कठघरामा प्रधानमन्त्री : बासी प्रश्न, पट्यारलाग्दो उत्तर | Khabarhub Khabarhub

कठघरामा प्रधानमन्त्री : बासी प्रश्न, पट्यारलाग्दो उत्तर



काठमाडौं – संघीय संसद प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदले सोधेका प्रश्नको जवाफ दिए । बिहान ११ बजेदेखि सुरु बैठकमा प्रधानमन्त्री दाहालले एक घण्टापछि रोष्ट्रममा उभिएर सांसदसँग साक्षात्कार गरे ।

त्यसअघि शून्य समयमा सांसदहरुले आफ्नो धारणा राखेका थिए । झण्डै एक घण्टा १५ मिनेट चलेको प्रश्नोत्तरमा प्रधानमन्त्रीलाई १३ जना सांसदले प्रश्न गरे । प्रधानमन्त्री दाहालले सबै प्रश्नको पालैपालो उत्तर दिए ।

सुशासन रटान र उल्टो बाटो

सांसदका प्रश्नको क्रममा प्रधानमन्त्री दाहालले सुशासनलाई मुख्य प्राथमिकतामा राखे । सरकार सुशासन स्थापना गर्ने सवालमा कसैसँग सम्झौता गर्ने पक्षमा नरहेको बताएका प्रधानमन्त्री दाहालले सरकारले गरेको सकारात्मक कामको चर्चा नहुने गरेको भन्दै दुख व्यक्त गरे ।

सांसद गणेश पराजुलीले सुशासनका सन्दर्भमा सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानविन गरेको र अदालतमा मुद्दा दायर गरेको सम्मानित संसदको जानकारीमा छँदैछ । यति धेरै उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरु छानविनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण हो । कुर्सी हल्लिने डर हुन्थ्यो भने छानविन नै शुरु हुने थिएन् । सम्मानित सदनमा म दोहर्‍याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो ।

प्रधानमन्त्रीले सुशासनलाई आफ्नो सङ्कल्पसँग जोडिरहँदा त्यसअघि शून्य समयमा बोल्ने सांसदहरुले सरकारमाथि गम्भिर आरोप मात्र लगाएका थिएनन् , शुक्रबार मात्रै छानबिन समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका कारण बालकुमारी घटना भएको प्रतिवेदन बुझाउँदा पनि निलम्बन नगरेको भन्दै प्रश्न उठाएका थिए ।

एमाले सचेतक महेश बर्तौलाले सरकार भ्रष्टाचार र आर्थिक अपचलनमा लिप्त भएको बताएका थिए । संसदमा बोल्दै उनले भने, ‘अन्तर्राष्ट्रिय जगतमा देशको शिर निहुरिएको छ । रामग्राम क्षेत्रमा घरबेटीको छोरालाई खुसी पार्न ऐतिहासिक क्षेत्रलाई लिजमा दिने प्रकृया सुरु भयो । विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रकृयामा रहेको क्षेत्रलाई व्यपारीलाई लिजमा दिने प्रकृया सुरु भयो । त्यसलाई रोक्न संसदको लेखा समितिले रोक्न निर्देशन दिनुप¥यो । लुम्बिनी विकास कोषका उपाध्यक्ष र अध्यक्षले यो विषयमा जवाफ दिनुपर्छ कि पर्दैन ?

सांसद बर्तौलाले सरकार एकपछि अर्को गर्दै विभिन्न विषयमा दोषी देखिए पनि प्रधानमन्त्रीले सुशासनको नारा घन्काउन नछोडेको आरोप लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारीको अवसर नपाएर विदेश जान लागेका वीरेन्द्र शाह र सुजन राउतको सरकारले बालकुमारीमा हत्या गरेको आरोप लगाए । उनले भने, ‘देशमा रोजगारीको अवसर नदेखेर विदेश जान खोजेको दुई होनाहार युवाको हत्या गरेर सरकारले १०/१० लाख दिएर चुपचाप बस्यो ।’ सो घटनामा बाहिर भनेजस्तै छानबिन समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई दोषी देखाएको भएपछि सम्बन्धित मन्त्रीले नैतिकताको संकेत पनि नगरेको उनको तर्क थियो ।

उनले भने, ‘छानविन समितिको प्रतिवेदनले स्पष्ट पारिसक्दा पनि अहिलेसम्म न सम्बन्धित मन्त्रीले नैतिकताको प्रदर्शन गर्नुभएको छ । न सरकार न प्रधानमन्त्रीले कुनै छनक देखाउनुभएको छ । यसमा गर्नुपर्ने के होला ? छानबिन आयोगले दोषी ठहर्‍याउँदा पनि त्यसबारे चुइँक्क नबोलेर अन्य विषयमा भाषण दिँदै जाने नैतिकता कहाँबाट प्राप्त हुन्छ । यो कुरा संसदलाई जवाफ दिनुपर्छ ।’ सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरा गर्ने सरकारले आफ्ना मान्छेलाई अनुसन्धानको घेरामा आउने देखेपछि प्रकृया नै बन्द गरेको लामिछानेले आरोप लगाए ।

प्रमाण कहीँ कतै नभेटेका मान्छेलाई जसरी पनि अनुसन्धानको घेरामा तान्ने सरकारले छताछुल्ल प्रमाण भएका मानिसका विषयमा बोल्न नचाहेको भन्दै उनले सरकारसँग विधिको शासनका विषयमा बोल्ने नैतिकता नै नभएको लामिछानेले जिकीर गरे ।

तयारी जवाफले खल्लो संसद

संसदको माघ २४ गते बसेको बैठकले फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको तय गरेको थियो । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रश्नोत्तर कार्यक्रम तय गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरुले फागुन २ गते अपराह्न ३ बजेभित्र संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसमक्ष आफ्नो प्रश्न लिखित रुपमा उपलब्ध गराउन सभामुख घिमिरेलको रुलिङ थियो । सोही अनुसार सांसदहरुले प्रश्न उपलब्ध गराए र प्रधानमन्त्री दाहालले जवाफको तयारी गरे ।

संसदमा प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ दिन उपस्थित भइरहँदा नयाँ घटनाक्रमले राजनीति तातेको थियो । गत शुक्रबार छानविन समितिले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला जिम्मेवार ठहर्‍यायो । मन्त्रीको सवारी साधनमा आगजनी हुने गरी भएको घटनामा दोषी देखिएका ज्वाला अहिले पनि सरकारको मन्त्री छन् ।

उनले नैतिकताको आधारमा राजीनामा दिएका छैनन् भने दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई प्रधानमन्त्री दाहालले जिम्मेवार मुक्त गराउन सकेका छैनन् । यो विषयले आजको संसदलाई ततायो । तर, तयारी जवाफका साथ उपस्थित प्रधानमन्त्री दाहालले यो विषयमा मुख खोलेनन् । संसदमा उठेका समसामयिक प्रश्नको जवाफ दिन प्रधानमन्त्रीले तत्परता नदेखाउँदा आफू संसदप्रति जिम्मेवार रहेको कुरा गर्न भने छाडेनन् ।

प्रधानमन्त्रीको यो शैलीले संसदलाई खल्लो बनाएको राप्रपा सांसद दीपक बोहराले तर्क गरे । आफैंले गठन गरेको समितिको प्रतिवेदनमाथि उठाइएका प्रश्नप्रति प्रधानमन्त्रीको उदासिनताले विधिको शासनमाथि प्रश्न उठेको उनको भनाई थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रधानमन्त्रीले संसदमा दिएको उत्तर टालाटुली मात्र भएको प्रतिक्रिया दिइन् । यस्तो ढंगले देशमा सुशासन स्थापना हुन नसक्ने भन्दै बोल्नका लागि मात्र बोल्ने प्रवृत्तिले देशमा केही पनि उपलब्धि हुन नसक्ने बताइन् ।

यो पनि…

संसदमा प्रधानमन्त्रीका १३ जवाफ (पूर्णपाठ)

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : ३६ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने