हिमाली गोठाला : जसले एक्लै हेर्नुपर्छ सयौं भेडा र च्याङ्ग्रा « Khabarhub

हिमाली गोठाला : जसले एक्लै हेर्नुपर्छ सयौं भेडा र च्याङ्ग्रा


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन्। हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ। उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन्।

धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो। भेडा र च्याङ्ग्रा चराउँदै तिब्बत नजिकै पुगेर घर फर्कँदै गर्दा उनी केही दिनअघि मुस्ताङको दामोदरकुण्ड नजिकै भेटिए। “१८ वर्ष भयो यसैगरी गोठालो भएर हिँडेको, दौतरीहरु कति विदेश त कति सहरतिर लागे”, उनले भने, “मलाई त यही भिरपाखामै रमाइलो छ।”

तामाङको दिनचर्या बिहानैदेखि राति अबेरसम्म भेडा र च्याङ्ग्रा स्याहार्दै बित्छ। लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ यारा र घारा गाउँका किसानका भेडाच्याङ्ग्रा चराउँदै छ हजार मिटरसम्मको उचाइमा पुगेर फर्किएको उनले सुनाए।

तामाङले गोठालो गरिएदिएबापत खाना र कपडाबाहेक वार्षिक एक लाख ५० हजार तलब पाउँछन्। यही आम्दानीले धादिङ झर्लाङमा रहेका श्रीमती र दुई सन्तानको खर्च चल्छ। गोठालो जाँदा बास कहाँ बस्ने टुङ्गो हुन्न। कहिलेकाँही समयमै खाना खाने मेसो पनि पर्दैन। कहिले गोठ त कहिले ढुङ्गामुनी ओत लागेर रात काट्नुपर्ने बाध्यता छ।

यसरी बर्खामा हिमालतिर उकालो लाग्ने गोठाला उनी एक्लो भने होइन। लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ याराका ५८ वर्षीय नवाङ गुरुङ पनि तीन वर्षयता गोठालो गरिरहेका छन्। सात वर्ष साउदी अरबमा काम गरेपछि उनी गोठालै भई काम गरिरहेका छन्।

फाइल तस्बिर

गर्मी बढेपछि हिमाली क्षेत्रको चिसो हावापानीमा पलाएको पोसिलो घाँस खुवाउन लेकमा लगिएका भेडा, च्याङ्ग्रा, गाईभैँसी र चौँरी विस्तारै तल झार्नेक्रम सुरु भइसकेको छ। जेठको अन्तिम साता लेक उल्किएका गोठालाहरु घुम्ती गोठ सार्दै जनावरहरुलाई बेंसीतर्फ लागेका छन्।

दामोदरकुण्डमा भेटिएका मेल्चा र नवाङ जस्तै मुस्ताङका च्याङ्ग्रा गोठमा म्याग्दी, बागलुङ, धादिङ, रुकुम, रोल्पाका धेरै जना काम खोज्दै गोठाला बस्न पुग्छन्। दुःख र जोखिम धेरै हुने भएकाले किसान आफैं गोठमा बस्दैनन्। चार÷पाँच वटा घर मिलेर एउटालाई तलब दिनेगरी गोठाला राखेर भेडाच्याङ्ग्रा पाल्ने गरिएको याराका टासी गुरुङले बताए।

“च्याङ्ग्रापालनबाट दसैँ, तिहारजस्ता चाडपर्वमा सहर बजारमा पोसिलो र स्वादिलो मासु आपूर्ति गर्न सहयोग पुगेको छ”, उनले भने, “च्याङ्ग्रा गोठालाका रुपमा कतिपयले रोजगारी पनि पाएका छन्।”

चरनका लागि भिरपाखा चहार्दै दौडिने भेडाच्याङ्ग्राको पछिपछि दौडिनुपर्ने गोठाला पेसा सजिलो भने छैन। बर्खामा गोठ लिएर लेकमा जाँदा तीन महिनासम्म परिवार र आफन्तसँग सम्पर्कविहीन भएर बस्नुपर्छ। भकारीले छाएको र बारेको गोठभित्र झरी र चिसो नभनी पाठापाठीसँगै रात कटाउनुपर्छ। त्यसमाथि जङ्गली जनावरको डर उस्तै। छुट्टी र बिदा हुने कुरै भएन। मोबाइल, रेडियोमा गीत सुन्दै डाँडापाखा डुल्ने गोठालाका सुरक्षाका लागि भोटे कुकुर भने साथैमा हुन्छन्।

बारागुङ मुक्तिक्षेत्र, लो-घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाको आम्दानीको मुख्य स्रोत भेडाच्याङ्ग्रापालन हो। हिउँदमा गाउँबस्ती नजिकै ल्याउने भेडाच्याङ्ग्राका लागि उपल्लो मुस्ताङका कृषक हिजोआज घाँसको जोहो गर्ने व्यस्त छन्। हिउँ परेको अवस्थामा चरनमा जान नसक्ने भएकाले च्याङ्ग्रालाई सुकाएको र साइलेज बनाएर राखेको घाँस खुवाउने गर्छन्।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार जिल्लाभर रहेका ६५ वटा ठूला फार्ममा ४८ हजार च्याङ्ग्रा पालिएका छन्। दसैँ तिहारका लागि गत वर्ष २३ करोड मूल्य बराबरको करिब छ हजार च्याङ्ग्रा निकासी भएका केन्द्रको तथ्याङ्क छ।

हिमचितुुवा, ब्वाँसो र जङ्गली कुकुरबाट भेडा च्याङ्ग्रालाई बचाउन गाह्रो भएको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ याराका पासाङ डेण्डुप गुरुङले बताए। एक सय ५० वटा च्याङ्ग्रा पालेका गुरुङले वार्षिक ४० वटा हाराहारीमा बिक्री गर्छन्। उनले घरखर्चको मुख्य स्रोत यही भएको बताए। जङ्गली जनावरले वर्षमा एउटै फार्ममा २० वटाभन्दा बढी भेडा च्याङ्ग्रा मार्ने गरेको सुनाए।

तीनदेखि चार वर्ष पुगेका च्याङ्ग्रा मासुका लागि बजार पठाइन्छ। हिमालमा पालिएका भेडा, च्याङ्ग्राको माग दसैँको समयमा सहर बजारमा हुने गरेको छ। रासस

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ५३ बजे

सरकारविरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – केन्द्रीय संयुक्त संघर्ष समितिले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको

सहमति नजुटेपछि संसद् एक घण्टादेखि अवरुद्ध

काठमाडौं– दोस्रो पटक स्थगित भएको प्रतिनिधिसभा बैठक सहमति नजुट्दा एक

पत्रकार महासंघले भन्यो रास्वपा सांसद खरेलको पत्रिका बन्द गर्ने धम्की निन्दनीय

काठमाडौं– नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश

सरकारको नीति तथा कार्यक्रमप्रति चिकित्सकको टिप्पणी- एजेण्डाको ‘रिप्याकेजिङ’ भयो !

नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. अनिल सिंह कार्कीले सरकारले

कांग्रेस अनुशासन समिति पुनर्गठन, तारामान गुरुङ संयोजक

 काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ।  पार्टी