अर्थसंक्षेप : ग्वार्को फ्लाइओभर निर्माण अवधि लम्बियो, मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन  | Khabarhub Khabarhub

अर्थसंक्षेप : ग्वार्को फ्लाइओभर निर्माण अवधि लम्बियो, मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन 


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण वर्षाका कारण लम्बिने भएको छ । यता महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि ४० करोड २७ लाख ६२ हजारको बजेट ल्याएको छ ।

यसरी नै राष्ट्रिय सहकारी महासंघले नेपालमा पहिलो पटक सहकारी रोजगार मेला २०८१ संचालन गर्ने भएको छ भने बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)अन्ति २ मिनेटमा झिनो अंकले बढेको छ । यस्तै, मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ ।

आजका मुख्य आर्थिक समाचारहरू :

ग्वार्को फ्लाइओभर निर्माण अवधि लम्बियो, अब दशैंको भाखा

ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण वर्षाका कारण लम्बिने भएको छ । गत तीन दिनदेखि लगातार वर्षा हुँदा फ्लाइओभर निर्माणले गति लिन नसकेको हो ।

फ्लाइओभरमा मुख्य पुलतर्फ माथि जाने स्ल्याबको ढलान भइसकेको छ । त्यसको दायाँ–बायाँ ‘ब्यारियर’ वाल राख्ने काम बाँकी नै छ । पानी परेपछि त्यहाँसम्म जाने पहुँच सडकसम्म र्‍याम्प निर्माणले गति लिन नसकेको आयोजना प्रमुख राकेश महर्जनले बताए ।

‘हरेक स्लोपमा ‘कम्प्याक्सन’ गर्दै जानुपर्छ । बर्खाका कारण माटो हिलो हुने हुँदा राम्रोसँग ‘कम्प्याक्सन’ हुन सक्दैन । सुख्खा भएको बेला गर्नुपर्छ,’ उनले भने, ‘केही दिनयता बिहान र बेलुका पानी परेकाले त्यो काम हुन सकिरहेको छैन ।’

मुख्यगरी अब पहुँच सडक, ट्राफिक लाइट जडान लगायतका केही काम बाँकी छन् । उनका अनुसार पहुँच मार्ग निर्माण कार्य पनि ८० प्रतिशत सकिएको छ ।

आयोजना प्रमुख महर्जनका अनुसार फ्लाइओभरको समग्र प्रगति ७५ प्रतिशतभन्दा बढी छ । यसअघि असार मसान्तभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भई यातायात सञ्चालन गर्ने लक्ष्य लिइएकोमा वर्षाका कारणले आयोजना निर्माण अवधि केही लम्बिने महर्जनले खबरहबलाई जानकारी दिए ।

नेपालमा पहिलो पटक सहकारी रोजगार मेला हुँदै

राष्ट्रिय सहकारी महासंघले नेपालमा पहिलो पटक सहकारी रोजगार मेला २०८१ संचालन गर्ने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले यही असार ७ देखि ९ गतेसम्म मेला संचालन हुने बताएको हो । मेला संचालनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको  छ ।

‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने मूल नारा साथ रोजगार मेला सञ्चालन हुने सहकारी महासंघकी अध्यक्ष ओम देवी मल्ले बताएकी छन् । रोजगारदाता र रोजगारीको खोजीमा रहेकालाई यस मेलाले पुलको काम गर्ने उनको भनाई छ ।

मेलामा युवा तथा विद्यार्थीहरूलाई सहकारी क्षेत्रमा रोजगारीको अवसरबारे जानकारी दिई सहजीकरण गर्ने र आवश्यक जनशक्ति चाहिरहेका सहकारीहरूलाई पनि मेलाले दक्ष जनशक्ति पहिचान गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ ।

अहिलेसम्म सहकारी क्षेत्रमा १ लाख बढीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् भने १० लाख बढी स्वरोजगार बनी सकेका छन् ।

स्वदेशमै युवाहरूलाई स्वरोजगार बनाउन र सहकारी क्षेत्रमा दक्ष कर्मचारीहरूलाई भित्र्याउने मेलाको प्रमुख उद्देश्य रहेको छ । स्टार्टअप र साना व्यवसायमार्फत स्वरोजगार बन्न चाहनेहरूका लागि मेला नेटवर्किङको काम गर्ने पनि महासंघले जनाएको छ ।

यस्तै, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाँइले सहकारी क्षेत्रमा भएका कर्मचारीहरू सबै दक्ष सहकारी बुझ्ने नभएका कारण पनि सहकारी क्षेत्रमा समस्या रहेको बताएका छन् ।
‘अहिले सहकारी क्षेत्रमा संलग्न सबै कर्मचारीहरू दक्ष नभएको हो की भन्ने महसुस भएको छ, त्यसैले हामीले यस मेलामा दक्ष जनशक्तिको पनि विशेष खोजी रहने छ,’ उनले भने ।

सहकारी क्षेत्रमा समस्याहरू मात्र नभई काम गर्न चाहनेहरूका लागि ठुलो अवसर पनि रहेको महासंघको भनाई छ । यस मेलाले सहकारी क्षेत्रको आकार कत्रो छ ? सहकारी क्षेत्रमा भएका चुनौती र अवसरहरूको बारेमा स्पष्ट जानकारी पनि दिइने बताएको छ ।

झिनो अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्बको कारोबार 

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)अन्तिम २ मिनेटमा झिनो अंकले बढेको छ । आज नेप्से १.२७ अंकले बढेर २०७८.७६ बिन्दुमा पुगेको छ ।

आज करिब साढे ३ अर्बको रुपैयाँको कारोबार भएको छ । आज ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज कम्पनीको शेयर कारोबार हुँदा १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ०.५५ अंकले, फ्लोट इन्डेक्स ०.१६ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ ।

१३ वटा समूहमध्ये ६ वटा समूहको शेयर मूल्य बढेको छ भने ७ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी फाइनन्सको ५८.८७ अंकले बढेको छ भने सबैभन्दा बढी ट्रेडिङ समूह ३८.७८ अंकले घटेको छ ।

कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिले विकास हुँदैन : पूर्व अर्थमन्त्री महत

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले खुद्रे योजनामा बजेट विनियोजन गरेर देश विकास नहुने बताएका छन् ।

बागमती प्रदेश संसदीय दलले आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशसभामा पेस भएको बजेट र प्रदेश सरकारले वितरण गरेको विनियोजन विधेयकसम्बन्धी छलफलमा उनले खुद्रे योजनामा बजेट विनियोजन गरेर देश विकास नहुने बताए ।

प्रवक्ता महतले आफू अर्थमन्त्री हुँदा बजेटलाई कनिका छरे जसरी छर्ने प्रचलनलाई रोक्न संघीय सरकारबाट तीन करोडभन्दा माथि र प्रदेश सरकारबाट एक करोडभन्दा माथिको मात्रै योजना बनाउने कार्यविधि तयार पारे पनि गठबन्धन फेरबदल भएपछि सरकारले उक्त कार्यविधि लत्त्याएको बताए ।

कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिलाई निरन्तरता दिएर सरकारले कार्यकर्तामुखी बजेट ल्याएको उनको आरोप छ । महतले बागमती प्रदेशले पनि संघीय सरकारकै सिको गरेर कार्यकर्तामुखी बजेट ल्याएको भन्दै त्यसको प्रतिवाद गर्न पनि प्रदेश सांसदहरूलाई निर्देशन दिए ।

सुनको मूल्य स्थिर

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ लाख ४२ हजार २०० र तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन सोमबार र मंगलबार पनि आजकै मूल्यमा कारोबार भएको थियो ।

मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव) सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात तीन दशमलव ६१ प्रतिशतले घट्दा निर्यात भने १० दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।

उनका अनुसार काँकडभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको माल वस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजारको माल वस्तु निर्यात भएको छ ।

चालु आवको जेठसम्म गत आवको तुलनामा निर्याततर्फ छुर्पी ६५ दशमलव २९ प्रतिशत, प्लाइउड ५६ दशमलव ३३ प्रतिशत, अदुवा ३५ दशमलव ४५ प्रतिशत, अम्रिसो ३१ दशमलव ३४ प्रतिशत र भेनियस सिट १२ दशमलव ५७ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

मटिहानी नगरपालिकाको बजेट ४० करोड 

महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२का लागि ४० करोड २७ लाख ६२ हजारको बजेट ल्याएको छ ।

महिटहानी नगरपालिकाको १३औँ नगरसभामानगरप्रमुख हरिप्रसाद मण्डलले आर्थिक वर्ष २०८१–०८२का लागि ४० करोड बढीको बजेट प्रस्तुत गरेका छन् ।

सो बजेटको रकम राजस्व बाँडफाँडमा संघ सरकारबाट प्राप्त ८ करोड ७१ लाख, प्रदेश सरकारबाट प्राप्त ३५ लाख, समानीकरण अनुदान १० करोड ४१ लाख, ससर्त अनुदान चालु तर्फ १४ करोड ९८ लाख, सशर्त अनुदान पुजिगततर्फ ६६ लाख, समपूरक अनुदान ५० लाख, प्रदेश सरकारबाट प्राप्तहुने वित्तीय समानीकरण, विशेष अनुदान र समपूरक अनुदान पुँजीगततर्फमा १ करोड २६ लाख,  आन्तरिक स्रोतहरू भूमिकर–मालपोत, घरबहाल कर, बहाल बिटौरी कर, सवारीसाधन करसहितका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातबाट पूर्ति गरिने छ ।

चीनले मौद्रिक नीति समायोजन गर्ने

चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैंकका गभर्नरले बुधबार बताएका छन् ।

यस कदमले आर्थिक सुधारलाई सहज बनाई आर्थिक र सामाजिक विकासका लागि अनुकूल मौद्रिक र वित्तीय वातावरण सिर्जना गर्न मद्दत गर्नेछ, पिपुल्स बैंक अफ चाइनाका गभर्नर पान गोङ्सेङले १५ औँ लुजियाजुई फोरममा भने  ।

निरन्तर सुधार हुँदै जाँदा, चिनियाँ अर्थतन्त्रले अझै पनि केही चुनौतीहरूको सामना गरिरहेको छ । यसले घरेलु आर्थिक परिसंचरणमा अवरोध र बाह्य वातावरणको जटिलता, गम्भीरता र अनिश्चितता उल्लेखनीय रूपमा बढेको उनले बताए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : ३० बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल असार १३ गते बुधबार तदनुसार

आज २०८१ साल असार १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार १३ गते बुधबार तदनुसार

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ

जेनेभा – सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा