विदेशी भूमिमा नेपालको संविधानको प्रशंसा « Khabarhub

विदेशी भूमिमा नेपालको संविधानको प्रशंसा

महिला अधिकारका व्यवस्था उदाहरणीय, छाउपडी हटाउन आग्रह



काठमाडौं – अघिल्लो साता एक अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुने अवसर जुट्यो । कार्यशाला इन्टरनेसनल इन्सिच्युड अफ पीस एण्ड डेभलपमेन्ट स्टडीज (आइआइपीडीएस) ले थाइल्याण्डको बैङ्ककमा आयोजना गरेको थियो । जहाँ नेपालसहित भियतनाम, सिङ्गापुर, म्यानमार, इन्डोनोसिया, पाकिस्तान र बंगलादेशको प्रतिनिधित्व थियो ।

सेप्टेम्बर ७ देखि ९ सम्म तीन दिनको वर्कसपमा महिला नेतृत्व र मेलमिलापबारे बुझ्ने मौका मिल्यो । मौलिक नेतृत्व शैली र सञ्चार क्षमता, द्वन्द्व र लैङ्गिक आयाम र मेलमिलापबारे पनि जानकारी प्राप्त भयो ।

कार्यशालाको अन्तिम दिन हामीले समूहमा आफूले बुझेका कुराहरू सेयर गर्‍यौँ। आ–आफ्नो देशमा महिलाहरूको अवस्था, कानूनी प्रबन्ध, सामाजिक, राजनीतिक, र धार्मिक लगायत क्षेत्रमा महिलाहरूको उपस्थितिको अवस्थाबारे ब्रिफिङ गर्‍यौँ ।

नेपालबाट सहभागी हामीले सबैभन्दा पहिले नेपालको संविधानमा महिलाको अवस्थाबारे जानकारी दियौं । नेपालको कुल जनसंख्यामा ५१ प्रतिशत महिला रहेका, नेपालको सामाजिक संरचना पनि पितृसत्तात्मकबाट बदलिँदै गरेको, समतामूलक दिगो राष्ट्रिय विकासका लागि पुरुषसरह महिलाहरूको सक्रिय र अर्थपूर्ण सहभागिताको अपरिहार्यतालाई स्वीकार गर्दै राज्यसंयन्त्रमा महिलाको ३३ प्रतिशत सहभागीता ग्यारेन्टी गरिएको बतायौँ ।

नेपालको संविधान, २०७२ मा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा महिलाको हकको व्यवस्था गरिएको छ । यसले महिलालाई राज्यका सबै निकायमा समानुपातिक सहभागिताको सुनिश्चित गरेको छ । नेपालमा रहेको जातीय विविधता जस्तो जनजाति, आदिवासी, मधेसी, दलित आदिका आधारमा महिला सहभागितालाई सुनिश्चित गरिएको छ ।

नेपालमा महिलाहरूलाई विशेष अधिकार प्रदान गरिएको छ । कुनै पनि प्रकारको लैङ्गिक भेदभाव गर्न नपाइने कानूनमै उल्लेख गरिएको छ । छोरीलाई पनि छोरा जति नै अंश मिल्ने व्यवस्था छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ ले स्थानीय तहमा ३६.७१ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । संविधान र स्थानीय तहको निर्वाचन ऐनले स्थानीय सरकारमा महिला, दलित र अल्पसंख्यकसहितको समावेशी प्रतिनिधित्वको सुनिश्चितता गरेको छ ।

मेयरमा पुरुष प्रतिनिधि छन् भने उपमेयरमा अनिवार्य रूपमा महिला हुनुपर्ने व्यवस्था छ । अर्को राष्ट्रिय सभामा सभामुख पुरुष छन् भने उपसभामुखमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको छ । जसले महिलाको सहभागितालाई सुनिश्चित गर्छ ।

नेपालमा दुई कार्यकाल महिला राष्ट्रपति भएका छन् । महिलाहरू सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पनि भइसकेका छन् । विभिन्न समयमा महिलाहरूले संवैधानिक निकायको प्रमुखको रूपमा कार्यभार सम्हालेर महिलाले कुनै पनि भूमिका निर्वाह गर्न सक्ने उदाहरण दिएका पनि हामीले उल्लेख गर्‍यौँ ।

त्यसमा हामीले संविधान कार्यान्वयनमा अझै समस्या रहेको बतायौँ । संविधान बनेको धेरै समय नभएका कारण परिणाम कम देखिएको पनि उल्लेख गर्‍यौँ । त्यस्तै सामाजिक–सांस्कृतिक परम्परा अनुसार महिलालाई देवीको रूपमा पूजा गर्ने चलन छ । जसले मातृत्वको शक्तिलाई उच्च स्थान दिइएको छ । घरभित्रको जिम्मेवारीसँगै अहिले महिला बाहिरको जिम्मेवारी उठाउँदै आफूलाई अब्बल साबित गर्दै गइरहेको अवस्थाबारे पनि जानकारी गरायौँ ।

उनीहरूले रजस्वला हुँदा नेपालमा चार दिन वा पाँच दिन ‘बार्ने चलन’ निकै राम्रो लागेको बताए । त्यस्तो अवधिमा महिला शारीरिक र मानसिक रूपमा कमजोर हुने हुँदा घरको काममा नलगाउनु निकै राम्रो चलन रहेको भन्दै उनीहरूले ताली बजाए । यो कुप्रथा होइन र आरामको लागि हो भने यो चलन निकै राम्रो भएको उनीहरूको धारणा थियो ।

हामीले नेपालको सुदूरपश्चिममा कायम छाउपडी प्रथाबारे उल्लेख गरेका थिएनौँ । तर, त्यहाँ उपस्थित बंगलादेशी प्रतिनिधि नेपालको छाउपडीबारे जानकार रहेछन् । छाउपडी बस्दा सर्पले टोकेर महिलाहरूको ज्यान गएको र कतिपय बलात्कारमा परेका समाचार उनले पढेका रहेछन् । सहभागीहरूले छाउपडी कुप्रथा हटाउन छिटोभन्दा छिटो पहल गर्न सुझाव दिए ।

यी कुराहरू सुनेर अन्य देशका सहभागीले नेपालको संविधानको निकै प्रशंशा गरे । महिलाहरूका लागि नेपालको संविधान उत्कृष्ट रहेको उनीहरूले बताए । यति राम्रो व्यवस्था हुँदा पनि नेपालमा अझै महिलाहरूको अवस्था नाजुक नै रहनुको कारण सोधे । नेपालको संविधानमा महिलाको हक अधिकार सुनिश्चित गरे पनि छाउपडी प्रथाबारे सुन्दा नै कहाली लागेको बताए ।

पाकिस्तानी एक नागरिकले नेपालमा बोक्सी प्रथाबारे जिज्ञासा राखे । धेरैले त्यसलाई ‘भुत प्रथा’ भन्दै हाँसेका थिए । यो प्रथा पहिले भएपनि हाल हटेको हामीले जानकारी गरायौँ । कसैले बोक्सी भनेर आरोप लगाएमा दण्ड सजाय भोग्नुपर्ने कानूनमै उल्लेख गरिएको बतायौँ ।

भियतनामका सहभागी सबैले टाउकोमा रुमाल बाँधेका थिए । त्यहाँ उनीहरूको घरबाहिर निस्कँदा कपाल नदेखाउन चलन रहेछ । उनीहरूले नेपाली महिलाहरू आफूहरूभन्दा निकै स्वतन्त्र भएको बताइरहेका थिए ।

पाकिस्तान र बङ्गलादेशी सहभागीले आफ्नो देशमा पुरुषको तुलनामा महिलाहरूको अवस्था निकै नाजुक रहेको बताए । कानूनले नै महिलालाई अनेक बन्देजमा राखेको र सोविरुद्ध लड्न निकै कठिन रहेको उनीहरूले बताइरहेका थिए । आफ्नो देशका महिलाहरूको स्थिति सुधार्न अन्य देशका नागरिकले पनि सहयोग गर्नुपर्ने अपिल उनीहरूले गरेका थिए ।

सो कार्यशालामा प्रतिनिधित्व जनाएका मुलुकमध्ये नेपाल र सिङ्गापुरमा महिलाको स्थिति केही सुधारउन्मुख रहेको तथा अन्य देशका महिलालाई संस्कृति र परम्पराको नाममा विभिन्न कुप्रथाले बाँधेकोबारे विवेचना भएको थियो ।

केही कुप्रथाबाहेक नेपालमा महिलाहरूको अवस्था निकै राम्रो रहेको कार्यशालाको निष्कर्ष रह्यो । संविधानमा व्यवस्था गरेअनुरुप कार्यान्वयनमा जाने हो भने नेपाली महिलाहरूको स्थितिमा उल्लेखीय सुधार आउने सहभागीहरूले बताए ।

विदेशी भूमिमा आफ्नो देशको संविधान उत्कृष्ट भन्दै गरिएको प्रशंसा सुन्दा निकै गौरवान्वित महसुस भयो ।

(बैङ्ककबाट फर्केपछि ।)

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १ : ०९ बजे

प्रतिनिधिसभामा प्रधानमन्त्री उपस्थित, सांसदहरूलाई जवाफ दिँदै (लाइभ)

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन्

प्रदेशसभा बैठक: नीति तथा कार्यक्रममा छलफल

मकवानपुर– बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ बजे बस्नेछ ।

पहिलो पटक संसद्को रोस्ट्रममा उभिए प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक संसद्को रोस्ट्रममा उभिएका छन्

कंक्रिटमय काठमाडौंमा तोप चराको आकर्षक गुँड (तस्बिरहरू)

काठमाडौं– तोप चरा (बया विभर) आफ्नो कलात्मक गुँड बुन्ने अद्भुत

‘इरानले अमेरिकी लडाकु विमान काँधबाटै हान्न मिल्ने चिनियाँ मिसाइलले खसालिदियो’

वाशिंगटन- गत महिना दक्षिणपश्चिमी इरानमाथि अमेरिकी एफ-१५ लडाकु विमान खसाल्न