लिम्बूनी माइली र ‘गोरा’को लभ स्टोरी ! « Khabarhub

लिम्बूनी माइली र ‘गोरा’को लभ स्टोरी !

प्रेमगीत लेख्ने छत्र साङपाङको वियोगान्त निधन


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इतिहासका अध्येता, लेखक तथा तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङले यो साता धनकुटा जिल्लाका केही गाउँको यात्रा गरे । तमोर गड्तीरको यात्राका क्रममा उनले एकजना स्थानीय लिम्बू युवती र बेलायती नागरिक (जसलाई गाउँलेले गोरा भन्छन्) बीचको पुरानो प्रेमकहानी सुनेछन् ।

मेयर माबुहाङले इतिहासको त्यो रोचक प्रेमकथालाई दुबैको तस्बिर फेसबुकमा यसरी पोस्ट गरे–

योचोटि मिवाखोला जाँदा साहित्कार, समाजसेवी तथा पहिचानवादी राजनीतिक अभियन्ता मिलन नाल्बो ‘गोठाले’ले धरान–धनकुटाको बाटो (सडक) खन्दा धनकुटाको फलामेटारमा गोरा र लिम्बूनी माइलीको लभ परेको कहानी सुनाए ।

सम्भवतः लिम्बूनी माइली रक्सी पैकारी (व्यापारी) थिइन् कि ? त्यस्तै गोरा धरान–धनकुटा बाटोको सुपरभाइजर ।

गोराले भनेको लिम्बूनी नबुझ्ने । लिम्बूनीले भनेको गोराले नबुझ्ने ।

अनि त एकदिन गोरा र लिम्बूनी माइली फलामेटारबाट भागेपछि यस्तो गीत बनेछ–

लिम्बूनी माइली ‘पेगिरो’ भन्छ ‘गो’ भन्छ गोराले ।
आँखैको चालमा भगाई लग्यो त्यो खैरे मोराले ।।

मेयर माबुहाङ अपूर्ण गीतलाई पूर्णता दिन आग्रह गर्दै फेसबुकमा लेख्छन्, ‘अरु सुन्नुभएको छ भने थप्नुहोला ।’

माबुहाङले गोरा र युवतीको तस्बिरसहित सामाजिक सञ्जालमा स्टाटस लेखेपछि यो पुरानो इतिहासबारे विभिन्न रोचक पक्षहरु कमेन्टमा आएका छन् ।

लिम्बु मिलनले गीतमा अर्को अन्तरा थपेका छन्–

झिली र मिली बत्ती है बल्यो, तामाको तारबाट ।
लिम्बुनी माइली पोइला गयो फलामेटारबाट ।

अनुप सुब्बा सच्याउँछन्–

सरमा सर बिजुली बग्यो, ताँबाको तारबाट ।
लिम्बूनी माइली गोराले लग्यो फलामेटारबाट ।

गीत सुन्नेहरुले फेसबुकमा थप प्रमाणहरु पेश गरेका छन् ।

डिल्ली लिङदम ०३६/०३७ सालतिर दाजुहरुबाट गीत सुनेको बताउँदै थप्छन्–

लिम्बुनी माइली ना आँबे भन्थिन् गोराले भन्थ्यो गो !
यी दुईजनको मायाजाल बस्यो आँखाको चालमै हो !

हरि सुब्बा भन्छन्, ‘प्रेम फागो, कुरुले धनकुटा, उहाँ यो गीत बेलाबेला गाइरहनुहुन्छ । उहाँहरूबाटै लिम्बूनी माइली र धरान–धनकुटा रोडमा काम गर्ने ब्रिटिस गोराको प्रेम विवाह भएको सुनेको हो । थप गीत थाहा छैन ।’

पदम भुजेल भन्छन्, ‘मैले पनि यो गीत सुनेको थिएँ ।’

शान्तिला श्रीपाली भन्छिन्, ‘गीतचाहिँ थाहा छैन, माइतीका छोराचाहिँ आमा खोज्दै आएका थिएँ । अहिले त माइली अंग्रेजी बोल्छिन् ।’

मेयर माबुहाङको स्टाटसमा दिलबहादुर लिम्बुले कमेन्ट लेखेका छन्–

‘खैरेले त्यो केटी बेलायत ल्याए र नानी पनि जन्म्यो । तर, त्यो केटी लामो समय बस्न सकिन । कारण, भाषा र त्यहाँको रहन सहनसँग बस्न सकिन । र, छोरालाई युकेमै राखिछोडेर आमालाई नेपाल आफ्नै पुरानो गाउँमा ल्याई राखीछाडे ।

धेरै सालपछि आमालाई भेट्न छोरा भेडेटार स्व. कुलबहादुर तबेबुङ को होटेलमा आई सबै भेटघाट र जानकारी लिएर देश फर्के । अहिले केबी तबेबुङ हुनुहुन्न । तर, वहाँका दाजु रनवीर हुनुहुन्छ । शायद वहाँलाई धेरै कुरा थाहा होला । दुबै दाजुभाइ भूपू, Ex QGE का समाजसेवी हुन् ।

मूलघाटको पुलबाट खसेर गीतकारको मृत्यु

धनुटाबासीका अनुसार बेलायती नागरिक र लिम्बूनी माइलीको प्रेम बिबाहबारे गीत लेख्ने व्यक्ति हुन्– छत्रबहादुर साम्पाङ । कसैले उनलाई छत्रमुखी साम्पाङ पनि भन्ने गरेका छन् ।

‘नजम ताबेबुङ म्यान’ नामक फेसबुकबाट गीतकारबारे कमेन्ट आएको छ–

‘यो गीतका रचनाकारलाई मैले ०४६ सालमा धनकुटा पढ्न झर्दा सीएमए क्याम्पसको प्रवेश गेट अगाडि वहाँकै घरमा भेटेको थिएँ । वहाँको चियानास्ता पसल थियो । वहाँकी श्रीमतीलाई हामी फुपू भन्ने गर्द्थ्यौं । वहाँ साम्पाङ थरका हुनुहुन्थ्यो । वहाँले कविता, गीत संग्रह नै निकाल्नुभएको थियो । त्यसमा यो माथिको लाइन पनि थियो र उक्त गोरा र लिम्बुनीको कहानी पनि सुनाउनुभएको थियो ।’

‘छथरेनी लिम्बुनी’ लेख्छिन्,‘यो गीतका रचनाकारको अस्ति मूलघाटको पुलबाट खसेर मृत्यु भयो । उहाँ मेरो साथीको ससुरा हो ।’

त्यसपछि हामीले इन्टरनेटमा सर्च गर्‍यौं । ०७९ कात्तिकमा ‘मूलघाटको पुलबाट खसेर एक वृद्धको मृत्यु’ भन्ने समाचार भेटियो । मृत्यु हुनेमा ८० वर्षीय उनै गीतकार साम्पाङ रहेछन् ।

पूर्वेली न्युजमा यस्तो समाचार भेटियो–

धनकुटाको मुलघाटस्थित तमोर पुलबाट खसेर एक बृद्धको मृत्यु भएको छ । पुलमा हिँड्ने क्रममा नदीको बगरमा खस्दा स्थानीय छत्रमुखी साम्पाङको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार (०७९ कात्तिक १३ गते) बिहान करिब १०.४५ बजे पुलमा हिडिँरहेका बेला अचानक पुलबाट बगरमा खसेर उनको मृत्यु भएको स्थानीयले जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  २ : ०९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्