आइडलको उचाइमा मेनुकाको उडान | Khabarhub Khabarhub

आइडलको उचाइमा मेनुकाको उडान


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

नेपाल आइडलमा ११ मा बाहिरिएकी मेनुका पौडेल अप्रत्याशित इन्डियन आइडलको १४ संस्करणमा झुल्किइन । दृष्टिविहीन मेनुकाको उपस्थिति धेरैका लागि कौतुहल बन्यो । छनोटको पहिलो सिंढीमा गाएको ‘तुम्हारे बिना हमारे कोनो नहीँ’ बोलको गीत गाएपछि उनी आइडलकै आइकन बनिन । यो गीतको गायकीले उनलाई ‘संगीतकी साक्षात् देवी’को अलंकार दिलायो ।

निर्णायक विशाल ददलानीले भावुक हुँदै भने– ‘मैले पुज्ने संगीत भनेकै तिमी हौ । तिम्रो गायकीले मेरो संगीत सिर्जनामा अब नयाँ आयाम थप्नेछ ।’ अर्की निर्णायक श्रेया भक्कानिएर रोइन । मेनुकाको सुरले हरेक निर्णायकको मुटु छेड्यो । गायकीको त्यही सामर्थ्यले पहिलो  ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरिनन्,  ‘गोल्डेन माइक’ समेत हात पारिन् ।

मेनुकाको उपस्थिति इन्डियन आइडल र सोनी टेलिभिजन व्यवस्थापनकै लागि टीआरपी बटुल्ने मसला बन्यो । उनी बाहिरिएपछि इन्डियन आइडलको टीआरपीमै धक्का लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२०५५ सालमा झापाको हल्दिवारीमा जन्मिएकी मेनुका पौडेल गायकीको चर्चा यसबेला उत्कर्षमा छ । इन्डियन आइडल सिजन १४ को अन्तिम प्रतिस्पर्धीको रूपमा चर्चा बटुलेकी उनी ‘टप टेन’बाटै बाहिरिइन् । यद्यपि मेनुकाले यही सफलताको पखेटामा संगीतको माध्यमबाट संसार जित्ने लक्ष्य राखेकी छन् ।  त्यसो त प्रतिस्पर्धी हुँदै ताका ‘सलार’ फिल्ममा गाएको गीतले उनलाई बलिउड यात्राको बाटो खोल्दिसकेको छ ।

झापाको सामान्य कृषक परिवारमा दृष्टिविहीनका रूपमा जन्मिएर २५ वर्षमै यो सफलता पाउनु अघि गरेको सबै मिहिनेत उनलाई याद छ । उनी सम्झन्छिन्, ‘म झापाको दुर्गा माविको होस्टलमा बस्दा बिहान ४ बजे उठेर संगीत अभ्यास गर्थेँ । त्यसबेला ७ वर्षकी थिएँ ।’

विद्यालयमा गीत गाएर पहिलो पटक ७५ रुपैयाँ पाएको धमिलो याद उनलाई अझै आउँछ । उनी स्मरण गर्दै भन्छिन्, ‘तीनमा पढ्थेँ । कसले दियो बिर्सिएँ तर पैसा पाएकी थिएँ ।’

लगातारको साधनाले निखारिँदै उनै मेनुका आज बलिउडका फिल्ममा आवाज दिन सक्षम छु भनेर प्रमाणित गर्न सफल बनेकी छन् । उनी यो अवसरको जस इन्डियन आइडललाई दिन्छिन् ।

धेरै कुरामा रिजर्भ बसे पनि उनले इन्डियन आइडलको यात्राबारे केही कुरा खबरहबसँग सेयर गरेको केही प्रसंग :

आइडलको अनुभव

साइबाबाको दर्शनका लागि भारतको पुट्टपर्थीमा पुग्दा तेह्रौं सिजनमै इन्डियन आइडलको प्रतिस्पर्धामा जाने निर्णय भाइब नमिलेका कारण रोकिएको मेनुका बताउँछिन् ।

भक्तिभावमा विश्वास गर्ने मेनुकालाई चौधौं सिजनमा प्रतिस्पर्धा गर्ने अवसर कसरी जुर्‍यो पत्तो छैन । उनी थप्छिन्, ‘म त नेपालको प्रतिस्पर्धी हुँ । त्यहाँ अन्य देशका नागरिकलाई पक्कै गाह्रो हुन्छ । कसरी संयोग जुर्‍यो मलाई  थाहै छैन ।’

 थप…

शारीरिक क्षमता र राष्ट्रियताको विषयलगायतका अनावश्यक विषयले बहसको स्थान नपाउँदा इन्डियन आइडलको मञ्चलाई उनी पवित्र मन्दिरका रूपमा बयान गर्छिन् ।

उनी थप्छिन्, ‘त्यहाँ अनावश्यक कुराको फुर्सद कसैलाई छैन । त्यहाँ केबल गायन कला हेरिन्छ । अरु कुराले प्रभाव पारेको मलाई महसुस नै भएन । टिभीमा जस्तो देखिन्छ, पर्दा पछाडि पनि माहोल सांगीतिक नै हुन्छ ।’

सबै प्रतिस्पर्धी एकै अपार्टमेन्टमा बसे पनि प्रतियोगिताको तयारीको व्यस्तताले गफ गर्ने समेत फुर्सद नमिलेको उनी अनुभव सुनाउँछिन् । भेटेका भारतीय कलाकारमा देखिएको नम्र गुण आइडलको दौरान मेनुकाले अनुभव गरेको अर्को पाटो हो । उनी थप्छिन्, ‘मैले भेटेका सबै कलाकारले राम्रो व्यवहार गर्नुभयो । उहाँहरू नम्र हुनुहुन्थ्यो । कलाको चाहिँ एकदमै राम्रो सम्मान हुने ठाउँ रहेछ भन्ने महसुस भयो ।’

आइडलमा पार गरेको यात्राबाटै निकै सन्तुष्टि मिलेको उनी बताउँछिन् । यात्रामा सत्यसाइ अर्गनाइजेसनबाट पाएको सहयोगमा उनी कृतज्ञ छिन् ।

गीत बिर्सिएको प्रसंग

मेनुका इन्डियन आइडलमा जानुअघि ‘नेपाल आइडल’ र भारतकै अर्को रियालिटी शो ‘सारेगमप’मा प्रतिस्पर्धा गरेकी थिइन् । उनका लागि ‘टप टेन’ प्रवेश खड्गो साबित भएको थियो, ‘टप इलाभेन’ मै बाहिरिएकी थिइन् ।

तर इन्डियन आइडलमा उनले सो खड्गो पार गरिन्, ‘टप टेन’मा प्रवेश गरिन् । सुरुमा सो सिजनको विजेता दाबेदार मानिएकी उनले अन्तिमका दुई एपिसोडमा गीतको शब्द बिर्सिएकाले भोट कम आएर बाहिरिएको धेरैको बुझाइ छ ।

उनले गीतको शब्द बिर्सिएको पहिलो एपिसोड अर्थात् मुटुको धड्कन बढेर गीत बीचमा रोकेकाबारे उनी स्पष्ट पार्छिन्, ‘मेरो भोकल बसिरहेको थियो । त्यो दिन म गाउन सक्ने अवस्थामा नै थिइनँ । म बिरामी जस्तो पनि भएको थिएँ । गीतहरू धेरै अभ्यास गर्नुपर्ने भएकाले दबाब पनि महसुस भइरहेको थियो । भोकल बसिरहेको थियो । गाउँदै गर्दा गला चलेन । ला बिग्रियो भन्ने पनि भयो । त्यो भएर मुटुको धड्कन बढ्यो । त्यस्तो भएको हो त्यो चाहिँ ।’

दोस्रो पटक पनि गीतको शब्द बिर्सिएको बारे भने उनी बोल्न चाहँदिनन् । त्यो स्क्रिप्टेड हो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘लिरिक्स बिर्सिएको विषय मैले बोल्न मिल्दैन ।’

‘रणवीरले खुट्टा छोएको थाहै भएन’

फिल्म ‘एनिमल’को प्रचारका लागि भारतीय अभिनेता रणवीर कपुर इन्डियन आइडलको सेटमा पुगेका बेला मेनुकाले ‘अगर तुम साथ हो’ बोलको गीत गाएकी थिइन् ।

मेनुकाको सो प्रस्तुति पछि खुट्टा छोएर संगीतकी देवी भनेर दिएको प्रतिक्रिया नै चर्चामा आएको थियो । भिडियो क्लिप भाइरल बन्यो । तर रणवीरले खुट्टा छोएको आफूले पछि मात्रै थाहा पाएको मेनुका बताउँछिन् ।

यो पनि..

सुमन कार्की : हजुरबाको ५ हजारले दिलाएको ख्याति

उनी भन्छिन्, ‘खै मैले त थाहै त पाएको थिइनँ । पछि अरूले भनेपछि मात्रै थाहा पाएँ । त्यसपछि ए हो र  ? भन्ने भयो । तर सबैले भिडियो सम्मानका साथ हेर्नुभयो, राम्रो लाग्यो ।’

प्रस्तुतिपछि रणवीरले आफूले लगाएको चस्मासमेत उपहार दिएको उनी बताउँछिन् । रणवीर मात्र हैन सोही कार्यक्रममा निर्णायक कुमार सानुले गायकीको प्रशंसा गर्दै हात ढोगेका थिए । त्यति मात्र हैन बलिउड संगीतका बादशाह उदित नारायण, अनुराधा पौडवाल, कविता कृष्णमूर्ति, साधना सरगम, रिचा शर्मा, अमित कुमार, प्रख्यात संगीतकार आनन्द मिलिन, निर्देशक महेश भट्टलगायतले उनको स्वरलाई लतामंगेशकरको उचाइ दिएका थिए ।

चस्माको भ्रम

मेनुकाले आइडलकै दौरान एक डाक्टरबाट एआई प्रविधि जडित चस्मा उपहार पाइन् । सो चस्माको सहयोगमा उनी आँखा देख्न सक्छिन् भनेर गलत प्रचार समेत भएको थियो ।

थप…

सो चस्माले पढ्न निम्ति सहयोगी भए पनि बानी पर्न निकै गाह्रो भएको उनी अनुभव सुनाउँछिन् । यसबारे स्पष्ट पार्दै उनी भन्छिन्, ‘यो चस्मा स्मार्ट भिजन ग्लास हो । लगाउँदा देख्ने भनेको चाहिँ होइन । चस्मामा क्यामेरा जडान भएको छ । मोबाइलको एप्लिकेसनसँग जोडिएपछि क्यामेराले स्क्यान गर्छ । मोबाइलले साउन्ड अर्थात् रिड गर्छ ।’

क्यामेरा जडान भएकाले तात्ने र बढी तौल भएकाले लगाउन अप्ठ्यारो हुने उनी बताउँछिन् ।

बलिउडको योजना

‘टप टेन’बाटै इन्डियन आइडलबाट बाहिरिए पनि सन्तुष्ट रहेको मेनुका बताउँछिन् । आफ्नो प्रतिभाको दायरा विस्तार गर्ने अवसर मिल्नु नै ठूलो कुरा रहेको उनको बुझाइ छ ।

उनी थप्छिन्, ‘मैले चाहिने भन्दा बढी पाएकी छु । जति हुनुपर्ने हो त्योभन्दा बढी पाएकी छु । अहिले पनि दिनहुँ भारतीय फलोअरहरु मेरो सामाजिक सञ्जालमा थपिइरहनु भएको छ । यो पाएको कुरालाई सदुयोग गरेर अगाडि बढाउने जिम्मेवारी मेरो हो ।’

अब बाँकी दिनमा भारतका दर्शकका लागि ७० प्रतिशत समय दिने मेनुकाको योजना छ । उनी भन्छिन्, ‘म भारतमा नै संगीतमा डिप्लोमा गर्दै छु । त्यही भएर उतै बढी समय दिन्छु । मैले यत्रो मिहिनेत गरेर आइलडमा पुगेपछि भारतीय दर्शकमाझ एउटा छाप छोड्नै पर्छ ।’

हाल नेपालमा रहेकी मेनुका छिटै भारत फर्कने योजनामा छिन् । इन्डियन आइडलकै टिमसँग विश्व भ्रमणमा जाने कार्यक्रम तय भइसकेको उनले जानकारी दिइन् । विश्वभ्रमणबारे उनी भन्छिन्, ‘टुरमा ६ वटा देशमा जाने तय भएको छ । मौरिसस, बेलायत, अमेरिका, साउथलगायत देशमा अप्रिलदेखि जाँदै छु । मेरो डिमान्ड भएकाले टिममा समावेश भएको हुँ ।’

सलारको गीत गाउने अवसर

हाल बलिउड फिल्मका गीतहरूमा स्वर दिन राम्रै अवसरहरू आइरहेको मेनुका बताउँछिन् । उनका अनुसार केही गीत सार्वजनिक हुने तरखरमा र केहीका लागि अफर आइरहेका छन् ।

तर आइडलमा चर्चा बटुले लगत्तै उनले ‘सलार’ फिल्मको गीत ‘सुरज हि छावँ बनके’ बोलको गीत गाएकी थिइन् । उनले सो गीतलाई आफ्नो करिअरको कोसेढुंगा मानेकी छन् ।

सो गीत रकेर्डिङ गर्दा धेरै मिहिनेत गरेको बताउँदै मेनुका भन्छिन्, ‘सलार मेरो वान टेक गीत हो तर तीन दिन लगाएर रेकर्ड गरेकी हुँ । लाइन–लाइन घोकेर भाव बोकेको गीत आउँदैन त्यसैले मिहिनेत गरेर गाएकी हुँ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १२ : २७ बजे

दुर्व्यसनीको दुःख : न राज्यको साथ, न आफन्तको हात

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ घर भएका ३५ वर्षीय

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।

बाँकेमा लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत

दस महिनामा झण्डै दुई लाख पर्यटकबाट अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी– पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक

आज सीता जयन्ती मनाइँदै

काठमाडौं– आज सीता जयन्ती पर्व मनाइँदै छ । प्रत्येक वर्ष