आजका समाचार : पोखरालाई पर्यटकीय राजधानी घोषणादेखि महरालाई कारबाही गर्ने निर्देशनसम्म | Khabarhub Khabarhub

आजका समाचार : पोखरालाई पर्यटकीय राजधानी घोषणादेखि महरालाई कारबाही गर्ने निर्देशनसम्म


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा, सुन काण्डमा माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन,दीपेश पुनलाई ८ दिन थुनामा राख्न अनुमति, नाउपाले सुदूरपश्चिममा समर्थन कायमै राख्ने, नेपाल टेलिकमका प्राविधिक अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, रास्वपाले मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने, गृहमन्त्रीमाथि प्रहार गरेर सरकार ढाल्ने ध्याउन्नमा कांग्रेस लागेको छ : बर्तौला, जसपा सांसद मञ्जु शर्मा अन्सारीको निधनलगायतका समाचारले प्रमुख स्थान पाए।

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् ।

फेवाताल छेउको बाराहीघाटमा आइतबार आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन् ।

सुन काण्डमा माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन् ।

आइतबार सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सो निर्देशन दिएका हुन् ।

सीआईबीले बुझ्यो सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्व आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो । यसअघि आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आफूले बुझेको उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई ८ दिन थुनामा राख्न अनुमति

सुन प्रकरण तथा सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई जिल्ला अदालत रुपेन्देहीले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

जिल्ला अदालत रुपेन्देहीका सुचना अधिकारी अनन्तराज मरासिनीका अनुसार प्रहरीले आइतबार संगठित अपराधसम्बन्धी कसुरमा पुनलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो ।

नेपाल टेलिकमका प्राविधिक अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएको छ ।

वन अधिकृतसहित २४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आइतबार आयोगले २४ जनाविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

एनआरएनएको नवीकरण प्रक्रिया तत्काल अघि बढ्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली संघको रोकिएको नवीकरण प्रक्रिया तत्काल टुँगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारी निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँगको भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अर्थतन्त्र शिथिल छ, तर सङ्कटमा छैन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि सङ्कटको अवस्थामा भने नपुगेको बताएका छन् । नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अर्थतन्त्र सङ्कट बाहिर रहेको दाबी गरे ।

नेपालको बाह्य क्षेत्रमा निकै सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । यद्यपि सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी रहेको उनले स्वीकारे । मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको उनको भनाइ छ ।

गृहमन्त्रीमाथि प्रहार गरेर सरकार ढाल्ने ध्याउन्नमा कांग्रेस लागेको छ : बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकार ढाल्ने योजनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पूर्वाग्राही भएर लागेको आरोप लगाएका छन् ।

आइतबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस गृहमन्त्री लामिछानेमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने योजनामा लागेको आरोप लगाएका हुन् ।

रास्वपाले मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरूको समूह बनाउने निर्णय गरेको छ ।

मन्त्रीहरू र पार्टीबीच समन्वय गर्न गठित डा. स्वर्णिम वाग्ले नेतृत्वको समन्वय समितिको आज बसेको बैठकले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको हो ।

सुस्मा हत्या प्रकरण : अभियुक्तले प्रयोग गरेका सामग्री सार्वजनिक

प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा उनकै छिमेकी बर्ष २१ का रुपेन्द्र लामालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

नाउपाले सुदूरपश्चिममा समर्थन कायमै राख्ने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको नाउपाको दाबी छ ।

नेसपा विवाद : बाबुराम पक्षले खारेज गर्‍यो यादव पक्षले गरेको एकता

नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादीसँग गरेको पार्टी एकता खारेज गरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

जसपा सांसद मञ्जु शर्मा अन्सारीको निधन

प्रतिनिधि सभा सदस्य  मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको हो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातका कारण निधन भएपछि रिक्त रहेको स्थानमा उनी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।

कर्मचारीलाई बालेनकाे निर्देशन : वार्षिक लक्ष्य पूरा गर्न सक्रिय हुनु

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखहरूलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आज आयोजित छलफलमा उनले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।

नेपाल औषधि लिमिटेडले थप तीन औषधि उत्पादन गर्दै

नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए ।

तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्टिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।

दुईपक्षीय सहमतिपछि शिक्षकको आन्दोलन स्थगित

रौतहटको फतुवा विजयपुर नगरपालिका र आन्दोलनरत शिक्षकबीच दुईपक्षीय सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ । तलबको माग गर्दै आन्दोलनमा उत्रिएका फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरूले धर्ना स्थगित गरेका छन् ।

आन्दोलनरत शिक्षक र नगरपालिकाबीच सहमति भएसँगै शिक्षकहरूले जारिराखेको धर्नाको कार्यक्रम स्थगित गरिएको हो। नेपाली कांग्रेस जिल्ला सभापति तथा रौतहट निर्वाचन क्षेत्र- ३ ख का प्रदेश सांसद सुनिल यादव( जितेन्द्र) को पहलमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र आन्दोलनरत शिक्षकको बीचमा होली पर्वअगावै सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको तलब उपलब्ध गराउने शुक्रबार साँझ सहमति भएको शिक्षक संघका नगर अध्यक्ष राधेश्याम यादवले बताएका छन्।

वसन्तपुरमा चीर उठाएपछि सुरु भयो फागु पर्व

काठमाडौंको वसन्तपुर अगाडि विधिवत रूपमा चिर ठड्याएसँगै होली अर्थात् फागु पर्व सुरु भएको छ ।

फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । बसन्तपुरमा आइतबार रंगी विरंगी कपडाहरूको ध्वजा सहितको तीन खण्डे चीर ठड्याइएको हो ।

अन्तर्राष्ट्रिय…

अफगानिस्तानको सडक दुर्घटनामा परी २१ जनाको मृत्यु, ३८ घाइते

अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा आइतबार एउटा बस र तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु हुनुका साथै ३८ जना घाइते भएका प्रान्तीय अधिकारीले बताएका छन् ।

हेरात शहरबाट राजधानी काबुलतर्फ जाँदै गरेको यात्रुबाहक बस दुई जना सवार मोटरसाइकलसँग ठोक्किँदा दुवै जनाको मृत्यु भएको हेलमान्डस्थित ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ । त्यसैगरी, दक्षिणी शहर कान्दाहारबाट हेराततर्फ जाँदै गरेको तेल ट्याङ्करसँग बस ठोक्किँदा दुबै सवारी साधनको गति अनियन्त्रित भई दुर्घटना हुनपुगेको हो ।

अन्तर्राष्ट्रिय ‘दबाब’का बीच रफामा सेना जाने इजराइली प्रधानमन्त्रीको भनाइ

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमण गर्ने आइतबार बताएका छन् । यसबाट ठूलो मात्रामा नागरिक हताहत हुने आशङ्का बढेको छ ।

‘हमासलाई समाप्त पार्न, हाम्रा सबै बन्धकलाई रिहा गर्न र गाजाबाट इजराइलविरुद्ध खतरा सिर्जना नहोस् भन्ने सुनिश्चित गर्न कुनै पनि अन्तर्राष्ट्रिय दबाबले हामीलाई युद्धका सबै लक्ष्य साकार गर्नबाट रोक्न सक्तैन’, नेतान्याहुले मन्त्रिपरिषद्को बैठकमा जारी गरेको भिडियोमा भने, ‘यस्तो गर्नका लागि हामी रफामा पनि काम गर्नेछौँ ।’

खेलकुद…

पलेशा पारा ओलम्पिकमा छनोट

नेपालकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक–२०२४ का लागि छनोट भएकी छिन् ।

चीनको ताइयाङमा भएको एसियन छनोटको फाइनल खेलमा पलेशाले स्वर्ण पदक जित्दै पारा ओलम्पिकका लागि छनोट भएकी हुन् । उनले के–४४ क्याटागोरीको महिला ५७ केजीमा इरानकी लेल्ला मिर्जाईलाई पराजित गरिन् ।

एफए कप फुटबल : म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश

एफए कप फुटबलमा म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै म्यानचेष्टर सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिटीका लागि बर्नार्डो सिल्भाले दुई गोल गरेका थिए । खेलको १३औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । त्यसपछि सिल्भाले ३१औँ मिनेटमा गोल गर्दै सिटीको अग्रतालाई दोब्बर पारे ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ८ : ३५ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले