अर्थसंक्षेप : शेयर बजारमा झिनो अंकको गिरावट, आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड  | Khabarhub Khabarhub

अर्थसंक्षेप : शेयर बजारमा झिनो अंकको गिरावट, आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड 


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गाडी कम्पनीहरूले पनि धेरै गाडी बेच्न दशैँ तिहारलक्षित विभिन्न स्किम सार्वजनिक गरिरहेका छन् । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

वर्षेनी खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलो पटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले घटेको छ ।

प्रमुख आर्थिक समाचार :

यो दशैंमा कुन गाडी किन्न कस्ता स्किम ?

नेपालीहरूका महान् चाड दशैँ र तिहारको अवसर पारेर सवारीसाधन किन्ने धेरै हुन्छन् । यात्रालाई सहज बनाउन विभिन्न नयाँ मोडेलका सवारीसाधन लिने उपभोक्ताहरूको संख्या प्रशस्तै देख्न सकिन्छ ।

गाडी कम्पनीहरूले पनि धेरै गाडी बेच्न दशैँ तिहारलक्षित विभिन्न स्किम सार्वजनिक गरिरहेका छन् । आफ्नो कम्पनीमा ग्राहक आकर्षित गर्न कम्पनीहरूले सामान्यदेखि भारी छुटसम्मका अफर सार्वजनिक गरिरहेका छन् ।

अहिले सुजुकी, हुन्डाई, टाटा, ड्याट्सनर निसान, महिन्द्रा, फोर्ड, सिप्रदीलगायत कम्पनीले भारी छुटसहित विभिन्न अफर सार्वजनिक गरेका छन् । गाडी कम्पनीले हरेक वर्ष यस्ता नयाँ नयाँ अफरहरू सार्वजनिक गर्ने गरेका छन् ।

सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

आज दिउँसो खसेको पहिराले राजमार्ग अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीका सवारीसाधन र यात्री बीचबाटोमा अलपत्र परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

सडकमाथिबाट ठूलो पहिरो खसेकाले पहिरो पन्छाएर राजमार्ग नियमित सञ्चालन गर्न केही समय लाग्ने उनले बताए। सडक खुलाउन पहल भइरहेको भन्दै प्रवक्ता पाण्डेयले राजमार्ग अवरुद्ध हुँदा दार्चुला र बैतडीको सडक सम्बन्ध विच्छेद भएको उल्लेख गरे ।

बाँदरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

वर्षेनी खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलो पटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ ।

महाशिला गाउँपालिकामा पहिलो पटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत गाउँपालिकाका छवटै वडामा ओखरखेती सुरु गरिएको छ । गाउँमा बाँझो रहेको जमिन सदुपयोग तथा बाँदरबाट हुने क्षति न्यूनीकरणका लागि ओखरखेती थालिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए।

गण्डकी प्रदेश सरकारबाट १० हजार बिरुवा प्राप्त भएका थिए भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बागलुङमार्फत चक्लाबन्दीमा आधारित खेती कार्यक्रमअन्तर्गत एक हजार पाँच सय बिरुवा थप गरी ११ हजार पाँच सय बिरुवा रोपिएको छ । पालिकाका दुई सय जना किसानले व्यावसायिक रूपमा ओखर रोपेका छन् ।

धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षक गन्तव्य

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रूपमा चिनिन थालेको छ ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा धौलागिरि हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ । धौलागिरि आइसफल र मानापाथी हिमालको आइसफलसँगै जोडिएको छ । सडकमार्गबाट पैदलयात्रा गरी छोटो अवधिमा त्यहाँ पुग्न सकिन्छ । यहाँबाट हिमाल नजिकै रहेकाले धौलागिरि आइसफल नयाँ पर्यटकीय गन्तव्य बनेको पहिलो पटक उक्त क्षेत्रमा पुग्नुभएका म्याग्दीका पथ प्रदर्शक सुरेन गुरुङले बताए ।

‘छोटो समयमा पैदलयात्रा गरेर हिमालको फेदमा पुग्न सकिँदो रहेछ, वरिपरि हिमालै हिमाल भएकाले त्यसले मनै लोभ्याउँछ । हिमालको टुप्पोबाट निरन्तर खस्ने हिउँको दृश्यले जो कोहीको पनि मन लोभिन्छ’, उनले भने ।

बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।

साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । बद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ । यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ ।

काठमाडौँबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि सुरुआती एकतर्फी भाडा ११ हजार ३६० रहेको छ । काठमाडौँबाट बिहान ७ः१५ बजे तथा वाराणसीबाट ८ः३० बजे उडान समय तोकिएको छ ।

आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड

नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँका अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग मङ्गलबार भएको शिष्टाचार भेटमा द्विदेशीय सम्बन्धलाई नवीकृत गर्दै आर्थिक सहकार्य र साझेदारीमा जोड दिएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत भण्डारीले व्यापार, पारवहन र सम्पर्क सञ्जालका क्षेत्रमा सम्भाव्यताको खोजी तथा दुवै देश र जनतालाई लाभ हुने गरी ऊर्जा सहयोगमा केन्द्रित रहेर छलफल गरेका थिए ।

बिहीबारबाट काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालन हुने 

बिहीबारबाट काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २०८१ को लागि चाडबाड लक्षित सहुलियत पसल भोलीबाट काठमाडौंको थापाथलीमा सञ्चालन ल्याउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले दामोदर भण्डारीले दिउँसो १ बजेट सहुलियत पसलको उद्घाटन गरेपछि सहुलियत पसल सञ्चालनमा आउने छ ।

कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार व्यापार कम्पनीले सहुलियत पसल वर्षेनी सञ्चालन गर्दै आएको छ ।

इटहरीमा बिजुली बस सेवा सुरु  

नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो ।

सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ भएको हो ।

नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई २० तोकिएको छ । गत साउन २२ गते छ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले खरिद गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरू पनि यी बसमा सहजरूपमा यात्रा गर्नसक्ने छन् ।

बजाजको नयाँ पल्सर एनएस २०० को बिक्री सुरु, मूल्य कति ?

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री सुरु गरेको छ ।

यो मोटरसाइकल अब ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको कम्पनीले जनाएको छ । जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ ।

कम्पनीका अनुसार यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ । यसमा लागि ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ ।

यस मोटरसाइकलमा अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ ।

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशको सघन छलफल

बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ ।

भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले गरेको शिष्टाचार भेटमा बिजुली व्यापारका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुससँग मङ्गलबार गरेको भेटवार्तामा पनि सोही विषयमा छलफल भएको जनाइएको छ।

यसअघि गत असारमै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको थियो। दुई देशका ऊर्जा सचिवस्तरीय बैठकका अवसरमा सम्झौताको तयारी गरिएपनि विभिन्न कारणले तत्कालीन समयमा यसले मूर्तरूप लिन सकेको थिएन। यसअघि बङ्गलादेशले पहिलो चरणमा ४० मेगावाट बिजुली लैजान सहमति जनाइसकेको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो  ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार ५ अर्बमा झर्‍यो 

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले घटेको छ । आज शेयर ०.१५ प्रतिशतले घट्दा २५७६.७६ विन्दुमा पुगेको छ ।

शेयर घट्दा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर किनबेच भएको छ । आज ७४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३२० वटा कम्पनीको शेयर ८० हजार ३७८ पटक किनबेच भएको छ । यस्तै  ४ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ भने २ वटा कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज १३ वटा समूहमध्ये २ वटा समूह शेयर बढेको छ भने बाँकी ११ वटा समूह घटेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह २.६१ प्रतिशतले घटेर ३ हजार २४.९० विन्दुमा पुगेको छ । आज सबैभन्दा घटी विकास बैंक ०.१२ प्रतिशतले घटेर ५ हजार ८७.५३ विन्दुमा पुगेको छ । साथै होटल एण्ड टुरिजम समूह ०.१२ प्रतिशतले घटेर ६ हजार ४०४.०७ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : १९ बजे

बंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक

काठमाडौं – भारतीय स्पिन बल आर आश्विनले बंगलादेशविरुद्धको टेस्ट क्रिकेटमा

संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले

अन्नपूर्ण न्यूरोलाई फोहर व्यवस्थापन गर्न ७ दिनको अल्टिमेटम

काठमाडौं – काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरलाई हानिकारक फोहर व्यवस्थापनमा

देशभरका ६४ अस्पतालबाट ज्येष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत छुट  

काठमाडौं– सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक

 दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक

काठमाडौं– दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थक कुटिएका छन्