बढ्दैछ प्लाइउड निर्यात, पछिल्लो नीतिले उद्योग नै बन्द हुने जोखिम | Khabarhub Khabarhub

बढ्दैछ प्लाइउड निर्यात, पछिल्लो नीतिले उद्योग नै बन्द हुने जोखिम


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले नेपालबाट प्लाइउड निर्यात बढ्दो छ । केही समयम अघिसम्म शून्य रहेको प्लाइउड निर्यात गत आर्थिक वर्षदेखि बढ्न थालेको हो ।

भारतीय बजारमा नेपाली प्लाइउडको माग उच्च छ । भन्सार विभागका अनुसार पछिल्लो २३ महिनामा मात्रै नेपालबाट साढे ११ अर्ब रूपैयाँ बराबरको प्लाइउड निर्यात भएको तथ्याङ्क छ ।

२०७९ को साउनदेखि २०८० असारसम्म ४ अर्ब ७१ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो । २०८० साउनदेखि २०८१ असारसम्म ६ अर्ब ६८ करोड रूपैयाँ बराबरको प्लाइउड भारतीय बजारमा पठाइएको छ ।

त्यस अघिका वर्षहरूमा झिनो परिमाणमा मात्रै प्लाइउड निर्यात हुने गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा जम्मा एक करोड ४६ लाख रूपैयाँ बराबरको प्लाइउड निर्यात भएको थियो । त्यसको ठीक पछिल्लो आर्थिक वर्ष २०७८/७९ मा  ३५ करोड रूपैयाँ बराबरको प्लाइउड निर्यात भयो।

व्यवसायीहरूका अनुसार आर्थिक वर्ष २०७८/७९ को अन्त्य तिरबाट भारतमा प्लाइउडको माग बढी भएको हो । पछिल्लो दुई आर्थिक वर्षदेखि प्लाइउड नै नेपालको प्रमुख निर्यात सामग्री बनेको छ ।

चालु आर्थिक वर्षमा नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाँचौ नम्बरमा छ ।

नेपालमा कति छन् प्लाइउड कम्पनी ?
प्लाइउड काठबाट बनाइएको पाता हो, जुन पातला पानाहरू जोडेर बनाइएको हुन्छ । अहिले नेपालमा ८० भन्दा धेरै प्लाइउड कम्पनीहरू छन् ।

अधिकांश उद्योगमा नेपाली कच्चापदार्थ नै प्रयोग गरेर प्लाइउड उत्पादन भइरहेको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताउँछन्‌ । अहिले नेपालबाट प्लाइउड मात्र नभएर प्लाइउड बनाउने कच्चा पदार्थ पनि निर्यात हुने गरेको उनको भनाइ छ ।

घिमिरेले भने, ‘नेपालमा सबै कुरा सम्भावना भएर पनि काम गर्न नसक्ने यो सरकार र राज्यको नीतिबाट व्यवसायीहरू जहिल्यै पिसिँदै आएका छन् । भारतले यसअघि लगाएको निर्यात प्रतिबन्ध हटाए पनि नेपालको नीति र व्यवस्था नेपाली उद्योगीहरूको बाधक बनिरहेको छ ।’

भारतीय अवरोध हट्यो, सरकारबाट सहयोग नभएको गुनासो

भारततर्फ उच्च गतिमा निर्यात भइरहेको प्लाइउड २०८० को माघ दोस्रो साताबाट एकाएक रोकियो । भारतले भारतीय गुणस्तर चिह्न (आइएआई) प्राप्त उत्पादन मात्रै आयात गर्ने नीति कडाइका साथ कार्यान्वयन गर्दा नेपालबाट प्लाइउड निर्यात रोकिएको थियो ।

त्यसपछि नेपाली उद्योगी र सरकारका तर्फबाट लबिइङ भयो । त्यसको केही समयपछि भारतले निर्यात खुलाएको थियो ।

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

भारतले २०२५ को फेब्रुअरीबाट आइएसआई अनिवार्य गर्दै अहिलेलाई खुला गरेको हो। हाल नेपाली उद्योगीरूले आइएसआई लिन सुरू गरेका छन् ।

अहिलेसम्म नेपालमा उत्पादन भएका प्लाइउड भारतमा मात्र निर्यात हुने भएका कारण भारतले निर्यात बन्द गरेको थियो । यस्तै अवस्था रहिरहे नेपाली प्लाइउडले बजार नपाउने हुनाले अन्य देशहरूसँग पनि सम्झौता गर्न व्यवसायीहरूले सरकारसँग आग्रह गरिरहेका छन्‌ ।

कच्चापदार्थ निर्यात खुकुलो, नेपाली उद्योग बन्द हुने खतरा
आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले नेपाली उद्योगीहरूलाई व्यापार बन्द गनैुपर्ने अवस्थाको सिर्जना गरेको संघ अध्यक्ष घिमिरे बताउँछन्‌ ।

नेपालका ठूला उद्योगीहरूको कुरा सुनेर बजेटमा निर्यात भन्सारमा लाग्दै आएको कर पनि पूरै घटाएपछि नेपाली उद्योगीहरूलाई ठूलो मार परेको छ । पहिले गोलिया काठ निर्यातमा २०० प्रतिशत लाग्दै आएको कर बजेटमा घटाएर ५० प्रतिशतमा झारिएको छ ।

यसको प्रत्यक्ष असर नेपाली प्लाइउड बजारमा परेको उनीहरूको भनाइ छ । आर्थिक ऐन २०८१ बाट ४६ प्रकारका रुखका गोलिया काठको निर्यात शुल्कलाई डेढ सय प्रतिशत सम्मले कम गरिएको छ ।

व्यवसायीहरूका अनुसार गोलियाबाट भेनियर बनाउने क्रममा १५ प्रतिशत मूल्य अभिवृद्धि हुन्छ भने प्लाइउड बनाउँदा ७० प्रतिशत मूल्य अभिवृद्धि हुन्छ ।

विगतमा धेरै व्यवसायीहरूले निर्यातलाई सहजीकरण गर्न भेनियर निर्यात महसुल घटाउन आग्रह गर्दै आएका थिए । प्लाइउड व्यवसायीहरूले निर्यात शुल्क नघटाउन आग्रह गरेका थिए ।

नेपाली प्लाइउड निर्यात गर्दा धेरै फाइदा हुने; साथै नेपालीले आफ्नै देशमा रोजगारी पाउने अवसरलाई सरकारले जानीजानी खोसेको उद्योगीहरूको भनाइ छ ।

अहिले प्लाइउड उद्योगमा प्रत्यक्ष रूपमा २५ हजारभन्दा बढीले रोजगारी पाएका छन् । यसलाई प्रोत्साहन गर्न सकेको खण्डमा नेपालबाट धेरै मात्रामा निर्यात गर्न सकिने उद्योगीहरूको भनाइ छ ।

गोलिया नै निर्यात गर्दा नेपामा उत्पादन हुने प्लाइउडका लागि नै कच्चा पदार्थ नपाउने अवस्था आउने र नेपाली उद्योगहरू बन्द हुने संघका अध्यक्ष बताउँछन् ।

‘कच्चा पदार्थ निर्यातमा कडाइ गर्न सरकारलाई हामीले बारम्बार आग्रह गरेका थियौं ।  तर केही ठूला व्यापारीहरूसँग मिलेर नेपाली उद्योगलाई मार्ने खालको व्यवस्था गरियो । यसले गर्दा हामी नेपाली प्लाइउड उद्योगीहरू मारमा परेका छौं,’ घिमिरेले भने ।

अब सबै कच्चा पदार्थ नै भारततर्फ निर्यात भएपछि नेपाली तयारी प्लाइउड निर्यात नहुने र नेपाली उद्योग पनि विस्थापन हुने घिमिरे बताउँछन् ।

प्लाइउडकव प्रारम्भिक कच्चापदार्थ निर्यात क्रममा नेपालको वनजङ्गल पनि पूर्ण रूपमा विनाश हुनेमा चिन्तित देखिइन्छन्‌ । नेपाललाई खास लाभ नहुने हुनाले  गोलिया लगायत कच्चापदार्थ निर्यातमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने घिमिरेको भनाइ छ ।

प्लाइउड उद्योगले प्रयोग गर्ने गोलिया काठमा चिलाउने उतिस मसला, लहरे पीपल, देवदारु लगायतका रूख हुन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ४६ बजे

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका