अर्थसंक्षेप : चाडपर्वकै मुखमा अचाक्ली मूल्यवृद्धि, घुससहित वडाअध्यक्ष पक्राउ | Khabarhub Khabarhub

अर्थसंक्षेप : चाडपर्वकै मुखमा अचाक्ली मूल्यवृद्धि, घुससहित वडाअध्यक्ष पक्राउ


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यवस्तु, सागसब्जी र उपभोग्य सामग्रीको मूल्य अचाक्ली बढेको छ । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दसैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ । सरकारले सरकारी कार्यालयबाट शेयर कारोबार गर्न प्रतिबन्ध लगाएको छ ।

प्रमुख आर्थिक समाचारहरू : 

महँगियो भान्छा, चाडपर्वको मुखमै अचाक्ली मूल्यवृद्धि

महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यवस्तु, सागसब्जी र उपभोग्य सामग्रीको मूल्य अचाक्ली बढेको छ । चाडपर्वको मौका छोपी व्यापारीहरूले दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढाएका हुन् । बजारमा चामल, दाल, चिनी, तेल, दलहन, तरकारी, माछा, मासु र अण्डा लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो । खासगरी थोक व्यापारीले नै उपभोग्य वस्तुको मूल्य बढाएर पठाएको खुद्रा व्यापारीहरू बताउँछन् ।

खाद्य वस्तुहरूको थोक मूल्य बढेर आएसँगै खुद्रा व्यापारीहरूले पनि आफूखुसी मूल्य बढाएका हुन् । अघिल्लो वर्षको यही समयमा ९० रुपैयाँ प्रतिकिलो पर्ने चिनीको मूल्य यतिखेर १५० रुपैयाँसम्म पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार एक वर्षअघि २०८० भदौ २५ गते चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।

दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने 

नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दसैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ । दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले  यस पटक भने  सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो। चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

यस पटक दसैँलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ । राष्ट्र बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो । यस पटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गरिनेछ ।

सरकारी कार्यालयमा टीएमएस चलाउन निषेध

अबदेखि सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत देशभरका सरकारी कार्यालयबाट शेयर कारोबार नगर्न निषेध गरिएको जानकारी दिएका छन् ।

उनले सरकारी कर्मचारी शेयर कारोबारमा लाग्दा जनताको काममा बाधा पुगेको गुनासो आएपछि यस्तो निर्णय लिनुपरेको बताएका छन् ।

नेप्से १३ अंकले घट्दा कारोबार ७ अर्ब माथि  

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार १३.०९ अंकले घटेको छ । नेप्से ०.४९ प्रतिशतले घटेर २६३२.९४ विन्दुमा आएको छ । मंगलबार ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार बराबरको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर किनबेच भएको छ ।

आज नेप्से घट्दा ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज १३ वटा समूहमध्ये होटल एण्ड टुरिज बराबरको भएको छ भने ट्रेडिङ समूह ०.७९ प्रतिशतले बढेर ३ हजार ७२८.६० बिन्दुमा आएको छ ।

त्यस्तै वाणिज्य बैंक ०.११ प्रतिशतले, विकास बैंक ०.६९ प्रतिशतले, फाइनान्स ०.९९ प्रतिशतले, हाइड्रो ०.७१ प्रतिशतले, लगानी ०.५३ प्रतिशतले, जीवन बीमा ०.७६ प्रतिशतले, उत्पादन ०.६८ प्रतिशतले, लघुवित्त ०.९१ प्रतिशतले, म्युचुअल फण्ड ०.३० प्रतिशतले निर्जीवन बीमा ०.४० प्रतिशतले र अन्य समूह ०.४४ प्रतिशतले घटेको छ ।  आज ३२८ वटा कम्पनीको शेयर ९३ हजार ४५९ पटक किनबेच भएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १७६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने 

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कम्पनीको हाल १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ ।

कम्पनीले १०० रुपैयाँमा हकप्रद शेयर जारी गर्ने जनाएको छ । हकप्रद जारी गर्ने कम्पनीले बीमा प्राधिकरणबाट स्वीकृति पाइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट समेत पाएपछि भने कम्पनीले हकप्रद जारी गर्ने छ ।

गुराँस लघुवित्तले १५ प्रतिशत बोनस दिने 

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश (बोनस) दिने भएको छ । कम्पनीका सचिव भेष बहादुर बस्नेतका अनुसार १ करोड ४४ लाख ४९ हजार ५०० रुपैयाँ बराबरको १४.२५ प्रतिशत बोनस शेयर दिने भएको छ । त्यस्तै कर प्रयोजनका लागि ७ लाख ६० हजार ५०० रुपैयाँ बराबरको ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

गुराँस लघुवित्तको हाल चुक्ता पुँजी १० करोड १४ लाख रहेको छ । उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयर धनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

गोर्खाज फाइनान्सका सिइओको राजीनामा स्वीकृत 

गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको सोमबार ४९४ औँ सञ्चालक समितिको बैंकले राजीनामा स्वीकृत भएको हो । कम्पनीका सचिव मुकुन्द श्रेष्ठका अनुसार असोज २२ गतेदेखि घिमिरे सिइओबाट हट्ने छन् ।

मधेश प्रदेशमा छ हजार हेक्टर वनक्षेत्र अतिक्रमित

मधेश प्रदेश सरकारद्वारा प्रस्तुत एक तथ्यांकमा प्रदेशका वनक्षेत्रमध्ये पाँच हजार छ सय ९२ हेक्टर भन्दाबढी वन अतिक्रमण भएको जनाइएको छ । वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको लापरबाही तथा कमिकमजोरीका कारण मधेश प्रदेशमा वन अतिक्रमण बढेको उल्लेख छ । वन कर्मचारीले सुविधा तथा लाभ लिने स्थान मात्र रोज्ने कारण वन अतिक्रमण बढेको जनगुनासोसमेत छ ।

मधेश प्रदेश वन मन्त्रालयबाट प्राप्त विवरण अनुसार प्रदेशमा करिब दुई लाख दुई हजार दुई सय हेक्टर जमिन वनजङ्गलले ढाकेको छ, तर संरक्षण नहँदा पाँच हजार छ सय ९२ हेक्टर वनको जमिन अतिक्रमण भएको जनाइएको छ ।

४ लाख ५० हजार घुससहित वडाध्यक्ष पक्राउ

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ बसहियाका वडाध्यक्ष उपेन्द्र सहनी घुसको रकमसहित पक्राउ परेका छन् । घरजग्गा बाटोको सिफारिस गरिदिने भन्दै एकजना सेवाग्राहीसँग लगभग ४ लाख ५० हजार रुपैयाँ घुससहित सहनी पक्राउ परेका हुन् । उनी संगै वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डलसमेत पक्राउ परेका हुन् ।

वडाध्यक्ष सहनीसंगै घुस लिने विषयलाई लिएर वडासचिव साह र कार्यालय सहयोगी विजयको समेत संलग्नता रहेकाले उनीहरूलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ०८ बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट