संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यक छ : सभामुख घिमिरे | Khabarhub Khabarhub

संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यक छ : सभामुख घिमिरे


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गरेका छन् ।

अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आयोजित समारोहमा उनले संविधानले परिकल्पना गरेअनुसार संसदीय ऐन बनाउने काममा तीव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहलकदमीको आवश्यकता औँल्याए ।

‘समयसापेक्ष ऐन निर्माण गरेर त्यसलाई कार्यान्वयन गर्न सबैको साथ र सहयोग जुटाएर पहलकदमी लिन जरुरी छ’, सभामुख घिमिरेले भने । सीमित साधन, स्रोतकाबीच पनि संसद् सेवाका कर्मचारीले सम्पादन गरेको कार्यको प्रशंसा गर्दै उनले संसद्को महत्त्व साकार पार्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए  ।

‘अपुरा कानुनलाई पूरा गर्ने, आइरहेका चुनौतीलाई सामना गर्नका लागि सुधारका विभिन्न योजना बढाइएको छ, संसद् सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको छ’, सभामुखले भने, ‘संसद् सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने विभिन्न क्षेत्रका कामहरूका सूची तयार गरौँ, यसलाई प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिकालाई सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्छ ।’

संसद्को गरिमालाई उँचो बनाउन गरिएका प्रयत्न र प्रयास अपुग भएका उल्लेख गर्दै सभामुख घिमिरेले जनताको सर्वोच्च संस्था संसद्को गरिमा जति बढ्न सक्यो, यसको कामकारबाही त्यति प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘संसद्को कामकारबाही जति प्रभावकारी हुन्छ, सरकारका गतिविधि र जनताले पाउने परिणाममा बढोत्तरी हुन्छ । संसद्लाई प्रभावकारी बनाउने, राज्यलाई निर्देशित गर्ने, कानुन निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने खाँचो छ’, उनले भने ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनता, सरकार र संसद्को सहकार्यलाई प्रभावकारी तथा संसद्लाई राष्ट्रिय हितका मुद्दामा एकताबद्ध बनाउन र जनतामा संसद्प्रति विश्वास कायम राख्न संसद् सेवाका कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताए । एकात्मक शासन व्यवस्था रहेको अवस्थामा स्थापना भएको संसद् सेवा आज सङ्घीय शासन प्रणालीअनुसार सञ्चालन गर्दा थुप्रै चुनौती र अप्ठ्यारा देखिएका उल्लेख गर्दै उनले समयानुकूल संसद् सेवाको पुनः संरचना गर्न आवश्यक भइसकेको उल्लेख गरे  ।

‘यसका लागि विद्यमान कानुनी व्यवस्था, परीक्षा प्रणाली, कर्मचारीलाई दिइने सेवा सुविधा र संरचनामा पनि परिमार्जन गर्नुपर्छ’, अध्यक्ष दाहालले भने, ‘संसद्लाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउन संसद् सेवालाई समयानुकूल परिमार्जन गर्न अब ढिलाइ गर्नुहुँदैन ।’

संसद्का हरेक गतिविधिमा जनताको सहज पहुँच र सहभागितालाई कसरी बढाउने भन्नेतर्फ विशेष ध्यान दिइनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संसद्का गतिविधिमा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न अनलाइनबाट जनताको राय सङ्कलन र प्रश्नहरूको जवाफ दिने प्रणाली लागू गर्नु उचित हुने बताए ।

विधेयक निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको प्रक्रियालाई सहज र द्रुत बनाइ गुणस्तरीय कानुन निर्माणमा धेरै मेहनत गर्न जरुरी रहेको बताउँदै अध्यक्ष दाहालले संसद्को प्रभावकारिताका लागि संसद्भित्र अनुसन्धानात्मक प्रणालीलाई बलियो बनाउन संसदीय अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनप्रतिनिधिले गर्ने कामलाई संवैधानिक हिसाबले व्यवस्थित गर्ने जिम्मेवारी संसद् सेवाका कर्मचारीको भएको उल्लेख गर्दै निजामती सेवा ऐन संशोधनका क्रममा संसद् सेवाका कर्मचारीको भावनालाई सम्बोधन गरिने बताए  ।

संविधान कार्यान्वयनमा आवश्यक ऐन कानुनलाई अद्यावधिक गर्न सरकार केन्द्रित भएको जानकारी दिँदै मन्त्री चौरसियाले कानुन निर्माणमा संसद् र सचिवालयको कर्मचारीको भूमिका थप बढेर गएको उल्लेख गरे ।

उपसभामुख इन्दिरा रानाले जनप्रतिनिधि र संसद् सचिवालयका कर्मचारीबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै दुई पक्षको एकताबद्ध प्रयासबाट मात्रै उल्लेख्य परिणाम हासिल गर्न सकिने बताइन् । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड दिइन् ।

मुख्यसचिव एकनारायण अर्यालले संसद् सेवाका कर्मचारीको मनोबल उच्च राख्न, संसदीय गतिविधिमा बढी जिम्मेवार बनाउन र क्षमता अभिवृद्धिमा सरकार गम्भीर रहेको जनाउँदै निजामती सेवा विधेयकमा संसद्का कर्मचारीको वृत्ति विकासलाई उचित ढङ्गबाट सम्बोधन गरिने विश्वास दिलाए  ।

मुख्यसचिव अर्यालले कानुन निर्माण, सरकारलाई जनताप्रति उत्तरदायी बनाउँदै असल शासन कायम गर्न र सरकारलाई खबरदारी गर्न संसद्को महत्त्वपूर्ण भूमिका रहेको बताए ।

संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेलवासेले कर्मचारी मैत्री र संसद् सेवालाई प्रभावकारी बनाउने योजना ल्याउन आग्रह गर्दै डेढ दशकदेखि संशोधन हुन नसकेका कानुन र छरिएर रहेका ऐनलाई एकीकृत गरी सेवामैत्री कानुन बनाउन सुझाव दिए  ।

संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले संसद् सेवा दिवसका अवसरमा सप्ताहव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरिएको जानकारी दिए  ।

यस वर्ष संसद् सेवा दिवसको मुख्य नारा ‘लगनशीलता र कर्तव्यनिष्ठता: संसद् सेवाको प्रतिष्ठा’ तय गरिएको थियो । कार्यक्रममा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले संयुक्त रूपमा सचिवालयले प्रकाशन गरेको स्मारिका विमोचन गरेका थिए ।

कार्यक्रममा उपसचिव ओमबहादुर कार्कीलाई सर्वोत्कृष्ट, कम्प्युटर प्रोगामर करणबहादुर भाट उत्कृष्ट तथा सवारी चालक शङ्कर भण्डारी र माली बिन्दा भट्टराईलाई संसद् सेवा पुरस्कार प्रदान गरिएको थियो ।

समारोहमा संसद् सेवामा २५ वर्ष निरन्तर सेवा गर्नुभएका उपसचिवद्वय उदयकुमार भण्डारी र दशरथ धमला, प्राविधिक अधिकृत केशवराज भट्टराई, शाखा अधिकृत नारायणबहादुर कार्की, ओभरसियर निलम शाह र हलुका सवारी चालक (पाँचौँ) सानुकाजी महर्जनलाई दीर्घ सेवा पदक र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा सेवा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट भएकालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ३ : २७ बजे

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनः निर्माण हुन बाँकी

ललितपुर– विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा

पोखरामा जस्तै धरौटीको बैंक ग्यारेन्टी मिलेपछि रिहा भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला

राज्यमन्त्री चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो

काठमाडौं- सर्वोच्च अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवम्

ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार

काठमाडौं- काठमाडौंको ठमेलबाट भारतीयहरूको समूहले एकजना चिनियाँ नागरिकलाई अपहरण गरेका

सबै प्रदेशमा आपत्कालीन गोदाम घर हस्तान्तरणको तयारी : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो