स्थानीय निकायलाई कसले बुझाइदिने शिक्षाको मर्म ? | Khabarhub Khabarhub

स्थानीय निकायलाई कसले बुझाइदिने शिक्षाको मर्म ?


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

नेपालको शैक्षिक गुणस्तर कायम गर्ने सन्दर्भमा विभिन्न ठाउँमा बहस र छलफल हुँदा एक पक्षले अर्को पक्षको दोष देखाएर पन्छिने गरेको पाइन्छ ।  नेपालको संविधान २०७२ ले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय सरकारलाई पूर्ण अधिकारसहित जिम्मा लगाएको छ भने सरकारले विश्वको सबभन्दा राम्रो शैक्षिक मोडेल सहितको पाठ्यक्रम प्रयोग तथा कार्यान्वयनमा ल्याइसकेको छ ।

नेपालको सामाजिक संरचना, सामाजिक मनोविज्ञान, चेतनास्तर, राजनैतिक, आर्थिक र शैक्षिक नीति जस्ता पक्षलाई हेर्ने हो भने पाठ्यक्रमको प्रयोग र कार्यान्वयनमा चुनौती देखिन्छ ।  सामाजिक परिवेश र त्यही परिवेशमा हुर्किएका जनप्रतिनिधिले अहिलेको शिक्षाको कार्यदिशा बुझ्न सकेको स्थितिका साथै त्यही मौकाको फाइदा लिँदै धमिलो पानीमा माछा मार्न माहिर शैक्षिक जमात र अंग्रेजी मोहमा डुबेका अभिभावक, डलरमुखी शिक्षा नीति बनाउने सरकार देशका विपन्न बालबालिकाको भविष्यप्रति चिन्तित देखिँदैन ।

राम्रा नारा र आकर्षक ब्यानरमुनि तारे होटेलमा बसेर शिक्षाको मार्गचित्र बनाउने, त्यही एजेण्डा कार्यान्वयनका लागि स्थानीय तहलाई निर्देशन दिने र सो को अक्षरशः पालना गर्ने प्रकियाबाट नेपालको शिक्षामा सुधारको संकेत देखिँदैन ।  यसका लागि स्थानीय सरकारका जनप्रतिनिधिहरूले निहित स्वार्थभन्दा माथि उठेर आवधिक कार्ययोजना बनाई अघि बढ्नुपर्ने हुन्छ । शैक्षिक सुधारका लागि स्थानीय सरकारले खेल्नुपर्ने महत्वपूर्ण भूमिका निम्न रहेका छन्–

१. शिक्षामा लगानी वृद्धि  
शिक्षामा लगानी विना कुनैपनि स्थानीय तहले आफ्नो शक्ति र सामर्थ्यको विकास गर्न सक्दैनन् । सामर्थ्य विना समृद्धिको सपना पनि साकार पार्न कठिन हुन्छ । हालको परिस्थितिमा पनि स्थानीय तहमा शिक्षाको विकासलाई सुनिश्चित गर्न शिक्षालाई अन्य विकासे योजना जोडी बहुद्देश्यीय कार्यक्रम सञ्चालन गरी जीवनसँग जोड्न  सक्ने गरी योजना बनाई लगानी गर्न जरुरी देखिन्छ ।

बालबालिकाले पढाईसँगै सीप र त्यसको प्रयोग गर्न स्थानीय प्राकृतिक श्रोत पहिचान मार्फत बालबालिका र अभिभावकलाई  स्थानीय सरोकारवाला निकायको सक्रिय सहभागिता गराउन स्थानीय तहको उत्तरदायीपूर्ण भूमिका अपरिहार्य हुन्छ । तब मात्र शिक्षण सिकाइलाई सबैको पहुँचमा पुर्‍याई उत्कृष्ट र अर्थपूर्ण बनाउन सकिन्छ ।

२. अभिभावक सचेतना कार्यक्रम
आजभोलि अभिभावकको आफ्ना नानी बाबुप्रतिको जिम्मेवारी र संकल्प पैसामा बिक्री गर्न थालेका छन् । आजकालको परिवार विखण्डित र विखण्डित परिवारको समाज रूपान्तरण हुँदैछ भने अर्कातिर छोराछोरीको पढाई राम्रो बनाउने नाममा दबाब र प्रभाव अनि पैसाले शिक्षा किन्न पाइन्छ भन्ने अभिभावकको चिन्तनले बाल मनोविज्ञान, बालबालिकाको संस्कार र व्यवहारमा नकारात्मक असर परेको पाइन्छ ।

यस्तै, मोबाइल तथा अन्य विद्युतीय उपकरणको अनावश्यक प्रयोगको  अवस्थाबाट बालबालिकाको सिकाइको स्तर न्यून हुँदै गएको पाइन्छ । सिकाइ उपलब्धिलाई वृद्धि गर्न बालबालिकाको व्यवहार परिवर्तन हुन जरुरी छ । अभिभावक सचेत भएमा मात्र यो सम्भव छ । त्यसैले अभिभावकलाई सचेत गराउन अभिभावक सचेतना कार्यक्रम सञ्चालन गरी शैक्षिक स्थितिलाई सुधार गर्न सकिन्छ ।

३. एक स्थानीय तह एक आवासीय विद्यालय सञ्चालन
अधिकांश सामुदायिक विद्यालयमा विपन्न, दलित, सीमान्तकृत र पिछडिएका बर्गका बालबालिका मात्र अध्ययन गर्न आउँछन् । यस्ता वर्गका बालबालिकाको आर्थिक अभावले गर्दा विद्यालय उपस्थितिमा नियमितता नहुने, ड्रपआउट, पढ्नका लागि वातावरण नहुने जस्ता कारण शैक्षिक उपलब्धि न्यून हुने हुँदा जीवन स्तरमा पनि सुधार हुन सक्दैन । त्यसैले यस्ता बालबालिकाको लागि प्रत्येक स्थानीय तहमा एक आवासीय विद्यालय स्थापना गरि उनीहरूलाई सीपसहितको ज्ञान प्रदान गर्न सकेमा शिक्षाले वास्तविक र मूर्तरूप लिन सक्थ्यो ।

४. विद्यालयमा राजनीतिकरणको न्यूनीकरण
नेपालका सामुदायिक विद्यालयका व्यवस्थापन समिति तथा अन्य पदाधिकारीहरू राजनैतिक भागबण्डाका आधारमा तयार गरिन्छन् । यसरी तयार गरिएको समिति तथा पदाधिकारीहरूले विद्यालयको शैक्षिक विकासको योजना निर्माण गर्न सक्दैनन् भने अर्कोतिर राजनीतिकरणतर्फ धकेलिन पुग्छ विद्यालयको समग्र वातावरण । यस्तो वातावरणले शैक्षिक अवस्थामा सुधार हुन सक्दैन । त्यसैले स्थानीय तहको शैक्षिक सुधारका लागि राजनैतिक नियुक्ति भन्दा पनि दक्ष र विज्ञतामा जोड दिँदै राजनीतिकरणलाई न्यूनीकरण गर्नु पर्दछ ।

५. सरोकारवालाको वृत्ति विकासका लागि तालिम सञ्चालन
समयको परिवर्तनसँगै पाठ्यक्रम, सिकाइ विधि तथा प्रविधि परिवर्तन, मूल्यांकन प्रक्रिया जस्ता विषयका साथै सामाजिक संस्कारमा आएको परिवर्तन विद्यार्थीको मनोविज्ञानमा देखा परेका समस्याको समाधान गर्न सरोकारवालाहरूलाई विभिन्न तालिमको आवश्यकता पर्दछ ।

६. विभिन्न गैरसरकारी संस्थासँग समन्वयमा विद्यालयमा कार्यक्रम सञ्चालन
वर्तमान पाठ्यक्रमको मर्म र उद्देश्यसँग मेलखाने, विद्यार्थीको रुचि र पढाईसँगै सीपको विकास गर्न सरोकारवाला संस्थासँग समन्वय गरी छोटा अवधिको तालिम विद्यालयमा सञ्चालन गर्नु जरुरी देखिन्छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीको पढाईप्रति रुचि बढ्नुका साथै पढाई छोड्ने, डर घट्ने र यसबाट सीपको विकास हुन गइ सरकारले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ समेत सफल बन्न सहयोग पुग्छ । यस्ता एजेण्डाका लागि स्थानीय सरकारको ध्यान जानु पर्ने देखिन्छ । यसले शिक्षाको गुणस्तर  सुधार गर्न सकिन्छ ।

वर्तमान अवस्थाको शिक्षा सुधारको लागि स्थानीय सरकारको चिन्तन, अभिभावकको समर्पण र संस्कार, समितिको सहयोग, शिक्षकको लगनशीलता र विद्यार्थीको अनुशासन सबै कुरामा सुधार आउन जरुरी छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ११ : ५९ बजे

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन

अनुशासनमा नरहेपछि भीम रावललाई कारबाही : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा

रसुवा – चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा

‘सभापति जहाँ भए पनि रास्वपा बलियो बनाउँछौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका १२ भाइ समानुपातिक सांसदमध्ये मनिष झा

तिलावे पुल मर्मत सम्भारको माग

वीरगञ्ज– पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको