मिलेनियम ट्रेकमा समेटिँदै महत्वपूर्ण गन्तव्य | Khabarhub Khabarhub

मिलेनियम ट्रेकमा समेटिँदै महत्वपूर्ण गन्तव्य


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

गण्डकी – तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकमा विभिन्न नयाँ गन्तव्य जोड्न पहल थालिएको छ ।

पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइँ लम्ब्याउन आसपासका गन्तव्यको प्रवर्द्धन र विकासका लागि पोखरा महानगरसँग जोडिएको यस पदमार्गलाई अन्य गन्तव्यसँग जोड्ने गरी मिलेनियम ट्रेक व्यवस्थापन समितिले सक्रियता बढाएको हो ।

स्थापनाको २५औँ वर्ष लाग्दै गर्दा यस मार्ग क्षेत्रमा २५ वटै विशेष कायक्रम गर्ने तयारी गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।

“स्थापनाको २५औँ वर्षका अवसरमा सन् २०२५ को जनवरी १ देखि डिसेम्बरको अन्त्यसम्म हामीले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेका छौँ”, उनले भने, “यो पदमार्गको उद्घाटन सन् २००० जनवरी १ मा हालका राष्ट्रपति रामचन्द्र पौडेल (तत्कालीन मन्त्री)ले गर्नुभएका कारण २५औँ वर्ष विशेष कार्यक्रमसहित मनाउने सोच छ ।”

स्थापना भएको केही समयपछि नै देशमा सुरु भएको द्वन्द्वलगायत कारण अपेक्षित गति लिन नसके पनि कोरोना महामारीयता पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको उनले बताए ।

पछिल्लो समयमा समितिले विभिन्न अत्यावश्यकीय पूर्वाधार विकाससँगै यसको दायरालाई अझै फराकिलो बनाउने सोच राखी नयाँ नक्साङ्कनसमेत गरिरहेको छ ।

यसैक्रममा तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीमा रहेको पदमार्गमा नछोएका पोखराका महत्वपूर्ण गन्तव्यलाई नक्साङ्कन समेटिएको छ । पदमार्गको पुनःनक्साङ्कनको काम भूगोलविद् सहप्राध्यापक डा रामजी पोखरेल नेतृत्वको टोलीले गरेको हो ।

नयाँ नक्साङ्कनमा पोखरा महानगरपालिका–१७ को विरौटादेखि निर्मलपोखरी, भरतपोखरी, प्युरीदोभान हुँदै मिलेनियम ट्रेककको लामागाउँमा जोडिसकिएको सहप्राध्यापक डा पोखरेलले जानकारी दिनुुभयो ।

यसले भरतपोखरी र निर्मलपोखरीका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने र ओझेलमा परेका भरतपोखरीको मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुमको महारुद्रथान फोक्सिङकोट आदि धार्मिक एवं पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पनि टेवा पुग्ने उनको विश्वास छ ।

नयाँ नक्साङ्कनमा यसअघि छुटेका तनहुँकै धार्मिक पर्यटकीयस्थल च्यवनधाम, वंशु पार्क, तमु हिल पार्क आदि सांस्कृतिक एवं ऐतिहासिकस्थल समेटिएका छन् । समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार ७१५ मिटर उचाइसम्ममा रहेको यो पदमार्ग उच्च पहाडी क्षेत्रमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि उपयुक्त मानिन्छ ।

पदमार्गको दायरा फराकिलो बनाउने प्रयासस्वरुप मिलेनियम ट्रेक व्यवस्थापन समितिले हालै पुतलीबजार नगरपालिका–८ स्थित क्रान्ति चौतारा, बहाकोट कालिका मन्दिरका साथै पुतलीबजार नगरपालिका–७ स्थित बौद्धस्तूपालाई जोड्ने गरी पहल बढाएको महासचिव गुरुङले बताए ।

विसं २००७ मा जहानियाँ राणाशासनको अन्त्यका लागि क्रान्ति सुरु गरिएको स्थलमध्येको एक क्रान्ति चौतारालाई राजनीतिकरुपमा महत्वपूर्णस्थलका रुपमा लिइन्छ । यहाँस्थित बहाकोट कालिका मन्दिर नेपालका बाइसेचौबिसे राजाको पालादेखि नै अस्तित्वमा आएको प्राचीन तीर्थस्थल हो ।

अन्यत्र कालिका मन्दिरमा ठाडो मौलो रहने भए पनि यहाँको मौलो भने तेर्स्याएर राखिएको पाइन्छ । दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले यसको गरिमा र महत्व बढाएको पाइन्छ । यी ऐतिहासिक महत्वका गन्तव्यलाई मिलेनियम ट्रेकमा जोड्ने गरी स्थलगत अध्ययन अवलोकन गरिसकिएको उनले बताए ।

प्रस्तावित मार्गमा मिलेनियम ट्रेकअन्तर्गतको सादिखोलादेखि सुरु भई लुम्छाक पन्ध्रमुरे, हुदिभञ्ज्याङ, भार्कोट, गैया धोवादी, क्रान्ति चौतारा, बहाकोट कालिका, डाँडास्वरा हुँदै काउलेमा पुगी पुनःमिलेनियम ट्रेकमा जोडिन्छ । यसले यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै महत्वपूर्ण स्थललाई ट्रेकसँग जोड्ने महासचिव गुरुङले जानकारी दिए ।

प्राकृतिक विविधताले सम्पन्न यस ट्रेकमा नेपालमा मात्रै पाइने ‘काँडेभ्याकुर’ चरा पाइने गन्तव्य पनि हो । कूल ७२ किमी दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किमी क्षेत्र वन जङ्गलले ढाकिएको छ ।

जुनसुकै मौसमममा पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ भने वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जोकोहीलाई लोभ्याउने गरेको छ ।

पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुरसमेत देख्न पाइने भएकाले पदमार्गको महत्व अझ बढी रहेको बताए । स्थलगत अध्ययनअनुसार पदमार्ग क्षेत्रमा तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थल, कोल्माबाट भैँसेगौँडा, बुढाकोट तलतिरको भागलगायत विभिन्न स्थानमा ठूलो सङ्ख्यामा काँडेभ्याकुर पाइएका छन् ।

पदमार्गका लामागाउँ, घरेडी, भैँसेगौँडा, गहते, बलुलगायत स्थानमा पनि काँडेभ्याकुर फेला परेका उनले जानकारी दिए ।अध्ययनबाट पदमार्ग क्षेत्रमा एक सय ७३ प्रजातिका चरा फेला परिसकेको बताउँदै घिमिरेले सीमित क्षेत्रमा पाइने प्रजातिमध्येको पहाडी चुइँया, पहाडी सेन बाज पनि यस पदमार्गमा फेला परेका बताए ।

उनका अनुसार विश्वकै दुलर्भ प्रजाति डङ्गोर गिद्ध,, सुन गिद्ध, अतिसङ्कटापन्न प्रजाति सानो खैरो गिद्ध, सङ्कटापन्न प्रजाति सेतो गिद्धजस्ता धेरै प्रजाति यहाँ पाइएका छन् । अध्ययनले वर्षात्को समयमा यस क्षेत्रमा ६० भन्दाबढी प्रजातिका चराले बच्चा कोरलेको पाइएको बताउँदै उनले यस पदमार्गलाई चरा पर्यटनको गन्तव्यका रुपमा पनि विकास गर्न सकिने बताए ।

पदमार्गर्मा पर्यटकको आकर्षण बढ्दै जाँदा यहाँका बाजस्थल ट्रेडिस्नल रिसोर्ट, कोल्मामा रिसोर्टका साथै विभिन्न १९ स्थानमा घरबाससमेत सञ्चालनमा आइसकेका छन् । पर्यटकलाई स्थानीय उत्पादनका परिकार खुवाउने गरी घरबास सञ्चालक लागिरहेका मिलेनियम भैँसेगौँडा सामुदायिक ‘होमस्टे’का अध्यक्ष एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १० : २८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, सभामुखले समितिमा सदस्यको नाम हेरफेर गर्ने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

युरोकप : जर्जियासँग पोर्चुगल स्तब्ध

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा जर्जियासँग पोर्चुगल स्तब्ध बनेको छ

विश्वकपको सेमिफाइनलमा अफगानिस्तानले सातौ ओभरमै गुमायो ६ विकेट

काठमाडौं – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले

विश्वकपको सेमिफाइनलमा अफ्रिकाविरुद्ध अफगानिस्तानको खराब सुरुवात : चार ओभरमा गुमायो चारै विकेट

काठमाडौं – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल