धार्मिक पर्यटन प्रवर्द्धन गर्दै 'मनिथान' मन्दिर | Khabarhub Khabarhub

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै ‘मनिथान’ मन्दिर


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–३३ आँपु कसेरीस्थित मनिथान मन्दिर दुई सय वर्ष अघिदेखिको इतिहासको साक्षी हो ।

यस क्षेत्रमा बस्ती विकास हुँदादेखि नै स्थापित यस मन्दिरमा प्रत्येक वर्षको फागुपूर्णिमामा विशेष पूजा हुन्छ भने अन्य समयमा पनि भाकलका साथै सामान्य पूजाआजा हुने गरेको छ । फागुपूर्णिमामा स्थानीयले सामूहिक रूपमा पञ्चबलिसहित विशेष पूजा गर्ने गरेका छन् ।

यहाँबाट देखिने पोखरा र लेखनाथ क्षेत्रका ताल तथा पोखरा उपत्यका क्षेत्रको सुन्दर दृष्यले जोकोहीलाई लोभ्याउने गरेको मनिथान संरक्षण समितिका सल्लाहकार शिवबहादुर थापाले बताए । मन्दिर परिसरबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत आधा दर्जन हिमाल एकैसाथ अवलोकन गर्न सकिने उनले जानकारी दिए ।

यहाँ आसपास क्षेत्रका चण्डी देउराली, कोटभैरव, कण्ठदेवी मन्दिर पनि धार्मिक महत्वका तीर्थस्थल हुन् । पृथ्वी राजमार्गका विभिन्न स्थानका साथै सेती नदी, रुपाकोट, पुम्दी तथा नवलपुरका देवचुली, बरचुलीलगायत मनोरम दृश्य यहाँबाट देख्न सकिन्छ । त्यस्तै लामेआहाल, कालिका मन्दिर, हेल्मेट डाँडालगायत स्थानका दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।

मन्दिर वरपरको करिब ३० रोपनी क्षेत्रफलमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । मनिथानको पुरानो मन्दिर नजिकै दुई वर्षअघि नयाँ मन्दिर स्थापना गरिएको छ । यहाँस्थित पुरानो मन्दिरमा शिलाका साथै मौलामा नै पूजा गर्ने गरिएको र नयाँ मन्दिरमा मुक्तिनाथकै स्वरूपमा भगवान् विष्णु एवं लक्ष्मीको मूर्ति स्थापना गरिएको थापाले जानकारी दिए ।

उनका अनुसार मन्दिर परिसरमा तीन वटा वनभोज स्थल (पिकनिक स्पट), खेल मैदान, शौचालय, प्रतिक्षालयलगायत संरचना निर्माण गरिएका छन् । यी संरचना निर्माणमा स्थानीय सरकारसँगै चन्दादाता तथा सहयोगीबाट प्राप्त करिब ५० लाख खर्च भएको सल्लाहकार थापाले बताए । ‘अब यहाँको धार्मिक पर्यटकीय महत्वलाई प्रचारप्रसार, मन्दिरसम्म पुुग्ने बाटोलाई थप व्यवस्थित एवं खानेपानीको सुविधालाई सहज बनाउन सबैको साथ र सहयोग आवश्यक छ’, उनले भने ।

मन्दिरको संरक्षणमा यहाँका गुुरुङ समुदायले विशेष सक्रियता देखाएका छन् भने अन्य स्थानीय जनसमुदायले पनि यसको प्रवर्द्धन र विकासमा योगदान गर्दै आएका छन् । उच्च भूूभाग भएकाले यहाँ लालीगुराँस, विभिन्न प्रजातिका वनस्पति तथा जडीबुटीहरूसमेत पाइन्छन् ।

मोटरबाटोमार्फत मन्दिरसम्म पुग्नका लागि छप्ल्याङ, ठूलोपाखा, मुहानखोला स्कुल, जौबारी, देउराली डाँडा, चिसापानी, कसेरी, आँपु हुँदै मनिथान पुग्ने बाटो रहेको छ भने अर्को लामगादीबाट आँपुभञ्ज्याङ हुँदै पनि यहाँ आउन सकिन्छ ।

एकदिवसीय हाइकिङका लागि पनि उपयुक्त गन्तव्यका रुपमा विकास गर्न सकिने यो ठाउँ छोटो दूरीमा हिँड्न चाहनेका लागि रोजाइमा पर्नसक्ने भएकाले प्रचारप्रसारमा जोड दिनुपर्ने पोखरा महानगरपालिका–३२ बेलबुटेका युवा हरिष्चन्द्र पौडेलले बताए ।

यहाँको लामेआहालको झोलुङ्गे पुलहुँदै पुणिटार–लामगादी सडकको लामगादीबाट भालुढुङ्गा खेत, सामुदायिक बनको सालघारी बाटो, चिसापानी, मन्दलीको थान, कसेरी गाउँ हुँदै मनिथानसम्म पदयात्रामार्फत पुग्न सकिन्छ ।

स्थानीय नवराज घमिरेले पोखराको व्यस्त दैनिकीबाट केही समयका लागि मुक्ति चाहनेहरूले करिब चार घण्टाको पैदल यात्रामै यहाँ पुगेर दृश्यावलोकन गर्न सक्ने अनुभव सुनाए ।

पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा बृहत् पोखराको अवधारणाका साथ आसपासका गन्तव्य प्रवर्द्धन र विकास गर्नसकेमा पर्यटकको बसाइँ अवधि लम्ब्याउन सकिने घिमिरेले बताए । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ११ : २१ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे छलफल हुने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र २५ औं वर्षमा : ऊर्जामन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम

काठमाडौं – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार २५ औं वार्षिकोत्सव

बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै

काठमाडौं – बार्सिलोनाका युवा स्टार लामिन यामालको चोटप्रति मुख्य प्रशिक्षकले

आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी

प्रिमियर लिग : अग्रता जोगाउन नसक्दा सुन्दरल्याण्डसँग एभर्टन बराबरीमा रोकियो

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टन