लुनकरणदास चौधरीले ‘भुरामल लुनकरणदास कपडा पसल’ को शाखा विराटगरमा विस्तार गरे ।

त्यसबेला प्रायः पसलमा मात्र सीमित रहेका मारवाडी समुदायका व्यवसायीहरुले आयात–निर्यातमा पनि हात हाल्न थालिसकेका थिए । विनोद चौधरीका बुबाले पनि भारतबाट मात्र नभई अन्य देशका कपडासमेत आयात गर्न थाले ।

जुटको व्यापारमा पनि लुनकरणदासले हात हाले । तर जुटमिलमा विराटनगरका ठूला व्यापारिक घरानाको एकाधिकार तोड्न सकेनन् ।त्यसपछि काठमाडौंमा लुनकरणदास चौधरीको नजर सरकारी ठेक्कापट्टातिर पर्‍यो । विसं. २०१४ मा उनले काठमाडौं–त्रिशुली सडकको ‘सब–कन्ट्राक्ट’ लिए ।

त्यहाँबाट हौसिएर उनले काठमाडौंमा भवन निर्माणको ठेक्कामसेत लिन थाले । उनले भारतीयहरुसँग मिलेर ‘कोर टिम’ बनाए । युनाइटेड बिल्डर्स नामको कम्पनीसमेत खडा गरे । तर, सोल्टी होटल बनाउन तम्सिएको उनको निर्माण कम्पनीले गरिखाएन ।

नेपालमा व्यवसाय फस्टाउनका लागि राणा, शाह खान्दानका दरबाररियालाई साथ लिनुपर्ने रहेछ भन्ने लुनकरणदासले महसुस गरिसकेका थिए, त्यो नीतिलाई पछि विनोद चौधरीले कार्यान्वयन गरे । उनले अहिलेसम्म त्यही नीति अलवम्वन गरिरहेका छन् ।

ठेक्कापट्टा पार नलागेपछि जुद्धसडकको कपडा पसललाई २०२० सालमा लुनकरणदास चौधरीले ‘फ्लोरिङ एण्ड फर्निसिङ आउटलेट’ मा बदले । उनले नेपालमा खुलेको अमेरिकी सहयोग नियोग यूएसआईडीदेखि टाइगर टप्स होटललाई इन्टेरियरका सामान बेचेर औधी पैसा कमाए ।

विस्तारै फर्निसिङमा चौधरीको एकाधिकार जम्न थाल्यो । वीरगञ्जमा पनि शाखा खुल्यो । खिचापोखरीमा अहिले पनि त्यसको अफिस थियो । चौधरी परिवार त्यही घरमा हुर्किएको हो । विनोद चौधरी त्यहीँबाट जुद्धोदय पब्लिक स्कुल जान्थे । पढाइमा खासै रुची नभएका उनी दिनभर गुच्चा खेलेर घर फर्कन्थे । विनोदले त्यसबेला आफ्नै बुबाको पसलबाट सामान चोरेर बाहिर बेच्ने कामसमेत गरे ।

पार्टनरसँग पहिलो झगडा

लुनकरणदासले विनय अग्रवालसँगको पार्टनरसीपमा गरेको ‘फ्लोरिङ एण्ड फर्निसिङ’ को पार्टनरसिप आन्तरिक झगडाका कारण एकाध वर्षमै टुट्यो । त्यसयता चौधरी परिवारले पार्टनरसीपमा काम गर्ने र हटाउने सिलसिला चल्दै आयो ।

‘फ्लोरिङ एण्ड फर्निसिङ’को लफडापछि लुनकरणदासले २०२५ सालतिर काठमाडौंमा ‘अरुण एम्पोरियम’ नामको डिपार्टमेन्ट स्टोर खोले । इन्टेरियर डिजाइनको अनुभव लिइसकेका उनले विदेशी ब्राण्डका सामानहरु ल्याएर काठमाडौंका धनीमानीलाई बेच्न थाले । १२/१३ वर्षका विनोद चौधरी ङिच्च दाँत देखाउँदै बाबुको पसलमा जान्थे, भगवानलाई चढाएको लड्डु, पेडा क्वाप्प खान्थे ।

लुनकरणदास चौधरीले २०२० को दशकमा वीरगञ्जका केडिया परिवार र रामनिरञ्जन जाटियाहरुसँगको साझेदारीमा वीरगञ्जमा उद्योग खोले ।

विसं. २०२२ सालमा मोर्डन होजियरी इन्डस्ट्रिज खुल्यो, जसले ‘राइनो’ मोजा बनाउँथ्यो । सोही वर्ष खुलेको नेपाल स्पिनिङ वेभिङ एण्ड निटिङ प्रालिले आयातित धागोबाट सेन्थेटिक कपडा उत्पादन गर्थ्यो ।

विनोद चौधरीका बुबा, आमा र भाइ

दुई वर्षपछि २०२४ सालमा खुलेको रत्न स्टेनलेस स्टिल प्रालिले स्टिलका भाँडाकुँडा बनाउँथ्यो । तर, ठूला घरानियासँगको चौधरीको यो साझेदारी फस्टाएन, विवादमै गएर टुंगियो ।

त्यो अवधिमा लुनकरणदासको परिवार खिचापोखरीको पुरानो घरबाट ठमेलको दोस्रो घरमा सर्‍यो । ०३५ सालमा बिहे गरेपछि विनोद चौधरी ठमेलको घर छाडेर रविभवनमा अर्को घर किनेर सरे ।

‘मर्डर केस’ पछि डिस्को बन्द

लाजिम्पाटमा लालीगुराँस होटल चलाउने किरण शेरचनको संगतले लुनकरणदासका जेठा छोरा विनोद चौधरीलाई २०३० को दशकमा काठमाडौंका रात्रि क्लब, डिस्को र क्यासिनोसम्म पुर्‍यायो ।

त्यहीँबाट विनोदलाई राजदरबारका सदस्यहरु नीर शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहसम्मको संगतमा पुर्‍यायो । पछि उनीहरुबाट चौधरीले लिनुसम्म फाइदा लिए ।

विनोदले लालिगुराँस होटलमै ‘कपर फ्लोर’ नामको डिस्को सञ्चालन गरेका थिए । बाबु लनुकरणदास चाहन्थे, छोराले अरुण इम्पोरियम हेर्दियोस् । तर, छोरो रातभर डिस्कोमा । मध्यरातमा चोरजसरी लुसुक्क घरमा आउने ।

विनोद चौधरीकी सानीमा पनि आर्थिक दुरावस्थाका कारण काठमाडौंमा दिदीभिनाजुसँगै बस्थिन् । आफ्नी बहिनीको सानो छोरा टिंकुलाई गंगादेवीले अरुणपछिको कान्छो छोरा भन्थिन् । उनले अरुण साहिँलो हो, टिंकु कान्छो हो भन्ने गरेकी थिइन् ।

तर, टिंकुको रहस्यमय हत्या भयो । उनको लास बोरामा हालिएको अवस्थामा फेला पर्‍यो । टिंकुको हत्यापछि लालीगुराँस होटलका किरणले विनोद चौधरीलाई भने, ‘पुलिसले तँलाई शंका गरेको छ, अबदेखि मेरो होटलमा नआइज ।’

युवाअवस्थामा विनोद चौधरी

चौधरीको घरमा काम गर्न आउने दुईजना सिकर्मीले टिंकुलाई बोरामा हालेर फालेको निष्कर्षसहित यो केस टुंगो लाग्यो ।

विनोद चौधरीले आफ्नो आत्मकथामा उक्त घटनापछि अञ्चलाधीशसम्म सोर्स लगाउनुपरेको र दरबारकै मान्छेबाट निर्देशन गराएपछि बल्ल आफूहरुमाथि केरकार गर्ने प्रहरीको ओठमुख सुकेको उल्लेख गरेका छन् ।

जे होस् यो घटनापछि विनोद चौधरीको ‘कपर फ्लोर’ डिस्को सधैंका लागि बन्द भयो । त्यसपछि उनले चार्डर्ड एकाउन्ट पढे, पास गर्न सकेनन् ।

विनय अग्रवालपछि काकाको पालो

फ्लोरिङ एण्ड फर्निसिङका पार्टनर विनय अग्रवालसँग विवाद भएपछि ८ लाख रुपैयाँ लिएर अलग्गिएका लुनकरणदास चौधरीले अब अरुण इम्पोरियम र अरुण इम्पेक्सबाट आफ्ना भाइ राजकुमार चौधरीलाई निकाल्नुपर्ने भयो । उनलाई हटाउने कामको जिम्मेवारी जेठा छोरा विनोद चौधरीले पाए ।

लुनकरणसँग राजकुमारको माग सामान्य थियो, ‘मैले तपाईको यत्रो वर्ष सेवा गरेँ । मेरा अगाडि थुप्रै विकल्प हुँदा पनि म तपाईँको मुख हेरेर बसेँ । अब मलाई तपाईको कारोबारमा २५ प्रतिशत सेयर चाहिन्छ, यो मेरो अधिकार हो ।’

काकालाई सेयर दिनुको साटो बाटोबाटै पन्छाउने खेल विनोद चौधरीले खेले । लुनकरणले राजकुमारलाई ‘मेरो सबै कारोबार तिमी नै हेर, यो विनोदलाई पनि काम सिकाइदेऊ’ भनेर मख्ख पारे ।

विनोदले आफ्ना ‘क्लाइन्ट’ हरुको सूचना बटुल्न काकालाई जापान लगे । ओसाकामा काकालाई डिस्कोमा घुमाए । काकाले यो ‘मेरो भतिजो’ भन्दै क्लाइन्टहरुलाई चिनाए । त्यहाँको सबै सूचना विनोदले पत्ता लगाए । क्लियरिङ एजेन्टहरु चिने ।

नेपाल फर्केपछि विनोदले अलिअलि गर्दै कम्पनीको हिसाबकिताब हेर्न थाले । एक दिन आफ्ना विश्वासपात्र इन्दु बदानीलाई कम्पनीको एकाउन्ट हेर्नेगरी नियुक्त गराए ।

विनोदले जापान जस्तै कोरिया र थाइल्याण्डका विक्रेताहरुसँग पनि सम्पर्क बढाइसकेका थिए । इन्दुबाट हिसाबको विवरण सबै उनको हातमा आउन थाल्यो । त्यसपछि उनले एकदिन काकालाई अफिसमा बोलाएर भने, ‘तपाईले आजसम्म अरुण इम्पोरियम र अरुण इम्पेक्स सञ्चालन गर्न ठूलो मद्दत गर्नुभयो । यसका लागि म आभारी छु ।’

त्यसपछि पशुपति बिस्कुटको पालो

अरुण इम्पोरियमबाट काकालाई हटाइसकेपछि विनोद चौधरीको ध्यान अब बिराटनगरस्थित पशुपति बिस्कुट फ्याक्ट्रीतिर सोझियो ।

पशुपति बिस्कुट राम्रो चलिरहेको थियो । त्यसको व्यवस्थापन बजरंग र राधेश्याम दाजुभाइले हेर्थे । लुनकरणदास चौधरीले उनीहरुलाई १०÷१० प्रतिशत सेयर दिएका थिए ।

सुरुमा विनोद चौधरीले जेआर भण्डारी र एमआर महेश्वरीलाई त्यहाँ नयाँ एकाउन्टेन्ट नियुक्त गरे । बिराटनगरमा बेग्लै अफिस खोले र धेरै समय विराटनगरमै बिताउन थाले ।

त्यहीबेला विनोदले बिराटनगरमै महालक्ष्मी मैदा मिल स्थापना गरे र त्यहीँबाट पशुपति बिस्कुटमा मैदा लैजान थाले । पूर्वी पहाडदेखि भारतका विभिन्न प्रान्तसम्म पशुपति बिस्कुटको बजार विस्तार गराए । उद्योगमा दबाव दिएर बजरंग राधेश्याम दाजुभाइलाई एक पैसा शेयर नदिई धपाए । बिस्कुट उद्योगमा चौधरीको एकाधिकार सुरु भयो ।

लुनकरणदासको बुढ्यौलीसँगै अब विनोद चौधरी सक्रिय बन्न थाले ।

चिनीमिलको ऋणले कालोसूचीमा

उद्योगपति विनोद चौधरी जहाँ हात हाल्छन्, त्यहाँ लडाइँ झगडा परिहाल्छ । तर, उनी राजनीतिक एवं प्रशासनिक शक्तिकेन्द्रको प्रयोग गर्छन् र उम्कन्छन् । चिनी उद्योगमा पनि यस्तै भयो ।

राष्ट्रिय बाणिज्य बैंकले ०५८ साल चैत २५ गते विनोद चौधरी, श्रीमती सारिका (लिली) चौधरी र पिता लुनकरणदास चौधरीले महालक्ष्मी सुगर मिलको ऋण नतिरेको भन्दै उनीहरुलाई कालोसूचीमा राख्ने निर्णय गर्‍यो र कर्जा सूचना केन्द्रलाई पत्र लेख्यो । सो पत्रका आधारमा तीनैजना कालोसूचीमा परे ।

नेपालमा चिनी मिल खोल्ने लहर चलेका बेला ०४८ सालपछि विनोद चौधरी महालक्ष्मी चिनी उद्योगमा जोडिन पुगेका थिए ।

कपिलवस्तुको साविक जवाहरी गाविसमा ८० विघा जग्गा पूर्वअधिराजकुमार धीरेन्द्र शाहले चिनी कारखाना खोल्नका लागि किनेका थिए । त्यही जग्गामा विनोद चौधरीले कृष्णनगर उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष ओमप्रकाश कनौडियासँग मिलेर २०५३ सालदेखि महालक्ष्मी चिनीमिल सुरु गरेका थिए ।

चिनीमिल खोल्न चौधरी र कनौडियाले राष्ट्रिय वाणिज्य बैंकमार्फत ब्याज र पुँजीकरणसहित ३० करोड १७ लाख रुपैयाँ ऋण बोकेका थिए ।
उद्योग सुरु भएपछि ओमप्रकाशको मृत्यु भयो । उद्योगमा छोरा वीरेन्द्र कनौडिया जोडिए, जो पछि कांग्रेसबाट जलस्रोत सहायक मन्त्री पनि बने ।

चौधरीका अनुसार वीरेन्द्रले उद्योगमा विवाद गर्ने र गुण्डा परिचालन इत्यादि गर्न थालेपछि ०५६ साल असोज २८ मा आफूले लगाएको १२ करोड लगानीमध्ये ४ करोड ८५ लाख मात्र लिएर उनी महालक्ष्मी सुगर मिलबाट बाहिरिए । त्यसको दुई वर्षपछि बैंकले कनौडिया र चौधरी दुबैलाई कालोसूचीमा राख्यो । बैंक डुबाउने कार्यमा दुबैको योगदान रह्यो ।

कसरी आयो सानेपामा जग्गा ?

अहिले ललितपुरको सानेपामा चौधरी ग्रुपको कर्पोरेट अफिस छ । यसको कथा पनि रोचक छ । त्यो सुरेन्द्रसमशेर राणाको जग्गा हो । लुनकरणदास चौधरीले राणालाई अलिकति पैसा सापट दिएका थिए । राणाबाट चौधरीले पैसाको साटो खेत लिए, जुन अहिले चौधरीको सम्पत्ति बन्न गयो ।

विनोद चौधरीले सानेपाको सो जग्गामा २०३८ सालतिर एकतले घर बनाएर रेडियोको प्रोग्राम उत्पादन गर्ने प्रयास गरेका थिए । पछि त्यसमा तला थपेर खिचापोखरीको कार्यालय सारे ।

पानासोनिक रेडियोदेखि मारुती सुजुकीको डिलरसम्म

यसबीचमा विनोद चौधरीले बहुराष्ट्रिय कम्पनीबाट उत्पादित पानासोनिक रेडियोका पार्टपूर्जा आयात गरेर एसेम्बिलिङ गर्ने बिजनेश हात पारे । यसका लागि उनले नेपाल प्रहरीका तत्कालीन डीआईजी नारायणसिंह शाहलाई हात लिएका थिए ।

त्यसपछि विनोदले जापानी सुजुकी मोटर्सको डिलरसीप हातमा लिए । भारतको मारुतीले पनि जापानको सुजुकीसँग सहकार्य थालेपछि चौधरीलाई मालामाल भयो ।

अहिले पनि चौधरीको मारुती सुजुकी गाडीको डिलरसीप छ । सुरुदेखि उनले यसको कारोबार हेर्ने जिम्मा कान्छा भाइअरुण कुमार चौधरीलाई दिए ।

अन्ततः भुरामल लुनकरणदास चौधरीको कपडा ब्यापारबाट सुरु भएको कम्पनी मुन्सी शैलीबाट फड्को मारेर चौधरी ग्रुपको कर्पोरेट शैलीमा फड्को मार्‍यो ।

चाउचाउदेखि भुजियासम्म

विनोद चौधरीले वाईवाई चाउचाउको उत्पादन २०४१ बाट थालेका हुन् । त्यसअघि नै पोखराको गण्डकी नुडल्सले रारा चाउचाउ बजारमा ल्याएको थियो । इण्डियाबाट नेस्ले लिमिडेडको म्यागी चाउचाउ पनि नेपाली बजारमा निर्यात हुन थालेको थियो ।

विनोद चौधरी हिमालय पाँडेलाई लिएर थाइल्याण्ड गए । त्यहाँको ठूलो चाउचाऊ कम्पनी ‘मामा’ सँग छलफल गरे । तर उसले चौधरीसँग सहकार्य गर्न रुची देखाएन । त्यसपछि अलि सानो चाउचाउ उत्पादक कम्पनी वाईवाईसँग कुरा गरे । साझेदारी गर्ने सहमति भयो ।

चतुर व्यापारी चौधरीले नेपाल फर्केपछि मामाको ब्राण्ड नेपालमा कसैले नल्याओस् भनेर कपीराइट कानुनको फितलोपनबाट फाइदा उठाउँदै मामाको ब्राण्ड पनि आफ्नै नाममा दर्ता गरे । पछि मामा चाउचाउ पनि उनी आफैंले उत्पादन गर्न थाले । यसपछि थाइल्याण्डको मामा कम्पनीसँग विवाद पनि भयो । तर, चौधरीले विदेशी ब्राण्डलाई आफ्नो बनाउने बाटो समाते ।

ललितपुरको सैंबुमा रहेको चौधरीको प्लान्टले अहिले प्रति ८ घण्टामा ३० हजार प्याकेट चाउचाउ उत्पादन गर्छ । यस्ता प्लान्टहरु उनले देशका विभिन्न ठाउँमा विस्तार गरेका छन् । थाई फुडसँगको सहकार्यपछि अहिले ३५ देशमा चाउचाउ विक्री भइरहेको चौधरीले दाबी गर्दै आएका छन् ।

नेपालमा ०४१ सालदेखि वाईवाई निरन्तर उत्पादन हुँदै आएको छ । दैनिक १५ लाख प्याकेट उत्पादन भइरहेको चौधरी ग्रुपको दाबी छ । नेपाली बजारमा चौधरीका चाउचाउ र भुजियाको बार्षिक कारोबार करिब २ अर्ब रुपैयाँको रहेको उसको दाबी छ ।

नबिल बैंकको कथा

२०५० सालतिर नेपाल अरब बैंकका व्यवस्थापन सल्लाहकार जीसी श्रीवास्तवले विनोद चौधरीलाई भने, ‘अरब बैंकबाट शेखहरुले आफ्नो लगानी झिक्न खोजिरहेका छन्, किन्ने भए मान्छे भेटाइदिन्छु ।’

युएईको व्यापारिक घराना गलाधारी ब्रदर्शको लगानीमा २०४० को दशकमा खुलेको नेपाल अरब बैंकको व्यवस्थान दुबईस्थित इमिरेट्स बैंकले सम्हाल्दै आएको थियो । गलाधारी ब्रदर्शले भारतमा लगानी गर्न नपाएपछि नेपाल, बंगलादेश, श्रीलंका र पाकिस्तानमा एकैचोटि चारवटा बैंक खोलेका थिए, जुन भारतीय बजारप्रति लक्षित थिए ।

पछि युएईका शेखले गलाधारीको सम्पत्ति राष्ट्रियकरण गरिदिएका थिए । नेपाल अरब बैंक पनि युएईका शासक शेखहरुको स्वामित्वमा गइसकेको थियो, जसले गर्दा यसको व्यवस्थापनको त्यहाँको सरकारी बैंकले सम्हाल्न थालेको थियो ।

विनोद चौधरीले बैंकको ३० प्रतिशत शेयर किन्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागे । त्यसबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए भने महेश आचार्य अर्थराज्यमन्त्री, हरिशंकर त्रिपाठी गभर्नर र सत्येन्द्र प्यारा श्रेष्ठ डेपुटी गभर्नर थिए, चौधरीले सहजै अनुमति पाए । आफू पनि सञ्चालक समितिमा बसे । आफ्नै मान्छे डीसी खन्नालाई कार्यकारी निर्देशक बनाए ।

तर, नेपाली नागरिकलाई आधा प्रतिशत भन्दा बढी सेयर किन्न नपाउने प्रबन्धपत्रमा रहेको व्यवस्थाका कारण चौधरीले आफ्नो बनाउन सकेनन्, कानुनी झमेलामा फसे । एक वर्षपछि उनले उक्त बैंकको ५० प्रतिशत शेयर बंगलादेश नेसनल बैंकलाई बेचे ।

 

केही वर्षपछि नेशनल बंगलादेश बैंकमा विवाद भयो । त्यसको ५० प्रतिशत सेयर एनबी इन्टरनेशनलमा सर्‍यो र त्यसको प्रवेशपछि यसको नाम नबिल बैंक रहन गयो । बंगलादेशका महबुब रहमान र अब्दुल अवालले विनोद चौधरीकै विश्वासमा यस बैंकमा लगानी गरेका थिए । अहिले नविल बैंकमा चौधरी परिवारको शेयर छ ।

महबुब रहमान र अब्दुल अवालको लगानी पनि चौधरीले प्रत्यक्ष आफ्नो बनाउन नपाएपछि घुमाउरो बाटोबाट भित्रिएको बताइन्छ ।

बुटवल पावर कम्पनीमा चौधरीको असफलता

नेपाली कांग्रेस नेतृत्वको सरकारले ०५५ सालमा आफ्नो स्वामित्वमा रहेको बुटवल पावर कम्पनीको ७५ प्रतिशत सेयर बेच्ने निर्णय गर्‍यो । त्यसमा विनोद चौधरीको ध्यान तानियो । तर, चौधरी ग्रुपले पाएन, ०५८ सालमा इन्टरक्राफ्ट नेपालको प्रस्ताव सरकारले स्वीकृत गर्‍यो ।

यो प्रकरणले हाइड्रो क्षेत्रमा प्रवेश गर्ने चौधरीको योजनामा धक्का लाग्यो । त्यसपछि उनले मोदीखोला जलविद्युतको लाइसेन्स लिए ।

त्यसबेला विद्युत प्राधिकरणको महानिर्देशक पदमा उनै बाँसबारी जग्गा प्रकरणमा चौधरीका सहयोगी अजितनारायणसिंह थापा कार्यरत थिए । तर, चौधरीले लाइसेन्स लिए पनि आयोजना बनाउन सकेनन् । पछि सरकारले लाइसेन्स खारेज गरिदियो ।

त्यसपछि माओवादी द्वन्द्वलाई कारण देखाएर भोटेकोशी आयोजनाको अमेरिकी साझेदार कम्पनी हाज्रा इन्टरनेशनलले बेच्न लागेको सेयर किन्ने प्रयासमा विनोद चौधरी लागे । तर, भोटेकोशीका नेपाली साझेदार प्रभाकरशमशेर राणा आफैँ अघि सरेपछि चौधरी त्यहाँ पनि असफल भए ।

विसं. ०६२/०६३ पछि विनोद चौधरीका छोरा निर्वाणले ४ सय मेघावाटको दूधकोशी जलविद्युत आयोजनामा चासो देखाए । यसमा पनि चौधरी सफल हुन सकेनन् । यसको दोष उनले तत्कालीन झलनाथ खनालको मन्त्रिपरिषदलाई दिने गरेका छन् ।

अहिले चौधरी ग्रुपले लिलामीमा परेको हिमाल हाइड्रो लगायत लगभग २ सय मेगावाटका विभिन्न जलविद्युत आयोजनामा हात हालेको अवस्था छ ।

आमाका नाममा औद्योगिक ग्राम

विनोद चौधरीले नवलपरासीको दुम्कौलीमा ८० विघा जग्गामा आमाका नामबाट गंगादेवी औद्योगिक ग्राम खोलेका छन् । उनले ०५१ सालमा यसको शिलान्यास गरेका हुन् । यसबीचमा चौधरीले बियर उद्योग खोले । चुरोट कारखानामा पनि हात हाले । तर, दुबै उद्योग राम्रोसँग चलाउन सकेनन् । उनले चिजबल्स जस्ता जंगफुड उत्पादन गर्न थाले । वेफर्स, रियो इत्यादि उत्पादनमा लागेको चौधरी ग्रुपले इलेक्ट्रोनिक उत्पादन पनि सुरु गर्‍यो ।

किशोर पाण्डेसँग मिलेर चितवनमा होटलमा लगानी गरेका छन् । त्यहाँ सीजी रिटेल नामको मल बनेको छ । उनी नेपालबाहिर पनि होटलमा लगानी गर्ने अभियानमा छन् ।

चौधरीका अनुसार टाटा इन्टरप्राइजेजको ताज होटलसँग चौधरी ग्रुपले साझेदारी गरेको छ । श्रीलंका, मालदिभ्स र मलेसियामा ताजको चेन बिजनेस छ ।

नेपालको अन्नपूर्ण होटलमा नेपाली साझेदार हेलेन शाहसँगको पार्टनरसीपमा खटपट परेको थाहा पाएका विनोद चौधरीले ताजलाई आफ्नो विश्वासमा लिएका हुन् ।

आर्यघाट माग्दा सदस्य–सचिव !

आफ्नी आमाको निधनपछि विनोद चौधरीले पत्रिकामा ‘शोकशैयाबाट प्रधानामन्त्रीज्यूलाई पत्र’ शीर्षकको लेख लेखेर आर्यघाटको सुधारको जिम्मा आफूलाई दिन सरकारसँग माग गरे । ६ महिनाभित्र आर्यघाट क्षेत्रलाई राम्रो बनाउँछु भन्दै उनले राजगोपाल नाम गरेका भारतीय आर्किटेक्टलाई झिकाएर आर्यघाट सुधारको मास्टर प्लान पनि कोरेका थिए । त्यसबेला पशुपति क्षेत्र उच्चस्तरीय ढल परियोजनाले बागमतीमा काम गरिरहेको थियो । त्यसमा सरकारको करिब ५० करोडको बजेट थियो ।

तर, चौधरीले आर्यघाटमा काम गर्न पाएनन् । पछि ऐश्वर्य रानीको पहुँचबाट उनका भाइ बसन्त चौधरी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव नियुक्त भए ।

सधैं सत्ताको नजिक

पञ्चायतकालमा राजदरबारसँग नजिक बनेर पञ्चहरुलाई दबाबमा राख्न सिपालु विनोद चौधरीले ०५६ सालमै केपी ओलीले आफूलाई राष्ट्रियसभामा लान चाहेको दाबी गर्दै आएका छन् ।

त्यसबेला राष्ट्रियसभामा जान नपाएपछि चौधरीले बल्खुस्थित एमालेको मुख्यालयमै गएर नेताहरुलाई थर्काएका थिए । पछि प्रदीप नेपालले नवलपरासी क्षेत्र नम्बर १ बाट एमालेले टिकट दिने भन्दै सम्झाएका थिए ।

अन्ततः संविधानसभाको चुनावपति विनोद चौधरीले एमाले र कांग्रेस दुबै सदबाट सभासद पड्काए । अहिले उनी नवलपरासीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । संविधानसभाको चुनावपछि उनी विष्णु पौडेलमार्फत एमालेमा नजिकिएका हुन् ।

माघ १९ को स्वागत

तत्कालीन राजा ज्ञानेन्द्रले ०६१ माघ १९ गते ‘कु’ गर्दा विनोद चौधरीले त्यसलाई स्वागत गरेका थिए । सिंगापुरका ली क्वान यूले जस्तै ज्ञानेन्द्रले नेपालको कायापलट गर्न सक्छन् भन्ने चौधरीको दाबी थियो ।

पछि विनोदले ज्ञानेन्द्रमाथि दुईवटा आरोप लगाएका छन् । एक– ज्ञानेन्द्रको लगानी रहेको सिप्रदीबाट टेल्कोको एजेन्सी लिने क्रममा ज्ञानेन्द्र शाहले टेल्कोका तत्कालीन एजेण्ट युसी जैनलाई नेपालमा बस्नै नसक्ने अवस्थामा पुर्‍याएर खेदाए । दुई– जनकपुर चुरोट कारखानालाई साम दाम दण्ड र भेद लगाई धरासायी पारेपछि भारतको आईटीसीसँग मिलेर ज्ञानेन्द्रले सूर्य टोबाको खोले ।

तैपनि चौधरीको विश्लेषण छ, ‘यहाँ जित्नेकै बोलबाला छ र भइरहने छ । एउटा बिजनेसम्यानका रुपमा ज्ञानेन्द्रले त्यही गर्नुभयो, जुन उहाँले गर्नुपर्थ्यो ।’

महासंघभित्रको चलखेल

हरेक क्षेत्रको उद्योगमा आफ्नो एकाधिकार चाहने र सरकारले खोलेका भुकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखानाजस्ता उद्योगलाई फुटेको आँखाले देखिनसहने विनोद चौधरीको आदतै थियो । तर, उनी उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको नेतृत्वमा पनि पुगे । चुनाव हारेपछि समानान्तर संगठन खडा गरेर महासंघलाई साइजमा ल्याउने प्रयास गरे ।

महासंघको अध्यक्षका लागि भएको ०४४ सालको चुनावमा मणिहर्ष ज्योतिलाई गोल्छा, दुगड, मदनलाल र चिरञ्जीवीलाल जस्ता घरानियाँहरुले साथ दिएका थिए । विनोद चौधरीले महेशलाल प्रधानलाई साथ दिए । अन्तिममा मणिहर्ष उम्मेदवारी फिर्ता लिन बाध्य भए ।

विनोद चौधरी ०४७ को चुनावमा प्रथम उपाध्यक्ष चुनिए । ०५० मा उनी निर्विरोध अध्यक्ष चुनिए । ०५२ सालको दोस्रो कार्यकालमा भने उनी पद्म ज्योतिसँग हारे ।

विनोदले ०५४ मा आफ्नो प्यानलका आनन्दराज मुल्मीलाई जिताउन सहयोग गरे र आफ्नो अघिल्लो हारको तुष्टि लिए ।

विसं २०५९ मा महासंघको समानान्तर संगठन खोलेको आरोप लाग्दालाग्दै पनि नेपाल उद्योग परिसंघ (सीएनलाई) जन्मियो । यसको विधान तयार पार्ने कार्यमा पद्म ज्योति, सुज वैद्य, जगदीश अग्रवाल, आनन्दराज मुल्मीसँगै आफ्नो पनि भूमिका रहेको विनोद चौधरीले बताउने गरेका छन् ।

अहिले पनि सीएनआई र महासंघबीच प्रतिष्ठाको लडाइँ जारी छ ।

जस्तो– निर्यात हुने वस्तुका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र दिँदा महासंघले वर्षमा ६ करोडजित कमाउँथ्यो, सीएनआईले पनि प्रमाणपत्र दिने भनेपछि विवाद चर्कियो । महासंघले दिनुअघि नेपाल चेम्बर अफ कमर्सले उत्पतिको प्रमाणपत्र दिन्थ्यो । ०६६ सालदेखि उत्पत्तिको प्रमाणपत्र जारी गर्दा संकलन हुने सेवाशुल्क मध्ये १.३ पैसा सीएनलाईलाई दिने सरकारले निर्णय गर्‍यो । यसबाट सीएनआईलाईलाई वर्षको ५० लाखभन्दा बढी आम्दानी हुन थाल्यो ।

महासंघले वस्तुको सय रुपैयाँ मूल्य बराबर १२ पैसाका दरले उठाउँदै आएको थियो । विनोद चौधरीले तत्कालीन वाणिज्यमन्त्री राजेन्द्र महतोसँग कुरा गरेर उद्योग वाणिज्य महासंघले पाउने शुल्क सीएनआई, चेम्बर अफ कमर्श र व्यापार तथा निकासी प्रवर्दन केन्द्रमा समेत बाँडिने निर्णय गराएको चर्चा उद्योगीहरुमाझ चल्ने गरेको छ ।

श्रीमतीका नातेदारमार्फत सिंगापुरमा कारोबार

नबिल बैंकका सहयात्री महबुब रहमान, अब्दुल अवाल मिन्टुदेखि लिएर जाल श्राफ, युसुफ मोहम्मद, कमलकिशोर शर्मा लगायतका व्यक्तिहरुसँग विनोद चौधरीको सिंगापुरमा कारोबार छ । श्रीमतीका नातेदार कमलकिशोरको माध्यमबाट विनोद चौधरी सिंगापुर छिरेका हुन् ।

चौधरीले आफ्नो कम्पनीमा काका वा अन्यलाई सेयर नदिई निष्कासन गरेता पनि विदेशीहरुको भने निःशुल्क सेयर लिने गरेको आफ्नो आत्मकथामा स्वीकार गरेका छन् ।

उनी गर्वका साथ भन्छन् ‘कसैले तपाईको कामबापत निःशुल्क सेयर दिन्छ भने त्यो वैधानिक हुन्छ, राष्ट्र बैंकलाई सूचना भने दिनुपर्छ ।’

त्यसो त विनोद चौधरीको युनाइटेड इन्स्योरेन्स कम्पनी पनि छ । यसमा महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको समेत साझेदारी छ । नर्भिक अस्पतालमा पनि चौधरी ग्रुपको लगानी छ ।

हजुरबा भारतीय, छोरा गैरआवासीय

विनोद चौधरी देशबाहिर लगानी गर्नका लागि नेपालको पुँजी विदेश लैजान चाहन्छन् । तर, देशको कानुनले नेपाली नागरिकलाई त्यसरी विदेशमा पुँजी पलायन गर्न दिँदैन । यसका लागि चौधरीले आयकर ऐनमा देखिएको ‘गैरआवासीय नेपाली सम्बन्धी छिद्र’ को प्रयोग गरेका छन् ।सो ऐन अनुसार १८३ दिनभन्दा बढी विदेशमा बस्ने नेपाली गैरआवासीय नेपाली ठहरिन्छ ।

आफ्ना हजुरबा भारतीय रहेका विनोदले अहिले दुईभाइ छोरालाई नेपालको ‘अस्थायी नागरिक’ मा परिणत गरेर विदेशमा कारोबार सञ्चालन गरिरहेका छन् ।

विनोद चौधरीले यसबारे आफ्नो आत्मकथामै लेखेका छन्, ‘आज मेरा दुईजना छोरा राहुल र बरुणले गैरआवासीय नेपालीको हैसियतमा विदेशको कारोबार चलाइरहेका छन् । आफू भने नेपालमै रहेर छोराहरुको कामलाई संयोजन गरिरहेको छु । …मेरो यो रणनीति कानुनले लिएको छुटकै परिधिभित्र छ ।’

कर छल्ने गज्जबको आइडिया !

विनोद चौधरीसँग कर छल्ने आइडिया अनेक किसिमका छन् । यसको एउटा सानो उदाहरण हेरौं–

सुरुमा उनलाई रेञ्ज रोभर गाडी चढ्ने रहर जाग्यो । त्यसबेला उक्त गाडीको भन्सार ८ लाख रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो ।

विनोदले थाहा पाएका थिए कि दरबारका सदस्यले विदेशी सामान किन्दा भन्सार छुट हुन्छ । त्यसपछि विनोद चौधरीले नीर शाहमार्फत उनका दाजु कुमार खड्गविक्रम शाहलाई भेटेर भन्सार छुटमा गाडी किन्न अनुनय गरे ।

खड्गले नमानेपछि विनोद चौधरी हेलेन शाहको सम्पर्कमा पुगे । हेलेनले एकजना बेलायतीसँग डेढ लाख रुपैयाँमै रेञ्ज रोभर किनिन् । पछि त्यही गाडी विनोद चौधरीले किने । ८ लाख रुपैयाँ राज्यलाई तिर्नै परेन ।

अन्त्यमा, विनोद चौधरीको एउटा रोचक भनाइबाट बिट मारौं, ‘जिन्दगीमा सधैं सकारात्मक सोच्नुपर्छ भन्ने आम भनाइसँग म सहमत छैन ।’

(यो सामग्री उल्लेखित तथ्यहरु ‘विनोद चौधरीको आत्मकथा’ पुस्तकमा आधारित छन्)

यो पनि…

मैले राजनीतिमा बिजनेश गरिदिएँ : विनोद चौधरी

बाँसबारीमा ‘दाजु’ लाई पनि तान्ने सीआईबीको तयारी

बाँसबारीको जग्गा : भगवानले खोलेको भित्री रहस्य

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ८ : ४२ बजे

नेपालको राहदानीको विश्व वरियतामा सुधार

काठमाडौं– नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ । विश्वका

निर्मला कुर्मीको मृत्यु प्रकरणका आरोपी बदशाहलाई मन्त्री पद ‘पुरस्कार’

काठमाडौं- नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा ठगी र कर्तव्य ज्यान मुद्दाको

विमान दुर्घटनाप्रति रास्वपाद्वारा शोक व्यक्त

काठमाडौं–  सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति राष्ट्रिय

नेपालले विश्व बैंकबाट थप १ अर्ब ७३ करोड रुपैयाँ अनुदान लिँदै

काठमाडौं– सरकारले समृद्धिका लागि वन परियोजनामा विश्व बैंकबाट थप १३

ओझेलमा १२ बण्ड १८ खण्डको रामारोशन ताल

मान्म– अछाम जिल्लाको रामारोशन गाउँपालिका–५ मा रहेको रामारोशन ताललाई १२