विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

आज पुस २४ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी ९, २०२४ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

मध्य भियतनाममा सैन्य प्रशिक्षण विमान दुर्घटना
भियतनामको मध्य प्रान्त क्वाङ नामको डिएन बान शहरमा मङ्गलबार बिहान करिब ११ बजे सैन्य प्रशिक्षण दुर्घटना भएको छ । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार विमान दुर्घटना हुनुअघि जहाजमा रहेका दुई पाइलटले प्यारासुटबाट हाम फालेका छन् ।

विमान बगैंचा नजिकैको खाली जमिनमा खसेको थियो । दुर्घटनास्थल नजिकैको बगैँचामा काम गर्दै आएका एक जना स्थानीय कामदार सो घटनामा घाइते भएका छन् ।

भीएन एक्सप्रेसका अनुसार दुर्घटनास्थलमा विमानको अगाडि र पछाडिका भागहरू एकअर्काबाट करिब २०० मिटर टाढा उछिट्टिएको छ ।
उक्त सैन्य विमान वायु रक्षा ९ वायु सेनाको डिभिजन ३७२ द्वारा सञ्चालित रहेको बताइएको छ । सो विमान प्रशिक्षणका क्रममा दुर्घटना भएको थियो।

बङगलादेशको चुनाव स्वतन्त्र र निष्पक्ष छैन : अमेरिका
संयुक्त राज्य अमेरिकाले आइतबार सम्पन्न बङ्गलादेशको आम चुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा व्यक्त गरेको छ ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विपक्षीदलले बहिष्कार गरेको चुनावमा अवामी लिग पार्टीका तर्फबाट संसद्को आधाभन्दा बढी सिट जितेर लगातार चौथो कार्यकालका लागि बहुमत प्राप्त गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले पर्यवेक्षकहरूसँग चुनाव स्वतन्त्र तथा निष्पक्ष नभएको धारणा व्यक्त गर्दै अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत गहिरो खेद व्यक्त गरेको छ ।

विज्ञप्तिमार्फत अमेरिकाले बङ्गलादेशका जनताका लागि लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि भने पूर्ण समर्थन रहेको बताएको छ । हाल जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टीको बहिष्कार बीच आइतबार सम्पन्न निर्वाचनमा शेख हसिना पाँचौं कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।

अमेरिकाले राजनीतिक गिरफ्तारी तथा अनियमितताका साथै निर्वाचनका समयमा भइरहेका हिंसाको पनि निन्दा गरेको छ । अमेरिकाले बङ्गलादेशी सरकारलाई हिंसाको छानविनका लागि आग्रह गरेको छ ।

यसैगरी अमेरिका स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको साझा दृष्टिकोणलाई अगाडि बढाउन बङ्गलादेशसँग साझेदारी गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । अमेरिका स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि साझा दृष्टिकोणलाई अगाडि बढाई , बङ्गलादेशमा मानव अधिकार र नागरिक समाजलाई समर्थन गर्दै जनताको आर्थिक सम्बन्धलाई सुदृढ गर्न साझेदारी गर्न प्रतिबद्ध भएको पनि अमेरिकाले जनाएको छ ।

डेली स्टारका अनुसार, शेख हसिनाको पार्टीले १२ औं संसदीय चुनावमा लगातार चौथो कार्यकाल जितेको छ । जुन चुनावमा सन् १९९१ मा प्रजातन्त्रको पुनः स्थापनापछि दोस्रो सबैभन्दा कम मतदाताको सहभागिता रहेको जनाईएको छ ।

प्रमुख विपक्षी बीएनपी र अन्य १५ दलको बहिष्कार बीच अवामी लिगले पाँच निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । विजयपछि, हसिनाले बंगलादेशका जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै, बारम्बार मतदान गर्ने नागरिकहरू प्रति आफ्नो जिम्मेवारी बोध भएको बताएका छन् ।

भियतनाममा घरमा आगलागी हुँदा ३ जनाको मृत्यु
भियतनामको सेन्ट्रल हाइल्यान्ड प्रान्त जिया लाइमा मंगलबार बिहान एउटा भाडाको घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीया महिला र १५ वर्षीया बालिका रहेका छन् । अर्का एक जना व्यक्तिको भने पहिचान खुलेको छैन। घर आगलागी हुँदा इलेक्ट्रिक बाइक लगायतका अन्य भौतिक सम्पत्ति नष्ट भएको स्थानीय सञ्चारमाध्यम टुओई ट्रे ९युवा० ले जनाएको छ ।

सन् २०२३ मा भियतनाममा ३ हजार ४४० वटा यस किसमका आगलागीका घटना घटेका छन् । ती घटनामा जसमा १४६ जना व्यक्तिको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको अग्नि तथा उद्धार प्रहरी विभागले जनाएको छ ।

जर्मनीका लिजेण्ड फुटबलर बेकनबाउरको निधन
जर्मनीका लिजेण्ड फुटबलर फ्रान्ज बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । बेकनबाउर पछिल्लो समय मुटुको समस्याबाट पीडित थिए ।

जर्मनीका पूर्व सेन्टर ब्याक बेकनबाउरले सन् १९७४ मा पश्चिम जर्मनीका लागि खेलाडीको रुपमा विश्वकप जितेका थिए भने सन् १९९० मा पश्चिम जर्मनीको तर्फबाट प्रशिक्षकको रुपमा विश्वकप जिताएका थिए ।

उनी खेलाडी र प्रशिक्षकको रूपमा विश्वकप फुटबल जित्ने ३ व्यक्तिमध्ये एक हुन् । उनको कप्तानीमा तत्कालीन पश्चिम जर्मनीले सन् १९७४ मा नेदरल्यान्ड्सलाई फाइनलमा पराजित गरी विश्वकप जितेको थियो । उनी प्रशिक्षक रहँदा पश्चिम जर्मनीले सन् १९९० मा अर्जेन्टिनालाई फाइनलमा पराजित गरेको थियो ।

उनले जर्मन राष्ट्रिय टोलीबाट १०३ खेल खेलेका थिए । उनकै नेतृत्वमा जर्मनीले २००६ को विश्वकप भव्य रूपमा सफल आयोजना गरेको थियो ।

खेलाडी र प्रशिक्षकको रूपमा उपाधि जित्ने अर्का दुई मारियो जगालो र डिडियर डेसच्याम्पस हुन् । जगालोको ९२ वर्षको उमेरमा शुक्रबार मात्र निधन भएको थियो ।

इजरायलको आक्रमणमा गाजामा मारिनेको संख्या २३ हजार नाघ्यो
गत अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्धका कारण गाजामा मारिनेको संख्या २३ हजार नाघेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा २३ हजार ८४ प्यालेस्टाइनी नागरिक मारिएका छन् ।

मन्त्रालयले एक विज्ञप्तिमा विगत २४ घण्टामा २४९ जना मारिएको पनि जनाएको छ । यस्तै तीन महिनाभन्दा बढीको लडाइँमा उक्त क्षेत्रमा ५८ हजार ९२६ जना घाइते भएकोसमेत जनाएको छ ।

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०० नाग्यो
जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म २०० नाघेको तथा १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार, नयाँ वर्षको पूर्व सन्ध्यामा आएको ७।५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापु स्थि नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए ।

भूकम्प गएको आठ दिन सम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बावझुत भग्नावशेष हटाउन र फसेका ३५ सय मानिसहरूसामु पुग्ने प्रयास गरिरहेका छन् ।

इशिकावा क्षेत्रीय अधिकारीहरूले मङ्गलबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने १०२ जना बेपत्ता रहेको बताइएको छ । अधिकारीहरूले सोमबार केन्द्रीय तथ्यांक अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर तीन सय २३ पुगेको थियो । जसमा धेरै जसो अति प्रभावित क्षेत्र वाजिमाका मानिसहरू रहेको बुझिएको छ ।

प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भइरहेको छ । सोमबारसम्म झन्डै ३० हजार मानिसहरू ४०० वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् । उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ ।

झण्डै ६० हजार घरधुरी खानेपानीविहीन छन् भने १५ हजार छ सय घरधुरी बिजुलीविहीन भएका छन् । दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ ।

मंगलबारको दैनिक विपद्–राहत सरकारी बैठकमा, प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीहरूलाई समुदायको समस्या समाधान गर्न र प्रभावकारी उद्धार कार्य जारी राख्न निर्देशन दिएका छन् ।

जापानले हरेक वर्ष यस्ता भूकम्पको सामना गर्छ । यद्यपि चार दशकभन्दा बढी समयदेखि लागू भएको कडा भवन संहिताका कारण त्यति ठूलो क्षति भने भएको थिएन । पुराना संरचनाहरू भएका विशेष गरी नोटो जस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ ।

सन् २०११ को भूकम्पले सुनामी निम्त्याउँदा करिब १८ हजार ५०० मानिसको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ८ : ०२ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको