सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे « Khabarhub

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई लाख बढी भक्तजनले दर्शन गरेका छन् । 

चैत्र शुक्ल सप्तमी, अष्टमी र नवमीका दिन कालिका भगवतीको दर्शन गर्न दुई लाखभन्दा बढी भक्तजन उपस्थित भएका सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलले बताएका छन् ।

वर्षमा एक पटकमात्रै भक्तजनको ठूलो उपस्थिति रहने सोमेश्वर कालिका मन्दिर नेपाल र भारतको सिमाना (दशगजा)मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल हो । माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर कालिका नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रूपमा रहेको पोखरेलको भनाइ छ । 

यस स्थानमा रहेको गढीमा देखिएका इँटा र गढीको पर्खाल निकै पुरानो भए पनि पुरातत्व विभागले उत्खननमा चासो नदिएको उनले बताए । सोमेश्वरगढीलाई सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यभित्र राखेको छ ।

माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाले केन्द्र र प्रदेश सरकारसँगको सहयोग र सहकार्यमा चुरे पर्वत हुँदै मन्दिर पुग्न भन्दा एक हजार पाँच सय मिटर तलसम्म कच्ची सडक निर्माण गरेको बताए । 

सडकमार्ग सकिएसँगै सुरु हुने पैदलमार्गबाट मन्दिरसम्म पुग्न मानिसको आकर्षण बढाउन प्रस्तर मूर्ति कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काउने प्रयास गरिएको उनको भनाइ छ । उनले गढी क्षेत्र दशगजामा परेकाले स्थानीय सरकारबाट ल्याइएका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन नसकिएको बताए । 

चितवनको भूमिपुत्र भनेर चिनिने आदिवासी जनजाति थारू समुदायको मुख्य आस्थाको केन्द्र भनेर सोमेश्वर कालिका मन्दिरलाई लिने गरिएको मन्दिरका पूजारी शोभाखर चापागाईँले बताए । हिउँद लागेपछि खेतीपाती गर्ने बेलासम्म पानी नपरेको खण्डमा यही मन्दिरमा पूजा गरेर पानी मागेपछि पानी पथ्र्यो भन्ने जनविश्वास रहेको उहाँको भनाइ छ । 

पूजारी चापागाईँले भने, ‘पहिले थारू समुदायको मात्रै आस्थाको केन्द्र रहेको सोमेश्वर कालिका अहिले आम नेपाली र भारतीयसमेतको धार्मिक आस्थाको केन्द्र बनेको छ, यहाँ नेपालीका साथै भारतीय नागरिक बढी आउने गरेका छन् ।’ सोमेश्वर कालिका मन्दिर महादेव र कालीको बासस्थान रहेको शक्तिपीठ भएको चापागाईँले बताए । 

चैतेदसैँको अवसरमा भारतको महाराष्ट्र, बङ्गालसम्मका भक्तजन यहाँ दर्शनका लागि आउने गरेका भए पनि नेपालबाट बाह्रै महिना धार्मिक पर्यटक पुग्ने गरेका उनले बताए । भरतपुरबाट सोमेश्वरगढी घुम्न पुगेका महेन्द्र आचार्यले ऐतिहासिक गढीमा पुग्दा आनन्दको महसुस भएको बताए। उनले ऐतिहासिक क्षेत्र भएकाले राज्यले विशेष ध्यान दिएर यहाँ रहेका संरचनाको संरक्षण र प्रवर्द्धनको काम गर्नुपर्ने बताए।

मन्दिरका संस्थापक नीलकण्ठ सापकोटाले गढीमा विसं २०५० फागुन १२ गते मन्दिर स्थापना भएको जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  १ : ३७ बजे

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई