अर्थसंक्षेप : बागमतीका मेयरलाई भष्ट्राचारको मुद्दादेखि नेप्सेमा सकारात्मक सर्किटसम्म   | Khabarhub Khabarhub

अर्थसंक्षेप : बागमतीका मेयरलाई भष्ट्राचारको मुद्दादेखि नेप्सेमा सकारात्मक सर्किटसम्म  


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भारत कुमार थापासहित ६ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । यता कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ ।

यस्तै, ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने भएको छ भने बजारीकरण (मार्केटिङ) देखि खर्चका शीर्षकमा एनसेलले अर्बौँ रुपैयाँ बराबरको कर छली गरेको हुनसक्ने देखिएको छ ।

सरकारले प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ । विदेशी निर्माण कम्पनी तथा ठेकेदारले जिम्मा लिएका नेपालका अधिकांश ठूला आयोजना समस्यामा पर्ने गरेका छन् । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २१ सय बिन्दु पार गरेको छ ।

हेर्नुहोस् आजका प्रमुख आर्थिक समाचारहरू :

बागमतीका मेयरसहित ६ जनाविरुद्ध ३० करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भारत कुमार थापासहित ६ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । अख्तियारले मेयर थापासहित ६ जनाले संघीय सरकारको स्वीकृति बिना माछा पोखरी (भारत ताल) निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार  ८९७ रकम अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।

संघीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृत विना अनधिकृत रूपमा माछा पोखरी निर्माणको लागि भनी ढुंगा गिट्टी बालुवा (वन पैदावार) उत्खनन गर्नको लागि प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएको भन्ने गलत लिखत तयार गरी/गराई सोपश्चात बागमती नगर कार्यपालिकाबाट उक्त माछा पोखरीको प्रोजेक्ट रिपोर्ट तयार गरेको अख्तियारले जनाएको छ ।

कोशीका ४५ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ । त्यस्तै हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार पाँच सय ९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६ दशमलव ०६ प्रतिशत अर्थात् एक हजार आठ सय ६२ वटा शाखा छन् ।

बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेपको सात दशमलव १३ प्रतिशत अर्थात्  चार खर्ब ४१ अर्ब बराबर कोशी प्रदेशमा छ । त्यस्तै कूल कर्जाको ११ दशमलव २६ प्रतिशत अर्थात्  पाँच खर्ब ७२ अर्ब ऋण कोशी प्रदेशमा विस्तार भएको छ । अहिले समग्र बैंकिङ प्रणालीबाट  ६१ खर्ब ८७ अर्ब बराबर कर्जा र ५० खर्ब ८४ अर्ब बराबर कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने

ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने भएको छ । ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरी कार्यान्वयनमा ल्याउने र छुट्टै ड्राइभिङ लाइसेन्स नचाहिने गरी काम भइरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अहिले सवारी चालक अनुमति पत्रको विवरण राष्ट्रिय परिचयपत्रमा जोड्ने प्राविधिक काम भइरहेको र १÷२ दिनमा नै टुगिंने बताए ।

राज्यको खर्च कटौती र सवारी चालकलाई सहज हिसाबले अनुमतिपत्र वितरण गर्न सो कार्यको थालनी गरिएको रिजालले बताए । उनका अनुसार सरकारले आउँदो साउन १ देखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नै छापिने छैन ।

प्रचार खर्चमा एनसेलले अर्बौँ रुपैयाँ कर छलेको आशंका

बजारीकरण (मार्केटिङ) देखि खर्चका शीर्षकमा एनसेलले अर्बौँ रुपैयाँ बराबरको कर छली गरेको हुनसक्ने देखिएको छ । समान प्रकृतिको खर्चलाई भिन्नभिन्न शीर्षकमा देखाएर एनसेलले अर्बौैं बराबरको कर छली गरेको हुन सक्ने महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदनमा औँल्याइएको छ ।

एनसेलले बजारीकरणसँग सम्बन्धित खर्चलाई चार शीर्षकमा देखाएर दोहोरो खर्च दाबी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाको ६१औं प्रतिवेदनमा आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ मा एनसेलले बजारीकरण खर्चमा दोहोरो दाबी गरेको भन्दै कर र त्यसमा लाग्ने ब्याज समेत निर्धारण गर्नुपर्ने बताएको छ ।

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी

सरकारले प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्माणार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए ।

विदेशी कम्पनीले हात पारेका ठूला परियोजनामा सधैँ ढिलाइ

विदेशी निर्माण कम्पनी तथा ठेकेदारले जिम्मा लिएका नेपालका अधिकांश ठूला आयोजना समस्यामा पर्ने गरेका छन् । विदेशी निर्माण कम्पनीलाई सुम्पेका सडक पूर्वाधार, सिँचाइ, पुल, सुरुङमार्गलगायत आयोजनामा यस्तो समस्या देखिएको हो । विभिन्न कारण देखाएर विदेशी निर्माण कम्पनीले विकासे परियोजना निर्माणमा ढिलाइ र अलपत्र पार्ने गरेका हुन् ।

संघीय राजधानी काठमाडौंमै दोस्रो चरणको चक्रपथ विस्तारको काम चिनियाँ कम्पनीका कारण अड्किएको छ । विगत डेढ वर्षअघि नै आयोजनास्थल (कलंकीदेखि बसुन्धराचौकी) सम्मको पूर्वतयारीका काम सकिए पनि चिनियाँ पक्षकै कारण आयोजना अहिले खण्डहर जस्तै बनेको छ ।

२ वर्षमै थपिए ८९ लाख वालेट प्रयोगकर्ता

 पछिल्लो दुई वर्षमा डिजिटल कारोबार बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंककाअनुसार झन्डै २ वर्षको अवधिमा मात्रै ८९ लाख ३९ हजार १२९ जनामा थप वालेटको पहुँच पुगेको हो । वि।सं २०७९ असार मसान्तसम्म वालेटका प्रयोगकर्ताहरूको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ जना थियो । वालेटका प्रयोगकर्ता २०८१ बैशाखमसान्तसम्म आइपुग्दा २ करोड २६ लाख १५ हजार १२२ जना पुगेका हुन् ।

वालेटबाट समीक्षा अवधिमा १७ अर्ब १७ करोड बराबरको कारोबार भएकोमा झन्डै २ वर्षपछि कारोबार रकम बढेर २८ अर्ब ४३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, मोबाइल बैंकिङका प्रयोगकर्ता पनि बढेका छन् । २०७९ असारमा १ करोड ८३ लाख ७ हजार मोबाइल बैंकिङका प्रयोगकर्ता रहेकोमा २०८१ वैशाखसम्म आइपुग्दा २ करोड ३७ लाख ९७ हजार पुगेको देखिन्छ । २०७९ असारसम्म १६ लाख ८४ हजार इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८१ बैशाखसम्ममा १९ लाख ३८ हजार ८८८ जना पुगेका हुन् ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ता यो झन्डै दुई वर्षमा साढे २ लाखभन्दा बढी देखिएका हुन । २०७९ असारमा मोबाइल बैंकिङमार्फत् १ खर्ब ६३ अर्ब २५ करोडको कारोबार भएकोमा २०८१ बैशाखमा आइपुग्दा ३ खर्ब २० अर्ब १९ करोड बराबर कारोबार पुगेको हो ।

सो अवधिमा कनेक्ट आइपीएस प्रयोगकर्ताहरू पनि बढेका छन् । समीक्षा अवधिमा ८ लाख ९६ हजार प्रयोगकर्ता रहेकोमा २०८१ वैशाखसम्म १२ लाख ५१ हजार पुगेका हुन् । यो दुई वर्षमा कनेक्ट आइपीएसमा साढे २ लाख प्रयोगकर्ता बढेका हुन् । २०७९ असारमा ३ खर्ब ६९ अर्ब २२ करोडको कारोबार भएकोमा २०८१ वैशाखसम्म आइपुग्दा कारोबार बढेर ५ खर्ब २२ अर्ब ७० करोड पुगेको हो ।

सो अवधिमा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता समेत बढेका छन् । २०७९ असारमा १ करोड ८ लाख प्रयोगकर्ताको पहुँचमा पुगेको डेबिट कार्ड २०८१ वैशाखसम्म आइपुग्दा १ करोड २७ लाख पुगेको हो । डेबिट कार्डमार्फत् २०८१ बैशाखमा ९७ अर्ब १२ करोड बराबरको कारोबार भएको हो । २०७९ असारमा डेबिट कार्डमार्फत ८३ अर्ब २० करोड बराबरको कारोबार भएको थियो ।

त्यस्तै, २०७९ असारमा २ लाख ३८ हजार जनाको पहुँचमा रहेको क्रेडिट कार्ड २०८१ वैशाखसम्म आइपुग्दा बढेर २ लाख ८६ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ । २०७९ असारमा १ अर्ब ४९ करोड कारोबार भएकोमा २०८१ वैशाखसम्म आइपुग्दा कारोबार बढेर १ अर्ब ८९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

नेप्सेले पार गर्‍यो २१ सय बिन्दु, शेयर बजार ३३.१५ अंकले बढ्यो

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २१ सय बिन्दु पार गरेको छ । शेयर बजार लगातार दोस्रो दिन पनि बढेर नेप्सेले २१ सय बिन्दु पार गरेको हो ।  सोमबार नेप्से ८.९० अंकले बढेर बन्द भएको थियो । आज पनि नेप्सेको बढ्ने क्रम जारी रहेको छ । आज मंगलबार नेप्से ३३.१५ अंकले बढेको छ । आज नेप्से १.५९ प्रतिशतले बढेर २११५.२४ विन्दुमा पुगेको छ ।

आज ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक किनबेच भएको छ । मंगलबार ३११ वटा कम्पनीको शेयर कारोबार हुँदा २०३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ६ : २४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको