नेप्सेमा सूचीकृत ६३ कम्पनी घाटामा | Khabarhub Khabarhub

शेयर

नेप्सेमा सूचीकृत ६३ कम्पनी घाटामा

‘नियामकको बदमासीले लगानीकर्तालाई तनाव’


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष असोज २४ गते सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता साधरण शेयर (आइपीओ) बेच्यो ।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले राम्रो रेटिङ दिएको र प्रिमियममा आइपीओ ल्याउने अनुमति नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दिएकाले लगानीकर्ताले खुलेरै आइपीओमा लगानी गरे । १० लाख ४७ हजार ४५९ जनाले सोनापुरको आइपीओमा आवेदन दिए ।

आइपीओमार्फत् सोनापुरले सर्वसाधारणबाट दुई अर्ब ३१ करोड २२ लाख ५७ हजार रुपैयाँभन्दा बढी रकम उठायो । यो रकम कर्मचारी र आयोजना प्रभावित स्थानीयलाई वितरण गरेको शेयरबाट उठाएको रकम बाहेकको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा क्लिङ्कर र सिमेन्ट उत्पादन गर्ने कम्पनीको शेयरमा लगानी गरेकाहरूले दोस्रो बजारमा पनि राम्रो भाउ पाएका छन् । हालसम्म सोनापुरको शेयर दोस्रो बजारमा उच्चतम ६२४ रुपैयाँसम्म पुगेको छ । यो समाचार तयार पार्दा अर्थात् कार्तिक २१ गतेको अन्तिम कारोबार पनि ४७८ रुपैयाँ ५० पैसामाा भएको छ ।

तर, सोनापुरको वित्तीय विवरणमा आँखा लागनउने हो भने कम्पनीको अवस्था ‘हरिबिजोग’ नै छ । आर्थिक वर्ष २०७९/०८० मा दुई करोड ६२ लाख ४६ हजार रुपैयाँ नाफा गरेको सोनापुर गत आर्थिक वर्ष २०८०/०८१ सम्म आइपुग्दा ४६ करोड ९२ लाख ८६ हजार रुपैयाँ घाटामा छ ।

यतिखेर पब्लिक कम्पनीहरूमा बोनसको सिजन सुरु भइसकेको छ । तर, गत चालु आर्थिक वर्षमा घाटा गएको कम्पनीले बोनस दिने कुरै भएन । सोनापुरले दिने पनि छैन ।

कम्पनीले वित्तीय विवरणमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धि, बैंकबाट लिएको ऋणको चर्को ब्याजदर र बजारमा भएको आर्थिक मन्दी लगायत कारणले अन्तरिक खपत नहुँदा घाटामा गएको दाबी गरेको छ ।

प्रिमियममा आइपीओ ल्याएको घोराही सिमेन्टको अवस्था पनि उस्तै छ । २०८० असार ३१ मा घोराही सिमेन्टले ४३५ रुपैयाँ प्रतिकित्ता प्रिमियममा ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वसाधारणलाई बेचेको थियो ।

आइपीओ बेचेको वर्ष २०७९/०८० मा भने घोराहीले ६ करोड ३१ लाख ५३ हजार रुपैयाँ नाफा गर्‍यो । तर, गत आर्थिक वर्ष २०८०/०८१ सम्म आइपुग्दा भने घोराहीले एक अर्ब २१ करोड ८८ लाख ८४ हजार रुपैयाँ घाटा देखायो ।

एक वर्षको अवधिमा उच्चतम प्रतिकित्ता ६६८ रुपैयाँसम्म पुगेको मूल्य कात्तिक २१ गते बजार बन्द हुँदा ४९८ रुपैयाँ ५० पैसा कायम भएको छ । घोराहीको चार करोड ५६ लाख ७६ हजार ८५७ कित्ता शेयर नेप्सेमा सूचीकृत हुँदा ८० प्रतिशत शेयर प्रवर्द्धक र २० प्रतिशत शेयर हिस्सा सर्वसाधारणमा छ ।

प्रिमियरमा आइपीओ ल्याउने, तर आइपीओ बिक्री भएकै वर्ष कम्पनी घाटामा रहेको देखाउनु एक हिसाबले ठगी नै भएको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बताउँछन् ।

‘प्रिमियममा आइपीओ ल्याउनुभन्दा अघि उनीहरूले तीन वर्षसम्म हामीले यति नाफा गर्‍यौँ भनेर देखाएका हुन्छन्’, पाण्डेले भने, ‘तर, अर्को वर्ष नै घाटामा गएको हो भने त्यसलाई ठगेको भन्न सकिन्छ ।’

तेस्रो वर्षमा घाटामा जाने भनेर प्रिमियममा आइपीओ निष्काशन अनुमति दिइएको हो भने नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) का अधिकारीहरूलाई पनि कारबाही गर्नुपर्ने पाण्डेले बताए ।

६३ कम्पनीले डुबाए लगानीकर्ता

सोनापुर र घोराही त प्रतिनिधि कम्पनीमात्रै हुन् । हाल नेपालको शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २४५ वटा कम्पनी सूचीकृत छन् । ती कम्पनीका शेयर दोस्रो बजारमा दैनिकजसो किनबेच भइरहेको छ ।

तर, ती मध्ये ६३ वटा कम्पनी गत आर्थिक वर्ष २०८०/०८१ मा घाटामा छन् । त्यसमा थप तीन कम्पनीले नेप्सेलाई वित्तीय विवरण नै दिएका छैनन् । त्यसलाई पनि घाटा गएको कम्पनी मान्दा यस्ता कम्पनी सङ्ख्या ६६ पुग्छ ।

घाटामा भएका कम्पनीले लगानीकर्तालाई बोनस नै दिन सक्दैनन् । तर पनि दोस्रो बजारमा भने त्यो कम्पनीको शेयरमूल्य उच्च छ । त्यसो हुनुमा नियमनकारी निकायकै कमजोरी मुख्य कारण भएको शेयर बजारका जानकार मुक्ति अर्याल बताउँछन् ।

कतिपय कम्पनी अरू वर्ष नाफा गरेर गत आर्थिक वर्षमा नोक्सानीमा गएको हुन सक्ने र कतिपय अरू वर्ष पनि नोक्सानीमै हुने वा नोक्सानीमा भएकामध्ये पनि केही कम्पनीले आउने वर्षमा नाफा गर्न सक्ने अर्याल बताउँछन् । तर, त्यो सम्भावनाको कुरामात्र रहेको उनको भनाइ छ ।

‘नेपालका शेयर बजारमा संस्थागत लगानीकर्ताको नेतृत्व छैन । यो व्यक्तिले नेतृत्व गरेको बजार हो । संस्थागत लगानीकर्ताले कुनै कम्पनी किन्दा त्यसमा विश्वनीयता हुन्छ’, अर्यालले भने, ‘उनीहरूले कुनै कम्पनीको स्टक किन्दा प्रश्न खडा हुन्छ । त्यो प्रश्नलाई संस्थाले नै पुष्टि गर्नुपर्ने हुन्छ । व्यक्तिगतले त्यसो गर्नै पर्दैन । त्यसैकारण घाटामा रहेका कम्पनीको शेयर पनि दोस्रो बजारमा बढी मूल्यमा किनबेच भइरहेको हो ।’

‘यहाँ त वित्तीय अवस्था राम्रो भएका र नभएका दुबैखाले कम्पनीको शेयर किनिरहेको देखिन्छ’ अर्यालले थपे, ‘वित्तीय अवस्था राम्रो भएको भन्दा नराम्रो भएका केही कम्पनीको शेयर मूल्य दोबरभन्दा बढी छ ।’

वित्तीय अवथा नराम्रो भएकाको हकमा शेयर कित्ता सङ्ख्या थोरै भएको र लकइन अवधि नखुलेको भन्दै चलखेल भएको अर्यालको भनाइ छ । ‘व्यक्तिले जुनमा नाफा गर्न सकिन्छ, जुनमा चलखेल गर्ने सकिन्छ – त्यो बढाउन चलखेल गर्ने गरेका छन्’, अर्यालले थपे, ‘बुल मार्केट (बढ्दो बजार)मा अन्य देशमा पनि सबै कम्पनीको मूल्य बढ्दैन, नेपालमा चाहिँ सबै कम्पनीको शेयरमूल्य बढ्ने गर्छ ।’

नेप्सेमा असोज १५ गते एक दिनको बजार हेर्दा पनि अर्यालको भनाइ पुष्टि हुन्छ । नेप्से तीन हजार विन्दुसम्म पुगेर २४०० विन्दु आसपासमा झर्दा बजार फेरि बढेर सबै कम्पनीको मूल्य उकालो लागेको थियो ।

गत असोज १५ गते मंगलबार नेप्से ११४ अङ्कले बढ्दा कारोबारमा आएका कम्पनीमध्ये २४३ वटा कम्पनीको शेयर मूल्य बढ्यो, तर युनिलिभर नेपाल कम्पनीको मूल्य मात्र घट्यो ।

वित्तीय अवस्था राम्रो भएको कम्पनी घट्दा थोरै घट्ने र बढ्दा धेरै बढ्नुपर्नेमा त्यसको विपरीत हुने गरेको अर्याल बताउँछन् ।

‘नाफा १० रुपैयाँ पनि आउँदैन, तर म्यानुपिलेट गर्दा २०० देखि ५०० रुपैयाँसम्म आउँछ भने लगानीकर्ता त्यसो गर्नतर्फ लाग्छ’, अर्यालले भने, ‘नियामक निकायले राम्रोसँग काम नगर्दा त्यस्तो देखिएको हो ।’

४७ वटा हाइड्रो घाटामा, अन्य कति ?

नेप्सेमा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । जसमा आधाजसो कम्पनीहरू घाटामा छन् । गत आर्थिक वर्षमा नेप्सेमा सूचीकृत ४७ वटा हाइड्रो कम्पनीहरू घाटामा थिए, जुन समूहगत सबैभन्दा बढी हो ।

हाइड्रो कम्पनीले बदमासी गरेर वित्तीय विवरण खराब देखाउने गरेकाले पनि घाटामा देखिएको बजारका जानकार छोटेलाल रौनियार बताउँछन् ।

‘साधारण सभा गर्दा पनि हाइड्रोपावरले भत्तामा बढी खर्च गर्ने गरेका छन्’, रौनियारले भने, ‘उनीहरूको अनावश्यक खर्च बढी हुने गरेको छ, वित्तीय विवरणमै गडबडी गरेर नाफालाई पनि घाटामा देखाउने गरेको घटना पनि छन् ।’

हाइड्रोलाई बढी मात्रामा बाढीले प्रत्यक्ष क्षति गर्ने भएकाले पनि बढी घाटामा जाने रौनियारको भनाइ छ । कतिपय यो वर्षमात्र घाटा भए पनि आगामी वर्ष नाफा गर्न सक्ने सम्भावना रहेको रौनियर बताउँछन् ।

नेप्सेमा ५० वटा लघुवित्त सूचीकृत छन्, जसमध्ये ६ वटा कम्पनी घाटामा छन् । त्पादन तथा प्रशोधनतर्फ नौमध्ये दुई कम्पनी घाटामा छ भने १६ वटा विकास बैंकमध्ये सप्तकोशी विकास बैंक घाटामा छ ।

गत वर्षको तथ्याङ्क हेर्दा १५ मध्ये चार फाइनान्स घाटामा छन् । नेप्सेमा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका ६ कम्पनीमध्ये सिटी होटल २० करोड ४७ लाख रुपैयाँ घाटामा रहेको छ ।

नियमनकारी निकाय बलियो नभएकाले गर्दा पनि घाटामा भएका कम्पनीको शेयर उच्च मूल्यमा दोस्रो बजारमा कारोबार हुने गरेको अर्यालको तर्कसँग रौनियार पनि सहमत छन् । घाटामा भएका कम्पनीमा लगानी गर्दा छोटो समयमा केही आर्जन गरे पनि लामो समयमा भने त्यसले फाइदा दिन नसक्ने रौनियार बताउँछन् ।

‘बजारमा लगानी गर्दा लगानीकर्ताले जहिले पनि पहिले वित्तीय अवस्था हेर्नुपर्छ’, रौनियारले भने, ‘शेयर बजारमा छोटो समयका लागि अरूको पछि लाग्दा आफ्नो पूरै गुम्न सक्छ ।’

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ६ : ५९ बजे

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

बनियानी– झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र

फुलहामसँग चेल्सी पराजित

लन्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा दोस्रो

रवि लामिछानेको बयान आज पनि

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद

संघीय संसद्का दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद्का दुई वटा समितिको बैठक बस्दै छ ।

कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु

झापा–कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना