ढोरपाटन– बागलुङमा सबैभन्दा पुरानो मानिने पुतली नाच संरक्षणमा नयाँ पुस्ताले चासो देखाएका छन् । बाइसे-चौबीसे राजाको पालादेखि सञ्चालन हुँदै आएको सो नाच निसीखोला गाउँपालिका–६ भल्कोटमा मात्रै नाच्ने गरिन्छ ।
पछिल्लो एक दशकयता ओझेलमा परेको यस नाचलाई भल्कोटका युवाले यस वर्ष भव्यरूपमा प्रदर्शन गरे । गत वर्ष एक दर्जनको हाराहारीमा बूढापाका र युवाले नाच देखाएकामा अहिले झण्डै तीन दर्जन वृद्ध, युवा र बालक सहभागी थिए । हरेक वर्ष माघ ३ गते आयोजना गरिने पुतली नाचसँगै कापैनाच, तरबारनाच र पट्टानाच पनि राखिएको थियो ।
युवा विदेश पलायन र अधिकांश व्यक्ति बजार झर्न थालेपछि लोप हुने अवस्थामा पुगेको यो नाच संरक्षणका लागि गाउँका युवा जुटेका हुन् । मगर समुदायको पहिचानसँग जोडिएको यो नाच संरक्षण गर्न तिलाचन युवा क्लबले नेतृत्व लिएको थियो । बूढापाकाबाट नयाँ युवालाई सिकाउने र हरेक वर्ष नाच्ने नयाँ व्यक्ति तयार गर्नका लागि क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
वर्षौँ पुरानो मानिने यो नाच कहिलेदेखि सुरु गरियो भन्ने यकिन छैन । पुर्खाहरूले परम्पराका रूपमा मनाउँदै आएकाले यसलाई संरक्षण गर्ने दायित्व नयाँ पुस्ताको भएको उक्त क्लबका सचिव फूलबहादुर बुढामगरले बताए। अघिल्ला वर्षको तुलनामा यस वर्ष नाच्नेको सङ्ख्या दोब्बर बढी भएको उनको भनाइ थियो ।
के हो पुतली नाच ?
स्थानीय बूढापाकाका अनुसार बाइसे-चौबीसे राज्यका बेला राजारानीको मृत्यु भएपछि स्थानीयवासीले उनीहरूको स्मृतिमा यो नाच नाच्ने गरेका थिए ।
स्थानीयवासी ८२ वर्षीय मानसिंह बुढामगरले बाइसे-चौबीसे राज्य हुँदा यहाँ मगर राजा वीरमानले राज गरेको र उनको मृत्युको सम्झनामा हरेक वर्ष पुतली नाच नाच्दै आएको बताए। उनका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ ।
राजा, रानी र धाईमा गरी तीन मूर्तिजस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्धहरू पुतलीको पहिरनसँगै बाजाको तालमा नाच्ने गर्छन् ।
पट्टानाच पनि सँगै नाचिन्छ
हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरू नै पट्टानाच नाच्ने गर्छन् । तत्कालीन मगर राजाका सिपाहीहरूले गर्ने तालिमलाई अहिले पट्टानाच भन्ने गरिएको स्थानीय मेयरसिंह घर्तीमगरले बताए। पट्टा नाच्दा दुईतर्फ तरबार र ढाल राखिन्छ र त्यसलाई दुई जनाले नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एकअर्कालाई मार्ने र आफू बच्न खोज्छन् । पुतली नाच्ने र तरबार नचाउने उनीहरू आफैँ गर्दछन् ।
देवी खुसी पार्न कापै खेल्ने र यौनाङ्ग देखाइने गरिन्छ । स्थानीयवासीहरू माघ २ गते भल्कोट गाउँमा जम्मा हुन्छन् । जम्मा भएका उनीहरूले कपडाको टालो बेरेर पुतली बनाउँछन् । पुतली बनाउन सुरु गरेदेखि पुतली खोलामा लगेर नसेलाउन्जेलसम्म अश्लील शब्द प्रयोग गरेर भट्याउँदै कापै खेल्छन् ।
कापै खेल्ने १०–१२ युवाको टोली हुन्छ । उनीहरूले डम्फु, घाँडोलगायत थोत्रा भाँडा बजाउँछन् । पुराना थाङ्ना कपडा र मुखमा मुखुण्डो लगाएका उनीहरूमध्ये केहीले अनुहार देखाएका हुन्छन् । एक जनालाई पुरानो घुम (भेडाको रौँबाट बनेको कपडा) फेरेर चिन्दै नचिनिने बनाइएको हुन्छ । त्यसलाई भालु भनिन्छ ।
कापै खेल्नेहरूले त्यस भालुको यौनाङ्गमा खरानी र धुलो हाल्दिनाका साथै बेला-बेलामा उत्तानो पारेर देखाइदिएर अश्लील शब्द प्रयोग गर्छन् । त्यसरी यौनाङ्ग देखाउनेलाई स्थानीयवासीले ‘भालुको पित्त’ भन्ने गरेका छन् ।
देख्दा अस्वभाविक लागे पनि यो वर्षौँदेखिको प्रचलन हो । अश्लील शब्द बोल्दा देवीदेवता खुसी हुन्छन् भन्ने मान्यता पनि रहेको निसीखोला गाउँपालिका-६ का अध्यक्ष सूर्यमान बुढामगरले बताए। गाउँपालिका पनि पुतली नाचलगायत यहाँ सबै प्रकारका संस्कृति संरक्षणमा लागेको उनको भनाइ थियो ।
प्रतिक्रिया