ढोरपाटन– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा संकलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व संकलन बढ्दो क्रममा छ ।
आव २०७८-७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व संकलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार संकलन भएको थियो । चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जिप र सबैभन्दा कम बस चालकलाई कारबाही गरेको छ । सात हजार दुई सय ९५ कार तथा जीप र एक हजार एक सय ५६ बस चालकलाई कारबाही गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय प्रमुख सुमन निउरेका अनुसार यो अवधिमा पाँच हजार ११ मोटरसाइकल, एक हजार चार सय आठ ट्रयाक्टर, एक हजार दुई सय ६६ ट्रक तथा ट्रिपर र एक सय ५५ अन्य सवारी चालक कारबाहीमा परेका छन् ।
एक वर्षमा जिल्लामा १६ वटा दुर्घटना भएको निउरेले जानकारी दिए । एक बस, आठ जीप तथा कार, ट्रयाक्टर, टेम्पो एक-एक, मोटरसाइकल सात वटा दुर्घटनामा परेका थिए । एक वर्षमा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । गत वर्ष २४ सवारिसाधन दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।
ट्राफिक प्रमुख निउरेले दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमलाई कडाइका साथ पालना गराउँदा यसवर्ष दुर्घटना कम भएको बताए।
प्रतिक्रिया