अर्थसंक्षेप : भष्ट्राचारमा दोषी ठहरिएका इन्जिनियरलाई ६ वर्ष कैददेखि लघुवित्त पीडितको आन्दोलनसम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : भष्ट्राचारमा दोषी ठहरिएका इन्जिनियरलाई ६ वर्ष कैददेखि लघुवित्त पीडितको आन्दोलनसम्म


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष जेल सजाय तोकेको छ । पिपुल्स इनर्जी लिमिटेडले शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रह्यो ।

साताको अन्तिम शेयर कारोबार नेपाल स्टक एक्सजेञ्ज(नेप्से) बिहिबार नेप्से ९.३२ अंकले घटेको छ । त्यस्तै, अत्यधिक गर्मी कारण विद्युत् खपत अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनाको निर्धारित निर्माणकार्यको म्याद सकिन लागे पनि अझै ३५ प्रतिशत निर्माणकार्य बाँकी रहेको छ ।

सरकारले आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै लघुवित्तपीडित संघर्ष समितिले पुनः आन्दोलन गर्ने जनाएको छ ।

यी हुन् आजका प्रमुख आर्थिक समाचारहरु :

भ्रष्टाचार मुद्दामा दोषी ठहर लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष जेल सजाय तोकिएको छ । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मु्द्दामा गत जेठ २४ गते दोषी ठहर भएका भट्टराईको सजाय र जरिवाना विशेष अदालतले बिहीबार निर्धारण गरेको हो ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार भट्टराई ठेकेदारसँग लिएको ८० लाख रुपैयाँ घुस प्रकरणमा ६ वर्ष जेल सजाय तोकेको हो ।

खिम्ती–२ जलविद्युतको शेयर व्यवस्थापनमा नागरिक लगानी कोषले गर्ने

पिपुल्स इनर्जी लिमिटेडले शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । पिपुल्सले सर्वसाधारणमा जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो ।

त्यससम्बन्धी सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् । पिपुल्स इनर्जीले रामेछापको खिम्ती खोलामा निर्माण गरिरहेको ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनाको जारी पुँजी ३ अर्ब ३० करोड रुपैयाँमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण शेयरमध्ये सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोषका लगानीकर्ता र कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरले उक्त शेयरको मूल्य ६६ करोड रुपैयाँ छ ।

गर्मी बढ्दा विद्युत लोड धान्नै मुस्किल, बुधबार साँझ हालसम्मकै उच्च खपत

अत्याधिक गर्मीका कारण मुलुकभर विद्युत खपत अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार (जेठ ३० गते) साँझको पिक आवरमा मुलुकभर विद्युत् खपत २ हजार १७६ मेगावाट पुगेको छ । जुन विद्युत लोड विगतका वर्षको गर्मीयाम र लक्ष्मीपूजाको भन्दा निकै बढी हो ।

विगत वर्षको गर्मीयाममा यस पटक जस्तो विद्युत लोड थिएन । सबैभन्दा बढी लोड खपत हुने पर्व लक्ष्मीपूजाको राति पनि अधिकतम् लोड १ हजार ९०० मेगावाट पुग्ने गरेको थियो ।

तर, यसपालीको गर्मीमा विद्युत् लोडले सबै रेकर्ड तोडेको हो । पछिल्ला दिनमा देशभर गर्मी बढेकाले विद्युत् लोड व्यवस्थापन गर्न समस्या परिरहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले खबरहबलाई बताए । बिजुलीको लोड र खपत अहिलेसम्मकै उच्च रहेको उनले बताए ।

सुपर न्यादीको ३५ प्रतिशत काम बाँकी

निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनाको निर्धारित निर्माणकार्यको म्याद सकिन लागे पनि अझै ३५ प्रतिशत निर्माणकार्य बाँकी रहेको छ ।

सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको आगामी असारभित्रमा सम्पन्न गर्नुपर्नेमा अझै उक्त प्रतिशत काम बाँकी रहेको हो । यो आयोजनाको दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता गर्दै अघि बढे पनि हालसम्म ६५ प्रतिशतमात्र निर्माण सम्पन्न भएको उक्त आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङले बताए ।

लघुवित्तपीडित संघर्ष समितिले पुनः आन्दोलन गर्ने

सरकारले आफुहरुसंग गरेको सहमति कार्यान्वयन नगरेको लघुवित्तपीडित संघर्ष समिति पुनः आन्दोलन गर्ने जनाएको छ । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले दुई महिनाभित्रै समस्या समाधान गर्ने गरि सहमति गरेपनि सहमति कार्यान्वयन गर्न वेवास्ता गरेको भन्दै आन्दोलन गर्ने जनाएको हो ।

संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले सहमति विपरित लघुवित्तपीडितलाई कालोसूचीमा राख्ने, धितो लिलामको धम्की दिने लगायतका काम भएकाले पुनः आन्दोलन गर्ने तयारी गर्नुपरेको जानकारी दिए । उनले असार १५ गतेसम्म आफूहरूको माग पुरा नभए असार १६ गतेदेखि वित्तिय संस्थाहरुविरुद्ध देशव्यापी मसाल जुलुससँगै विद्रोहमा जाने कार्यक्रम तय भएको बताए ।

बिहीबार नेप्से ९ अंकले घट्यो, कारोबार साढे ६ अर्ब

साताको अन्तिम शेयर कारोबार नेपाल स्टक एक्सजेञ्ज –(नेप्से) घटेको छ । नेप्से घटेको भएपनि कारोबारमा भने उछाल आएको छ । बिहिबार नेप्से ९.३२ अंकले घट्दा पनि कारोबार भने करिब साढे ६ अर्बको भएको छ । बिहीबार नेप्से ०.४३ प्रतिशतले घटेर २११२.२९ बिन्दु कायम भएको छ ।

आज ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँ बराबरको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ७७ हजार ४०० पटक किनबेच भयो । जसमा ३१३ कम्पनीको शेयर कारोबार हुँदा ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

सुनको मूल्य स्थिर

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि बुधबार पनि सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ६ : ३३ बजे

अजिरकोटका विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क

काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०-८१ मा रु आठ करोड

धरानमा ‘ग्रीन एण्ड क्लिन’ अभियान सुरु

धरान– धरानमा नेपाली कांग्रेसले ‘ग्रीन एण्ड क्लिन’ अभियान सुरु गरेको

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

त्रिवेणी– मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।