अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता « Khabarhub

अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । 

आकिहिको निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ । अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटीसँग अर्थमन्त्री पुनले भेटवार्ता गरेका थिए ।

सो अवसरमा अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्ष आकिहिको निसिओसँग आगामी जुनमा काठमाडौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए–२१)को बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिए।  सो बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको बताए। उनले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गरे ।

नेपालजस्ता विकासोन्मुख देशका लागि भरपर्दो माध्यम बनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व समुदायले हेर्न लायक भएको उल्लेख गरे ।

नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौँ घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको उनले जानकारी दिए। सो घोषणापत्रको अवधारणाअनुसार आगामी वर्ष पहिलो हरित उत्थान र समावेशी विकास कार्यक्रम अन्तर्गतको (ग्रिड डिपीसी) कार्यान्वयन गर्न लागिएको उनको भनाइ थियो ।

मन्त्री पुनले एक  हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलाशययुक्त आयोजना र छ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि प्रशंसा गरे । 

विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । सरकारका तर्फबाट ऊर्जा, यातायात र सहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको उनको भनाइ थियो ।

उनले गत साता मात्र दुई ठूला जलविद्युत आयोजनाहरू माथिल्लो अरुण र दूधकोशीको वित्तीय ढाँचाबारे विश्व बैंकका काठमाडौँस्थित अधिकारीहरूसँग भएको ‘राउण्डटेबल’ बैठक फलदायी भएको भन्दै छिट्टै वित्तीय व्यवस्थापनको टुङ्गो लाग्नेमा आशा व्यक्त गरे ।

दुवै आयोजना नेपालको ‘गेम चेन्जर’ भएको उनले ती आयोजनाको विकासले नेपालको ठूला पूर्वाधार निर्माण क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे  । आगामी असारभित्रमा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन हुनेमा आफूहरू ढुक्क रहेको उनले उल्लेख गरे । 

आईएफसीका उपाध्यक्ष पुलिटीसँगको भेटमा मन्त्री पुनले आगामी दिनमा आईएफसी र नेपालबीचको सहकार्य थप प्रगाढ र सुदृढ भएर जाने विश्वास व्यक्त गरे ।

नेपाल र आईएफसीबीच पाँच दशक लामो सहकार्य रहेको स्मरण गर्दै मन्त्री पुनले नेपालको पर्यटन क्षेत्रमा आईएफसीले पहिलोपटक लगानी गरेको बताए ।

निजी क्षेत्रसँग सम्बन्धित भएर नेपालको आर्थिक विकास प्रयास तथा पुँजीको व्यवस्थापनमार्फत निजी क्षेत्रको विकासमा आईएफसीले गरेको सहयोग सराहनीय रहेको उनको भनाइ थियो । उनले आगामी दिनमा लगानीका क्षेत्र बढाउन तथा पुँजी परिचालन तथा प्राविधिक सहयोग बढाउन पनि अपिल गरे।

नेपालको पर्यटन, ऊर्जा, यातायात र कृषि क्षेत्रमा आईएफसीको सहयोग रहँदै आएको उनले बताए। आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रका लागि लगानीको राम्रो वातावरण रहेको मन्त्री पुनको भनाइ थियो । 

सानो अर्थतन्त्र भएका कारण लगानीयोग्य पुँजी रहेकाले वैदेशिक लगानीका स्वागत गर्ने नीति अख्तियार गरिएको मन्त्री पुनले बताए।

    

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  २ : ०५ बजे

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी