अर्थसंक्षेप : गत वर्ष लक्ष्यको आधा मात्रै बिजुली उत्पादन, दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटल बन्ने | Khabarhub Khabarhub

अर्थसंक्षेप : गत वर्ष लक्ष्यको आधा मात्रै बिजुली उत्पादन, दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटल बन्ने


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत आर्थिक वर्ष २०८०–०८१ को अवधिमा लक्ष्यको आधाभन्दा कम बिजुली उत्पादन भएको छ । आज सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटेलको सोमबार शिलान्यास गरिएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । र, प्रभु ग्रुपको स्वामित्वमा रहेको प्रभु केबलकारको सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन हुने भएको छ ।

आजका प्रमुख आर्थिक समाचारहरुः

गत वर्ष लक्ष्यको आधा मात्रै, यसवर्ष पूरा होला हजार मेगावाटको लक्ष्य ?

गत आर्थिक वर्ष २०८०–०८१ को अवधिमा लक्ष्यको आधाभन्दा कम बिजुली उत्पादन भएको छ । सो आवमा सरकारले एक हजार मेगावाट बिजुली उत्पादन गरी ग्रिडमा जोड्ने लक्ष्य लिएको थियो ।

तर, सो आवमा सरकार र स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट गरी ४६८ मेगावाट मात्र बिजुली उत्पादन भएको हो । जुन, विद्युत् उत्पादन लक्ष्यको आधाभन्दा कम हो । सो आवमा २ वटा सोलार २१ वटा जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न भइ ४६८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, गत आवमा विभिन्न ३ दर्जन जलविद्युत् आयोजनाबाट करिब एक हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, ठूला जलविद्युत् आयोजना निर्माणमा हुने ढिलाइका कारण सो आवमा आधाभन्दा कम मात्रै बिजुली उत्पादन हुन सक्यो ।

गत आवभित्र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजना, ४२.५ मेगावाटको सान्जेनलगायतका ठूला जलविद्युत् आयोजनाहरू सम्पन्न भइ विद्युत् उत्पादन गर्ने अनुमान गरिएको थियो । तर, निर्माणमा देखिएको ढिलाइका कारण ती आयोजनाहरूबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन भने हुन सकेन ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल, मीनबहादुरले गरे शिलान्यास

काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटेलको सोमबार शिलान्यास गरिएको छ । आईटीसी होस्पिटालिटीसँगको साझेदारी पत्रमा हस्ताक्षरको दुई महिनापछि अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार विधिपूर्वक पूजा गरेर शिलान्यास गरेका हुन् ।

यो होटेल २५ तले संरचनासहितको हुने छ । यो होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको हुनेछ । ३५० कोठे होटलमा ४० कोठा अपार्टमेन्ट र होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बनाइनेछ । होटेल निर्माणका लागि साढे ६ अर्ब लगानी गुरुङले गर्दैछन् । यो होटेललाई वि.सं. २०८५ देखि सञ्चालन तयारी गरिएको अध्यक्ष गुरुङले बताएका छन् ।

एनआईसी एसियाले ४ कम्पनीको सेयर बिक्री गर्दै

एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ३१ करोड रुपैयाँ बराबरको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

बैंकले सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर आजदेखि लिलामीमा राखेको छ ।

उल्लेखित सबै कम्पनीको सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद गर्न आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर सङ्ख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।

मृतकका परिवारसँग सहमति, झाँक्री भुजेलले ५२ लाख दिने

झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ । प्रहरीका अनुसार दुई पक्ष मिलेकोले अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको छ । मृतकका परिवार र भुजेलबीच क्षतिपूर्तिबापत ५२ लाख दिने सहमति भएको बताइएको छ । काठमाडौंको शंकरापुरमा गत कात्तिक २८ गते भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए । दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । भुजेलले चलाएको कार मोटरसाइकललाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।

प्रहरीको हिरासतमा रहेका भुजेलविरुद्ध मुद्दा चलाइएको छ । उनलाई सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । विद्यमान कानुन अनुसार उनलाई एक वर्षको कैद हुने व्यवस्था छ, जसमा धरौटीमा रिहा हुने सुविधा हुन्छ ।

मलेखु–मुग्लिन सडकको काम तीव्र गतिमा

पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो ।

शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म १८ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीका राजमार्ग इन्जिनियर सहन वैद्यका अनुसार पछिल्लो समय कामलाई तीव्र बनाइएको छ ।

दैनिक १५० जनाले काम गरिरहेको उनले जानकारी दिए। एक साता अघिसम्म १०० जना मजदुरले काम गरिरहेकामा अहिले यो सङ्ख्या बढाइएको हो । वैद्यले भने, ‘आउँदो सातासम्म २०० जना पुग्छन् ।’

प्रभु केबलकारले ३० करोडको आईपीओ ल्याउँदै

प्रभु ग्रुपको स्वामित्वमा रहेको प्रभु केबलकारको सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन हुने भएको छ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको काम कम्पनीले अगाडि बढाएको छ ।

उक्त केबलकारमा प्रभु ग्रुप्स एण्ड कम्पनिज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङ एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्युपमेन्ट इन्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानी रहेको छ ।

प्रभु केबलकारको लगानीमा तीनवटा केबलकार परियोजनाहरू अगाडि बढेका छन् । जसमध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केबलकार परियोजना गत असोजदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : ३४ बजे

बीआरआईबाट नेपालले लाभ लिन्छ : प्रधानमन्त्री ओली

बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट

कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गुर्खाज र कर्णाली

काठमाडौं महानगरपालिकाद्वारा तीन बालबालिकाको उद्धार

काठमाडौं- काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको

कूटनीतिमा झूटनीतिको छाया

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि के हुन्छ ? त्यसको स्पष्ट

माओवादीको अन्तरमहादेशीय समितिबाट बाढी पीडितलाई सहयोग

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिअन्तर्गतको अन्तर महादेशीय सङ्गठन