टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि... | Khabarhub Khabarhub

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि…


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–  प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गिएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ ।

रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो । टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेको बताए ।

‘पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि बिदा मनाउन टोड्के आउनेको लर्को लागेको छ’, उनले भने, ‘टोड्केको दायाँ र बायाँ रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।’

मङ्गला–२ सहश्रधारादेखि नवविवाहित श्रीमतीलाई लिएर आइतबार टोड्के आएका आरुस किसानले स्वच्छ हावापानी र शान्त वातावरणले तन, मन चङ्गा बनाएको अनुभव सुनाए । ‘गुराँस, चराको चिरविर आवाज र हिमालको दृष्यले लठ्ठै बनायो’, उनले भने ‘हिमाल हेर्दै गुराँससँग रमाउँदा दिन बितेको पत्तै भएन ।’

गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने मङ्गला गाउँपालिका–१ पूर्णगाउँका ७० वर्षीय दुर्गादत्त आचार्यले बताए  । टोड्केमा गाडा रातो र रातो रङको गुराँस पाइन्छ ।

गुराँसको फूलबाट जुस बनाउनका लागि अध्ययन गर्न काठमाडौँबाट केही दिनमा प्राविधिक टोली टोड्के आउन लागेको होटल व्यवसायी भीम शेरचनले बताए ।

गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो ।

हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमीका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ ।

डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्य पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि रहेको छ ।

टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको छ । सो ठाउँमा यस वर्ष गुराँस पार्क बनाउन रु पाँच लाख बजेट विनियोजन भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ ।

टोड्के घुमेर फर्कदा याममा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ । बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर)बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दूरीको सडक प्रयोग गर्न सकिन्छ ।

२९ किलोमिटर दूरीको बेनी–सिम–कुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवतजावत गर्ने क्रममा प्राकृतिक उपचारस्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किलोमिटर दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिकस्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ ।

पैदलयात्रा गर्न चाहनेका लागि बेनीदेखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरबार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् ।

धौलागिरि हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँपूर्णगाउँबाट एक घन्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे (घरवास)को सुविधा छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : ०४ बजे

इरानी तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटहरुमा

बागमतीका मुख्यमन्त्री र मन्त्रीले बाढी प्रभावितलाई १५ दिनको तलब दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित मन्त्रीहरूले बाढी प्रभावितलाई १५

भारतको मेघालयमा बाढीपहिरो, दश जनाको मृत्यु

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

भक्तपुर – नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय

‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात्‌ महामारीजन्य