वसन्त फक्रिएको शैलुङ ! | Khabarhub Khabarhub

वसन्त फक्रिएको शैलुङ !



भोजपुरमा जन्मिएका कवि श्रवण मुकारुङले शैलुङको बखान गाएर आजभन्दा अढाई दशक अघि गीत कसरी लेखे होलान् ? यो संयोग थियो कि काकताली ? हो, त्यो संयोग थियो । उनलाई त्यही गीतले स्थापित गराउनु, राजधानी नजिकैको पर्यटकीय गन्तव्य शैलुङको चर्चा चुलिनु चाहिँ अचम्मको संयोग हो । गीत लेखेको धेरै वर्षपछि त्यही गीतको स्वामित्व लिन पनि उनी शैलुङ पुगे । त्यसो त कवि मुकारुङ आफैँ पनि ट्याम्केको फेदमा हुर्किएका हुन् ।

गोठालो, खेतालो, खर्क, शैलुङ उनको जीवन पद्धति हुन् । खर्कसँग जोडिने तामाङ, शेर्पा बस्तीसँग उनको भलिभाँती परिचय छ । त्यही परिचय गीतमा उतार्दा त्यसले कहिल्यै पुरानो नहुने सुनजस्तै जीवन पायो । प्ले ग्रुपका विद्यार्थीदेखि बिहे, बनभोज सर्वत्र यही गीतमा छमछमी नाचेको देख्न पाइन्छ । शैलुङको भूगोल समेटिएको यो गीतसँग अर्को पनि रोचक संयोग छ । समाजले नै स्वीकृति दिएपछि शैलुङ मात्र हैन, उनको अर्को गीतमा उनिएको ‘तारेभीर’को प्रसंग पनि भावात्मक भएर जोडिन थालेको छ ।

त्यतिबेला श्रवण मैतिदेवीमा बस्थे । संगीतकार शिलाबहादुर मोक्तान उनको डेरामा आएर एउटा गीत लैजाने अड्डी कसे । अलि अलि खेस्रा गरेको ‘माथि माथि शैलुङेमा….’ गीत थियो । तर त्यो गीत पूरा नभएको र त्यो गीतले आफ्नो साख नबढ्ने खालको भन्दै दिन इन्कार गरे । शिलाबहादुरको करबलका अघि उनको केही लागेन । त्यही गीत माइलस्टोन भयो ।

देशभरकै शैलुङको एकाधिकार बोकेको त्यही गीतमार्फत ‘पाडो किन्दा भैंसी उपहार’का रुपमा श्रवणले प्राप्त गरे । हुन त श्रवणले गीत लेख्दा शैलुङ पर्यटकीय गन्तव्य नभएर दुःख र पीडा बोकेको एउटा थुम्कोमा सीमित थियो ।

शैलुङ फेरिएको छ । प्रकृतिको लालिमाले मात्र हैन, मानिसको आकर्षणले शैलुङको आत्मामा प्राण भर्ने काम गरेको छ । सांस्कृतिक, धार्मिक, साहसिकदेखि कृषि पर्यटनका बहुआयामिक क्षेत्रमा शैलुङको  वर्चस्व छ । सडक यातायातको सर्वत्र पहुँच छ । प्रचारप्रसार उतिकै छ । शैलुङको दुःख झेल्न नसकेर बसाइँ गएकाहरू पनि गाउँको मुहार फेरिएसँगै घर फर्किन थालेका छन् । शैलुङका हरेक घरबाट देखिने हिमालय पर्वतमालाले ३ सय ६४ दिन स्वागत गरिरहेका हुन्छन् । चिसो मौसम भएर पनि वर्षमा तीन बाली लाग्ने अनौठो प्रकृति छ यहाँ । दोलखाको मुढे आलुको लागि प्रख्यात छ । तर मुढेमा आउने आलुको प्रमुख श्रोत भनेकै शैलुङ हो । यहाँ फल्ने आलु, काउलीले सिजनमा काठमाडौंको तरकारी बजारमा उल्लेख्य उपस्थिति जनाउने गरेको छ ।

बसन्त ऋतु र शैलुङ
यतिबेला शैलुङका भीरपाखामा प्रकृति फुलेको छ । चुत्रो, लालीगुराँस, लोक्तादेखि सामान्यभन्दा सामान्य वनस्पति फुलेर फैलिएका छन् । तपाईं लालीगुराँस रातो मात्र हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ भने त्यहाँ पुगेपछि गुलावी, सेता लालीगुराँस तपाईंको स्वागतमा कलश भएर उभिएको पाउनुहुनेछ । हिउँदमा सेतो हिउँले बेरेर राख्ने शैलुङङ हरियालीमा रमाएको छ । कवि शिरोमणिले ऋतुविचारमा बसन्तु ऋतुको बखान गर्दै लेखेका थिए–
बेगिन्ती पुष्पका भेद बेगिन्ती रुप वासना ।
एकै प्रवाहमा चल्छन् धन्य हो विधि कल्पना ।।
लिई सौन्दर्य माधुर्य सौकुमार्य थपी वहाँ ।
पुष्पको सिर्जना गर्ने विधाता धन्य हो अहा ।।

कविको कलमले मात्र हैन, भगवान श्रीकृष्णले गीतामा ऋतुहरूमा बसन्त ऋतु आफू रहेको बताएका छन् । प्रकृति नै सुन्दर देखिएपछि त्यसको प्रभाव मानिसको अंगप्रत्यंगमा पर्ने नै भयो । यसबेला प्रकृतिले काँचुली फेर्छ । न जाडो, न गर्मीको यसबेला वनस्पतिमा नयाँ पात पलाउँछ, पुराना पात झर्छ । पग्लिएको हिउँलाई फुलेका फूलले विश्राम दिन्छन् । पारखीहरू भन्छन्– यो मनमोहक ऋतु हो, अझ प्रकृतिको यौवनावस्था हो । यौवनावस्था सबैको प्रियकर हुन्छ ।

आध्यात्मिक भाषामा बसन्त ऋतुमा पञ्चतत्व (पृथ्वी, वायु, जल, आकास र अग्नि)ले प्राकृत रूप धारण गर्छन् । यसबेला आकास स्वच्छ, सन्तुलित वायु, सूर्यको ताप मलिन र जल सङ्लो हुन्छ ।

प्राचीनकालमा कसैप्रति आफ्नो प्रेम र आकर्षणको भाव व्यक्त गर्न यो ऋतु राजा मानिथ्यो । राजमहल र राजकीय रेखदेखमा रमाइलो गर्ने प्रचलन थियो । रामायणमा उल्लेखित एउटा प्रसंगअनुसार श्रीरामले वसन्त ऋतुमै शबरीलाई भेटेका थिए । रावणद्वारा सीता हरण भइसकेपछि राम उनको खोजीमा दक्षिणतर्फ बढे । उनी विभिन्न स्थान चाहार्ने क्रममा दण्डकारण्य पुगे । त्यही शबरी बस्थिन् । राम उनको कुटीमा पुगे । शबरीले रामलाई देखेपछि प्रेमवश आफ्नो होस, हवास गुमाइन् र मीठा बयर आफूले चाख्दै रामलाई ख्वाउन थालिन् । प्रेमले भरिएको यस घटनालाई रामकथाको गायन गर्ने सबैले आआफ्ना ढंगले प्रस्तुत गरेका छन् । त्यसैले राग, रंगउत्सका दृष्टिले यो ऋतुको बखान गरिन्छ । शैलुङको तीरदेखि शिरसम्म धार्मिक मान्यतासँग सम्बन्धित थुप्रै थलो भेटिन्छ ।

सडक सुविधा जोडिएपछि शैलुङ अब दुर्गम रहेन । शैलुङ डाँडाको बेसक्याम्प रहेको कालापानीसम्म सडक सुविधा छ । काठमाडौँबाट करिब १२० किलोमिटरको दूरीमा रहेको यो ठाउँ अनुपम दृश्यको शृंखला छ । दोलखा र रामेछापको पानीढलोका रुपमा रहेको शैलुङ डाँडाभित्र १ सय ८ थुम्का रहेका छन् । ती थुम्का प्रकृतिले छिनोले तयार गरेको रोमाञ्चक आकारमा छन् ।

महाभारत पर्वत शृङ्खलाको अग्लो ठाउँको रूपमा चिनिएको शैलुङको मौसमको पूर्वानुमान गर्न अलिक कठिन नै छ । जाडो याममा दिउँसो पारिलो घाम लागिरहँदा भोलिपल्ट हिउँसँग पौँठेजोरी खेल्नुपर्ने अवस्था पनि आउन सक्छ ।

अझ यहाँका बासिन्दाका अनुसार शैलुङले समय अनुसार आफ्नो रूप परिवर्तन गरिरहन्छ । बिहानसम्म देखिएको धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश, लाङ्टाङ, गौरीशङ्कर हिमाल कति बेला बादलको घुम्टो ओढ्छन् र कतिबेला मुस्कुराउँछन् भन्ने पत्तो नै पाइँदैन ।

कालापानीसम्मको गाडीको यात्रापछि सुरु हुने मिनी ग्रेटवालको उकालो र प्राकृतिक वायुले सबैको मनमा उत्साह जगाउँछ । यसलगत्तै शैलुङको पहिलो थुम्कोले जोकोहीलाई पनि आफ्नो मनमोहक दृश्यले स्वागत गर्छ । धार्मिक कथन अनुसार कलियुग सुरु हुनै लाग्दा तपस्या गरिरहेका ऋषिमुनिहरु पाप देख्न नपरोस् भन्नको लागि नै विलीन भएको र ऋषितपोभूमिमा थुम्का उत्पन्न भएको मानिन्छ ।

शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । ‘शै’ भनेका सय र ‘लुङ’ भनेको थुम्का हो । यहाँबाट मनमोहक गौरीशंकर, सगरमाथा, माछापुच्छ्रे, गणेश हिमाल लगायत काठमाडौँ उपत्यका र तराईका केही भागहरू समेत देखिने भएकाले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सफल भएको हो ।

यहाँ शैलुङ्गेश्वर महादेवको मन्दिर, १२ वर्षमा एकपटक खुल्ने गदौरी जस्ता धार्मिक रूपले चर्चित गुफा पनि अवस्थित छ । चारैतिर देखिने मनोरम हिमशिखर, वनैभरि नाच्ने डाँफे–मुनाल, चौँरी र विभिन्न जातजातिका चराचुरुङ्गी एवं जंगली जनावरहरूले शैलुङ डाँडा धार्मिक एवं पर्यटकीय महत्व बोकेको स्थानको रूपमा चिरपरिचित रहँदै आएको छ ।

जसले देखे ग्रेटवालको सपना
काठमाडौँमा बसेर पढेका भरत दुलाल विद्यार्थी राजनीति गरेर खारिएका व्यक्ति हुन् । पार्टीले टिकट दिएपछि आफ्नै थातथलो शैलुङमा गाउँपालिकाको नेतृत्व लिने अवसर पाए । जनताको अभूतपूर्व समर्थन पाएपछि उनलाई नियमित भन्दा केही फरक काम गर्ने भोक जागिरहन्थ्यो । विकासको पहिलो सर्त सडक यातायात हो भन्ने बुझाइ छँदै थियो । चारैतिर सडक यातायातको विकासमा जुटे । गाउँलाई कृषि र पर्यटनको हब बनाउने महत्वाकांक्षी योजना लिएर उनी सर्वत्र चाहार्न थाले । इच्छाले मात्र विकास नहुने भएपछि श्रोत जुटाउन चुनौतीपूर्ण थियो । बाटोको अवस्था यति जीर्ण थियो कि शैलुङबाट मुढेसम्म आलु ल्याउन किसानले प्रतिकिलो १० रुपियाँ ढुवानी वापत व्यहोर्नुपथ्र्यो

गाउँको नेतृत्वमा पुगेपछि भरतले संसारमा ख्याति कमाएको चीनको ग्रेटवाल सम्झिए । आफैंलाई सोधे– ‘शैलुङलाई मिनी ग्रेटवाल बनाएर जोड्न सम्भव छ ?’ उनको अन्तरआत्माले हरियो बत्ती बाल्यो । संयोगवश त्यतिबेलै संघीय सरकारले देशभरिबाट पर्यटन प्रवर्द्धनमा सघाउने खालका सयवटा आकर्षक प्रस्ताव माग्यो । भरतलाई सरकारको यो प्रस्ताव आफ्नै लागि हो जस्तो लाग्यो । कति पनि ढिला नगरी उनले गाउँपालिकामार्फत ७ करोडको प्रस्ताव तयार गरे । ‘अलि बढी पैसा प्रस्ताव गरियो भने मन्त्रालयले घटाउँदा पनि राम्रै रकम पाइन्छ भन्ने लागेर स्थानीय निकायले ३० प्रतिशत व्यहोर्ने गरी प्रस्ताव पठाइयो । संयोगवश त्यो परियोजनाका लागि धेरै प्रस्ताव गएन । सरदर पाँच करोडमा स्वीकृत भयो ।

चीनको ग्रेटवाल पुग्न नसकेकाहरूले शैलुङमा रहेको ग्रेटवालमार्फत आफ्नो सोख पूरा गर्ने गरेका छन् । त्यहाँ खिचिएका फोटो चीनको ग्रेटवालभन्दा कम छैन । अहिले त हरेक उमेर समूह यहाँ पुगेर ‘वाह’ उच्चारण गर्छ ।

प्रसिद्ध पर्यटकीय गन्तव्यको रूपमा रहेको शैलुङ क्षेत्रमा पर्यटकलाई आकर्षणको मेनु थप्नकै लागि मिनी ग्रेटवालको अवधारणा ल्याइएको पूर्वअध्यक्ष भरत दुलाल बताउँछन् । पाँच सय मिटर लामो ग्रेटवाल अझै विस्तार गर्न सकिए त्यसले पर्यटकको बसाइ थप्ने उनको विश्लेषण छ । यस्तै कामको उच्च कदर गर्दै उनले नेतृत्व गरेको पालिका त्यतिबेला पुरस्कृत पनि भयो ।

यही अवधारणा पूरा गर्न गाउँपालिकाले ११ सय मिटर लामो ग्रेटवाल निर्माण गर्ने योजना बनाएको थियो । तर बजेट अभावले पहिलो चरणमा पाँच सय मिटर मात्रै बनाइएको हो ।

अनुपम काम गरेर लोकप्रिय बनेका दुलाल अहिले कुनै कार्यकारी पदमा छैनन् । न दलले गाउँपालिकामा दोहोर्‍याउन आवश्यक ठान्यो, न त्यो भन्दा माथिल्लो पदमै पत्यायो । यद्यपि जनताको मनमा बस्न सकेकोमा भने उनलाई आत्मगौरव छ ।

   

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १२ : ११ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको

हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने 

काठमाडौं– हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको

दार्चुला जिप दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो

खलङ्गा– दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौं– गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको

कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी