हेटौँडा सिमेन्टको उत्पादन सुरु हुँदै « Khabarhub

हेटौँडा सिमेन्टको उत्पादन सुरु हुँदै


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– कोइला व्यवस्थापन हुन सक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ । 

आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ।

उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योग व्यवस्थापनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष सरकारको तर्फबाट केही अनुदान उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिएका छन् ।

यथाशीघ्र उद्योगलाई आवश्यक पर्ने कोइला आपूर्ति गर्नका लागि अनुदान उपलब्ध गराउन अनुरोध गरिएको जनाउँदै उनले माघ तेस्रो सातासम्ममा कोइला खरिद प्रक्रिया सुरु गरी सिमेन्टको उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताए ।

उद्योगले सिमेन्ट उत्पादन गर्न आर्थिक संकटका कारण कठिनाइ बेहोर्नुपरिरहेको छ । उक्त उद्योग व्यवस्थापनले अहिले पर्याप्त आर्थिक स्रोत जुटाउने प्रयास गर्दागर्दै पनि तत्काल स्रोत जुटाउन नसक्दा बोलपत्र आह्वानमार्फत कोइला खरिद गरी ल्याउने कार्यमा अहिले अवरोध उत्पन्न भएको जनाएको छ ।

सो उद्योगलाई हाल नियमित उत्पादन सुरु गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्ने र सो कोइलाले एक महिनासम्म सिमेन्ट उत्पादन गर्न पुग्ने उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिएका छन् । उनका अनुसार अहिले उद्योगको भण्डारणमा करिब छ सय मेट्रिक टन मात्रै कोइला रहेको छ । उद्योगबाट उत्पादित मौज्दात सिमेन्ट दुई लाख २५ हजार बोरा तत्काल विभिन्न सहरमा बिक्री हुन नसकेकाले आर्थिक संकट आइपरेको कर्णले बताए ।

संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेशप्रसाद रिजालले केही दिनअघि उद्योगको आकस्मिक अनुगमन गर्नुभई के–कति कारणले आर्थिक सङ्कट आइपरेको अवलोकन गरेका थिए । उनले जीर्ण भएका उपकरणलाई तत्कालै मर्मतसम्भार गरी सञ्चालन गर्ने विषयमा पनि जानकारी लिएका थिए । त्यस अवसरमा मन्त्री रिजालले उद्योगलाई यथाशीघ्र सञ्चालनमा ल्याउन प्रधानमन्त्री र आफ्नो मन्त्रालयले सक्दो अनुदानको व्यवस्था गराउनेतर्फ पनि विचारविमर्श भइरहेको जानकारी दिएको नायब महाप्रबन्धक कर्णले बताए ।

उद्योगका महाप्रबन्धक पाण्डेले उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने दैनिक १६ हजार बोरा लक्ष्य रहेको भए पनि अहिले विभिन्न उपकरण जीर्ण भइसकेकाले दैनिक १० हजार बोरा मात्रै उत्पादन गर्ने गरिएको जानकारी दिए । 

विसं २०३३ मा हेटौँडा सिमेन्ट उद्योग स्थापना गरिएकामा विसं २०४३ मङ्सिर २६ देखि व्यावसायिकरूपमा उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा बिक्री वितरण भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ । तत्कालीन श्री ५ को सरकारको रू एक अर्ब २६ करोड लगानीमा उद्योग स्थापना गरी सञ्चालनमा ल्याइएको थियो ।

अहिले उद्योगमा प्रशासन, लेखा र मजदुर गरी एक सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । विभिन्न मेसिन तथा उपकरणलाई मर्मतसम्भार गरी नयाँ प्रकृतिबाट सञ्चालनमा ल्याएमात्रै हेटौँडा सिमेन्ट उद्योगलाई आर्थिक संकटमुक्त बनाउन सकिने मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बताए। उहाँले यो उद्योग नियमित सञ्चालनमा आए देशको सिमेन्ट आपूर्तिमा ३० प्रतिशतले सहयोग पुग्ने जानकारी दिए ।

रासस

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १२ : ४४ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा