दमक भ्यू टावर : सञ्चालनमा संकट, नगरपालिकाले हात उठायो  | Khabarhub Khabarhub

दमक भ्यू टावर : सञ्चालनमा संकट, नगरपालिकाले हात उठायो 



झापा – दमक–३ ढुकुरपानीका ६३ वर्षीय पुजन दाहाललाई तीन वर्षअघि आफ्नो घरै अगाडि दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बन्ला भनेर पत्यारै थिएन, तर अहिले उनको घरकै मुखमा आकाश छोला जस्तो भीमकाय भवन ठडिएको छ ।

‘सुरुवाती समयमा भ्यू टावर बन्ने नबन्नेमा निकै दुबिधा थियो’ दाहालले भने, ‘जुन उद्देश्यका साथ अहिले भ्यू टावर बनेको छ, अब बनेको भ्यू टावर चल्छ, चल्दैन भन्ने पिर छ ।’ दाहाल त्यो भ्यू टावर निर्माणको समयमा निशुल्क जग्गा दान गर्ने मध्येका एक हुन् ।

दमक भ्यू टावरले कतै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको हालत बेहोर्नुपर्ने हो कि भन्ने चिन्ता रहेको दाहालले बताए ।

दाहाल भन्छन्, ‘सरकारले जनताको पसिनाबाट जम्मा राज्यकोषको डेढ अर्ब बढी लगानीमा व्यापारिक प्रयोजनको निम्ति भ्यू टावर बनाइएको छ । निर्माण सकिन लाग्दा पनि सञ्चालनको कार्यविधि बनाउने तत्परता कसैले लिएको देखिदैन । यति धेरै लगानीको प्रतिफल उठेन भने त्यसले राज्य, स्थानीय जनता सबैको सपना खरानी हुन्छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा भ्यू टावर बनाउने हल्ला सुन्दा दाहाल जस्तै ढुकुरपानीका धेरैलाई लागेको थियो– यो राजनीतिज्ञले ल्याएको उडन्ते गफ हो । 

‘हेर्दाहेर्दै १८ तलाको टावर बनिसक्यो । त्यो बेलाको धानखेत र अहिलको संरचना आफैंलाई विश्वास लाग्दैन । भ्यू टावरकै प्रभावले त्यस क्षेत्रमै जग्गाको किनबेच बढ्यो । भ्यू टावर वरपर घर बनाउने लहरै चल्यो । तर अहिले देशको परिस्थितिले भने त्यो उत्साह सेलाउने आशंका बढेको देख्छु ।’  स्थानीय नरेन्द्र गौतम संशय प्रकट गर्छन । 

‘दमक बजारबाट निक्कै टाढाको दूरीमा भ्यू टावर निर्माण भएको छ’ दाहाल भन्छन, ‘भ्यू टावरलाई व्यावसायिक टावरको रूपमा निर्माण गरिएको भनिए भए पनि भित्री सडकले  नछोएको स्थानमा १८ तले टावर निर्माण भएकोले यस भित्र बैक, वित्तीय संस्था, बजार सञ्चालन हुनेमा त्यति विश्वस्त छैन् । अहिलेको मान्छेलाई समय महत्वपूर्ण हो । त्यसमाथि दूर दराजका नागरिक कोरिया, मलेशिया, दुबई र खाडीका सयौं तले टावर पुगेर आएका छन् । यस्तो अवस्थामा दमकको टावरप्रति मानिसको चासो नहुन सक्छ । ’

नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रूपमा दमक भ्यू टावरको निर्माण दमक बजारभन्दा ६ किलोमिटर टाढा ढुकुर पानी गाउँमा २०७६ साल असार २७ गते सुरु भएको थियो । ठेकेदार कम्पनी आशिष ओम साइराम जेभीले यही महिनाभित्र निर्माणको काम पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने बताएको छ ।

भ्यू टावरको निर्माणमा १ अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता भए पनि पछि नौ प्रतिशत लगानी बढेर कूल लागत भ्याटबाहेक एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ खर्च भएको छ । माघभित्रै निर्माण सम्पन्न हुने बताइएको भ्यू टावर सञ्चालनका बारेमा कुनै खाका तयार भएको छैन । जसका कारण भ्यू टावर कतै रमिता हेर्ने स्थानका रूपमा मात्र पो सीमित हुने हो कि भन्ने सर्वत्र चिन्ता देखिएको छ ।

भ्यू टावर निर्माण बन्ने भए पनि २१ जना स्थानीयले करिब पाँच बिघा जग्गा टावरका लागि निःशुल्क प्रदान गरेका थिए । सोही स्थानमा अहिले १८ तलाको कंक्रिट ढलान र त्यसमाथिको २८ मिटर अग्लो स्टील टावर निर्माणको काम पूरा भएको छ । आशिष ओम साइराम जेभीकासब–इन्जिनियर सुभशंखर बिराजीका अनुसार टावर निर्माणको सम्पूर्ण काम पूरा भएर अहिले रंगरोगनको काम भइरहेको छ ।

धरहरा होच्याउने भ्यू टावर 
निर्माण कम्पनीका अनुसार भ्यू टावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो रहेको छ । यो काठमाडौँको पुनः निर्माण भएको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो हो । हालसम्म १८ तलाको भवन निर्माणसँगै परिसरको टिकट काउन्टर, कोसेली घर, चिल्ड्रेन पार्क, सार्वजनिक शौचालय र खुला ठाउँ थिएटरको निर्माण सम्पन्न भइसकेको छ । टावरको हरेक तला चार मिटर उचाइमा रहेको छ । 

भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको हुँदा यो भ्यू टावर सबै जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको बताइएको छ । चट्याङबाट सुरक्षित राख्न ‘लाइटिङ एरेस्टर’ उपकरण र आगलागी रोक्न स्वचालित ‘स्प्रिङ्कल सिस्टम’ समेत जडान गरिएको छ ।

स्प्रिङ्कल सिस्टम भनेको आगलागी भएको आफैँ थाहा पाउने र आफैँ पानी हालेर निभाउने प्रविधि हो । भवनका सबै तलामा पिउने पानी  पुर्‍याउने प्रशोधन प्लान्ट जडान गरिएको छ भने शौचालयमा प्रयोग भइसकेको पानीलाई प्रशोधन गरेर बगैँचामा प्रयोग गर्न सकिन्छ । 

विस्तृत परियोजना प्रस्ताव अनुसार निर्माण गरिएको यस भ्यू टावरको भुइँतलामा ४० वटा चार चक्के र दुई सय दुई चक्के सवारीसाधन अट्ने क्षमताको पार्किङ स्थल रहेको छ । चार वटा तलामा व्यापारिक प्रयोजनका पसल, पाँचौ तलामा सेमिनार हल, छैटौँदेखि नवौँ तलासम्म बैङ्क, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, दशौँदेखि चौधौँ तलासम्म कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, पन्ध्रौँ र सोह्रौँ तलामा रेस्टुरेन्ट, लज सञ्चालन प्रयोजनका लागि तयार गरिएको छ । सत्रौँ र अठारौँ तलामा दृश्यावलोकन उपकरणसहित कक्ष रहेका छन् ।

‘स्मार्ट सिटी’ छाडेर जग्गा प्लटिङ
दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालले भ्यू टावर बनेको आसपासका स्थानमा नयाँ सहर निर्माणको लागि ‘स्मार्ट सिटी’ बनाउने नगरपालिकाको योजना स्थानीयको असहयोगका कारण अघि बढ्न नसकेको बताए ।

दुई वर्ष अघि परियोजना निर्माणका लागि स्थानीय जग्गादाताहरु मध्येबाट शान्तिराम गौतमको अध्यक्षतामा १५ सदस्यीय दमक भ्यू टावर जग्गा एकीकरण तथा व्यवस्थापन सहयोग समिति गठन भएको थियो । परियोजनाका लागि स्थानीयवासीले १२ धुरदेखि तीन बिघासम्म जग्गा दिएको र सबै ५९ बिघा जग्गालाई एकीकरण गरी आधुनिक सहरी पूर्वाधार निर्माण गर्ने तयारी थियो । जसमा नगरपालिकाका प्रमुखको संयोजकत्वमा मालपोत, इलाका प्रशासनलगायत कार्यालयका प्रमुखहरू रहने गरी छुट्टै अनुगमन समिति समेत गठन भएको थियो ।

यद्यपि पछि स्थानीय जग्गा दिन राजी भएपनि जग्गा दिए बापत केही रकम पहिले नै नगरपालिकाले जग्गा दातालाई दिनुपर्ने सर्त राखेपछि ‘स्मार्ट सिटी’बनाउने योजना अन्तर्गत एकीकृत जग्गा व्यवस्थापन प्रक्रिया सुरु नहुँदै ‘स्मार्ट सिटी’ बनाउने योजना असफल भएको वडाध्यक्ष बरालले बताए ।
उनले दमक भ्यू टावरसँगै पूर्वतर्फ टाँसिएको ५९ बिघा जग्गामा दमक नगरपालिकाले ‘नयाँ दमक’ नामाकरण गरी योजना नयाँ र व्यवस्थित ‘स्मार्ट सिटी’ परियोजना सञ्चालनका लागि अघिल्लो आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरेपनि परियोजना सञ्चालनमा आउन नसकेपछि सो बजेट फ्रिज भएका थियो ।

नगरपालिकाले भ्यू टावर सञ्चालनका निम्ति टेवा पुग्ने उद्देश्यले ‘स्मार्ट सिटी’ परियोजना सञ्चालन गर्ने उद्देश्य लिएको थियो ।यस परियोजनामा जग्गा स्थानीयवासीले उपलब्ध गराउने र त्यसमा नगरपालिकाले सडक, विद्युत, खानेपानी, ढल, बगैँचा, विद्यालय, स्वास्थ्य चौकीलगायत संरचना व्यवस्थित ढङ्गले निर्माणमा सघाउने योजना नगरपालिकाको रहेको थियो ।

अहिले स्थानीय मिलेर भ्यू टावरको पूर्वतर्फको क्षेत्रमा जग्गा प्लटिङ गरी घडेरी किनबेचको काम गरिरहेका छन् । हाउजिङ कम्पनीको अफिस नै राखी उनीहरूले सस्तोमा किनेको चार विघा जग्गा प्लटिङ गरी घडेरी किनबेचको कारोबार धमाधम भइरहेको छ । 

स्थानीयका अनुसार भ्यू टावर निर्माण हुनुअघि धानखेती रहेको सो जग्गा प्रति कठ्ठा पाँच लाखका दरले किनेर अहिले प्लटिङ्घ गरी प्रति धूर चार लाखका दरमा बेचबिखन भइरहेको स्थानीयले बताएका छन् । तत्कालिन समयमा ५९ बिघा जग्गालाई एकीकरण गरी आधुनिक सहरी पूर्वाधार निर्माण गर्ने योजना असफल भएपछि स्थानीय नै जग्गा प्लटिङ कार्यमा लागेपछि दमक भ्यू टावर जग्गा एकीकरण तथा व्यवस्थापन सहयोग समितिको बोर्ड पञ्चकन्या हाउजिङको अफिसमा थन्किएको छ ।

सञ्चालनको जिम्मा नगरपालिकालाई दिइने
सघन शहरी विकास तथा भवन आयोजना अन्तर्गत भ्यू टावर निर्माणको काम अघि बढाइए पनि निर्माण पश्चात भने स्थानीय तहलाई यसको सञ्चालन जिम्मा लगाउने तयारी भएको छ । शहरी विकास विभागले सकेसम्म टावर सञ्चालनको जिम्मा दमक नगरपालिकालाई नै दिने गरी गृहकार्य भइरहेको सघन शहरी विकास तथा भवन आयोजना भद्रपुर झापाका आयोजना प्रमुख सुदीप पौडेलले बताए ।

‘भ्यू टावर सञ्चालनको जिम्मा दमक नगरपालिकाले नै लेओस  भन्ने नै हो’ पौडेलले भने, ‘सोही मोडेलमा जाने गरी विभागमा कार्यविधि बनाउने बारेमा छलफल भइरहेको छ । यदि नगरपालिका अनिच्छुक भयो भने मात्र अरु विकल्पमा जाने गरी निकास खोजिन्छ ।’

आयोजना प्रमुख पौडेलले दमक नगरपालिकाभित्र नै भ्यू टावर बनेकाले यसको संरक्षक स्थानीय सरकार बनेका सजिलो हुने स्पष्ट गरे । ‘शहरी विकास विभागले मुलुकका धेरै स्थानमा ठूला सभा हलहरु बनाउने साथै त्यसको सञ्चालन जिम्मा लिइरहेको छ’ आयोजना प्रमुख पौडेलले भने, सोही मोडलमा भ्यू टावर सञ्चालनको कार्यविधिमा हामी जुटने छौ । जुन-जुन मोडलबाट भएपनि अबको ६ महिना भित्र सञ्चालन हुनेछ ।’ लागतको प्रतिफल पाउन कम्तिमा १० वर्ष पर्खनु पर्ने पौडेलको तर्क छ । 

नगरपालिकाले हात उठायो 
केन्द्र सरकारको लागतमा दमकमा निर्माण भएको भ्यू टावर सञ्चालन गर्ने बारेमा खाका नबन्दै दकम नगरपालिकाले भने भ्यू टावर सञ्चालन र व्यवस्थापन गर्न नसक्ने भन्दै हात उठाएको छ । यसले ठूलो परियोजना भए पनि शहर भन्दा टाढाको दूरीमा भ्यू टावर बनेकाले यसलाई सञ्चालनका लागि चुनौती हुने भन्दै आफ्नो सामथ्र्यले भ्यू टावर सञ्चालन गर्न नसक्ने भन्दै हात झिकेको हो ।

दमक नगरपालिकाकी उपप्रमुख रेंगीना भट्टराई (प्रसाईं) निर्माणको अन्तिम चरणमा रहेको भ्यू टावर सम्पन्न भएपछि यसको सञ्चालन गर्ने बारेमा कुनै तहबाट नगरपालिकासँग छलफल र सुझाव लिने काम नभएको बताउँछिन् ।

ठूलो परियोजना रहेकाले पनि भ्यू टावर सञ्चालन गर्न नगरपालिकाले नसक्ने भएकाले केन्द्र वा प्रदेश सरकारले यसको सञ्चालन गर्नुपर्ने र व्यवस्थापनको विषयमा भने नगरपालिकाले सहयोग गर्न सक्ने उनको भनाई छ ।

‘भ्यू टावर निर्माण पश्चात त्यसको व्यवस्थापन गर्ने कुनै सोच र खाका तयार गरेको पाइँदैन’ उपप्रमुख भट्टराई भन्छिन् ‘व्यापारिक केन्द्रका रूपमा विकास गर्ने जुन उद्देश्यले भ्यू टावर जुन स्थानमा निर्माण गरिएको छ, तत्कालको अहिलेको समयमा चुनौती देखिन्छ ।’ त्यसका लागि केन्द्र सरकारले नै यसको सञ्चालनको सम्पूर्ण जिम्मा लिनुपर्छ’ भट्टराईले थपिन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असार २७ गते दमक भ्यू टावरको शिलान्यास गर्नुभएको थियो । भ्यू टावरजस्तो अनुत्पादक क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भन्दै विगतबाटै पूर्व प्रधानमन्त्री ओलीको आलोचना हुँदै आएको छ । ओलीकै जोड बलमा मदन भण्डारी राजमार्ग पनि भ्यू टावर नजिकै हुँदै लैजाने गरी रेखाङ्कन समेत भएको छ ।

महालेखा परीक्षकको कार्यालयले दमक भ्यू टावर निर्माणको चरणमा नै यसको सञ्चालन कार्यविधि र लगानीको प्रतिफल सुनिश्चितताका बारेमा प्रश्न उठाएको थियो । माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्ने प्रति पनि सरकारलाई सचेत गराएको थियो । 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १ : ३१ बजे

महिलाहरूको पाठेघरको निःशुल्क परीक्षण 

काठमाडौं – ‘स्वास्थ्यलाई प्राथमिकता दिऔँ, आफ्नो र आफ्नो परिवारको स्वास्थ्य

संघीयता कार्यान्वयनसँगै दिगो विकासमा राहत : सभामुख

काठमाडौं – सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै

दोस्रो क्वालिफायर : चलेनन् कर्णालीका ब्याटर, जनकपुरलाई ११९ रनको सहज लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायरमा कर्णाली याक्सका

चिसोमा हात खुट्टाका औँला सुन्निन्छन् ? यसो गर्नुहोस् 

काठमाडौं– चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले हात खुट्टा सुनिने र औँलाहरूमा

‘विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन’

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि