एनसेलको बदमासी- १० करोड लगानीमा १ खर्ब बढी नाफा, तर करछली ! | Khabarhub Khabarhub

एनसेलको बदमासी- १० करोड लगानीमा १ खर्ब बढी नाफा, तर करछली !

झण्डै ७० अर्ब रुपैयाँ विदेशतर्फ



काठमाडौं– नेपालमा अर्बौं रुपैयाँ पुँजी लगानी गरी व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीहरूले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । विशेषगरी सिमेन्ट, छड र कपडा लगायतका प्राथमिक क्षेत्रका उद्योगहरू आफ्नो क्षमतामा समेत सञ्चालन हुन सकिरहेका छैनन् ।

तर, दूरसञ्चार कम्पनी एनसेलले भने जम्मा १ करोड रुपैयाँ चुक्ता पुँजीबाट व्यवसाय शुरू गरी १८ वर्षमा ११३५.८५८ प्रतिशत नाफा आर्जन गर्न सफल भएको छ ।

सुरुवातको लगानीमा २०६१ सालमा फेरि थप गरेर १० करोड शेयर पुँजी पुर्याएर सञ्चालनमा आएको एनसेलले १८ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । एनसेलले यसबीच १ खर्ब १३ अर्ब ५८ करोड ५८ लाख रूपैयाँ नाफा आर्जन गरेको हो ।

एनसेलमाथि गरिएको पछिल्लो सरकारी अनुसन्धान प्रतिवेदनमा दूरसञ्चार व्यवसाय सुरुवात गरेको १८ वर्षमा एनसेलले १ खर्ब १३ अर्ब ५८ करोड ५८ लाख रूपैयाँ नाफा आर्जन गरेको उल्लेख छ ।

एनसेल आजियाटा प्रालि स्थापनादेखि हालसम्मको शेयर खरिद–बिक्रीको श्रृंखलामा भित्रिएको ०८० मंसिरमा मलेसियन कम्पनी आजियाटा ग्रुप बहार्ड नेपालमा व्यवसायिक वातावरण नभएको भन्दै बाहिरिएको थियो ।

तर, सो कम्पनीको वित्तीय विवरणले भने आजियाटा बहार्डले भनेजस्तो नभएर एनसेल उत्कृष्ट कम्पनीको रूपमा सञ्चालन हुँदै आएको देखाएको छ ।

१८ वर्षमा झण्डै ७० अर्ब रूपैयाँ बाहिरियो

वि.सं. २०५८ सालमा मोदी कर्प लिमिटेड भारत, स्पाइस सेल लिमिटेड भारत र खेतान ग्रुप लिमिटेड नेपालले नेपालमा दूरसञ्चार सेवा सञ्चालन गर्ने उद्देश्यले १ करोड रुपैयाँ चुक्ता पुँजीमा स्पाइस नेपाल प्रालि नामक कम्पनी दर्ता गरेर सेवाको स्वीकृति लिएका थिए । तर, सो कम्पनीको व्यवसायिक सुरूवात भने आर्थिक वर्ष ०६२/६३ बाट भएको थियो ।

पहिलो वर्षमा कम्पनीले २५ करोड ७० लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । त्यसपछि भने निरन्तर रूपमा लाभांश वितरण गरिरहेको छ । सरकारी अनुसन्धान प्रतिवेदनमा एनसेलको सम्पूर्ण वित्तीय अवस्था प्रस्तुत गरिएको छ ।

प्रतिवेदनको पृष्ठ ३९, ४०, ४१, ४२, ४३, ४४ र ४५ मा एनसेलको वित्तीय अवस्था, नाफा नोक्सानको अवस्था, कर्जा तथा धितोको अवस्था, मुनाफा सम्बन्धी विवरण लगायतका विषयहरू प्रस्तुत छ ।

प्रतिवेदनमा प्रस्तुत विवरणअनुसार एनसेलले आर्थिक वर्ष ०६१/६२ देखि ०७९/८० सम्म १ खर्ब १३ अर्ब ५८ करोड ५८ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो । सोही नाफाबाट कम्पनीले ९३ अर्ब ५० करोड ८० लाख रूपैयाँ लाभांश वितरणसमेत गरेको देखिन्छ ।

लाभांशमध्ये ६६ अर्ब ९५ करोड २५ लाख रूपैयाँ विदेश लगेको र १९ अर्ब ७८ करोड ९० लाख रूपैयाँ स्थानीय साझेदारलाई वितरण गरेको प्रतिवेदनमा उल्लेख छ । साथै कम्पनीले सोही अवधिमा प्राविधिक तथा व्यवस्थापकीय सेवा सम्झौता अन्तर्गत उद्योग विभाग र नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर २ करोड ४८ लाख ५० हजार अमेरिकी डलर पनि विदेश लगेको छ ।

त्यस्तै एनसेलले आर्थिक वर्ष ०६८/६९ देखि आर्थिक वर्ष ०७९/८० सम्म प्रतिशेयर आम्दानी ८६३४.९६ रूपैयाँ र प्रतिशेयर लाभांश आम्दानी ७७९२.३३ रूपैयाँ गर्न सफल भएको देखिन्छ । नेपालभरी नै मोबाइल सेवा सञ्चालन गर्न पाउने अनुमतिपत्र लिएको तर, कम्पनीको शेयर पुँजी न्यून रहेको कारणले जोखिम समेत न्यून भएको र शेयरधनीले अधिक नाफा प्राप्त गरेको प्रतिवेदनमा विश्लेषण गरिएको छ ।

०५८ सालमा तीनवटा कम्पनीको १ करोड चुक्ता पुँजीबाट सुरूवात भएको एनसेलमा ०६१ १० करोड शेयर पुँजी पुर्‍याइएको थियो । जसमा ०८० मंसिरसम्म आउँदा मलेसियन कम्पनी आजियाटा बहार्ड ग्रुपको ८० प्रतिशत र सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिको १९.९९ प्रतिशत शेयर रहेको थियो । जसमा एनसेलकै विभिन्न ७ जना कर्मचारीको ०.००११ प्रतिशत अर्थात् ११ कित्ता शेयर रहेको छ ।

कम्पनीको नाफा नोक्सानको अवस्था ।

आजियाटा ग्रुप बहार्डद्वारा झुटो धारणा सार्वजनिक

आजियाटा ग्रुप बहार्डले सन् २०२३ नोभेम्बर २९ मा जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको परिदृष्य चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेको थियो ।

तर, सरकारी अनुसन्धान प्रतिवेदनले भने आजियाटा ग्रुप बहार्डले ६ वटा देशमा सञ्चालन गरेको दूरसञ्चार सेवामध्ये एनसेलबाट चौथो बढी मुनाफा आर्जन गर्न सफल भएको तथ्याङ्क देखाएको छ ।

आजियाटा ग्रुप बहार्डले मलेसियाबाट २०२० मा २०.३१ मिलियन, इन्डोनेसियाबाट ३.७७ मिलियन, श्रीलंकाबाट १८.७५ मिलियन, बंगलादेशबाट २.१० मिलियन र कम्बोडियाबाट १४.३२ मिलियन अमेरिकी डलर करपछिको नाफा आर्जन गरेको थियो । जब कि नेपालबाट एनसेलमार्फत् सोही समयमा आजियाटाले १३.०७ मिलियन अमेरिकी डलर (कर पछिको) नाफा आर्जन गरेको थियो ।

आजियाटा ग्रुप बहार्डले एनसेलको ८० प्रतिशत शेयर खरिद गरेर सञ्चालन गरेको पछिल्लो ६ वर्षमा पनि प्रतिशेयर आम्दानी, लाभांश आम्दानी, पुँजी लगानीमा प्रतिफल लगायतका सूचकांकहरूपनि औसतमा राम्रा देखिएका छन् ।

अझ नेपालमा पब्लिक लिमिटेड कम्पनीको रूपमा सूचीकृत भएर कारोबार गर्दै आएका अधिकांश कम्पनीहरूको तुलनामा एनसेलको व्यवसाय र नाफाको अवस्था औसतमा राम्रो देखिन्छ ।

०६८/०६९ देखि ०७९/८० सम्मको एनसेलले प्राप्त गरेको औसत प्रतिफल ।

२०५८ असार ७ गते नेपालमा मोबाइल सेवा सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको स्पाइस नेपाल प्रालिको शेयर खरिद–बिक्रीको श्रृंखलामा सन् २०२३ को डिसेम्बर १ मा एनसेलको ८० प्रतिशत शेयर स्वामित्व कायम गर्दै आएको आजियाटा ग्रुप बहार्डले आफ्नो सम्पूर्ण शेयर बिक्री गरेको घोषणा गरेको थियो ।

आजियाटाले सेन्ट किट्स एन्ड नेभिसमा अवस्थित रेनोल्ड्स होल्डिङ्समा रहेको आफ्नो एनसेलको शत प्रतिशत शेयर सिंगापुरका नागरिक सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो ।

सो घोषणा अगाडि आजियाटाले नोभेम्बर ३० मा आजियाटा ग्रुप बहार्डले नेपालमा व्यवसायको लागि चुनौतीपूर्ण अवस्था बन्दै गएको भनेर टिप्पणी पनि सार्वजनिक गरेको थियो ।

आर्थिक वर्ष ०७९/८० को वित्तीय विवरणअनुसार करपछिको नाफा ४ अर्ब २५ करोड ४४ लाख रूपैयाँ रहेको कम्पनीलाई आजियाटाले आफ्नो ८० प्रतिशत स्वामित्व जम्मा साढे ६ अर्ब रुपैयाँमा बिक्री गरेर बाहिरियो । त्यो पनि सन् २०२९ को डिसेम्बर २९ सम्म विभिन्न किस्तामा बुझाउने गरी । जुन शेयर आजियाटाले ७ वर्ष अगाडि स्वीडेनको टेलियासोनेरासँग १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख रूपैयाँमा खरिद गरेको थियो ।

आजियाटासँग शतीशलालले शेयर खरिद गरेपछि ११ कित्ता शेयर बाहेक एनसेलको सम्पूर्ण शेयर अब उनकै परिवारको नियन्त्रणमा आएको छ । किनकी आजियाटा बाहिरिने बेलासम्म एनसेल आजियाटा प्रालिमा ८० प्रतिशत शेयर आजियाटा ग्रुप बहार्डको र २० प्रतिशत शेयर शतीशलालकी आफ्नै श्रीमती भावना सिँह श्रेष्ठको स्वामित्वमा रहेको कम्पनी सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिको नाममा थियो ।

आजियाटा ग्रुप बहार्डले एनसेलमा रहेको आफ्नो सम्पूर्ण शेयर अति न्यून मूल्यमा बिक्री गर्ने घोषणा गरेपछि सो विषयले आम नेपाली नागरिक, सांसद, मिडिया देखि नियामक र राजनीतिक वृत्तमा ठूलो शंका पैदा गरेको थियो । जसले ठूला छलफलहरूको सिर्जना गरेको थियो ।

चौतर्फी दबाबपछि सरकारले ०८० मंसिर २१ गते पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको नेतृत्वमा एनसेल आजियाटा लिमिटेडको शेयर खरिद–बिक्री सम्बन्धी अनुसन्धान तथा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको थियो । जसमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, दुईजना सहसचिव रितेशकुमार शाक्य र बाबुराम भण्डारी र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले थिए ।

दंगालको समितिले छानबिन तथा अनुसन्धानपश्चात ०८० माघ १५ गते सरकारलाई उक्त प्रतिवेदन बुझाएको थियो । तर, सरकारले अहिलेसम्म उक्त प्रतिवेदन औपचारिकरूपमा भने सार्वजनिक गरेको छैन । सोही प्रतिवेदनमा एनसेल सञ्चालनमा आएदेखि आर्थिक वर्ष ०७९÷८० सम्म सो कम्पनीले जम्मा १० करोड लगानी गरेर १ खर्ब बढी नाफा आर्जन गरेको उल्लेख गरेको देखिएको छ ।

सम्बन्धित समाचार-

कर चुक्ता गरी शेयर किनबेच नहुने शर्तमा मात्रै एनसेलको लाइसेन्स नवीकरण !

सरकारी अनुसन्धान प्रतिवेदन नै भन्छः एनसेलले ग्राहकको अर्बौं ठग्यो

सरकारी अनुसन्धान प्रतिवेदनः ‘स्मार्ट टेलिकम डुबाएका शतीशलालसँग एनसेल किन्ने र चलाउने क्षमता छैन’

एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?

एनसेल शेयर खरिदबिक्री प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

एनसेल प्रकरण : उपेन्द्र महतोलाई कारबाही गर्न सिफारिस

एनसेलमा अर्बौं अफसोर कारोबार गरेका निरज गोविन्द श्रेष्ठमाथि कारबाही सिफारिस

शतीशलालकी श्रीमती भावनाको सम्पत्ति स्रोत खोज्न र शुद्धीकरणमा छानबिन गर्न सिफारिस

एनसेलको रामकहानी : आजियाटाले ढाँटेको कि बेचेको ?

उपेन्द्रको जीवनमा एनसेल (खोज पत्रकारिता केन्द्रको रिपोर्ट)

एनसेल जोडिएको आर्थिक विधेयक संशोधन गर्न नयाँ गठबन्धनमा एकमत

एनसेल खरिदबिक्रीको सम्झौता यथास्थितिमा अस्वीकार्य : छानबिन समिति

एनसेल बिक्री प्रकरण : अलमलमा सरकार, मौन विपक्षी

एनसेल जोडिएका ३० वटा मुद्दा सर्वोच्चमा

आयकर ऐनको दफा ५७ मा रहस्यमय संशोधन, एनसेललाई उन्मुक्ति दिन खोजेको आशंका

एनसेल प्रकरण नेपालका लागि दुर्भाग्य

‘एनसेलका श्रीमान-श्रीमती कानुनले चिन्दैन’

एनसेल लाभकर विवाद : एनसेल र एक्जियटाबाट कर असुल्न सर्वोच्चको परमादेश

एनसेल लाभकर विवाद : एनसेल र एक्जियटाबाट कर असुल्न सर्वोच्चको परमादेश

एनसेल प्रकरण नेपालका लागि दुर्भाग्य

एनसेल खरिदबिक्रीको सम्झौता यथास्थितिमा अस्वीकार्य : छानबिन समिति

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ३९ बजे

२२ महिनामा ४७ व्यापारीविरुद्ध मुद्दा दायर

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७

हिम स्टार ऊर्जाको आईपीओ शुक्रबारबाट निष्काशन हुने 

काठमाडौं– हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर

दुई महिनापछि बालेन-सुनिता भेट, नगरसभा र कार्यपालिका बैठक राख्न तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक राख्नेबारे मेयर बालेन्द्र साह (बालेन),

किसानलाई धान रोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

बनियानी– झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक-एक ‘राइस ट्रान्सप्लान्टर’

अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द

गोरखा– अत्यधिक गर्मीका कारण यहाँको पालुङटार नगरपालिकाका विद्यालयहरूमा आजदेखि पठनपाठन