नक्कली चाबी बनाउने भन्छन्- ‘चोरको उपचार त हामीसँग पनि छैन’ « Khabarhub

नक्कली चाबी बनाउने भन्छन्- ‘चोरको उपचार त हामीसँग पनि छैन’



काठमाडौं–  ताला व्यापारीको घरमा चोरी होला कि नहोला ? यो व्यङ्ग्यसँगै एउटा रसिक जिज्ञासा पनि हो । सक्कली चाबीका मालिक नै नक्कली चाबी बनाउन किन धाउँछन् ? शहर बजारमा देखिने नक्कली चाबी बनाउने मिस्त्रीले खोलेको सामान्य वर्कसपभित्र अनगिन्ती प्रश्न जन्मिएका हुन्छन् । सामाजिक सुरक्षा, समाजको मनोदशादेखि लिएर बढ्दो तनावले ‘होसप्रसादहरु’ बढ्दै गएको छनक ती पसलमा बढ्दो भीडले दिन्छ ।

अहिले मानिसका रुचि यान्त्रिक बने सँगै समस्या पनि थपिएका छन् । मोबाइल हराएर, पासवर्ड बिर्सिएर खालखालका बैंकिङ समस्या बेहोर्ने अनगिन्ती भइहाले । अर्कातिर दैनिक जीवनमा टाउकोमा चस्मा सिउरेर घन्टौ चस्मा खोज्ने, कोठाभित्र चाबी छोडेर बाहिर हतारमा अटोमेटिक ताल्चा लगाउने । पार्किङमा सवारी साधनमै चाबी छाड्ने समस्या त कति हो कति । दराज र लकरभित्र दराजको चाबी छोड्ने देखि चोरले घर पुरै बढारेपछि मिस्त्री गुहार्न पुग्नेको संख्या पनि उत्तिकै छ ।

त्यसो त चाबीलाई धेरैले सम्बन्धसँग पनि जोडेर भन्ने गर्छन् कि ’सम्बन्ध निभाउन त चाबीबाट सिक्नुहोस् उ टुट्छ  तर अर्को सम्बन्ध फेर्दैन ।’ अझ अर्कोथरि भन्छन्– हम्मरले नखुलेको ताला सानो साँचोले खोल्छ । कसरी ? उसले ‘सल्लाह’बाट त्यो काम फत्ते गर्छ । त्यही चाबी बनाउने व्यावसायिक पसलहरू काठमाडौँमा यत्र, तत्र भेटिन्छन् । हराएको चाबीको समस्या हल गरिदिन यस्ता मिस्त्रीहरू हाजिर छन् ।

कतै जाँदा चाबी बिर्सिनु भयो वा चाबी हरायो । यसको विकल्पका  रूपमा नक्कली चाबी बनाउने ठाउँहरू प्रशस्तै मात्रामा खुलिसकेका छन् ।
काठमाडौंको न्यूप्लाजामा ३३ वर्ष देखि सञ्चालनमा छ– की  हाउस । ४ जना नेपाली युवालाई रोजगारी दिएर टिकेको एक सानो कम्पनी भन्दा पनि फरक नपर्ला । यहाँ चाबीको आकार अनुसार ५ देखि १० मिनेटमा कपि चाबी तयार हुन्छ ।

त्यही १९ वर्षदेखि ताला, चाबी बनाउन लागेका उदय चौधरीको दैनिकी र परिवार यसैले धानेको छ । कामको खोजीमा उपत्यकामा निस्किएका चौधरी यसैमा लागेर सुरुमा महिनाको दुई हजार कमाएको अनुभव सुनाउँछन् । तर अहिले परिवार यसैले पालेको उनी बताउँछन् ।

’घरको ढोकामा लगाउने तालाको साँचो मात्र हैन सबै प्रकारका तालाको साँचो बनाउने गर्छौँ । हामी मोटरसाइकल, स्कुटर, फोर ह्विलर गाडी, बस, कार, जिप, ट्याक्टरलगायत सबै थरीका चाबी बनाउँछौँ । यसका साथै ब्रिफकेस र बैंक तथा वित्तीय संस्थाका लकर, तिजोरीको चाबी पनि बनाउँछौँ’ चौधरीले भने ।

चाबी हरायो वा भएको चाबीले पुगेन र परिवारका सदस्यहरू सबैले बोक्नु पर्‍यो भने थप चाबी चाहियो भनेर कपी गर्न ल्याउने उनी बताउँछन् । पछिल्लो समय धेरै बाइक स्कुटीहरु हराएको सन्दर्भमा उनी भन्छन्– ‘चाबी छैन भनेर कसैले बाइकहरू ल्याउनु भयो भने त्यसमा हामीले बिलबुक हेरेर मात्रै कपि चाबी बनाउँछौँ । त्यो बाइक उसको हो कि हैन भनेर बिलबुक नम्बरहरू हेरेर मात्रै काम गर्छौँ । बिना बिलबुकको मोटरसाइकलहरूको चाबी बनाउँदैनौँ’

लामो समयदेखि यही क्षेत्रमा कार्यरत भएको कारणले अनुभवका आधारमा कतिपय हेरेर यसलाई यो चाबी लाग्छ भनेर थाहा हुने उनी बताउँछन् । उनको पसलमा दिनमा यति नै मान्छे आउँछन् भन्ने ठेगान छैन । उनी भन्छन्, ’खालि चाही कुनै बेला पनि हुँदैन त्यसमा पनि कुनै दिन त ४० देखि ५० जना सम्म पनि चाबी कपि गर्ने आउनु हुन्छ ।’

उनलाई सोधिएको प्रश्न यहाँबाट चाबी बनाएर जुन घरमा लगियो वा जुन बाइकको नक्कली चाबी बनाएर गइसकेपछि त्यहाँ चोरी भयो भन्ने घटना छन् कि ? उनले जवाफ दिए ’हामीले कस्तो चाबी बनाउन ल्याएको छ भनेर हेरेर नै थाहा पाउँछौँ । कसैले सक्कली चाबी ल्याएर दियो भने हामी त्यसको आकार हेरेर ५० रुपैयाँदेखि २०० रुपैयाँ सम्ममा बनाएर पठाउँछौँ । तर कसैले नक्कली चाबी ल्याएको छ भने उसलाई सोधेर मात्रै बनाउँछौँ ।’

’हामीले कपि गरेर दिएको चाबीमा कुनै पनि डर मान्नु पर्ने अवस्था रहँदैन किनकि हामीसँग त्यसको केही रहँदैन । यहाँबाट चाबी लगेर चोरी भएको भन्ने नै हुँदैन ।’ उनी भन्छन्, ’तर पोहोरतिर बागबजारको एउटा अफिसले स्टाफलाई साँचो दिएर त्यसको एक कपि बनाएर ल्याऊ भनेको रहेछ । त्यो स्टाफ आएर यहाँ दुई कपि बनाएर लग्यो । हामीले नि दुई कपि नै बनाइदियौँ तर त्यसको भोलिपल्ट हामीलाई थाहा भयो राति नै उसले अफिसको चाबी खोलेर ल्यापटप कम्प्युटरहरू चोरेर लग्यो भनेर । तर त्यसमा पनि हाम्रो त के गल्ती ? बनाउन आयो बनाएर पठायौँ ।’

’साँचो भनेको सज्जनको लागि हो किनकि हामीले सुनेका खबरहरूमा पनि चोरले त चाबी फोरेर चोर्‍यो रे भन्ने हुन्छन् नि नक्कली चाबी ल्याएर खोलेर लग्यो रे भन्ने त खासै सुनेको थाहा छैन’ उनले भने ।

चौधरीलाई सोधिएको अर्को प्रश्न थियो– तपाईँले अरूका घरका त धेरै चाबी बनाउनु भएको रहेछ तपाईँको घरमा चाहिँ कहिले चोरी भएको छ त ? उनले मुस्कुराउँदै जवाफ दिए– हामीले चाबी बनाउँछौँ त्यसमा पुरै सुरक्षित र गोप्य हुन्छ ता चाबीको हामीसँग कपि केही नै हुँदैन ।

उपत्यकामा कोठामा बस्ने मान्छेको चाबी हरायो भने घरबेटीको अनुमति लिएर नै चाबी बनाउँछौँ । या त हामीले पहिला घरबेटीलाई सोध्नुहोस् अनि मात्रै बनाइदिन्छौँ भनेर भन्छौँ । किनकि कतिपय घरबेटीले किन मेरो घरको चाबी किन छोइस् सम्म पनि भन्ने गर्छन्’

३३ वर्षको अवधिमा नेता भिआइपीहरूको घरैमा गएर पनि नक्कली चाबी बनाएको उनी बताउँछन् । सिंहदरबार भित्र नेताका घरभित्र गएर पनि दराजका ढोकाका लागि नक्कली चाबी बनाएको अनुभव उनीसँग छ ।

त्यस्तै अर्का २७ वर्षीय रहमान साह । उनी पनि ५ वर्ष देखि चाबी बनाउने काममा नै व्यस्त हुने गर्छन् । मैतीदेवी छेउमा उनको सानो सटर देख्न सकिन्छ । उनले २ वर्ष देखि यही काम निरन्तर गरिरहेका छन् । उनको एउटा खुबी कुनै घरका चाबी हरायो भने त्यो हेरेर नै त्यसको साँचो बनाउन सक्छन् ।

दैनिक कत्तिको ग्राहक आउँछन् भन्ने प्रश्नमा उनी भन्छन्– अहिले त मेरो सटर नयाँ छ धेरै मान्छे आउनु हुन्न ।  नेपालीमा उखानै छ नि आफ्नो चाबी बन्दिलो बनाउनु अरूलाई चोर दोष नलगाउनु भनेर । त्यसैले बिस्तारै यो पसल पनि चल्ला । सामान्यतः ८, १० जना जति हुन्छन् ।’
चाबी नक्कली बनाउने काम सुन्दै अनैतिक जस्तो भएन र ? उदय चौधरी भन्छन्– ’हामीले पसल दर्ता गरेका छौँ । नेपाल सरकारलाई राजश्व पनि समयमै बुझाएका छौँ । केहीमा घटबढ गरेका छैनौँ त यो कसरी अनैतिक भयो ।’

 

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १२ : ४७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था