विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो « Khabarhub

विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग) खुलेको छ ।

अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो ।

म्याग्दीको प्राथमिकताप्राप्त गुर्जा जोड्ने सडक योजनाको गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउरालीसम्म ६ किलोमिटर मार्ग निर्माण भएको धवलागिरि गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकन्द्र रावलले बताए ।

गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले दुई–दुई करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो । तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको हो ।

यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नम्बर २ लुलाङसम्म सडक पुगिसकेको थियो । आव २०७९–८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो ।

देउरालीसम्म मार्ग खुलेपछि गुर्जाका बासिन्दा गाडी चढेर त्यहाँसम्म पुग्न थालेका धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झक छन्त्यालले बताए । लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा तीनदेखि चार घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको उनले बताए ।

जिप, ट्रयाक्टर, मोटरसाइकल चढेर देउराली पुग्न सकिन्छ । सडक यातायात सुविधा भएपछि आवतजावतका साथै ढुवानीमा सहज भएको छ । देउरालीबाट गुर्जातर्फ सडक निर्माणका लागि चालु आवमा सङ्घीय सरकारले दुईवटा शीर्षकमा एक करोड ३५ लाख, प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले ३५ लाख विनियोजन गरेका छन् ।

सो योजनाको पनि ठेक्का आह्वानको तयारी भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

एउटै बस्ती एकै वडामा समेटिएको दुई सय ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या एक हजार पाँच सय पाँच जना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ ।

सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्‍याउन हेलिकप्टर चार्टर गर्नुपर्छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १० : ५५ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको